बाम एकतामा अलमल – माओवादीमा हताशा, एमालेमा आशंका !

शुभशंकर कंडेल
2018-01-28 13:45

नेकपा एमाले र माओवादी केन्द्र का बीचको पार्टी एकता पूर्व घोषित निर्णय हो । गत असोज १७ गते नै दुवै पार्टीले पार्टी एकता गर्ने सार्वजनिक घोषणा गरेका थिए । तत्काल चुनाव आइलागेका कारण एकता गर्न नभ्याएको भन्ने कुरा ओली र प्रचण्डले सबैभन्दा धेरै पटक दोहराएको शव्दावली हो ।

चुनावमा आशातित परिणाम आयो । दुवै दलमा खुशियाली छायो । देशभरका कार्यकर्ता पार्टी एकता भैसकेको जस्तो मनस्थिति बनाएर बसेका थिए । अहिले पनि बसिरहेका छन् । तर चुनावी नतिजापछि जसरी जुन जुन शक्ति केन्द्रहरु एकता हुन नदिन खेल्न सक्ने आंकलन गरिएको थियो । उनीहरुले आफ्नो अभियान सुरु गरिहाले । ५ वर्ष एक्लै सरकार बनाउने प्रस्तावदेखि ५४ को अंकलाई म्याजिकल नम्वरको भूत समेत सवार गराइदिए ।

यस्ता अफबाहलाई व्यवहारिक जबाफ दिन ओली बालकोेटमा कुरिरहेका थिए । तर प्रचण्ड चितवन नै धेरै दिन अड्केनन् मात्र कि काठमाडौंमा गरिएका म्याजिकल अनुमान र विश्लेषण भइरहंदा चितवन गएर फेरि अर्को केही समय विताए । ओली र प्रचण्डकाबीचमा जे विषय सार्वजनिक रुपमा नबोल्ने बाचा कसम गरिएका थिए, ति सार्वजनिक भए । त्यसले निश्चित विचारपद्धतिमा ढिट रहने स्वाभावका ओलीमा गहिरो आशंका जन्म्यो । ओलीको मनमा एउटै चुनाव चिन्ह चुनाव लड्न् निर्णयबाट पछि हटेदेखिका अनेक क्रियाकलाप फिल्मको रिलका रुपमा घुम्न थाल्यो ।


उता प्रचण्डले जे कुरालाई सहजै हुने अनुमान गरेका थिए, त्यो विषय चुनावपछिको पहिलो वार्तामा ओलीका मुखबाट सुन्न नपाएपछि एक किसिमको हताशाको हाउभाउ देखिन थालेको थियो । दुईजनाको कुरा भएको केही दिन खुशीमै रहने तर सुत्ने बेलामा आंखा बन्द गरेर सोच्दा जे मैले सोचेको छु त्यो त हुंदैन कि क्या हो भन्ने मनोदशामा प्रचण्ड पुगेका कारण नै एकताको गांठो कस्नु पर्ने डोरीमा बाटिएका धागाहरुमा समेत भुवा पलाउन थालेको प्रतित भइरहेको छ ।

चुनाव अभियान चलिरहेको बेला र पुत्र वियोगको पीडा रहेको समयमा प्रचण्डको मनमा त्यति धेरै महत्वाकांक्षाको पहाड थिएन । सम्मानित बाटोबाट योगदान गर्ने मानसिकता प्रभावी बन्दै गएको थियो । यति धेरै त गरिसकियो, अब कति लडिरहने भन्ने तहमा प्रचण्ड पुगेकै थिए । तर प्रचण्डका सहयोगी भनिनेहरुले त्यस्तो कल्पना पनि गर्न सक्देनथे । चुनावी सभाहरुमा एमालेका स्थानीय नेताहरुले प्रचण्ड राष्ट्रपति, प्रधानमन्त्री वा एकीकृत पार्टीको अध्यक्ष हुनेछन् भनेर भाषण गरिरहेको सुन्दा प्रचण्ड गजक्क परेको सजिलै बुझ्न सकिने भावहरु टेलिभिजन समाचारका अर्काइभमा सुरक्षित छन् । त्यसो त चुनाव जित्नकै लागि ओली पुग्ने सभाका सबै जसो उमेदबारले मन्त्री बन्ने आश्वासन दिएर मतदातालाई ति उमेदबारप्रति आशा जगाएकै थिए । ति कुरा चुनावी स्टन्ट नै थिए ।

चुनाव अभियान चलिरहेकै बेलामा एकपटक लामो वार्तालापमा ओलीको चाहना प्रचण्ड राष्ट्रपति भन्दा पार्टीको नेतृत्व गर्ने भूमिकामा नै रहनु पर्दछ भन्ने थियो । त्यस विषयमा ओलीले मानिसक रुपले तयार मात्र होइन कि केही सांगठनिक योजना पनि बनाएकै थिए । तर चुनाव लगत्तै जे जस्ता दृश्य देखिए, दुवै जनासंग दक्षिणी दूतहरुले जस्तो तरिकाले कुरा गरे, यसबाट दुवै जनामा रहेको पुरानो विश्वासमा आफैप्रति शंका बढ्न थाल्यो । प्रचण्डको खुलापनलाई दूतलहरुले बेस्सरी मलजल गरे ।

सायद प्रचण्डले म देउवासंगको सहकार्यमा छु वा ओलीसंगको एकतामा भन्ने भुलेर पो दूतहरुसंग मन खेले कि ? दूतहरुलाई चाहिएकै त्यही थियो । जसोतसो एक महिनाजति प्रचण्डलाई थेगेका दूतहरुले आश मारेर हाइजम्प गरे । तर त्यतिका लामो समय प्रचण्ड किन अलमल गरिरहे यो बुझ्न नसकिने कुरा हो । प्रचण्ड जत्तिको चातुर्यले भरिपूर्ण नेतालाई एकमहिनापछि के हुन्छ र दूतवाला किन मसंग लागेका छन् भन्ने अनुमान गर्न सकेनन् कसरी भन्न सकिन्छ ? झनै पछिल्लो समय प्रचण्डको नजिक दावी गर्ने मध्येका विभिन्न दर्जाका कमाण्डरहरले ओली बद्नाम अभियान सुरु गरेका छन् । त्यसले एकतालाई मात्र होइन प्रचण्डको मनोकांक्षामा घात गर्छ कि सघाउंछ ? त्यसो त एमालेका पनि कतिपय नेताहरु अन्टसन्ट बोलेकै छन् । तिनले ओलीलाई प्रतिनिधित्व गर्दैनन् भन्ने सबैलाई थाहा छ । अहिले यसभन्दा बढी लेख्नु पनि अन्यथा होला कि ?

सांगठनिक र राजनीतिक रुपले कसरी एकता गर्ने भन्ने विषयमा बास्तविकरुपले भन्दा कुनै समस्या नै छैन । राजनीतिक रुपमा चुनावी साझा घोषणापत्रमा ९० प्रतिशतभन्दा बढी कुरा समाधान भएर सहमति भइसकेको छ । न त जनयुद्धलाई हेर्ने विषयमा अब कुनै दुविधा छ, नत आगामी बाटो जनताको बहुदलीय जनवादकै मूल स्प्रिट भएर समाजवादसम्म हिंड्ने भन्नेमा कुनै भ्रम छ । माओवादी र जबज जस्ता शव्दावली विवादका विषय नै होइनन् । माओवादी केन्द्रले व्यवहारिक रुपमा माओवाद ०६० सालबाटै छाडेको थियो भने एमालेले जबजलाई धर्मशास्त्र बनाउन हुन्न भन्नेमा सबैभन्दा अग्रपंक्तिमा केपी ओली नै छन् ।

चुनावका बेलमा भाइ एमाले र दाई माओवादीजस्ता अलंकार कुनै एउटा लेखकले नभएर दुवै दलका सबै नेताहरुले आ–आफ्नै शैलीमा व्यक्त गरेको श्रव्य, दृश्य र अक्षर सबैको स्मरणमा ताजै हुनु पर्दछ । सांगठनिक रुपमा के गर्ने भन्नेमा यस्ता एकता र सांगठनिक समायोजनमा ०४७ देखि नै दुबै दलले सबैभन्दा बढी विशेषज्ञता हासिल गरेका छन् । सम्झनु पर्ने के छ भने विशेषज्ञता पछिल्लो कालखण्डमा माओवादी केन्द्रमा विश्रृंखलीत भएर कुन कमिटि कति सदस्यीय भन्ने समेत हेक्का हुन नसक्ने अवस्थामा पुगेको थियो । त्यस्तो अवस्थाबाट भने जोगिनु पर्दछ भन्नेमा पनि ओली र प्रचण्ड पूरै सचेत छन् । त्यो कुनै विवादको विषय होइन । बरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठ निर्वाचनमा पराजित भएपछि अलिकति सन्तुलनमा र व्यवस्थापनमा समस्या परेको हुनसक्छ । तर जे नुहनु थियो, त्यो त भइसकेको छ ।

के प्रचण्ड एकीकृत पार्टीको अध्यक्ष हुन सक्दैनन् त ?

अहिले यसरी पनि बहस सुरु हुन थालेको छ । प्रचण्डको नजिक दर्शाउने कतिपय नेताहरुले प्रचण्ड अध्यक्ष नभए एकता हुननसक्ने जस्तो अभिव्यक्ति पनि दिन थालेका छन् । एमालेभित्र पनि अहिल्यै प्रचण्डलाई अध्यक्ष बनाइहाल्ने र भन्ने प्रश्न उव्जेकै छ । तर सुविधा के छ भने यस विषयमा ओली र प्रचण्डका बीचमा सहमत हुनासाथ कसैले तत्कालै चुनौति दिने अवस्था छैन । नाटकीय लाग्नेगरी दुई पार्टी बीच भएको एकता घोषणाको उत्कट अभिलाषामा ओली र प्रचण्डमा एकता भएपछि म प्रधानमन्त्री भइहाल्छु र म पार्टीको अध्यक्ष त भइहाल्छु भन्ने कुरा नै थिएन भन्न सकिन्न । तालमेल र गठवन्धन बढी सजिलो कुरा हो भने पार्टी एकता अलिक अप्ठेरो तर गर्नै पर्ने बाध्यताको पहाड बनेको हुनु पर्दछ यतिबेला दुवैजनालाई ।

एमाले नेतृत्व पंक्तिभित्र प्रचण्डलाई अध्यक्ष बनाउने कि नबनाउने भन्नेमा प्रचण्डको विगत पृष्ठभूमि र अस्थिर वा गतिशील भनिने स्वाभाव र चरित्र निस्सांिसंदो गरी उठिरहेको छ । अभिव्यक्त हुन मात्र सकेको छैन । त्यससन्दर्भमा हेक्का राख्नु पर्ने कुरा के छ भने अहिलेको अवस्थामा एकीकृत पार्टीको मूल नेतृत्व जो भएपनि एकल प्राधिकारजस्तो हुने कुनै सम्भावना छैन । यदि कसैले केही विगार्नै खोज्दा पनि अकल्पनीय क्षति गराउन सम्भव हुने छैन । नेतृत्वले जत्तिकै कार्यकर्ता र सदस्यले कुरा बुझिरहेको स्थिति हो अहिले ।

अर्कातिर दुई पार्टीबीचको पार्टी एकता हुंदा अमुक इच्छा वा चाहना भन्दा नमिठो कुरा हो सांगठनिक शक्ति र त्यसको जग । जुन कुरा भर्खरै र अझै पूरा नभइसकेको चुनावले हिउंदको पारिलो घामजत्तिकै छर्लंग पारिदिएको छ । यसका लागि जसरी चुनावी तालमेलका लागि भनेर गरिएको वार्ताले पार्टी एकताको महत्वाकांक्षामा पुराएको थियो, त्यही बेला नेतृत्व यसले गर्ने र यसरी गर्ने भन्ने कुरा टुंगिनु पर्दथ्यो । यस मामिलामा दुवै जना चुकेकै हो । त्यो चुकाइले गर्दा मंसिर तेस्रो सातादेखि दुवै दलका कार्यकर्ताले मानसिक हैरानी व्योहरिरहेका छन् । अहिले दुवै दलका कार्यकर्ता र समर्थकलाई पट्यारलाग्दो कुराई जस्तो महसुस भइरहेको होला ।

के ओली तयार छैनन् त प्रचण्डलाई अध्यक्ष बनाउन ?

वास्तवमै ओली प्रचण्डलाई पार्टीको अध्यक्ष नै बनाउन चाहन्छन् । ओलीलाई नै शायद सबैभन्दा बढी ज्ञात हुनुपर्दछ कि चुनावी तालमेलका कुरा चलिरहंदा ‘पार्टी नै एकता गर्ने भए तालमेल हुन्छ अन्यथा .. ‘भन्ने प्रचण्डको अभिव्यक्तिमा उनी एकीकृत पार्टीको अध्यक्ष हुन चाहन्छन् । किनभने स्थानीय चुनावको सन्देशले एमाले सबैभन्दा ठूलो पार्टी बन्ने र माओवादीले आफ्नो पुरानो हैसियत पनि कायम गर्न संकट पर्ने स्पष्ट संकेत गरेको थियो । त्यस्तो अवस्थामा चुनावपछि प्रधानमन्त्रीको हकदार स्वाभाविक रुपमा केपी ओली नै हुन्थे । प्रचण्डले पनि प्रधानमन्त्री एमालेबाटै हुने त बताए तर केपी ओली नै हुनुपर्दछ भनेर सुरुमै बताउन तयार भएनन केवल बामदेव फ्याक्टरका कारण ।

बल्ल मंसिर १६ गते प्रसारित एबीसी अन्तर्वार्तामा प्रचण्डले अबको प्रधानमन्त्री केपी ओली हुने बताएका हुन् । यस मामिलामा पनि प्रचण्ड अलिक ढिला भए । यो भनाई त असोज १५ गतेको दुई पक्षीय बैठकमा नै प्रचण्डले अघि सार्दा जति असर पथ्र्यो, त्यसको जबाफमा ओलीले प्रचण्डका बारेमा बोल्न बाध्य हुनु पर्ने थियो, त्यो हुन सकेन । त्यतिमात्र होइन कि ओली बैंकक जानुपहिले बसेको एकता संयोजन समितिको बैठकमा प्रचण्डले नै सांगठनिक र राजनीतिक कर्यादल बनाउन तयार नहुनुले अर्को संशय जन्माएको हुनु पर्दछ ।

सुन्दा र हेर्दा अचम्म लाग्नेजस्ता अराजनीतिक तर राजनीतिक व्यक्तिको जीवनमा सबैभन्दा बढी असर गर्ने यस्तै मसिना कुराका वरिपरि एकताको बजार गर्माएको छ । जुन अस्वभाविक होइन तर यतिबेला औचित्यहीन अवस्थाको प्रहसन बन्न पुगेको छ । जनतका बीचमा एकताका लागि संसारमा भएजतिका कम्युनिस्टले पुकार्न मिल्ने सबै देवी देउता भाकेर मत मागेको छ । जनताले पत्याइ पनि दिए । तर कुरा अहिले अर्कै पर्न थाल्यो भने बेइमानी भएन र ? देवी देउतका अघिल्तिर पापी भइएन र ?

त्यसकारण अहिले यति भन्न सकिन्छ कि ओली र प्रचण्डका आआफ्नै परस्पर विरोधीजस्ता लाग्ने स्वाभाव, सोही अनुसार निकालिने अर्थ र भाष्यका बीचमा पार्टी एकताको डोरी अलमलिएको हुनु पर्दछ । तसर्थ ओली र प्रचण्ड दुवै जना असोज १५ गतेको मनको कुनामा रहेको चाहनाभन्दा एक तह माथि उठेर छलफल गर्ने र समाधानको शुत्रमा पुग्नु नै उपयुक्त हुनेछ ।

अहिले दुई दलका नेताहरुमा हताशा र आशंकको खेती बन्द गर्नु पर्दछ । प्रचण्ड अध्यक्ष नभए त के को एकता भन्ने हताश मानसिकता र त्यति सानो दलको नेता यति ठूलो पार्टीको अध्यक्ष भएर कसरी हुन्छ भन्ने जस्तो आशंका दुबै घातक कुरा हुन् । प्रचण्डकै शव्दको जमिनी यथार्थलाई आत्मसात गरेर पार्टी महाधिवेशनसम्मका लागि एउटा अन्तरिम व्यवस्था र महाधिवेशन पछि गरिने सांगठनिक निर्णयकप्रति नेतृत्वतहमा खुला छलफल गरी दरो प्रतिवद्धतामा अघि बढ्नुको कुनै विकल्प छैन । त्यसभन्दा यताउता गरेर कसैले कसैलाई देखाउंछु वा जे त होला भनियो भने त्यो दुवै पक्षबाट जनता र देशलाई गम्भीर धोका बाहेक केही पनि हुंदैन ।

    Comment Here!


सम्बन्धित समाचार

View All