तिलौराकोटको इतिहास २८०० वर्ष पुरानो

2018-02-12 19:35

कपिलवस्तु, २९ माघ । तिलौराकोटमा इसापूर्व आठौँ शताब्दीमा सुसंस्कृतिले सम्पन्न मानव बस्ती भएको तथ्य फेला परेको छ ।

पुरातत्व विभाग, बेलायतको दुरहाम विश्वविद्यालय, लुम्बिनी विकास कोष र राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले गरेको पुरातात्विक उत्खननबाट पाइएका विभिन्न सामग्रीको वैज्ञानिक अनुसन्धानपछि नयाँ तथ्य बाहिर आएको छ । ‘युनेस्को जापानिज फण्ड इन ट्रष्ट’को आर्थिक सहयोगमा करीव तीन वर्षदेखि भइरहेको उत्खननले उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको क्रमिक विकास भएको प्रमाण प्राप्त भएका छन् ।

त्यस क्षेत्रमा अहिले फलामका किल्ला, माटोका भाँडा र इँटाका टुक्रा, फुटेका चुरालगायत सामग्री संकलन गरिएको छ । त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका संस्कृति र पुरातत्व विषयका विद्यार्थीसमेत उत्खननमा क्रियाशील छन् । यस कार्यका लागि राष्ट्रिय विज्ञ कोषप्रसाद आचार्य र दुरहाम विश्वविद्यालयका प्रा रवीन कनिघमले सहनिर्देशकको भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

विज्ञ आचार्यका अनुसार तिलौराकोटमा इपू छैँटौ शताब्दीमा योजनाबद्ध शहरीकरण शुरु भएको पाइएको छ । उहाँले उक्त क्षेत्रको चारैतर्फ किल्ला र पर्खालले घेरिएको, उत्तरतर्फ स्तूप, दक्षिणमा औद्योगिकस्थल, पूर्वमा विहार र पश्चिममा बसोबास रहेको जानकारी दिनुभयो ।

स्तूपको नजिकै थुप्रै पर्खाल, पोखरीको किनारका साथै विहारको जगमा चाँदीका ४९७ पञ्चमार्क मुद्रा पनि भेटिएको छ । शहरको दक्षिणतर्फको ढिस्कामा फलाम प्रशोधन गर्दा बचेका अवशेष फेला परेपछि त्यहाँ महत्वपूर्ण औद्योगिकस्थल रहेको जानकारी प्राप्त भएको छ । उत्खननका क्रममा करिब आठ टन धातुअंश प्राप्त भएपछि ठूलो मात्रामा धातु पगाल्ने काम भएको अनुमान गर्न सकिन्छ ।

यसअघि सोही टोलीले सन् २०११ देखि तीन वर्षसम्म लुम्बिनी क्षेत्रमा पनि अनुसन्धान गरी प्राचीन लुम्बिनीग्रामको नयाँ इतिहास बाहिर ल्याउनाका साथसाथै लुम्बिनीबारे धेरै तथ्य प्रकाशमा ल्याएको थियो ।

ऐतिहासिक र पुरातात्विक तिलौराकोटलाई प्राचीन कपिलवस्तु राज्यको राजधानीका रूपमा चिनिन्छ । स्थानीय शिवगढ गाउँ नजिक रहेको उक्त स्थान शाक्यमुनि गौतम बुद्धका पिता शुद्धोधनको राजाप्रसाद थियो जहाँ सिद्धार्थले बाल्यकालदेखि २९ वर्ष बिताएका थिए । पारिवारिक तथा राजकीय सुखसयल छाडेर बुद्ध दरबारको पूर्वतिरको द्वारबाट महाभिनिष्क्रमणमा निस्केको विश्वास छ ।

गौतम बुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध भएको हो । स्थानीय बाणगंगा (प्राचीन भागीरथी) नदीको किनारमा रहेको तिलौराकोट परिसरभित्र मुख्य भग्नावशेषका रूपमा पूर्वीद्वार, पश्चिमीद्वार, मध्य भागको संरचना परिसर र गत वर्ष संरक्षण गरिएका केही संरचना देखिन्छन् तर भूभौतिक सर्वेक्षणबाट जमीनको सतहभित्र व्यवस्थित शहर रहेको प्रकाशमा आएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले उत्खननबाट आउने परिणामका आधारमा त्यसको महत्वलाई प्रचार तथा प्रवद्र्धन गरिने बताउनुभयो ।

पाँचौ शताब्दीमा चिनियाँ यात्री फाहियान र सातौँ शताब्दीमा ह्वेन सानले यस क्षेत्रमा गरेका यात्राका आधारमा तयार भएका विवरण तथा प्रतिवेदनले पनि त्यहाँको खोज र अनुसन्धानलाई सहज बनाएको छ । हाल पश्चिम क्षेत्रको प्रदेश नं ५ मा पर्ने कपिलवस्तु जिल्लाको क्षेत्रफल ६७१ वकिमी छ ।

नेपालमा भएका जिल्लामध्ये सबैभन्दा बढी पुरातात्विकस्थल यही जिल्लामा प्राप्त भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार तिलकराम आचार्यले यहाँ भएका पुरातात्विक सम्पदाको सही तरीकाबाट संरक्षण तथा व्यवस्थापन गर्न सकिएमा नेपालको ठूलो पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने बताउनुभयो ।

    Comment Here!


सम्बन्धित समाचार

View All