के भ्यालेन्टाइन फूल र वासनाको मात्र व्यापार हो ?

शारदा शर्मा
2018-02-13 22:07

-शारदा शर्मा-

थाहा थिएन शहर भ्यालेन्टाइनले रंगिदा फूलहरुको बिक्रीसंगै मान्छेहरुको पनि मोलमोलाई यति सजिलै हुन्छ भन्ने । खुशी मनाउन अनेक बहाना खोज्नै पनि किन प¥र्ये र ? र पनि सभ्य समाजमा खुशीका पहेलीहरुमा गुजिल्टन खोज्दै स्वतन्त्रता र अधिकारका नाराहरुले अलि बढी नै गलाइसक्दा फरकपनको खोजीमा बरालिइरहेको समाजमा मानिसहरु भौतारिइरहंदा खै कति खुशी समेट्न सकेका छन् ? हुन त ग्ल्यामरको परिभाषा नबुझेर शारीरिक रुपमा पारदर्शी बन्नु परेको अवस्थामा अलि बढी नै अधिकारको गगनचुम्बी महलबाट तल फर्किंदा शायद आफैलाई अलि लाज लागेर आयो । सडकमा तछाड मछाड भ्यालेन्टाइनको थियो । फूलको ब्यापारले ब्यापारी जति खुशी देखिन्थ्यो, थाहा भएन ऊ मानसिक रुपमा किन अस्वस्थ देखिन्थ्यो । यसैले पनि देखाएको थियो अनगिन्ती गुलाबहरुले ब्यापार लिएको समय ब्यापारीको मात्र ब्यापार थिएन शहरमा मान्छेभित्रको आचरणको पनि ब्यापार अलि बढी नै देखियो ।
जीवन जगत सुख र खुशीको परिभाषालाई आआफ्नो तरिकाले बुझ्दै जादां शायद आजको समाजले स्वतन्त्रता र अधिकार यसैलाई मानेको हुनुपर्छ । मनमा अनेक कौतुहलता जाग्यो । प्रेम,संबन्ध र जीवनको स्वतन्त्र भोगाइको खोजीमा को कहांनेर बढी खुशी देखियो ? यसको लेखाजोखा गर्न निकै कठिन हुन थालेको छ। । अनेक स्वर्थका सरगमबीचबाट प्रेमको परिभाषा खोजिंदै जांदा धेरै प्रेमहरुको बिसर्जन भएर चिलबिलमा छटपटाइरहेको देखियो । जीवनको सुख र खुशको परिभाषालाई गलत रुपमा ब्याख्या गर्दै पवित्र संस्थाहरुको बिषयमा परम्परा भनेर नामाकरण गरिंदा खै कहांनेर को खुशी रहे त ? जान्न मन लाग्यो । हरेक कुरामा अनुशासित र सभ्य समाजको परिकल्पनाको पगरीभित्र आफ्नो आचरणहिन ब्यवहारको कुशल परिभाषा दिन पछि परेनौ हामी । अनि स्वतन्त्रता र अधिकारका फन्डाहरुले हाम्रो सुख र खुशीलाई सर्लक्कै निलिदिएछ । कता जांदैछ समाज ? फूलको गुच्छा किनेर प्रेममा डुब्न स्वतन्त्रताको बाटो अबलम्बन गर्दै सडक अलि पारी पुग्दा फेरि एउटा टीठ लागदो दृश्यले मन छोयो । प्रेमको भीख मागिरहेकी युवतीको हातमा भएको गुलाव सांच्चै झुकेको थियो । अचम्म लाग्यो आजको दुनियासंग प्रेमले गरेको के यो सांच्चै ठट्टा थियो या स्वतन्त्रताको प्रयोग ? खै किन हो मन चसक्क भयो । शयद पसिना नै छुटेछ क्यारे । अलि बढीनै ग्ल्यामरको ब्याख्यामा आफूलाई ढाल्न नसकेर पनि हो की ? मैले जीवन सडक पेटीबाटै नियालें । काम गरेर पसिनाको ब्यापार गर्ने मेरी हजुरआमा र हजुरबाभित्रको गहिरो प्रेमले बढीनै नोस्टाल्जिक बनायो । उहिलेको अनपढ परम्परा र आजको शिक्षित सभ्यतामा कुन सही थियो ? भैसी किन्न आएका छिमेकीलाई बुढीले मानेकी छैन भनेर पठाएपछि हजुर बा ले हजुरआमासंग गरेका कुराकानी सम्झिंदा लाग्यो मेरा हजुरबा हजुरआमाको प्रेम महान थियो । सांच्चै शासककै रुपमा प्रस्तुत हुने हजुरआमाले के स्वतन्त्रता र अधिकार नपाई मरिन ? अंह पत्याउनै गाह्रो भयो । खास के हो त स्वतन्त्रता ? जुन स्वतन्त्रताले मान्छे खुशी र सुखी रहनै सकेको छैन त्यसलाई स्वतन्त्रता मान्नै तयार भएन मन । पैसाले किनेको खुशी कसरी दिगो हुनसक्छ र ? किनेको खुशी प्रयोग गरेपछि त्यसको महत्व त्यतिनै बेला समाप्त भैसकेको हुन्छ, त्यसैले पनि होला मानिसको खुशी हराइसकेको अनुभव भयो ।
शायद मैले बुझेको जीवनको खुशीमा अनुशासन र नियमहरु छन् । स्वतन्त्रताको मेरा आफ्नै मान्यताहरु छन् । जहां मान्छे रमेर बांच्न सकेको छ त्यहां हरप्रकारका स्वतन्त्रताहरु छन् । रमेर बांच्ने चाहनामा कतिपय नियमहरुले ट्रयाक छोड्यो भने सांच्चै जीवन बोझ बन्न थाल्छ । खुसीको बहानामा चालिएका कदमहरुले आफैलाई जिस्काउदा यौटा सुन्दर जीवनको अवसान हुन पुग्छ । कसैले कसैको दबावमा बस्ने हैन, तर केही नियमहरुलाई पालना गर्नै नसक्नेहरु सुखी र खुशी नहुन सक्छ । हरेक पललाई प्रत्येक बिहानी घामसंगै उदाउने नयांपन जसरी जीवनलाई महसुस गर्न सक्नेहरु अंध्यारोमा पनि रमाउन सक्छन् । उज्यालोको कल्पनामा । हुन त सोच आ–आफ्नो हो । आकाश धमिलो हुदै गयो । पानी त पक्कै पर्ने छैन ।
म बाटो काट्नै लाग्दा हातमा झुकेको फूल समाएर उनी मेरै अगाडी उभिएकी थिइन । सोधें भ्यलेन्टाइनको गुलाव ? तर किन निराश त तिमी ? एकैछिन बोलिनन् । मलाई केको चासो बाटो काट्न हिड । हैन सुन्नुस् न दि, म रोकिएं के भो ?
सामाजिक सन्जालबाटै बिस्तार भएको प्रेमले केही समय पनि लिन सकेन आखिर किन ?अनेक दुःखले शहर तानेको समय पढाईसंगै जागिर पनि त थियो । तर संगै मर्ने कसम खाएर तनमन सुम्पेको प्रेमले तीनवटा भ्यालेन्टाइन पनि पार गर्न सकेन । भयो के त ? के भएन ? हरेक कुरा भयो । भएन त बिहे । अनि टिकेन सम्बन्ध । उनले भन्दै जांदा मैले पनि उनलाई रोकेर भनें, किन गर्न प¥यो बिहे ? यो त बन्धन हैन र ? बिहे नगरीकन बस्ने लिभिङटुगेदरको जमानामा किन गर्नुप¥यो बिहे ? बच्चा त जसरी जन्माए पनि त भयो । यही हैन र स्वतन्त्रता ? खुशी जहांबाट जसरी समेट्न सके पनि त भयो । शायद मेरो कुरा व्यंग्य जस्तो लागेछ क्यारे उनी पुरै निराश बनिन । नियम बिनाको स्वतन्त्रताले बासना पुरा ग¥यो । खुसी दिन सकेन । अनुशासन र अनुसरण बिनाको यात्राले क्षाणिक सन्तुष्टि भएको अनुभव मात्र भयो । आत्मसम्मान र सुख दिन सकेन । शायद यसैले मेरो प्रेमको बिसर्जन भयो । आफैले आफैलाई जीवनभर माफ गर्न नसक्ने मेरो प्रेम, प्रेम थिएन । सांच्चै हो प्रेमका आफ्नै नियमहरु छन, जुन नियम र अनुशासनको जगमा उभिएर प्रेमको उडान भर्न सक्नेहरु नै यसमा सफल छन् । जहां नियम र अनुशासनलाई बन्धन ठानिन्छ, त्यहां कि त विसर्जन छ, कि त डिप्रेसन । अचम्म लाग्यो यतिधेरै ज्ञान हुदां पनि किन असफल भयो त प्रेम ? शायद त्यहांका नियम र अनुशासनलाई पक्कै बन्धन र बाध्यता ठानियो ।
किन स्वतन्त्रताको गलत प्रयोगले ? आधुनिकताले या के ले त ? खास प्रेम केहो ? पाउनु सुम्पिनु अनि समाप्त हुनु ? के यसका कुनै नियम हुंदैनन् ? यसमा कुनै अनुशासन र मान्यताहरु हुंदैनन् । त्यसैले त सम्बन्धहरु बिसर्जन भैरहेको छन । जहां समर्पण भन्दा स्वार्थ छ, प्रेमभन्दा पनि बासना छ, अनुशासन भन्दा बढी उछृंखलता छ अनि कसरी टिक्छन् सम्बन्धहरु ? यो गुलाबले समेत मानिसलाई जिस्काइरहेको छ । के तिमीले यति पनि बुझ्न सकिनौ ? उनको आंखा रसाए ।
जीवन एउटा पाठशाला हो । हरेक पाठशालाका आआफ्नै नियम र मुल्य, मान्यताहरु छन । जुन नियमहरुलाई मान्दा आफूलाई कमजोर महशुस नहुनेहरु छन् । उनीहरु सांच्चै सडकमा पनि खुशी छन् र महलमा पनि । जस्लाई ति नियम र मुल्य मान्यताहरुले बांधिएको महसुस हुन्छ । अनि स्वतन्त्रताको उडान भर्ने बहानामा आफ्नै अगाडीको भंगाल मापन गर्न नसकेर पछारिन्छन् ? कति उत्रिन खोज्छन् र पनि घाइते भएर बांच्नु पर्दा अलि नमिठो फिल गर्छन, कति जीवनभर औषधीकै भरमा बांचिरहेका हुन्छन् । जहां तिमीलाई धोका भयो त्यहांबाटै कसैको उद्दार पनि भएको होला । एकपटक चोट लागेको उपचार अलि सजिलो हुन्छ । पटकपटक चोट लाग्दा घाउ निको हुनै सक्दैन । त्यसैले के जीवनका पाठशालाहरु भित्रका नियमहरुलाई अझै पनि तोड्न चाहान्छा ? मैले सोधें, कति कुरा बुझिन उनले खै ? हातमा समाएका गुलाबका पत्ताहरु झरिसकेका थिए । एउटा सुन्दर जीवनको कलपनामा मगमगाएका पहेलीहरु पत्ता बनेर झरीरहंदा अन्तिममा उनी पटक्कै निराश थिइनन् खै के सोचिन ?
जहां नियमहरु हुन्छन्, त्यहां अनुशासन पनि त हुन्छ । नियम र अनुशासन बिनाको स्वतन्त्राले बिसर्जन गराउने कुरा मन प¥र्याे दि । आज भ्यालेन्टाइनको बहानामा मान्छेको समेत ब्यापार भैरहेको छ । के यी खरिद बिक्रीको खेलका पत्ताहरु संधै एक भएर मुस्कुराउन सक्छन् ? असम्भब छ । आखिर प्रेम सम्बन्ध यौटा मिठो अनुभूति हो जहां अनेक फूलहरु मगमगाएको हुन्छन । जीवन जीउन जान्नेहरु प्रत्येक पललाई नयांपनले भर्न सक्छन् न त्यहां बन्धन हुन्छ न स्वतन्त्रताको खोजी । खुशी र सुखी हुन ति प्रत्येकपल नै नयां हुन्छन् । आखिर अनुभूति र महसुस न हो । तर आजको पुस्ता फरक अनुभवको लागि विना नियमका रसीहरुमा टेकेर मापन बिनाको भंगालामा हाम फालिरहेको छ । त्यसैले त हरेकतिर बिसर्जन छ । नियमहरुलाई बन्धन ठानेर स्वतन्त्रताको उडान भर्न खोज्दा मेरो भ्यलेन्टाइनको पनि त बिसर्जन भयो । सांच्चै हो दि, जीवन जिउन जान्नेहरुले यस पाठशाला भित्रका नियमहरु मान्नै पर्छ । अब म दुखी हुने छैन । मेरो नाम अकल्पिता म बैंङकमा काम गर्छु ।
आफ्नो परिचय दिएर उनी मुस्कुराउदै बाटो काट्दा मैले आफ्नो सिंगो लाइफ नियालें । सांच्चै चौबिस बर्षको लाइसेन्समा पांच, छ बर्षको लाइसेन्स बिनाको भ्यलेन्टाइनले नियम र अनुशासनलाई बन्धन ठानेको भए कहां सफल हुन्थ्यौ र हामी ? नियम र अनुशासित रुपमा चलाइएका हर संस्थाहरु मजबुत र सफल हुन्छन् । त्यसैले अनुशासित रुपमा जीवनलाई अगाडि बढाऊं र हरेक पल सुख र खुशीको अनुभूति गरौं । शायद मलाई भ्यलेन्टाइनको अर्थ थाहा छैन, आफुभित्र एक्लै बोल्दै बाटो काट्नै थाल्दा फेरी फूलवालाले बाटैमा गुलाब किन्न अनुरोध ग¥यो र भन्यो दि, आज त भ्यलेन्टाइन डे होनी ।

    Comment Here!


सम्बन्धित समाचार

View All