माओवादी जुवाको विश्राम, एमाले -माओवादीको मदनपथमा अवतरण

शुभशंकर कंडेल
2018-02-21 07:36

काठमाडौं । २००७ सालदेखि फागुन ७ लाई प्रजातन्त्र दिवसको अबसरमा देशवासीले छुट्टी मनाइरहेका बेला मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र नेकपा माआवादी केन्द्रका बीचमा पार्टी एकता गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुवै पार्टीले अब पार्टीको नामका पछाडिको पुच्छर हटाएर नेकपा मात्र राख्ने भएका छन् । २०१९ सालदेखि फुट र विभाजनको पीडा खेपेको आन्दोलन र देशभरका कम्युनिस्ट कार्यकर्ताहरुको चाहना नै यही थियो । संयोग कस्तो परेको थियो भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा रात्रीभोजसहितको एकता सम्झौता बैठकको ठीक पहिले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले चिनिया उपमन्त्रीलाई भेट्दै पार्टी एकता हुने पहिलो खुशी बांडेका थिए । ति चिनिया उपमन्त्री एमाले महासचिवको निम्तोमा नेपाल भ्रमणमा आएका थिए ।
कम्युनिस्ट पार्टी स्थानपना हुंदा २००६ सालमा पनि यसको नाम नेकपा मात्र थियो । दुई ठूला र मुख्य पार्टीका बीचमा एकता भएपछि झण्डै ३०वर्ष पछि र विशेषगरी प्रचण्ड नेतृत्वको पार्टीले माओवादीे शव्दावली बोकेको २२ वर्षपछि सन्दर्भहीन माओवादी शव्दावलीको जुवाबाट नेपालको कम्युनिस्ट आन्दोलन मुक्त भएर भर्जिन स्वरुपमा फर्कने भएको छ नेकपाका रुपमा । यसलाई नेपाी कम्युनिस्ट आन्दोलन बांगिएको, टेढिएको र कहिलेकांही त कहिल्यै नसोझिएला कि भन्ने खतराबाट जोगिएर सुरक्षित अवतरण माने पनि हुन्छ । यो प्रचण्डकै शव्दमा ऐतिहासिक फड्को माने पनि हुन्छ ।

गत शनिबार प्रचण्डले महोत्तरी पुगेर एकता भांड्न धम्की दिएको सार्वजनिक गरेका थिए । त्यसको दुई दिन अघिको रातमा भएको असफल बैठकमा जबजको विषय प्रवेश र अन्तले प्रचण्डलाई बेचैन बनाएको उनको भाव र बोलीमा स्पष्ट झल्कन्थ्यो । पछिल्लो आधादशकदेखि नै प्रचण्डलाई आफू हिंडिरहेको परम्परागत माओवादी नामक बाटोबाट बर्बाद हुने बाहेक केही नहुने राम्रोसंग अनुभूत भएको थियो । यो पंक्तिकार र प्रचण्डका बीचमा ०७० को चुनावपछिको पराजयको पीडका बेला लगातार ४ दिनसम्म भएका छलफलमा प्रचण्डको मनोदशा जतिसक्यो छिटो एमालेसंग मिलेर जाने बाहेक विकल्प नभएको गहिरो एहसास मैले बुझेको थिएं। । त्यसको सिधा अर्थ उग्रपन्थी मानिएको माओवादीको स्थगन र सर्वस्वीकार्य बनिरहेको जबजको आत्मसातीकरण नै हुनसक्दथ्यो । अनेका उतारचढाव, हण्डर ठक्कर हुंदै ठोक पिटले समेत प्रचण्डलाई त्यहीं पु¥यायो । त्यही कारण मुलुकले निकास पायो । अब जनताको मुहारमा आशा जगाउन थाल्दैछ । सोमबारको बैठकका लागि प्रधानमन्त्री ओलीले विशेष मेजमानी गरेका थिए । एक पांच तारे होटलबाटै डिनरको व्यवस्था गरिएको थियो भने घोषणा गरिएको ७ बुंदे प्रस्ताव प्रचण्डले आफै टाइप गराएर लगेका थिए बालुवाटार । त्यो प्रस्तावको ४ नंं बुंदालाई अघि ल्याउने र अघिको पछि ल्याउने बाहेक अरु केही गर्नै परेन । त्यो प्रस्तावले पूर्व माओवादीहरुलाई ओलीको जोडबलमा होइन प्रचण्डकै अग्रसरतामा जवजबादी बनाइदियो । अर्कातिर कडा ढिट अडान राख्ने सुपात्र मानिएका ओलीको उदारताको कलाइमेक्स पनि मान्न सकिन्छ ।

माओवाद मान्ने र नमान्ने विषयमा रोचक प्रसंगहरु छन् । चिनिया जनक्रान्तिका नायक माओत्सेतुङको नाममा माओविचारधारा र माओवाद भन्दै आएका थिए कतिपय देशका कम्युनिस्ट पार्टीहरुले । तर स्वयं चिनिया कम्युनिस्ट पार्टीले अन्य देशका कम्युनिस्ट पार्टीले जस्तो माओवाद वा माओविचाराधाराको अतिरन्जना कहिल्यै गरेन ।

सन् १९७६ अघि बेलामौकामा माओविचारधाराका बारेमा विभिन्न बहसहरु भएपनि माओको निधन भएपछि चिनिया कम्युनिस्ट पार्टीले माओ विचारधारालाई बैधानिक रुपमा मान्न थाल्यो । तथापि चिनिया कम्युनिस्ट पार्टीले शान्तिपूर्ण र बैधानिक रुमपा नै समाजबादमा संक्रमण गर्ने नीति अख्तियार गरेर माओको जनवादीकालीन हिंसात्मक बाटोको सान्दर्भिकता नरहेको स्पष्ट गरेको थियो । सबैभन्दा पहिले गोन्जालोको नेतृत्वको पेरुभियन कम्युनिस्ट पार्टी साइनिङगपाथ र अमेरिकाको नाममात्रको आरसीपी अमेरिकाले माओवाद मान्न थालेको हो । त्यसैको प्रभावमा परेर नेपालमा प्रचण्ड नेतृत्वको पूर्व समूहहरुमा यो निकै ठूलो बहसको विषय भएको थियो । सन् १९८४ मा माओवाद मान्न तयार हुने पार्टीहरुको सञ्जाल रिमको समेत गठन गरेर आरसीपी र साइनिंगपाथले माओवाद लाद्ने दुष्प्रयास समेत गरेका थिए केही वर्षपहिलेसम्म ।
नेपालमा ०४५ सालदेखि तात्कालीन मशालले माओवादलाई सिद्धान्त बनाएको थियो भने ०४७ मा निर्मल लामाहरुसंग एकता भएर पार्टीको नाम नै एकताकेन्द्र भएपछि माओवाद र विचारधारा बहसको विषय भएको थियो ।
०५१ सालमा प्रचण्ड नेतृत्वको समूहले एकताकेन्द्रबाट लामाहरुलाई हटाएर पार्टीको नाममा नै माओवादी राखेर जनयुद्धमा गयो । जनयुद्धकालभरि युद्धको मुख्य कार्यनीति र रणनीति नै माओवाद मानियो । त्यसभन्दा अघि बढेर पेरुकै गोन्जालोको नक्कल गर्दै प्रचण्डपथ समेत भनियो । पेरुमा गोन्जालो विचारधारा भन्न थालिएको थियो त्यसअघि नै । ०६५ सालमा पुनः नारायणकाजी श्रेष्ठहरु प्रचण्डसंग मिल्न आइसकेपछि केही समय बहसमा लगिएको माओवादलाई त्यो पार्टीले जबर्जस्ती सिद्धान्त मान्दै आएको हो ।
माओवादीको हेटौंडा महाधिवेशनमा आइपुग्दा माओवादी बहुदलीय जनवादी भइसकेको थियो तर सिद्धान्तबाट संसारभर बद्नाम भइरहको माओवादी जुवा हटाउन सकेको थिएन । प्रचण्ड धेरै पहिलेदेखि नै यो जुवाबाट मुक्त हुन चाहन्थे । तर उपयुक्त बहाना पाएका थिएनन् । यद्यपि प्रचण्डले ०६०सालतिरै एक्काइसौं शताव्दीको जनवादको नाममा बहुदलीइ जनवादका धेरै कुरालाई माओवादी पार्टीभित्र घुसाएका थिए । उता चिनिया नेताहरु नेपालमा आफ्ना संस्थापक क्रान्ति नायक बद्नाम भएकोमा दुखी थिए । बांकी पश्चिमा विश्वले माओवादलाई बीन लादेनको अलकायदालाई जस्तै आतंककारी मान्दथ्यो । त्यसले शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी दबाबमा परेको सोही पार्टीका नेताहरुले बताउंदै आएका थिए । माओवादलाई सत्ता बन्दुकको नालबाट निस्कने भन्ने उक्तिको वरिपरि घुमाएर हिंसाको पर्यावाची बनाइयो नेपालमा । त्यसमाथि त्यति नै बेला अमेरिकाले अलकायदा विरोधी विश्वव्यापी कारबाही चलाएर अफगानिस्तान र इराकमा बमबारी गरिरहको परिस्थितिले पनि माओवाद मान्नेहरु पनि आतंककारी नै हुन् भन्ने दुष्प्रचार चल्यो विश्वव्यापी । त्यसलाई खण्डन गर्ने अर्को कुनै बैकल्पिक विश्वव्यवस्था थिएन र अहिले पनि छैन । यस्तो विषम अवस्थामा पार्टीको नाम नै माओवादी भएको तर व्यवहारमा विकृत पुंजीवादी चरित्र प्रदर्शन भइरहंदा प्रचण्डहरु आफ्नै नामबाट प्रताडित भएको अवस्था थियो ।
अर्कातिर पूर्व चौथो महाधिवेशनका समूह माओविचारधाराले नपुगेर माओवाद भन्न लागिरहेको बेला ०४६ सालमा मदन भण्डारीको नेतृत्वको नेकपा मालेले पार्टीको मार्गनिर्देशक सिद्धान्तबाट माओविचारधारा हटाएर पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनबाद मात्र अंगिकार गरेको थियो । त्यसपछि ०४९ सालमा मदन भण्डारीले पार्टीको कार्यक्रमिक सिद्धान्तका रुपमा जनताको बहुदलीय जनावादको अवधारणा अघि सारेर विश्वव्यापी एकदलीय तानाशाही कम्युनिस्ट भन्ने दुष्प्रचारको राम्रोसंग खण्डन गरेका थिए । त्यसयता बहुदलीय जनवादीहरुले पनि सकेसमम दोहन र विद्रुपीकरण गर्न कुनै कसर बांकी राखेनन् । जे र जस्ता अपराध, बदमासी र सुख सुविधाका सत्ता उपभोग गर्दा पनि जबजलाई ढाल बनाउने विडम्वना प्रदर्शन भएको इतिहास ताजै छ ।
फेरि पनि मदन भण्डारीको दूर दृष्टिमा जबज प्रतिक्रियावादी पुंजीवादीहरुका विरुद्ध लड्न्े जबर्जस्त लोकतान्त्रिक औजार थियो । त्यो जेपनि र जस्तासंग पनि सम्झौताको रक्षाकवज कदापि थिएन । कम्युनिस्ट आन्दोलनलाई परिवर्ति सन्दर्भ र समाजमा लोकतान्त्रिक बाटोबाट अघि बढाएर समाजवादमा पुग्ने एक निर्दिष्ट रणनीति थियो । अन्तत २५ वर्षपछि नेपालको सिंगो कम्युनिस्ट आन्दोलन औपचारिक रुपमै सहमत भएर ऐतिहासिक फड्को मारेको छ मदन भण्डारीको मार्गदर्शनमा सहमत भएर । कुनै नामाकरण नभनिकन भन्दा अब नेपलाको कम्युनस्ट आन्दोलन मदन भण्डारी पथमा समेटिएको छ । यसले २५ वर्ष अघिको मदन भण्डारीको दूरदृष्टि पुनर्पुष्टि भएको छ । छरिएका सबै कम्युनिस्टहरुलाई एक ठाउंमा खडा भएका छन ।
सोमबार भएको दुई पार्टीबीचको सहमति पत्रमा पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनबाद मान्ने घोषणा गरेको छ । संगसंगै जनताको बहुदलीय जनवादको सारतत्व सहर्ष स्वीकार गरेका छन् दुबै दलका प्रमुख ८ जना नेताहरुले देशभरका झण्डै ६ लाख बढी पार्टी सदस्य र ५० लाखभन्दा बढी मतदाताको वारेसका रुपमा । ति सदस्य र मतदाताको विश्वासलाई भरोसमा बदल्ने चुनौतिका रुपमा लिनु उचित हुनेछ ।

गत असोज १७मा पार्टी एकताको उद्धेश्य सहित चुनावी तालमेल गरेदेखि नै जबजलाई कसरी मान्ने भन्ने विषयमा बहस हुंदै आएको थियो । प्रचण्डले चुनावी अभियानका क्रममा सबैभन्दा बढी मदन भण्डारीको योगदान र व्यत्तित्वका बारेमा बोलेका थिए । तर एकता वार्ता चल्दै जांदा जबज सस्पेन्ड गर्ने कुरा उठेको सुन्दा प्रचण्डले चुनावका बेलामा मदनका बारेमा बोलेका कुरा केवल चुनावी बनियागिरि मात्र थिए त भन्ने आशंका उव्जाएको थियो । अन्तमा प्रचण्डले आफूलाई सबैभन्दा बढी इमान्दार बक्ता सावित गरे एकताको प्रारुपमा जवजको आधारभूत सारतत्वलाई स्वीकारेर । प््रचण्डले मदनकाप्रति सांच्चिकै उच्च सम्मान दिएको मान्न पनि सकिन्छ । जबजको सारभूत तत्वलाई स्वीकार गर्न परेकामा बहकाउमा पूर्व माओवादीका कसैले पनि मन अमिलो बनाउनु पर्दैन । हिजो माओवाद बुझेर भन्दा रोमान्टिक मुडमा अपनाइएको थियो भने अहिले जबज व्यवहारिक रुपमा सत्ताको केन्द्रदेखि परिधिसम्म बसेर आर्थिक सामाजिक रुपान्तरणका लागि अंगिकार गरिएको हो । थला परेको विरामीलाई पनि रेस्लिङ वा रोमान्टिक मुभी हेर्दा आनन्द आउंछ तर जीवन चलाउन नियमित चिकित्सकको सिफारिश बमोजिम औषधि र आहार सेवन अनिवार्य हुन्छ । माओवाद वा एकल सत्ता कव्जा रुमानी कल्पना अवश्य हो, व्यवहारिक उट्पट्याङ पनि भयो । गणतन्त्रदेखि संविधान बन्ने तहसम्म पुग्न धेरै छिटो पनि भयो । तर नेपाली समाजमा राजनीति गरिरहन बहुदलीय प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने र जनपक्षीय चरित्र नगुमाउने ध्याउन्नमा लागरिहनु पर्दछ भन्ने आर्थिक समाजिक चिकित्सकीय सिफारिश होइन र ? अहिले प्रचण्डले ओलीसहितका नेताहरुसंगै हस्ताक्षर गरेको प्रेसक्रिप्सन त्यो भन्दा बढी वा कमी केही पनि होइन ।

कम्युनिस्टहरुको पहलमा बनेको नेपालको नयां संविधानको प्रस्तावनाले पनि आधारभूत रुपमा मदन भण्डारीले ०४९सालमा सूत्रबद्ध गरेको जबजकै सारतत्व बोकेको मात्र छैन त्यही बाटोबाट समाजवादमा पुग्ने मार्गदर्शन गरेको छ । अर्को शव्दमा यतिबेला समाजवादी ध्येययका लागि काम गर्ने भनेको संविधानवादी बन्ने पनि हो । त्यसभन्दा अघि बढेर व्याख्या गर्ने हो नेपालको सिंगो कम्युनिस्ट आन्दोलन संगै राज्यव्यवस्था नै मदनपथमा अघि बढ्न तयार भएको छ । केवल चुनौति यति मात्र छ कि मदनपथमा अघि बढ्न तयार भएका अगुवाहरु कति इमान्दार बन्लान् वा विगतकै विचौलिया द्रव्य पिचासको चंगुलभित्र रमाएर समय कटाउलान् ? देशभरका कम्युनिस्ट पार्टीका कार्यकर्ता र सदस्यले खबरदारी गर्नु पर्ने सबैभन्दा मुख्य कुरै यही हो । मदनपथले राजनीतिक प्रतिस्पर्धाबाट श्रेष्ठता कायम गर्ने भनेको जनपक्षीय नीति योजना र त्यसको इमान्दार पूर्वक काम गरेर देशको स्वाभिमानलाई उंचो पार्दै जनताको मुहारमा खुशी ल्याउने हो । प्रधानमन्त्री तथा नेपालको कम्युनिस्ट आन्दोलनका सबैभन्दा अग्लो स्थान कायम गर्न सफल ओलीकै शव्दमा खुशी जनता र सम्बृद्ध नेपाल बन्ने बाटोमा अघि बढ्न विगतको उच्चाट लाग्दो बानी, व्यवहार र संगत बदलिनै पर्दछ । ओली आफूमात्र बदलिएर पुग्दैन उनको टिमका सदस्यहरुलाई पनि बदल्नै पर्दछ । तबमात्र कम्युनिस्ट एकता र एकीकृत पार्टी र मदनपथको सार्थकता स्थापित हुनेछ ।
Twitter/ @sskandel

    Comment Here!


सम्बन्धित समाचार

View All