प्रचण्ड भन्छन् –पार्टी एकतालाई निस्कर्षमा पुर्याउन गम्भिर वार्ता भैरहेको छ

2018-04-16 17:43

काठमाडौं, ३ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेसँगको पार्टी एकतालाई निष्कर्षमा पु-याउन गम्भिर वार्ता भईरहेको बताउनु भएको छ ।

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई निष्कर्षमा पु-याउन आफ्नो सम्पूर्ण ध्यान केन्द्रित भएको पनि स्पष्ट पार्नुभयो । उहाँले पार्टी एकतालाई निष्कर्षमा पु-याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार विहान झण्डै २ घण्टा लामो छलफल गरिएको पनि बताउनुभयो ।

भोलि विहान ९ बजे बस्ने पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकतालाई अघि बढाउन ठोस निर्णय लिने उहाँको भनाई छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पार्टी एकतालाई अघि बढाउने दायित्व पूरा गर्न आफूहरु केन्द्रित भएको पनि स्मरण गराउनुभयो ।

अध्यक्ष दाहालले एमालेसँगको एकतालाई निष्कर्षमा पु-याउने गरी पार्टी भित्र निर्णायक छलफल गर्ने तयारी गर्नु भएको छ । अध्यक्ष दाहालमाथि पार्टी भित्रबाट एमालेसँगको एकता बराबरीको आधारमा गर्न दवाव परेको छ ।

बैशाख ९ गते कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी एकता गर्ने निर्णय लिएका दुवै दलको नेतृत्वले त्यसका लागि आ–आफ्नो पार्टी भित्रको तयारीलाई अन्तिम रुप दिने कामलाई अव अघि बढाउने तयारी गरेका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि लिइएको जिम्मेवारी पूरा गर्ने दायित्व आफूहरुमाथि रहेको पनि स्पष्ट पार्नुभयो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली भारत भ्रमणबाट फर्के लगत्तै पार्टी एकतालाई निष्कर्षमा पु-याउने निर्णय भएपनि त्यसयता दुई पार्टीबीच एकतालाई अन्तिम रुप दिने विषयमा औंपचारिक छलफल समेत हुन सकेको थिएन ।

    Comment Here!


सम्बन्धित समाचार

View All