काठमाडौं २९ पुस । आज राष्ट्रिय भक्का दिवस । पूर्वी तराईका बसोबास गर्ने कोच राजवंशी समुदायले विशेष कार्यक्रमका साथ मनाउँदैछन् । राजवंशी समुदायको संस्कृतिअनुसार पुस मसान्तमा पाहुनालाई भक्का दिने चलन रहेकोले हरेक वर्ष पुस २९ गते भक्का दिनव मनाइन्छ ।
पछिल्लो समय कोच राजवंशी समुदायसँगै अन्य जातजातिमा पनि चामालको पिठोबाट बनेको भक्का लोकप्रिय बन्दै गएको छ । पानीको बाफमा बनाइने भक्काको व्यापार अहिले तराई मधेशसहित अन्य सहरहरुमा पनि विस्तार भइरहेको छ ।
लोकप्रिय बन्दै भक्का
भक्का विशेषगरी मङसिर, पुस र माघ महिनामा खाने चलन छ । नयाँ धानको चामालबाट बनाइने भक्का अहिले राजवंशी समुदाय बाहेकमा पनि धेरैले खोज्ने खाना बनेको छ । भक्का बनाउन चामालको पिठोलाई फेरि दाना बनाएर बाफमा पकाउनुपर्ने राजवंशी समाज विकास समिति बाह्रदशी झापाका सचिव हेमप्रसाद राजवंशी बताउनुहुन्छ ।
तातो भक्का अचार, तरकारी, माछा,मासुलगायतसँग खाइन्छ । चिसो बिहान र बेलुकीपख तात्तातो भक्का खानु आनन्दसँगै स्वास्थ्यका लागि पनि उपयुक्त रहेको छ ।
पूर्वी नेपालको झापा, मोरङ, सुनसरीका कोच राजवंशी समुदायमा भक्का प्रचलित छ । महाभारतकालमा भीष्म पितामहले देहत्याग गर्दा मेरो शरीरमा भएका असङ्ख्य शक्ति यही पृथ्वीको प्रकृतिमा छोडेर जाँदैछु । मलाई चामलबाट बनाएको भक्का चढाइदिनु भनेको र त्यही बेलादेखि भक्का संस्कृति बलियो बनेको राजवंशीहरु बताउँछन् ।
राजवंशी समुदायमा पाहुनाको स्वागत र समुदाय जुटेर रमाइलो गर्न भक्काको प्रयोग हुँदै आएको छ । पहिले पहिले गाउँमा भक्का बनाएर धानसँग साट्ने चलन थियो । अहिले राम्रो व्यापार गर्ने वस्तु बनेको छ ।
तराई मधेश मात्र नभई काठमाण्डौ उपत्यका सहितका शहरहरुमा समेत चिसो मौसममा भक्काको व्यापार प्रशस्त हुने गरेको छ । भक्का एउटा समुदायको संस्कृतिसँग जोडिएको खाना भए पनि यसका पारखीहरु बढेका छन् ।
चामालको पिठोलाई बाफमा पकाएर बनाउने यो खाना स्वस्थ हुनुका साथै जाडो मौसमका लागि उपयुक्त रहेको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्