टोटो र फुजीफिल्म जस्ता फर्महरूले उच्च मार्जिन सामग्रीहरूसँग आफूलाई पुनर्जनन गरेका छन्
टोटो जस्ता धेरै जापानी कम्पनीहरूले चुपचाप उपभोक्ता–मुखी उत्पादनहरू जस्तै शौचालयबाट विशेषज्ञ, उच्च मूल्यका उद्योगहरू जस्तै सेमिकन्डक्टर सामग्रीतर्फ स्थानान्तरण गरेका छन्, जसले जापानको विश्वव्यापी दृश्यता कम भए पनि नवप्रवर्तन बलियो रहेको प्रमाणित गर्छ।
के जापानी उत्पादन शौचालयमा छ? बिल्कुल छैन—यद्यपि देशका फर्महरू कसरी परिवर्तन भइरहेका छन् भनेर बुझ्न शौचालय नै पहिलो ठाउँ हुन सक्छ।
हालका महिनाहरूमा जापानी कर्पोरेट क्षेत्रको सबैभन्दा आश्चर्यजनक कथामध्ये एक हो सेमिकन्डक्टर सामग्रीको उदय, जुन अप्रत्याशित कम्पनी टोटोमा उल्लेखनीय नाफाको स्रोत बनेको छ। टोटो वाशलेट हाई–टेक शौचालयहरूको निर्माताको रूपमा बढी परिचित छ।
यो फर्म महामारीपछि चर्चामा आएको छ किनभने यसका तातो पानी र जेट–युक्त शौचालयहरूको लोकप्रियता विदेशमा बढेको छ, तर सेमिकन्डक्टर उद्योगका लागि उच्च गुणस्तरका सिरामिक्स बनाउने सानो विभागले टोटोको नाफाको ३०% भन्दा बढी योगदान दिइरहेको छ। यो खण्डको मार्जिन ४०% भन्दा बढी छ, जबकि जापानमा यसको मुख्य शौचालय बिक्रीको मार्जिन केवल ५% छ। कम्पनी दशकौंदेखि सेमिकन्डक्टर व्यवसायमा संलग्न भए पनि यो खण्ड हालै मात्र नाफाको केन्द्र बनेको छ।
तर यो केवल टोटोको कुरा होइनः यो घटनाले जापानी कम्पनीहरूको एक कम चर्चित पक्षलाई उजागर गर्छ, जुन अप्रासंगिकतातर्फ झरेको नभई नयाँ र प्रायः धेरै लाभदायक उद्योगहरूमा स्थानान्तरण भएको छ।
जापानी नवप्रवर्तन मरेको छ वा चीनले यसलाई उछिनेको छ भन्ने लोकप्रिय धारणा छ। यो कहाँबाट आएको हो भनेर बुझ्न गाह्रो छैनः धेरै उपभोक्ता ब्रान्डहरू पहिलेभन्दा कम दृश्यमान छन्। जापानमा कुनै आईफोन थिएन, न त च्याटजिपिटी वा डीपसीकले समाचार शीर्षकहरू कब्जा गरेका छन्।
केही समयअघिसम्म जापानी ब्रान्डहरू सर्वत्र थिएः प्रिमियर लिग टोलीहरूले आफ्नो जर्सीमा प्रायोजकहरूको लोगो बोकेका थिए र ओलम्पिक जस्ता ठूला खेलकुद आयोजनाहरू फुजीफिल्म होल्डिंग्स वा प्यानासोनिक होल्डिंग्स जस्ता कम्पनीहरूको विज्ञापनले भरिएका थिए। तर गत गर्मीको युरो २०२४ फुटबल टूर्नामेंट हेर्दा मलाई के लाग्यो भने—जसको फाइनलले विश्वभर ३२० मिलियन दर्शक तान्यो—अधिकांश ब्रान्डिङ चिनियाँ फर्महरूबाट आएको थियो।
हाइसेन्स होम अप्लायन्सेस ग्रुपका टेलिभिजन विज्ञापनहरूले प्यानासोनिक जस्ता कम्पनीहरूलाई विस्थापित गरेका थिए। दृश्यताको कमी अझ गहिरिनेछ किनभने टोयोटा मोटर र प्यानासोनिक, ओलम्पिकका अन्तिम शीर्ष–स्तरीय जापानी प्रायोजकहरू, आफ्नो समर्थन फिर्ता लिँदैछन्। तर दृश्यताको कमीले प्रासंगिकता घटेको ठान्नु गल्ती हो। टोटो एउटा उदाहरण मात्र हो कि कसरी धेरै सफल फर्महरूले सजिलै नक्कल गर्न सकिने उपभोक्ता–मुखी ब्रान्डहरूबाट बाहिरिएर मूल्य शृंखलामा माथि उठेर विशेषज्ञ, बनाउन गाह्रो सामग्रीहरूमा आफूलाई पुनर्जनन गरेका छन्।
यो परिवर्तन “जापान रि–इमर्जेस“ नामक हालैको पुस्तकको एक विषय हो, जुन क्यालिफोर्निया विश्वविद्यालय, सान डिएगोको स्कूल अफ ग्लोबल पोलिसी एन्ड स्ट्राटेजीमा जापानी व्यापारकी प्राध्यापक उल्रिके स्काइडले लेखेकी हुन्। उनले स्थानीय स्तरमा पनि कम बुझिएको कुरालाई उजागर गरेकी छन्—तपाईंले प्राविधिक नवप्रवर्तन नदेख्नुको अर्थ यो छैन भन्ने होइन।
स्काइडले यसलाई “जापान इनसाइड“ भन्छिन्, जुन “इन्टेल इनसाइड“ स्टिकरहरूको सन्दर्भ हो जुन पहिले सामान्य पीसीहरूमा प्रयोग हुन्थ्यो, जसले तिनीहरूमा त्यसबेलाकोे बहुमूल्य माइक्रोचिप रहेको संकेत गथ्र्यो। “हामीले कुनै पनि दिन यस्तो उत्पादन प्रयोग नगरी बिताउँदैनौं जसमा जापानमा, जापानद्वारा वा जापानसँग बनेको महत्वपूर्ण सामग्री वा कम्पोनेन्ट नभएको होस्,“ उनले लेख्छिन्। तर यो परिवर्तनले राष्ट्रको प्राविधिक नेतृत्वलाई “धेरै कम दृश्यमान“ बनाएको छ।
एक समय सर्वव्यापी क्यामेरा निर्माताहरू जस्तै फुजीफिल्म र ओलम्पस इस्टम्यान कोडक जस्तो ढलेनन् बरु, उनीहरू अन्य उद्योगहरूमा गए—चिप सामग्री, तर साथै सौन्दर्य प्रसाधन, स्वास्थ्य सेवा र उन्नत चिकित्सा उपकरणहरू तर्फ समेत । आजकल, यी दुवै फर्मको नाफा पश्चिममा घरेलु नाम हुँदा कमाएको भन्दा धेरै छ।
यी कम्पनीहरू र कम्पोनेन्टहरूका उदाहरणहरू प्रशस्त छन् अजिनोमोटो अर्को यस्तो कम्पनी हो जसको नाफा बढेको छ, यसले आविष्कार गरेको एमएसजी सिजनिङको मागका कारण होइन, तर अजिनोमोटो बिल्ड–अप फिल्म नामक उत्पादनमा यसको प्रभुत्वका कारण, जुन सेमिकन्डक्टरहरूको लागि प्राथमिक इन्सुलेशन सामग्री हो, जुन यसको एमिनो एसिड अनुसन्धानबाट उत्पन्न भएको हो। फर्मको खुद आम्दानी गत दशकमा दोब्बर भएको छ, र यसको सेयर हालै रेकर्ड उच्च स्तरमा पुगेको छ।
हालैको यात्रामा, म अकिताको एउटा होटलमा बसें जुन स्पष्ट रूपमा १९८० को बबल युगमा बनेको थियो, जहाँ अलिकति जीर्ण बाथरूमको सिङ्कमा परिचित लोगो थियोः हिटाचीको। यो समूहले लामो समयदेखि आफ्नो आवास उपकरण सञ्चालन बेचिसकेको छ र आजकल यसको व्यवसायको केन्द्रमा लुमाडा छ—एउटा डिजिटल समाधान खण्ड जुन तपाईं उद्योगमा नभएको भए सुन्नुभएको छैन, तर यसले कम्पनीको राजस्वको एक तिहाइभन्दा बढी योगदान गर्छ। यसको स्टक गत २४ महिनामा तीन गुणाभन्दा बढीले बृद्धि भएको छ ।
निस्सन्देह, यी परिवर्तनहरू सधैं सफल हुँदैनन्। शौचालयको विषयलाई निरन्तरता दिँदा, र सायद अझ उपयुक्त रूपकसहित, मैले बसेको त्यही अकिता होटलमा तोसिबाले बनाएको शौचालय थियो—एउटा फर्म जसको आणविक ऊर्जामा परिवर्तनले यसको पतन निम्त्यायो। र कम्पनीहरूले आफ्नो सफलता कायम राख्न नवप्रवर्तन जारी राख्नुपर्छ। टोटो आफैं एक दिन उदाहरण हुन सक्छ; यसले हाल हाई–टेक शौचालयहरूको लागि प्रतिस्पर्धाको सामना गरिरहेको छ, मुख्य रूपमा अन्य घरेलु प्रतिद्वन्द्वीहरूबाट, तर यदि यो खण्ड विदेशमा साँच्चै फस्टायो भने, थप विदेशी नक्कलकर्ताहरूको अपेक्षा गर्न सकिन्छ । तर अहिलेसम्म, टोटोले देखाएझैं, धेरै कम्पनीहरू नवप्रवर्तनले भरिपूर्ण छन्।
गियराइड रिडी ब्लूमबर्ग ओपिनियनका स्तम्भकार, जसले जापान र कोरियालाई समेट्छन्।
जापान टाइम्सबाट भावानुवाद
प्रतिक्रिया दिनुहोस्