धेरै वर्षअघि, मैले एकजना साथीलाई सोधें, जो सरकारमा वरिष्ठ विदेश नीति अधिकारीको रूपमा नियुक्त भएका थिए, उनले सरकारमा आएपछि के कुरा सिके जुन कुरा उनलाई पहिले थाहा थिएन। उनले जवाफ दिएः “म पहिले सोच्थें कि नीति निर्माण ७५ प्रतिशत सम्बन्धहरूको बारेमा हुन्छ। अब मलाई थाहा भयो, यो ९५ प्रतिशत सम्बन्धहरूको बारेमा हुन्छ।“

एक्लै ठूला कुराहरू गर्न धेरै गाह्रो छ। त्यसैले सक्षम नेताहरू र राष्ट्रहरू साझा मूल्यहरू, साझा इतिहास र साझा विश्वासमा आधारित सम्बन्धहरूमा निर्भर हुन्छन्। उनीहरूले यो युगका ठूला चुनौतीहरू सामना गर्न गठबन्धनहरू बनाउँछन्, जसमा सबैभन्दा ठूलो चुनौती पनि समावेश छः २१औं शताब्दी चिनियाँ शताब्दी हुने हो कि अर्को अमेरिकी शताब्दी हुने हो।
त्यो प्रतिस्पर्धामा चिनियाँहरूसँग धेरै फाइदाहरू छन्, तर हालसम्म अमेरिकासँग निर्णायक फाइदा थियो — हामीसँग विश्वभरि धेरै साथीहरू थिए। दुर्भाग्यवश, पछिल्लो डेढ महिनामा अमेरिकाले ती धेरै सम्बन्धहरूलाई चकनाचुर बनाइदिएको छ।
राष्ट्रपति ट्रम्पलाई यो कुराको ख्याल छैन वा ध्यान दिएको देखिंदैन कि यदि तपाईंले मानिसहरूलाई धोका दिनुभयो वा उनीहरूलाई झट्का दिनुभयो भने, उनीहरूले तपाईंलाई घृणा गर्नेछन्। पछिल्ला केही हप्ताहरूमा युरोपेलीहरू स्तब्धबाट अलमल हुँदै घृणासम्म पुगेका छन्। यो अवधि उनीहरूका लागि हाम्रा लागि ९/११ जस्तै थियो — भ्रमहरूको पर्दाफास र अस्तित्वको खतरा उजागर । युरोपेलीहरूले महसुस गरेका छन् कि अमेरिका, जुन उनीहरूले आफ्नो मित्र ठानेका थिए, वास्तवमा एउटा दुष्ट महाशक्ति हो।
क्यानडा र मेक्सिकोमा अब अमेरिकालाई आफ्नो शत्रुको रूपमा व्यवहार गरेर लोकप्रियता कमाइन्छ। आगामी केही वर्षहरूमा, म अनुमान गर्छु, ट्रम्पले चीनसँग सम्झौता गर्नेछन्, ताइवानलाई उनले युक्रेनलाई गरेको जस्तै केही संस्करणमा धोका दिनेछन् — ठूलोलाई खुसी पार्न सानोलाई धोका दिनेछन्। एसियाभरका राष्ट्रहरूले युरोपेलीहरूले पहिले नै पुगेको निष्कर्षमा पुग्नेछन्ः अमेरिका यहूदा हो।
यो केवल ट्रम्पको समस्या होइन; अमेरिकाको सम्पूर्ण प्रतिष्ठा खत्तम भएको छ। मलाई मतलब छैन यदि अब्राहम लिंकन स्वयं २०२९ मा ह्वाइट हाउसमा प्रवेश गरे भने पनि, कुनै पनि विदेशी नेताले जिम्मेवारीपूर्वक त्यस्तो राष्ट्रमाथि भरोसा गर्न सक्दैन जुन हरेक चार वर्षमा अर्को अथोरिटेरियन निहिलिस्ट चुनिनबाट टाढा हुन्छ।
त्यसो भए अब के हुन्छ?
नाटो समाप्त भएको छ। जो बाइडेनले चार वर्षसम्म युद्धपछिको उदार व्यवस्थाको रक्षा गर्नमा बिताए। त्यो व्यवस्था एक विशिष्ट ऐतिहासिक अनुभवबाट उत्पन्न भएको थियोः प्रथम विश्वयुद्धपछिको अलगाववादले दोस्रो विश्वयुद्धको भयावहता निम्त्यायो; दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रियताले ८० वर्षको महाशक्ति शान्ति ल्यायो। यो कथा युवा पुस्तालाई सुनाउनुहोस् र धेरैले तपाईंलाई १४औं शताब्दीको कुरा गरिरहेको जस्तोगरी हेर्नेर्छन्। युद्धपछिको व्यवस्था एक ऐतिहासिक उपलब्धि थियो, तर यो आफ्नो समयको उत्पादन थियो, र हामी त्यसमा फर्किंदैनौं। डीन एचेसनको भूतलाई पुनर्जनन गर्न खोज्नु व्यर्थ छ; हामीले नयाँ वैश्विक संरचनाको बारेमा सोच्नुपर्छ।
पश्चिम (अस्थायी रूपमा) समाप्त भएको छ। हामीले “पश्चिम“ भनेर चिन्ने कुरा शताब्दीऔं लामो संवाद हो — सुकरातले सत्यको खोजी गरेको, रेम्ब्रान्टले करुणा व्यक्त गरेको, लकले प्रबुद्ध उदारवाद विकास गरेको, फ्रान्सिस बेकनले वैज्ञानिक विधिको अग्रगमन गरेको –पश्चिम । यो हाम्रो विरासत हो। हाम्रो सम्पूर्ण इतिहासमा अमेरिकाले आफूलाई महान पश्चिमी परियोजनाको पराकाष्ठाको रूपमा बुझेको थियो। पश्चिमको विचार युरोप र उत्तरी अमेरिकाबीचका सबै गठबन्धन र आदानप्रदानमा मूर्त रूप लिएको थियो।
तर “पश्चिम“ को श्रेणी डोनाल्ड ट्रम्पको दिमागमा छैन जस्तो लाग्छ। ट्रम्पले अमेरिकालाई यसको आध्यात्मिक र बौद्धिक जडहरूबाट काट्दै छन्। उनले १९८७ मा जेसी ज्याक्सनले सुरु गरेको परियोजना पूरा गरेका छन् जब उनले र स्ट्यानफोर्डका प्रगतिशील कार्यकर्ताहरूको समूहले नारा लगाएका थिए, “हेई, हेई, हो, हो, पश्चिमी सभ्यता जानुपर्छ।“
नयाँ सभ्यताको संघर्ष कठोर र सौम्यबीचको छ। यसमा धेरै सोच्नु पर्दैन। ट्रम्प चार आयामी चेस खेलेर रूसलाई चीनसँगको गठबन्धनबाट अलग गर्न खोजिरहेका छैनन्। अमेरिकी विदेश नीति अब ट्रम्पको हर्मोनलाई उत्तेजित गर्ने कुरामा केन्द्रित छ। उनमा जीवनभर पुरुषत्वको चाहना छ। मागा दिमागमा, भ्लादिमिर पुटिन कठोरको रूपमा कोड हुन्छ; पश्चिमी युरोप नरमको रूपमा कोड हुन्छ। इलन मस्क कठोरको रूपमा कोड हुन्छ; यु.एस.ए.आई.डी. सौम्यको रूपमा कोड हुन्छ। डब्ल्यूडब्ल्यूई कठोर छ; विश्वविद्यालयहरू नरम छन्। प्रभुत्वको लागि संघर्ष कठोर छ; गठबन्धनहरू नरम छन्।
युरोप या त पुनर्जनन हुन्छ वा संग्रहालय बन्छ। यो सम्भव छ कि युरोप कम प्रजनन, कम नवप्रवर्तन, ढिलो वृद्धिको विश्वको छुट्टी गन्तव्य बन्नेछ। तर युरोपेलीहरूलाई थाहा छ कि यो उनीहरूको अमेरिकासँगको सुरक्षा सम्बन्ध तोड्ने र आफ्नै शक्ति पुनर्जनन गर्ने क्षण हो। जर्मनीले हतियार बनाउन आफ्नो उधारो क्षमता बढाउँदै छ। इटालीका पूर्व प्रधानमन्त्री मारियो ड्रागीले बजार विभाजनले प्रविधिमा नवप्रवर्तनलाई मारिरहेको छ भनेर महाद्वीपलाई झट्का दिए। धेरै रूढिवादीहरू विश्वास गर्छन् कि युरोप धेरै धर्मनिरपेक्ष र पतनशील भएर कहिल्यै पुनर्जनन गर्न सक्दैन। सायद। तर जर्मनी एक गम्भीर राष्ट्र हो। फ्रान्ससँग अतुलनीय नागरिक सेवा छ। इतिहासले देखाएको छ कि बेलायती जनता कठिन समयमा भरोसा गर्न लायक छन् ।
परमाणु प्रसारको नयाँ युग। अमेरिकाले आफ्नो सुरक्षा छाता फिर्ता लिँदा, विश्वभरका राष्ट्रहरू, पोल्याण्डदेखि जापानसम्मले, परमाणु हतियारको आवश्यकता छ भनेर निष्कर्ष निकाल्नेछन्। यो के गलत हुन सक्छ?
चीनले खाली ठाउँ भर्नेछः अमेरिकाले आफ्ना मित्रहरूलाई धोका दिँदा, चीनले उनीहरूलाई मित्र बनाउन खोज्नेछ। युरोपेली मामिलाका लागि चीनका विशेष प्रतिनिधिले हालै ट्रम्प प्रशासनको युरोपसँगको व्यवहारलाई “भयानक“ बताएका छन् । उनले थपेः “मलाई विश्वास छ कि युरोपेली मित्रहरूले यसबारे सोच्नुपर्छ र ट्रम्प प्रशासनको नीतिहरूलाई चिनियाँ सरकारको नीतिहरूसँग तुलना गर्नुपर्छ। त्यसो गर्दा उनीहरूले देख्नेछन् कि चीनको कूटनीतिक दृष्टिकोणले शान्ति, मित्रता, सद्भावना र जित–जित सहकार्यलाई जोड दिन्छ।“
यस्तो आग्रह संशयपूर्ण कानमा पर्नेछ, तर वास्तविकता यो हो कि जब उनीहरूले दुई दुष्ट महाशक्तिहरू — चीन र अमेरिका — को सामना गर्नुपर्छ, युरोप, एसिया र अफ्रिकाका राष्ट्रहरूले आफ्नो शर्तहरू राख्न र दुवै पक्षसँग खेल्नुपर्नेछ।
वैश्विक संस्कृति युद्धः वर्षौंदेखि, विश्व मूल्य सर्वेक्षणले देखाएको छ कि पश्चिमी युरोप र अमेरिकाको नीलो भागहरू हाइपर–व्यक्तिवादी, उत्तरआधुनिक संस्कृतितर्फ बढ्दै छन् जुन विश्वका अन्य भागहरूमा रहेका परम्परागत सामुदायिक संस्कृतिहरूबाट टाढा र टाढा छन् । त्यसले अन्ततः राजनीतिक विभाजनहरू उत्पन्न गर्न बाध्य थियो। मागा रूढिवादीहरूले पुटिनको प्रशंसा गर्नुको एउटा कारण के हो भने उनीहरूले उनलाई आफ्नो अन्तिम शत्रु — (कोलम्बियाको जातीय अध्ययन कार्यक्रम) — विरुद्धको सहयोगीको रूपमा देख्छन्।
राष्ट्रिय महानताको पुनरागमनः इतिहास समाप्त भएको छैन। इतिहासकार रोबर्ट कागनले औंल्याए अनुसार, अमेरिका अलगाववाद र हस्तक्षेपवादको अवधिहरूबीच हल्लिन्छ । हामी व्यक्तिवाद र सामुदायिकतावाद, निन्दावाद र आदर्शवाद, धर्मनिरपेक्षता र धार्मिकता, तर्कहीन निराशावाद र तर्कहीन आशावादबीच पनि झुल्छौं। हामी अहिले ती सबै ध्रुवीकरणहरूको पूर्वको चरम किनारमा छौं।
ट्रम्पको अक्षमताले प्रतिक्रिया उत्पन्न गर्नेछ, जुन अवसर र पुनर्जन्म साबित हुनेछ। जब त्यो हुन्छ, मानिसहरू ट्रम्पले कहिल्यै नबुझ्ने सत्य सुन्न तयार हुनेछन् — कि जब तपाईं अमेरिकालाई ठूलो उगाही मेसिनमा परिणत गर्नुहुन्छ, तपाईंले कमजोर शक्तिहरूलाई आफ्नो गुण्डागर्दीतर्फ झुकाएर केही छोटो अवधिको जित हासिल गर्नुहुनेछ, तर तपाईंले देशभित्र र विदेशका सम्बन्धहरू जलाउनुहुनेछ, जुन वास्तवमा अमेरिकाको दीर्घकालीन शक्तिको स्रोत हो।
मार्च १३, २०२५, न्यूर्योक टाइम्सबाट
प्रतिक्रिया दिनुहोस्