काठमाडौं, २३ असार । मनसुनसँगै नेपालमा बाढी, पहिरो र डुबानका कारण ठुलो धनजनको क्षति हुने गरेको छ । वर्षेनी हुने यस्तो घटनाको क्षति न्युनिकरण गर्न सरकारको पूर्वतयारी फितलो हुने गरेको छ । गृह मन्त्रालयले पूर्वतयारी स्थानीय तह, प्रदेश सरकारको समेत हुने भएकोले सबै तहको सहकार्यमा पूर्व तयारीको काम अघि बढाउने बताएको छ ।
मनसुुन शुरु भएसँगै नेपालमा विभिन्न प्रकारका विपत्ति आउने गर्छन् । पहाडमा बाढी, पहिरो र तराईमा डुबानको समस्याले वर्षेनी जनधनको ठुलो क्षती बेहोर्नुपर्छ ।
नेपालमा समय–समयमा आउने बिभिन्न प्रकारका विपत्ति कल्पना नगरिकन आएका भने होइन किनकी हरेक वर्ष आउने विपत्तिको निरन्तरताको रुपमा विपत्ति आइरहेका छन् । विपतबाट बच्न जनस्तरबाट तथा सरकारी तहबाट पूर्वतयारीका काम भने कहिल्यै पनि हुने गरेको छैन ।
भएपनि एउटा औपचारिकताको निम्ति मात्रै भएको देखिन्छ । विपद व्यवस्थापनको नाममा सभा, छलफल, बैठक त हुनेगर्छ, तर पूर्वतयारी राम्रो हुंदैन । विपत्ति आउँछ जान्छ र जनधनको ठुलो क्षती गर्छ पूर्वतयारीका लागि गरिएको कामको प्रभावकारीता पटक्कै देखिदैन । पहिले गृह मन्त्रालय अन्र्तगत पूर्व तयारी, राहत, उद्धार तथा पुर्नस्थापनाको काम हुनेगरेको थियो ।
तर मुलुक संघीय प्रणालीमा गइसकेपछि प्रदेश सरकार र स्थानीय तहको पनि जिम्मेवारी बढेको छ । विपत्तिको सामना गर्ने स्रोत, साधन र जिम्मेवारी विभिन्न निकायमा बाँडफाँड हुँदा कुनै विधि, पद्धती र संरचना व्यवस्थित नहुँदा विपत्तिको सामना गर्न सरकारले नसक्ने त होइन भन्ने प्रतित हुन्छ । यद्यपी, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी गृह मन्त्रालयले आफ्नो जिम्मेवारी अनुसारको पूर्वतयारी गरिरहेको बताउंछन् ।
विपतको सन्दर्भमा काम गर्न विपत जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ छ । यसले स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारले गर्ने काम भनेर छुट्याएको छ कागजमा । तर स्रोत, साधन र अनुभवको अभावमा केन्द्र सरकारसँग मात्रै निर्भर रहनुपर्ने बाध्यात्मक अवस्था पनि देखिन्छ । किनकी यस अघि आएका विपत्तिको रोकथाम र सिर्जित समस्याको समाधानमा स्थानीय तहले प्रभावकारी भुमिका निर्वाह गर्न सकेको छैन । त्यसो त, केन्द्र सरकारले ५ प्रदेशमा इर्मजेन्सी अपरेटिङ सेन्टर राखेको छ । त्यस्तै ५ वटै प्रदेशमा सामाग्रीहरु जम्मा गर्ने वेयर हाउस पनि रहेको छ । आपतकालीन हेलिकप्टर सेवा सहित सुरक्षा निकायलाई सर्तक राखिएको गृह मन्त्रालय बताउँछ ।
बाढी पहिरोजस्ता विपत आउन लागे मिडिया, सरकारको अन्य निकाय र वेव साइटमार्फत जनमानसमा पुर्याउन आफुहरु सक्षम रहेको र मास एस एम एस मार्फत जानकारी दिन आफुहरु सक्षम रहेको जल तथा मौसम विज्ञान विभागको भनाइ छ ।
मनसुनको समयमा बाढी पहिरो र डुबानका कारण जनमानसलाई समस्यामा पार्ने हुनाले विभागले दिने पूर्व सुचनाहरुलाई ध्यान दिन मौसम विज्ञान विभागले अनुरोध पनि गरेको छ ।
नेपालमा प्राकृतिक विपत्ति आइरहन्छन् । यसको लागि तिनै तहका सरकार सचेत भएर पूर्वतयारीमा लाग्नुपर्छ । घटना भइसकेपछि काम शुरु गर्नुभन्दा हुनु अगावै आवश्यक सचेतता अपनाउन आवश्यक छ । प्राकृतिक विपत्तिबाट हुने क्षति न्यूनीकरणको लागि सम्बन्धीत पक्ष गम्भीर हुनैपर्छ ।
प्रतिक्रिया दिनुहोस्