भरतपुर (चितवन) / देशभर चुनावका लागि उमेदबार र पार्टीका कार्यकर्ता जनताको घरदैलोमा पुगिरहेका छन् । एमाले अध्यक्ष केपी ओलीको क्षेत्र झापा ५ मा प्रतिस्पर्धी नै नभएजस्तो छ । एबीसी टिम झापा पुग्दाको दिनमा विभिन्न ७ वटा सभा र प्रशिक्षणलाई ओलीले सम्वोधन गरे । सबै ठाउंका भाषणमा केही न केही नयांपन र हांस्यरसले ओगटेको थियो । बेलुका दमकमा रहेको ओली निवासमा सप्तरीदेखि इलामसम्मका नेता कार्यकर्ताको भीड थियो । सुबास नेम्वाङसमेत आइपुगेका थिए । ओलीले अविर पखालेर कुर्तापाइजामामा हामीसंग भेट्दा रातको ११ बजेको थियो । तर उनको जोश र फूर्ति विहानको जस्तै थियो । कुराकानीकै क्रममा हंसाए, ओलीलको दिनचर्या नबुझ्ने मानिस फस्छ । यो समग्र ओली जीवनकै गुदी कुराजस्तो थियो । ओलीको बोलीमा विजयभाव, गम्भीरता र बढ्तै आत्मविश्वासी प्रबृति बढेको देखियो । उनले शेरबहादुर देउवालाई लोकतन्त्रको बहमा सार्वजनिक उत्रिन चुनौति मात्र दिएनन् । आफूलाई भारत विरोधी भनिरहेका बेला ओलीले नेपाल भारत सम्वन्ध विग्रन नसक्ने गज्जब अभिव्यक्ति दिए । तर उनी अलि बढ्तै आक्रोशित अधिनायकवादी भनेकोमा थिए । त्यसकै जबाफमा ओलीले देउवालाई सोसलिष्ट इन्टरनेश्नलको सदस्यता त्याग्न, विपीले गल्ती गरेको भन्न र जहां गएर पनि एउटै कुरा बोल्न बानी बसाल्न सक्ने कि नसक्ने भन्दै झम्टीहाले ।
ओलीमा यतिबेला उनका सहयोद्धा बनेका प्रचण्डप्रति गज्जब सम्मान र आपसी विश्वास रहेको भाव प्रष्टै झल्कन्थ्यो । पार्टी एकताको बढ्ता क्रेडिट प्रचण्डलाई दिन रुचाए ओली । अन्तर्वार्ताका क्रममा भने मैले जति गरेपनि प्रचण्डजी तयार नभएको भए के लाग्थ्यो र ? लाग्छ कि ओली अबको एक महिनामा आरामदायी बहुमतीय सरकारको प्रधानमन्त्री बन्न कुनै बाधा छैन । तर उनले म एकपटक जनतालाई , आफ्नो पार्टीलाई र प्रचण्डजीलाई सोध्छु भन्दै कुटनीतिक जबाफ दिए ।
झापाका ५ क्षेत्र मध्ये माओवादी १, राप्रपा १ र एमाले ३ वटा निर्वाचन क्षेत्रमा संयुक्त रुपमा चुनावी प्रतिस्पर्धामा छ । अर्र्को रोचक कुरा झापामा जति भेटिए ति सबैले ओली बा र हजुरबा भनेको मात्र सुनियो ।
अर्कातिर यसपटकको चुनावको सबैभन्दा ठूलो चासो र चर्चा भएको क्षेत्र प्रचण्डको चितवन ३ र बाबुराम र नारायणकाजी उठेको गोरखा २ बनेको छ । चितवन ३ लाई पनि प्रचण्डको एक्लो उमेदबारी मान्न सकिने एमाले कार्यकर्ताहरु बताउंछन् । तर त्यहां ०७० को निर्वाचनमा शुशील कोइराला चुनाव लडेर छाडेको, ठेकदार तथा राप्रपाका उमेदबार विक्रम पाण्डेका कारण पनि चितवन चर्चामा छ । अझ बढी त स्थायी बसोबास चितवन नै भएका प्रचण्ड शान्ति प्रक्रियामा आएपछिका ३ वटा निर्वाचनमा प्रचण्ड स्थायी रुपले कुनै चुनाव लडेनन् । पहिलोपटक रोल्पा र काठमाडँैं, दोस्रोपटक काठमाडौं र सिराहा अहिले चितवन, यसकारणले पनि चितवन चर्चामा छ । त्यसमाथि दुई ठूला बामपन्थी पार्टी एकताको घोषणाले ओली र प्रचण्डको चर्चा व्यापक बनाइदिएको छ ।
झापादेखि चितवनसम्म हेर्दा के देखिन्छ भने के देशमा बामपन्थी बाहेक कोही छैनजस्तो ढंगले चुनावको पारो तातेको छ। यद्यपि कांग्रेसले पनि हतास मानसिकतामा चुनावी अभियान त चलाईरहेकै छ । हेकिप्टर लिएर प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा हिंडिरहेका छन् । उनको चुनावी भाषण कम्युनिस्टको सरकार आयो भने रुन पनि पाईंदैन । कस्तो नवुझ्या ? कति भनम् मैले भनेदेखिलार्ई को शैलीमा प्रचार गरिरहेका छन् । यही शैली देखेर कवि कालिप्रसाद रिजालको गीतको एउटा अंश सापटी लिएर अोली झापामा भने उनले अर्को एउटा दिन बेकार बनाइरहेका छन् ।
यता चितवनमा प्रचण्डले चुनावी आश्वासन भन्दा बढ्ता कांग्रेसलाई सम्झाउनमा भाषणको समय खर्चेको जस्तो देखिन्छ । गिरिजाप्रसद कोइराला र आपूmले सुरु गरेको शान्ति प्रक्रिया पूरा गर्न वा अझ अघि देशलाई लैजान सबै कांग्रेसीले प्रचण्डलाई नै भोट हाल्नु आवश्य रहेको प्रचण्डले बताइरहेका छन् । तर कांग्रेस कतै गाई र कतै हलो बोकेर हिंडेको छ । उसको रुख चितवनमा हराएजस्तो छ ।
प्रचण्डले चुनावी आश्वासन भन्दा राजनीतिक प्रतिवद्धता टोल टोलमा पुगेर दोहराएका छन् । चितवनको एक दूरदराज लाग्ने टोलमा भएको कोणसभामा भने आफूले जीवनमो पहिलो एक दशक जनयुद्धमा, अर्को दशक शान्ति प्रक्रियामा र अब अर्को एक दशक देशको आर्थिक विकासमा लगाउने प्रतिवद्धता व्यक्त गरे । यस्तो भाषण गरिरहंदा उनको अनुहारमा गम्भीरता बढी झल्कन्थ्यो । यद्यपि स्थानीय कार्यकर्ताले विकास निर्माणका बारेमा दिएका टिपोटहरु पनि उनले कागजै हेरेर भन्दथे । त्यो फगत औपचारिकता हो । प्रचण्डलाई राम्रोसंग थाह छ कि चुनावका बेलामा यो बनाइदिन्छु र त्यो गरिदिन्छु भन्ने कुराको कुनै अर्थ छैन, जति उनले आफू प्रधानमन्त्री भएका बेलामा चितवनका लागि बजेट विनियोजन गरे ।
चितवनका केही टोलमा प्रचण्डको कोण सभा चलिरहेका बेलामा आमा दिदीबहिनीहरु आफ्न बच्चहरुसंग भनिरहेका थिए, तिमीहरु त भाग्यमानी रहेछै घर दैलोमै यति चांडे प्रचण्डलाई देख्न पायौ, हामीले बल्ल देख्यौं भन्दै गफिइरहेका थिए । यसले प्रचण्ड क्रेज अहिलेपनि गाउंवस्तीमा एक विचित्र करिश्माका रुपमा गढेको भन्ने देखाउंछ । प्रचण्डको जानेमानेको हांसो र ह्युमरले चितवनमा उपयुक्त स्थान पाएको छ । मनिसहरु प्रचण्डलाई चितवन भन्दा चितवनलाई प्रचण्ड चाहिएको कुरा चिया पसल र चोकमा चर्चा गर्न थालेका छन् । तर पनि प्रचण्ड सकेसम्म सबै घरमा पुग्ने नएपनि टोलमा पुग्ने उद्धेश्यमा रहेको देखिन्छ । यस अघि पनि झण्डै एक हप्ता प्रचण्डले चितनमा नै विताएका थिए । २९ गतेदेखि मंसिर ९ गतेसम्मको दौडाहा पश्चात फेरि उनी चितवन झर्नेछन् । तर उनलाई सजिलो के छ भने चितवनमा अमिक शेरचन, चित्रबहादुर श्रेष्ठजस्ता पुराना नेता कार्यकर्ता देखि एमालेका सुरेन्द्र पाण्डेदखि देबी ज्ञवालीसम्मका नेता र विशाल भरभराउंदो कार्यकर्ता पंक्तिले सर्लक्कै आफ्नै नेता स्वीकार गरिदिएको छ ।
चितवनका केही फाट्फुट्ट चोकमा अन्य झण्डा देखिए बाहेक सबैतिर सूर्य र हंसिया हथौडाले रंगिएको छ ।
प्रतिक्रिया दिनुहोस्