काठमाडौं, २ पुस । निर्माण क्षेत्रमा नाम चलेको पप्पु कन्स्ट्रक्सन कम्पनी बद्नामीको चर्चामा छ । कन्स्ट्रक्सनको नाम देशभर सामान्य नागरिकले पनि थाहा पाउन थालिसकेका छन् । धेरै आयोजनाहरु हातमा लिने, तर यौटा पनि काम पुरा नगर्ने, पुरा गरेको भनिएको काम पनि कमजोर बनाउने प्रवृत्ति पप्पु प्रवृत्तिका रुपमा देखिएको छ ।
४० वटा पुलसहित विभिन्न योजनामा ११ अर्ब रुपैयाँ बराबरको काम लिएको छ पप्पुले । तर कुनै पनि ठाउँमा सन्तोषजनक कार्य सम्पादन भएको छैन । यस कम्पनी त बद्नाम भएको छ नै, यही कम्पनीलाई निरन्तर ठेक्कामा लगाउने तथा कामको रेखदेख र अनुगमन गर्ने सरकारी संयन्त्र एवं सार्वजनिक खरिद कानुन पनि दोषमुक्त छैनन् ।
पप्पु कन्स्ट्रक्सनको कामले सिंगो राज्य संयन्त्र र प्रशासनिक कार्यशैलीको खिल्ली उडाएको छ । समयमै काम नसक्ने कम्पनीमाथि सरकारले कारबाही गर्न सक्दैन । निर्माण व्यवसायीहरु ठेकेदारहरु खराब आचरणकै पप्पु प्रवृत्तिको ढाकछोप गरिरहन्छन् । यसबाट मुलुकको राजनीतिक र प्रशासनिक सरकार तथा राज्यका कानुन सम्बन्धी सबै व्यवस्थालाई निर्माण व्यवसायी कम्पनीले दास बनाएको प्रष्ट हुन्छ ।
पप्पु को हो ?
पप्पुको मुख्य कार्यालय वीरगञ्जमा छ । समाजवादी पार्टीका सांसद हरिनारायण रौनियारको
निर्माण कम्पनी हो पप्पु कन्स्ट्रक्सन । रौनियारले अहिले आफु पप्पु कन्स्ट्रक्सनमा नभएको दाबी गर्छन् । किनकी, उनले यो कम्पनी छोरा सुमित रौनियारको नाममा नामसारी गरेका छन् ।
भ्रष्टाचार मुद्दामा निलम्बित सांसद हरिनारायणप्रसाद रौनियार १ करोड ७५ लाख रुपैयाँ धरौटीमा छुटे । उनले विशेष अदालतले मागेको धरौटी बैंक ग्यारेन्टीमार्फत तिरेर उनी रिहा भए । हरिनारायणका छोरा सुमितसहित उनी विशेष अदालतमा उपस्थित भएका थिए । छोरा सुमितसँग पनि १ करोड ७५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । गत वर्ष १९ असोजमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौनियार र उनका छोरा सुमित विरुद्ध जनही १९ करोड ३२ लाख २५ हजार ६९५ रुपैयाँ बिगोदाबीसहित मुद्दा दायर गरेको थियो । पप्पु कन्स्ट्रक्सनका मालिकका रूपमा रौनियारविरुद्ध मुद्दा दायर भएको थियो । बबई नदीमा निर्माण भएको पुलमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । निर्माण भएको केही महिनामा नै पुल भत्किएको थियो । पप्पु कन्स्ट्रक्सन हाल छोरा सुमितको नाममा छ । पप्पुले नै रौतहटको गौरमा पुल निर्माणमा ढिलाइ गर्दा डुंगामार्फत खोला तर्न बाध्य स्थानीय केही समयअघि दुर्घटनामा परेका थिए । ९ भदौमा भएको डुंगा दुर्घटनामा पाँचजनाको मृत्यु भएको थियो ।
पैसा लिने, काम नगर्ने
पप्पु कन्स्ट्रक्सन भन्ने नाम सुन्नेबित्तिकै अलपत्र पुलहरूको दृश्य याद आउँछ । संघीय समाजवादी फोरमका नेता हरिनारायण रौनियार सञ्चालक रहेको पप्पु कन्स्ट्रक्सनले ठेक्का लिएका तीन दर्जनभन्दा बढी पुलसहित दर्जनौं योजना अलपत्र छन् । तिनैमध्ये रुपन्देहीका दुईवटा पुल पनि पर्छन् । हुलाकी राजमार्गअन्तर्गत भैरहवा–लुम्बिनी सडकखण्डको तिनाउ र डण्डा नदीका दुई पुल निर्माण सुरू भएको पाँच वर्ष भयो । तीन वर्षमै सक्ने गरी २०७१ असार २५ गते पप्पु कन्स्ट्रक्सन र बागमती निर्माण सेवाले पुलको ठेक्का सम्झौता गरेका थिए।
सम्झौताअनुसार २०७४ असारमा निर्माण पूरा गर्नुपर्ने थियो । काम नसकिएपछि एक वर्षका लागि म्याद थप भयो। तैपनि पुलको काम सुरू भएको छैन । थपिएको म्याद २०७५ असारमा सकिएको छ। त्यसपछि १९ महिना बितिसक्दा पनि पुल निर्माणतर्फ कुनै चासो दिइएको छैन। भैरहवा–लुम्बिनी जोड्ने प्रमुख सडकको पुल नै अलपत्र हुँदा लुम्बिनी आउने पर्यटक तथा सर्वसाधारणले सास्ती बेहोरेका छन् । तिनाउ खोला पुलको लम्बाइ ९०.२ मिटर छ। यो पुल ५ करोड ३३ लाख २४ हजार ४२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। यस अवधिमा कम्पनीले चारपटक गरी करिब ३ करोड भुक्तानी लगिसकेको छ। पुल निर्माणका लागि डाइर्भसन बनाउन भन्दै थप १ करोड १५ लाख माग गर्दै गत वर्षदेखि नै कम्पनीले काम बन्द गरेको छ ।
सडक विभागको तथ्यांकअनुसार सडकका अधिकांश पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनले हात पारेको छ । सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थालाई टेकेर उनी सबैभन्दा कम बोलकबोलसहित टेण्डर हाल्छन् । सडकका हाकिमहरु पनि उनको क्षमतामाथि प्रश्न उठाएर क्रस गर्ने आँट गर्दैनन् र पप्पुले ठेक्का पाउँछ । तर, जब ठेक्का पाएर १० प्रतिशत मोबिलाइजेशन खल्तीमा पर्छ, पप्पुले काम गर्न छाड्छ ।
इज्यत गुमाएको तीनकुने पुल
तीनकुनेस्थित बागमतीमा निर्माणाधीन पुल बनाउने ठेक्का अहिले पप्पुले गुमाएको छ । लामो समयसम्म काम नगर्ने, देखाउन गरेको अलिअलि काम पनि मापदण्ड विपरित भएपछि तीनकुने पुल निर्माण सुरुदेखि नै विवादित थियो । धेरै ढिलो गरी ठेक्का तोडेर पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस भएको छ । अब नयाँ ठेक्का सुरु गर्न कम्तीमा पनि एक वर्ष लाग्ने देखिएको छ । ‘अब न्यूनतम एकदेखि डेढ वर्ष नभई ठेक्का प्रक्रिया सुरु हुँदैन,’ आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले भन्छन् । अहिलेको अवस्थाको अध्ययन र सिफारिस, नयाँ डिजाइनपछि मात्र पुल नयाँ ठेक्का लगाउने अवस्थामा पुग्न सकिन्छ । पप्पुले डिजाइन स्पेसिफिकेसन अनुसार काम नगरेको तथा त्रुटिपूर्ण काम सच्याउनसमेत नमानेको भन्दै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न सिफारिस गरेको हो । ‘केही दिनमा अनुगमन कार्यालयले निर्माण कम्पनीलाई कमजोरीको मात्राअनुसार कालोसूचीमा राख्नेछ,’ आयोजनाका प्रवक्ता श्रेष्ठले भने ।
तीनकुनेको पुल सौन्दर्यका लागि समेत उपयुक्त हुने भएकाले आर्क डिजाइनमा निर्माण गरिने योजना थियो । काठमाडौं उपत्यका सडक विस्तार आयोजना कार्यालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागको सहमति लिएर ठेक्का रद्द गरेको हो । ठेक्का रद्द गर्नुका तीन कारण रहेको आयोजनाको भनाइ छ । पहिलो, ठेकेदार कम्पनी पप्पुले डिजाइन स्पेसिफिकेसनअनुसार कार्य नगरेको, दोस्रो लामो समयसम्म ठेक्का ‘होल्ड’ गरेर राखेको र तेस्रो त्रुटिपूर्ण कार्य सच्याउन अनुरोध गर्दा नसच्याएको उल्लेख छ । कुल ८६ मिटर लम्बाइको पुलमा चारवटा फाउन्डेसन निर्माण गर्नुपर्ने थियो । एउटा फाउन्डेसनमा १६ खम्बा (पाइल) मिलाएर राख्नुपर्ने हुन्छ, सबै खम्बाको लम्बाइ (गहिराइ) २९ दशमलव पाँच मिटर हुनुपर्ने डिजाइनमा तोकिएको थियो । पप्पुले खम्बा गाडेपछि सरकारी इन्जिनियरले जाँच गर्दा एउटा खम्बाको गहिराई १६ दशमलव पाँच मिटर मात्र भेटियो भने अन्य तीनवटा खम्बा ‘क्र्याक’ भइसकेको भेटिएको थियो । यो नै पुलमा भएको मुख्य कमजोरी हो । यसलाई सुधार नगरेसम्म काम अघि बढ्न नसक्ने अडान आयोजना कार्यालयले लियो । पप्पुले लामो समय गुर्जायो, तर सुर्धानतिर लागेन । अन्ततः ठेक्का सम्झौता भएको पाँच वर्षपछि आयोजना कार्यालयले ठेक्का रद्द गरेको छ । अब प्राविधिक टोली गठन गरी पुलको अध्ययन गरिनेछ । अध्ययन टोलीले पुलको समग्र अध्ययन गरेर सिफारिससहित प्रतिवेदन बुझाउनेछ । सिफारिसअनुसार पुलको डिजाइन तयार गरी नयाँ पुल निर्माणको प्रक्रिया थालिनेछ ।
सिक्टामा बद्मासी
सिक्टा सिँचाइ आयोजनाअन्तर्गत डडुवा नहर निर्माण समयमा नगरेका कारण १६ चैत ०७५ देखि कालोसूचीमा रहेको पप्पु कन्स्ट्रक्सनलाई पुनः तीन आयोजनाले कालोसूचीमा राख्न सिफारिस गरेका छन् । २१ कात्तिक ०७५ मा ठेक्का रद्द गरी पप्पुलाई कालोसूचीमा राख्न सिक्टा आयोजनाले सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले १६ चैत ०७५ मा कम्पनीलाई कालोसूचीमा राखेको थियो । २३ किलोमिटर नहर बनाउन ९९ करोड ८१ लाखमा ठेक्का प्राप्त गरेको कम्पनीले म्याद सकिने वेलासम्म जम्मा सात प्रतिशत मात्र काम गरेको थियो । त्यही आधारमा आयोजनाले ठेक्का रद्द गरेको थियो । खरिद अनुगमन कार्यालयले तीन वर्ष अर्थात् १५ चैत ०७८ सम्मका लागि पप्पुलाई कालोसूचीमा राखेको छ ।
कालोसूचीमा पप्पु
पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न तीन आयोजनाले सिफारिस गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयका कानुन निर्देशक राजेशकुमार थापाले बताएका छन् । काठमाडौंको तीनकुने पुलको काम तोकिएको मापदण्डअनुसार नगरेको भन्दै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पप्पुसँगको ठेक्का तोडी कालोसूचीमा राख्न सिफारिस गरेको छ । त्यस्तै, हुलाकी सडकअन्तर्गत गोलाघाटस्थित नारायणी पुल डिजाइन गरी निर्माण गर्नुपर्नेमा ठेक्काको म्याद सकिँदासमेत डिजाइनसमेत तयार नगरेकाले हुलाकी सडक निर्देशनालयले समेत ठेक्का रद्द गरी कालोसूचीमा सिफारिस गरिसकेको छ । हुलाकी राजमार्गअन्तर्गत भैरहवा–लुम्बिनी सडकखण्डको तिनाउ र डन्डा पुल पनि अलपत्र पारेकाले आयोजनाले हालसालै मात्र ठेक्का रद्द गरेको छ । लगत्तै कालोसूचीमा राख्न सिफारिस हुने आयोजनाले जनाएको छ ।
कालोसूचीमा राख्न आइसकेका सिफारिसबारे सम्बन्धित आयोजना कार्यालय र पप्पुसँग कागज झिकाएर अध्ययन भइरहेको कार्यालयले जनाएको छ । ‘चाँडै नै न्यूनतम एक वर्षदेखि अधिकतम तीन वर्षसम्ममा कार्यान्वयन हुने गरी कालोसूचीमा राख्ने आयोजनाले तयारी गरेको छ ।
कालोसूचीमै रहेको कम्पनी भए पनि नयाँ कसुर भएकाले अहिले कायम रहेको अवधि सकिएपछि त्यसमा थप हुनेछ छ । निर्माण कम्पनी कालोसूचीमा परेपछि नयाँ ठेक्का प्रक्रियामा भाग लिन पाउँदैन । कुनै अर्को कम्पनीसँग संयुक्त उपक्रममा समेत सहभागी हुन पाइँदैन । तर, कालोसूचीमा पर्नुअघि जिम्मा लिइएका काम गर्न भने सार्वजनिक खरिद ऐनले रोकेको छैन ।
कारवाही गर्न संसदीय समितिको निर्देशन
संसद्को विकास समितिले पुलचोक इन्जिनियरिङ अध्ययन प्रतिष्ठानको डिजाइनका आधारमा निर्माण कार्य अघि बढाउन आयोजनालाई २०७६ जेठ ३१ मा निर्देशन दिएको थियो । पुलको स्थलगत अवलोकनपछि विकास समितिले तयार पारेको प्रतिवेदनले दिएको निर्देशनविपरीत आयोजनाले ठेक्का तोडेको दाबी निर्माण कम्पनीको छ । इन्जिनियरिङ अध्ययन संस्थानको प्रतिवेदन आएपछि त्यसका आधारमा काम बढाउन सरकारलाई निर्देशन दिएकोमा विभागले आफ्नो कमजोरी लुकाउन ठेक्का तोडेर कालोसूचीमा राख्न सिफारिस गरेको आरोप निर्माण कम्पनीले लगाएको छ । समिति सभापति कल्याणी खड्काले आयोजना समयमै पूरा नहुनुमा सरकारी निकाय पनि दोषी रहेको बताएकी थिइन् । आयोजना समयमै पूरा नहुनुमा सरकारी निकायसमेत दोषी रहेको निचोड निकालेर विभागीय कारवाहीको सिफरिस गरेको थियो ।
संसदको विकास तथा प्रविधि समितिले निर्माण कम्पनी पप्पु कन्ट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो । जेठ, ३१ गते बसेको बैठकले पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेको काठमाडौंको तीनकुनेस्थित बागमती नदीको पुलको पाइल्स (पानी बग्ने ठाउँमा रहने पिल्लर)मा गम्भीर त्रुटि रहेको पाइएको भन्दै कारवार्ही गर्न सरकारलाई निर्देशन दिएको थियो ।
‘काठमाडौं उपत्यका मात्र होइन देशका विभिन्न भागमा रहेका यस्ता पुलहरुको निर्माण गर्नको लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरुको पूर्वतयारी गरेर मात्र निर्माणको कार्य प्रारम्भ गर्न समितिबाट सरकारलाई पटक–पटक निर्देशन दिएको सभापती खड्काले बताईन ‘तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका निकायहरुले यस सम्बन्धमा ध्यान पु¥याएको पाइएन ।’ समयमै तीनकुनेस्थित बागमती पुलको निमार्ण सम्पन्न नभएको गूनासो आएपछि संसदको विकास समितिले ०७६ जेठ २ गते उक्त पुलको स्थलगत अवलोकन गरेको थियो ।
त्यसो त, काठमाडौं उपत्यका सडक बिस्तार आयोजनाले पुल निमार्णको पुनः डिजाइन गर्नसमेत निर्माण निर्देश गरेको थियो । पप्पु कन्स्ट्रक्सनले २०७५ असार ५ गते सम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी ०७१ पुस ४ गते काठमाडौं उपत्यका सडक विस्तार आयोजनासँग सम्झौता गरी यो आयोजना निमार्णको जिम्मा लिएको थियो । विकास आयोजनाहरु समयमै सम्पन्न नहुने वातावरण बन्नुमा सरकार र सरकारी निकाय समेतसमेत दोषी रहेको संसदको विकास समितिकी सभापति कल्याणी कुमारी खड्का बताउँछिन ।
पप्पुको खराब रेकर्ड
पप्पु जता जान्छ, त्यतै बिग्रिन्छ । सडक विभागका अधिकारीहरुका अनुसार पप्पु कन्स्ट्रक्सनले बनाउनु पर्ने सबै पुलको लम्बाई जोड्ने हो भने सात किलोमिटर नाघ्छ । काठमाडौंको तीनकुनेको पुल होस् वा टेकु र कालिमाटीलाई जोड्ने पुल होस पप्पुले नै ठेक्का पाएको छ । देशभरका अधिकांश पुल निर्माणको जिम्मा पप्पुले पाउँछ । हुलाकी मार्गका कैयौं खण्ड पप्पुकै नाममा छन् । जहाँ जहाँ पप्पु पुगेको छ, या त कामै भएका छैनन्, भएको ठाउँमा पनि पाँच दश प्रतिशत मात्र भएको छन् । कतै पुरा भैसकेको छ भने पनि मापदण्ड विपरितका छन् । बर्दियाको जब्दिखोलाको पुल एवं बर्दियाकै हुलाकी मार्गको पीच गर्ने काम होस या नेपालगन्ज राँझा–जुमुनिया सडकखण्ड विस्तारको काम किन नहोस, पप्पुले गुणस्तरहीन काम गरेको छ । बद्मासी गरेको छ ।
पप्पु कन्स्ट्रक्सनले पर्सामा नौरन्जीया, तिलाव, बेदाहा र हेरियाडी नदीमा पुल बनाउँदैछ । यसमध्ये नौरन्जीया र तिलाव ०७० सालमै सक्नुपर्ने थियो भने बेदाहा र हेरियाडीको निर्माण ०७३ मै । तर, अझै काम सकिएको छैन । रौतहटमा निर्माण हुँदै गरेको चाँदी नदी पुलको म्याद सकिएको छ अझैपनि भौतिक प्रगतिले भने पुल बन्न अझै लामो समय लाग्ने देखिएको छ । रौतहटकै लमाहखोला र तरहरा झाँद्ध नदीपुल पनि म्याद गुज्रिसकेको छ ।
पप्पु कन्स्ट्रक्सनसँग अहिले १० अर्ब बढीको ठेक्का छ । तर, कुनै पनि काम न समयमा भएको छ, न प्रगति सन्तोषजनक छ । बरु कामको गुणस्तरीयतामाथि पटकपटक प्रश्न उठेको छ । कञ्चनपुरको दाईजीखोला पुलमा पनि पप्पुले यस्तै लापर्वाही दोहो¥याएको छ । यो पुल ०७४ को पुसमै निर्माण सक्ने गरी सम्झौता भएको थियो । पप्पु कन्स्ट्रक्सनले बाँके, सिराहा, धनुषा, सुर्खेत, सप्तरीलगायतका जिल्लामा पनि पुलका ठेक्का लिएर अलपत्र पारेको विभागका अधिकारीहरु बताउँछन् । हुलाकी मार्गमा पर्ने झापाको कन्काई पुलको निर्माणमा पनि पप्पुको लापरवाही कायमै छ । २०७२ जेठ मसान्तसम्ममा निर्माण सक्नुपर्ने पुल अझै बनिसकेको छैन । पुलसँगै सडकको अवस्था पनि त्यस्तै छ । कम्पनीले पर्साको सिर्सिया सुख्खा बन्दरगाह–परवानीपुर सडकसहित दुई वटा खण्ड निर्माणको ठेक्का पनि लिएको छ । हुलाकी राजमार्गको एउटा खण्डमा डेढ अर्बको ठेक्का पनि पप्पुकै जिम्मामा छ ।
धेरै लापरवाही पुलमै
उदघाटन नहुँदै भत्किएको बर्दियाको जब्दीघाट पुल पप्पुको बद्मासीको खुल्ला किताब हो । सडक विभागको तथ्यांकअनुसार पप्पुले सबैभन्दा धेरै लापर्वाही पुलमै गरेको देखिन्छ । गत वर्षको असारमा बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल उदघाटन नहुँदै भत्कियो । यो पुल पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको थियो । यसको निर्माणमै गुणस्तरहीन सामाग्री प्रयोग भएको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए । तर त्यसलाई रोक्न कसैले सकेन ।
‘कोही आफूविरुद्ध बोल्यो भने पप्पुले मुख थुन्न साम, दाम, दण्ड, भेद सबै लगाउँछ,’ एक अधिकारी भन्छन्, ‘जतिसुकै दबाव बनाउँदा पनि यो कम्पनीले समयमै काम गर्दैन । एउटा न एउटा समस्या देखाएर काम अल्झाउँछ । गरेको काम पनि टिकाउ हुँदैन ।’
तर, पप्पुले समयमा काम गर्दैन र उसको कामको गुणस्तरमाथि पनि प्रश्न उठेको छ भन्ने जान्दाजान्दै पनि लो बिडका कारण एकपछि अर्को ठेक्का ‘अवार्ड’ जसरी पड्काइरहेको छ । ‘काम हुँदैन भन्ने जान्दा जान्दै पनि कम रकम कबोल गरेकै कारण उसलाई ठेक्का नदिई सुखै छैन,’ सडक विभाग ती अधिकारी बताउँछन् ।
पप्पुलाई पहिलो पटक दण्ड !
नेपालगञ्जको राँझादेखि जमुनाहसम्म साढे १० किलोमिटर सडकमा ठूला–ठूला खाल्डा परेपछि पप्पु कन्स्ट्रक्सनलाई ४ करोड बढी जरिवाना तिराइएको छ । उक्त सडक तोकिएभन्दा दुई वर्ष ढिलो निर्माण भएको थियो । कालिका कन्स्ट्रक्सनले जिम्मा लिएको कोहलपुर–राँझा सडक तोकिएको म्यादभन्दा आठ महिनाअघि नै हस्तान्तरण हुँदा पप्पुलाई भने दुई वर्ष समय थप्नुपरेको थियो ।
सडकको काम गुणस्तरीय नभएपछि पप्पुले इतिहासमै पहिलोपटक काम नराम्रो भएको स्वीकार गरी जरिवाना तिरेको थियो । पप्पुले नै जिम्मा लिएको बर्दिया गुलरियाको बैदीचोकदेखि मगरागाडी जोड्ने सडकको काम पनि विवादित बनेको थियो ।
पप्पुले रौतहटको लालबकैया नदीमा बनाएको पुल ०७४ सालमा दोस्रो पटक भासियो । पूर्वी पिलर भासिएको एक वर्षपछि पश्चिमतर्फको पिलर पनि भासियो । पप्पुले बनाएको बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल पनि निर्माण सकेर हस्तान्तरण नहुँदै पुल भाँचिएको थियो । त्यसमा कम्पनीको जिम्मेवारी नहुने बताउँदै सर्वोच्चमा दायर गरेको रिटमा पप्पुकै पक्षमा फैसला आयो ।
प्रतिक्रिया दिनुहोस्