काठमाडौं ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक आधारशिलामा गठन भएको सरकारको चरित्रमाथि प्रश्न उठाउने गरिएको गुनासो गर्नुभएको छ ।
प्रतिनिधिसभाको सनिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको आधारशिलामा बनेको सरकारले पाईला पाईलामा आफुलाई लोकतान्त्रिक भनि प्रमाणित गर्नुपर्ने कुरालाई स्वीकार नगर्ने चेतावनी पनि दिनुभयो । कुनै पार्टीले जन्मजात आफुलाई लोकतान्त्रिक हुँ भनी दाबी गरिरहने र आफुले भने पाईला पाईलामा प्रमाणित गर्नुपर्ने अवस्था श्रृजना गरिएको भन्दै उहाँले त्यो स्वीकार्य हुन नसक्ने बताउनुभयो । उहाँलेभन्नुभयो “लोकतन्त्र दलको नाम होइन । यो व्यवहार र आचरण हो । लोकतन्त्र व्यवसाय वा प्रचार संयन्त्र पनि होइन । अमुक झण्डा र नाम भएकाले कोही सर्टिफाइड, क्लासिफाइड लोकतान्त्रिक हुने , कसैले वाई वर्थ डेमोक्र्याट, अझ यसो भनुँ गर्भे लोकतान्त्रिकको दर्जयानी पाउने ? कसैले भने पाईलै पिच्छे आफु लोकतान्त्रिक भएको सर्टिफिकेट नविकरण गर्न टोपी हातमा लिएर कुदिरहनुपर्ने ? व्यवहारसंग सम्बन्धीत नभएको, नाम, जन्मकुण्डली र ब्राण्डसंग सम्बन्धित भएको लोकतन्त्र स्वीकार्य हुन सक्दैन । काममा स्वीकार्य हुन्छ । काममा मापिन्छ लोकतन्त्र । ”
उहाँले सरकार कसैको दयामायामा बनेको नभई, निरन्तरको लोकतान्त्रिक निष्ठा, जनताको लोकप्रिय मत, जनादेश प्राप्त सरकार भएकाले जनताको हितहरुको सर्वोत्तम प्रतिनिधित्व गर्ने सरकार भएको दाबी गर्नुभयो ।उहाँले भन्नुभयो “कतिपयले यस सरकालाई अझै एक किसिमको अनवाण्टेड गेष्ट जस्तो ठानेका छन् । ”आम निर्वाचन ताका कम्युनिष्टको सरकार बन्यो भने हाँस्न त के रुन पनि पाईदैन भनेर भन्ने गरिएको स्मरण गर्दै उहाँले वास्तविकता त्यस्तो नभएको बताउनुभयो । उहाँले भन्नुभयो “लोकतन्त्र संकटमा परेको, अधिनायकतावाद आउन थालेको भन्ने खालको एकतारे पनि खुब बज्यो । अनेक रुपमा त्यो प्रकट भयो । गुठी विधेयकमा पनि देखिएको । पछिल्लो समय मिडिया विधेयकको रुपमा पनि चर्चामा आयो । सोचौ, विधेयक निर्माणका क्रममा उठेका विषय र मन नपरेका मन्त्री सांसर र सरकारको थाप्लोमा फ्याकेर अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्यो, लोकतन्त्र सकियो जस्ता अनुपयुक्त संदेश प्रवाह गर्ने र त्यसलाई अन्तराष्ट्रियीकरण गर्ने खेलले हाम्रो लोकतन्त्र कसरी मजबुत होला ?”
उहाँले भन्नुभयो “पार्टी खोल्ने झण्डा बोक्ने र सडक सदनमा प्रर्दैशन गर्ने स्वतन्त्रतालाई मात्रै म लोकतन्त्र ठान्दीनँ, म त्यस्तो लोकतन्त्रलाई मान्छु, जहाँ हरेक नागरिकको शिक्षा र स्वास्थ्यको सुनिश्चिता होस् ।” उहाँले संचारमाध्यमले बैचारिक पुर्वाग्रहका साथ सरकारका कामकारवाहीलाई हेर्ने गरेको गुनासो पनि गर्नुभयो । केही दिन अघि आफुले सम्पादकहरु संग गरेको छलफल र सम्पादहरुले राखेको जिज्ञाका स्मरण गर्दे उहाँले संचारक्षेत्रलाई तथ्यमा आधारित भएर आलोचनात्मक भूमिका निर्वाह गर्न सचेत गराउनुभयो ।
उहाँले भन्नुभयो “सरकारको खबरदारी गर्छौ । हाम्रो खबरमा नियत किन हेरिन्छ । अवश्य नै हेरिन्न । त्यत्तिकै नियतमा किन शंका गर्ने ? चौथो अंग क्रिटिकल हुन पाउछ । तथ्य आधारित सक्दो क्रिटिकल होस् । भनिन्छ नि लेखाईको लाईन स्पष्ट भए विटवीनको लाईन पढिदैन । मेरा पनि केही सरोकारहरु यस्तै प्रश्नहरु छन् मेरो नेतृत्वमा रहेको सरकारले सुरु गरेको काम र गर्न लागेको राष्ट्रिय अभियानमा चाही किन नियत हेरिन्छ ? के यो बैचारिक पुर्वाग्रहका कारणले हो ? त्यस्तो हुनु बाञ्छनिय हुदैन ।” सरकारको आलोचनाको शैली पछिल्लो समय बदलिएको उल्लेख गर्दे उहाँलेभ भन्नुभयो ‘गफ गरेर हुन्छ गर्छु भनेर हुन्छ काम गरेको देखिनु पर्यो’ भनेको सुन्थेँ । अहिले परिवेश बदलिएको देखिएको छ भन्दै उहाँले भन्नुभयो “अंक र आँकडा बाट हुन्छ ग्लोबल इन्डेक्समा होइन जनतामा इम्प्रेशन के छ भन्ने जस्ता कुरा हरु सुनिन थालेको छ । यस्ता तर्क सुन्दा बेला बेलामा म विस्मित हुने गर्छु । भनौ कि जस्तो पनि लाग्छ । ठिकै छ । अंकमा होइन,अनुभुति नै सही इन्डेक्स होइन इम्प्रेशनकै कुरा गरौ , के छ इम्प्रेशन ? परिणाम के छ ? यो दुईबर्षमा तराईमा शितलहर र जाडोबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन । यो अंक मात्रै होइन अनुभूति हो । भर्रखरै राष्ट्रिय सभाको निर्वाचनले पनि जनताको अनूभूति बताएको छ भन्ने लाग्छ । ”
उहाँले सरकारको कार्यशैली, घोषणा अनुसारको काम नभएको , जनताको विश्वास जित्न नसकेको भन्ने टिप्पणीको तथ्यगत रुपमा प्रतिवादन गर्नुभयो । जनता प्रत्यक्ष लाभान्वित हुने सरकारका कामहरुको फेयरिस्त प्रस्तुत गर्दै उहाँले ती काम अंक र आकडामा मात्रै नभई जनताको मन र विश्वास जित्न सफल रहेको दाबी पनि गर्नुभयो । जनताको माग सम्बोधन गर्न सकार अत्यन्तै क्रियाशिल रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले आफ्नो सरकारले दुई बर्ष पुरा गर्नु पनि उपलब्धिको रुपमा लिएको बताउनुभयो । उहाँले भन्नुभयो “आज बाट मेरो नेतृत्वमा गठित नेकपाको सरकारले ७ सय ३१ दिन अर्थात् २ बर्ष पुरा भएको छ । सात आठ महिनाको अवधिमा सरकार फेरिईरहने अस्थिरतालाई हेर्दा एउटै पार्टीको नेतृत्वले दुई बर्ष पुरा गर्नुपनि उपलब्धिको रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ ।”
उहाँले गत बर्ष यसै गरी बर्षभरिका कामका प्रतिवेदन सार्वजनिक गराउन खोजेको बेला संसदमा उत्पन्न अवरोधको अवस्थाको पनि स्मरण गर्नुभयो । आफ्नै आयु र भविश्यको टुंगो नभएको कमजोर सरकारले गर्ने काम र भविश्य लिएर आएको सरकारले गर्ने कामको तौरतरिका भिन्न हुने भन्दै उहाँले पहिलो बर्षलाई आधार बर्ष, दोश्रो बर्षलाई विकासको आधार बर्षको रुपमा सरकारले लिएको स्पष्ट पार्नुभयो । उहाँले संघियता कार्यान्वयन गराउने विषय सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दे वित्तिय व्यवस्थापन र कर्मचारी समायोजनको काम सम्पन्न भएको स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो“वित्तिय संघीयता कार्यान्वयनमा आएको छ । कर्मचारी समायोजनको काम मुलत सम्पन्न भएको छ । हाम्रो संघीयताले कार्यआरम्भ गरिसकेको छ । ”तराईमा वेग्लै राज्यको मुद्धा बोकेर क्रियाशिल समुहले यसै संविधान अनुरुप चल्ने गरि आफ्नो दल र पहिचान समेत बदलेको भन्दै उहाँले संविधानको सर्वस्वीकार्यतामा पनि कुनै समस्या नरहेको बताउनुभयो । उहाँले भन्नुभयो “संविधानको स्वीकार्यतामा पनि कुनै समस्या रहेको म देख्दिनँ ।” उहाँले कानुन निर्माणमा पनि सरकारले प्रगति हासिल गरेको भन्दै ऐन खारेजी, संसोधन र नया बनेका ऐनको फेयरिस्त पनि प्रस्तुत गर्नुभयो ।
उहाँले तिब्र आर्थिक वृद्धिदर हासिल गरिरहेका विश्वका १० मुलुकहरुको पक्तिमा नेपाल पनि परेको,पछिल्लो तीन बर्षमा लगातार ६ प्रतिशत भन्दा कम आर्थिक वृद्धिदर नभएको बताउनुभयो । आर्थिकवृद्धि दरमा आएको सुधार संगै निरपेक्ष गरिविको रेखा मुनि जम्मा १६ दशमलब ५ प्रतिशतमा झरेको दाबी गर्नुभयो । उहाँले जनता आवास, सुरक्षित बसोबास, स्वास्थ्य बिमा र सामाजिक सुरक्षा लगायत कार्यक्रमले गरिबी घटाउन र रोजगारीको अवसर श्रृजना गर्न सहयोग पुगेको बताउनुभयो ।नया वेरोजगार नथपिएको, श्रमबजारमा थपिएकालाई सम्बोधन गर्न सकेको भएपनि शिक्षित वेरोजगारलाई उच्चस्तरको रोजगारीमा ल्याउने काम भने बाँकी रहेको पनि उहाँले स्पष्ट पार्नुभयो । बैकहरुको शाखा विस्तार भएर मुलुकभर ९ हजार ३ सय ९४ पुगेको र ‘खोलौ बैक खाता’ अभियान सफल भएको दाबी पनि गर्नुभयो ।सरकारले करको दर नभई दायरा बढाउने सोच बनाएको, बैदेशिक लगानीको प्रतिवद्धता थपिएको, कुल व्यापार घाटामा कमि आएको ,व्यापार विविधिकरण बढेको, भुकम्पपछि बन्द भएको तातोपानी नाकाबाट व्यापारिक वस्तुको आयात निर्यात हुन थालेको , अण्डा तथा माछामासु उत्पादनमा मुलुक आत्मनिर्भर भएको, सडक कालोपत्रे निर्माण हुने क्रम बढेको भन्दै उहाँले दुई बर्ष भित्र ३ हजार ६ सय ३६ किलोमिटर सडक कालोपत्रे भएको विवरण पनि उहाँले उल्लेख गर्नुभयो । सवा सय भन्दा बढी तुईन विस्तापित भईसकेको, पुल निर्माणको गति बढेको, सडक ग्रेबल गर्ने काम भएको तथा लोडसेडिङ अन्त्य संगै विद्युत् भारतमा विक्रि हुन थालेको पनि उहाँले उल्लेख गर्नुभयो ।
नेपाल र चीनबीच उर्जा सहमति र सहकार्यको सम्झौता भएको, अन्तदेशिय विद्युत् प्रसारण लाईन निर्माणका लागि सर्वेक्षण गर्ने सम्बन्धी सम्झौता भई सर्वेक्षणको काम पनि सुरु भईसकेको लगायत कामको पनि उहाँले जानकारी गराउनुभयो ।उहाँले सबै जिल्लामा फोरजी सेवा पुगेको, भुकम्पपछिको पुर्ननिर्माणको क्षेत्रमा ३ लाख ७४ हजार नीजि घर बनेको , ३ सय भन्दा बढी सरकारी भवन निर्माण, २ हजार ६ सय भन्दाबढी विद्यालय भवन बनेको, ३ सय २५ पुरातात्वीक सम्पदाको निर्माण भएको जानकारी गराउनुभयो ।उहाँले भन्नुभयो “धेरै स्थानमा एयरपोर्टको विस्तार गरि रात्रीसेवा पनि सुरु गरिएको, विश्व बैकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार महिला, व्यवसाय र कानुनको क्षेत्रमा सुधार गर्ने प्रमुख १० देशको सुचीमा नेपाल परेको छ । त्यो पनि उत्कृष्ट ३ मा परेको छ । यो अंक पनि हो र अनुभूति पनि हो ।”प्रधानमन्त्री ओलीले विद्यालयमा विद्यार्थी भर्नादर सत प्रतिशत हुदै गरेको, विद्यालय छोड्ने दर २ प्रतिशतमा झरेको , स्वास्थ्य विमा विस्तार भएको, अस्पतालमा ९ हजार शैयाा बनेको, दक्षिण एसियामा नेपाल पहिलो खुल्ला दिशामुक्त देश घोषणा भएको, २० जिल्लामा ढल निर्माण र विस्तार भएको, काठमाण्डौ उपत्यकाको फोहर मैला व्यवस्थापनका लागि बञ्चरो डाडामा भएको काम, संघीय संसद भवन निर्माण लगायतको फेयरिस्त नै प्रस्तुत गर्नुभयो ।
भ्रष्टाचार र ललिता निवास
उहाँले सार्वजनिक जग्गा हड्प्नेको विरुद्ध कारवाही गर्दा र राजश्व अपचलन लगायत भ्रष्टाचार विरुद्धको आफ्ना कदममा आफुले पटक पटक आलोचना खेप्ने गरेको गुनासो पनि गर्नुभयो । उहाँले भन्नुयो “म आफु भ्रष्टाचार गर्दिन । र अरुलाई पनि गर्न दिन्न । गत बर्षको सम्बोधनका क्रममा मैले भनेको थिएँ । कसैले मेरो भनाईलाई भन्नका लागि भनेको ठानेको छ भने त्यसले गल्ति गर्देछ । दुराचारी र दुराचार, भ्रष्ट र भ्रष्टाचारको सम्बन्धमा मुखमा पानी हालेर बस्ने मेरो बानी छैन । जो जतिसुकै उच्च ओहोदा वाला होस् वा कथित पहुँचवाला, तीनको मुख हेरेर सँजाय तोकिन्न । कारवाही गर्ने नगर्ने फैसला मुख हेरेर लिइन्न । सुशासनका संयन्त्रहरु क्रियाशिल हुँदा भ्रष्टाचारमा निर्लिप्त हुनेहरु मुरमुरिदाँ रहेछन् । यस्तो अवस्थामा निलवर्णन श्रृंगार कथा सम्झनामा आउँछ । ”
प्रधानमन्त्री ओलीले ललिता निवास जग्गा प्रकरणमा १ सय ३६ रोपनी जग्गाको छानविन गर्न आफैले बनाएको स्मरण गर्दै लुटिएको सरकारी जग्गा फिर्ता ल्याउन पहल गर्ने आफैलाई त्यसमा संलग्न जसरी प्रचार प्रशार गरिएको गुनासो पनि गर्नुभयो ।उहाँले भन्नुभयो “ललिता निवास र प्रधानमन्त्रीको सरकारी निवास दुवै वालुवाटारमा नै भएकोले प्रधानमन्त्रीले नै जग्गा बेचेर खाए जस्तो भान पार्ने गरि वालुवाटार काण्डलाई प्रचार प्रशार र आक्रमणको कारण बनाईयो ।” उहाँले भ्रष्टाचार विरोधी सरकारको कामबाट भ्रष्टाचारमा लिप्त हुनेहरु डराएको भन्दै उहाँले आफ्ना कामको विरोध गर्ने प्रतिपक्षी दल नेपाली कांग्रेसलाई घुमाउरो शैलीमा चिनियाँ उखान र ‘देखाउनेले दाग देखायो किन रुवाबासी’ भन्ने गीत जस्तो भन्दै व्यंग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्