चितवन,११ मंसिर । चितवन जिल्लामा पनि यस्तो ठाउं छ र भन्ने एउटा बस्ती छ । कुनै बेला भारतीय अतिक्रमणका विरुद्ध मानव ढाल बनाउने दरवारिया योजनामा बस्ती बसाइएको अनेकन तराईका बस्तीहरु मध्ये यो एउटा गाउं हो । त्यसमाथि पञ्चायत विरोधी आन्दोलनको नाममा वामपन्थीहरुले समेत बस्ती बसाउने अभियानलाई आन्दोलनका रुपमा अघि बढाएको दाबी गर्दछन् । त्यस्तै मध्येको अति विकट, विपन्न र साह्रै गएगुज्रेको जिन्दगी विताउन बाध्य पारिएका नागरिकहरुको बस्ती हो चितवन जिल्लाको माडी नगरपालिका अन्तर्गतको बांदरझुला । जहां अहिले ६सय २५ घर धुरी बसोबास गरेका छन् विगत ४० वर्षदेखि । अहिले त्यो गाउं माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र बन्न पुगेको छ । बांदरझुलाले अनेकन बुहार्तन व्योहरेर सीमा सुरक्षा गरेको छ । तर पुरस्कारका रुपमा निकुञ्जका सुरक्षाकर्मीको यातना र राज्यको धम्की सहंदै आएको सुन्दा जिउ सिरिङ्ग हुन्छ । निकुञ्जका मानिसहरुको अकल्पनीय शारिरीक र मानसिक यातना मात्र सहेको छैनन् बांदरझुलाबासीले । गत वर्ष प्रचण्ड नै प्रधानमन्त्री भएको दोस्रो दिनमा निकुञ्जले हात्ति लगाएर झण्डै बस्ती विनास गरेर राज्य आतंक मच्चाएको थिएन । त्यसलाई प्रधानमन्त्रीका रुपमा प्रचण्डले नै रोक्नु परेको पीडा बांदरझुलामा प्रचण्डले कारुणिक रुपमा सुनाए ।
एकजना बरिष्ठ सुरक्षा अधिकारीले भन्दै थिए बांदरझुलामा अधिकांश बच्चाहरुको नामा राइफल बहादुर र म्यागजिन कुमार छ । त्यसखालको यौनिक पीडा र लापरबाहीको समेत शिकार भएको बांदरझुला । त्यो पनि सिमा सुरक्षा गरेको पुरस्कारका रुपमा । बांदरझुला चारैतिरबाट खोलाको बगर, बाढी र खोलाले घेरिएको छ । बर्षायाममा बांदरझुला एउटा बन्दी गृहजस्तो बन्दछ । बांदर झुला पुग्न माडीबाट झण्डै १५ किमी निकुन्जका आधा दर्जन चेकिङ पार गरेर पुग्नु पर्दछ । त्यसैपनि जंगली जनावरको आक्रमण त आफ्नो ठाउंमा छंदैछ । बांदरझुलाको प्रचण्डको भाषण सुनिरहेका बुढाबुढीहरु भन्दै थिए । अब त प्रचण्डले गर्लान कि ? भन्ने आशाका साथ उनलाई नियाल्दै थिए ।
हामी त्यता जांदै गर्दा जसरी गर्वका साथ अमिक शेरचनले यो बस्ती मैले बसाएको हो भन्दै थिए, स्थानीयको पीडा सुन्दा गर्व होइन लज्जा हुनु पर्ने हो । विगत ४० वर्षदेखि अमिक शेरचन नै पटक पटक मन्त्री भए, बामपन्थीहरुकै ५ वटा सरकार बने तर बांदरझुलावासीका लागि आश्वासन भन्दा बढ्ता केही भएन । तर यसपटक प्रचण्ड र चितवनको संयुक्त बमगठवन्धनले बांदरझुलाबासीको समस्या समाधान गर्ने पहिलो एजेण्डा बनाएका छन् ।
त्यही माडीको बांदरमुडेमा सशस्त्र संघर्ष उत्कर्षमा पुगेका बेला त्रासदीपूर्ण विस्फोटमा ४१ जना बससवार निर्दोष नागरिकको हत्याभएको थियो । त्यसले राष्टिय र अन्तराष्टिय रुपमा समेत माओवादीलाई चिमोटिरहने घटना हो । स्थानीयका मनमा आजीवन मुटु चिसो बनाउने त्रसादी हो । त्यही क्षेत्रबाट प्रचण्ड चुनाव लड्दै गर्दा स्थानीयहरुले माफ दिएको देखिन्छ । तर माओवादीहरुलाई बदनाम गरिरहनका लागि केही विदेशी संस्थाले केही मानिसहरुलाई निरन्तर भत्ता खुवाएर दुरुपयोग गरिरहेको चितवनकै बरिष्ठ सुरक्षा अधिकारीले बताए । आइतबारमात्रै प्रचण्डको घरदैलो र चुनावी सभा शान्तिपूर्ण र स्थानीयको उत्साह र आत्मीयतामा सम्पन्न भए । तर बेलुका केही प्रायोजित अनलाईनबाट बांदरमुढे घटनाका पिडितलाई माओवादीले धम्क्याएको जस्ता अफबाह फैलाउने दुस्प्रयास देखियो । बांदरमुढे घटनाका पिडितहरुलाई राहत र क्षतिपूर्तिका लागि पटक पटक लिखित रुपमा नै प्रचण्डले राहत प्याकेज घोषणा गरेका छन् । स्थानीय एमाले नेतृत्वले नै अझ बढी सुझबुझका साथ डिल गरिरहेको छ । एमाले नेता देवी ज्ञावलीले बांदरझुलाबासीहरुलाई मल्टीस्टोर आवासमा पुनस्र्थापना गर्ने बताए ।
हाम्रो संसदीय प्रणालीले देशको जिम्मेबारी सम्हाल्ने नेताहरुलाई पनि निरिह र दुखी बनाउंदो रहेछ । सबै ठाउंमा लतारेको छ, चाहिने नचाहिने कुरा सुन्नु परेको छ । यस्ता नेताहरु प्रतिस्पर्धा गरेका क्षेत्रमा कुनै एउटा जोक्करले पनि मनोनयन गरेको भए उसैका बारेमा बदख्वाईं गर्नुपर्ने जस्तो दुर्भाग्य अवस्था छ । प्रचण्डका लागि पनि एउटा कमिशनखोर ठेकदारका बारेमा बोलिरहनु पर्ने बाध्यता सांच्चिकै यो व्यवस्थाकै टिठलाग्दो अवस्था हो ।
तर यसपटक प्रचण्ड आफ्नो गृहजिल्लाबाट चुनाव लड्दै गर्दा उनको मनोबैज्ञानिक उत्साह सहजै अनुमान गर्न सकिन्छ । स्थानीय एमाले नेताहरु काशिनाथ अधिकारी, देवी ज्ञावली र प्रेम रिमालले प्रचण्डलाई राष्टपति वा प्रधानमन्त्री वा एकीकृत कम्युनिस्ट पार्र्टीको अध्यक्ष भएर देशकै जिम्मा लिने प्रमुख नेताका रुपमा परिचय दिइरहेका छन् । त्यही प्रसंगमा अधिकारीले भने एउटा ठेकदारले यहां रिउ खोला र घ्यु खोला जोड्न ध्वांस दिंदै हिंडेको प्रसंग कोट्याउंदै यस्ता खोला जोड्ने पुल त बनाउनु पर्छ नै तर देशका लागि त्यो भन्दा बढी आवश्यकता केरुंग र कलकत्ता जोड्ने कामका लागि प्रचण्ड चाहिएको छ । त्यो भनाई निकै लयात्मक त थियो नै त्यसभन्दा बढी प्रचण्डको कूटनीतिक आयामलाई झल्काउने गुदी कुरा पनि थियो ।
प्रचण्ड परिबार यतिबेला अकल्पनीय शोकामा डुबेको छ । प्रचण्डको अनुहारमा भन्दा भावमा पीडा देख्न सकिन्छ । तर आमा मानिसले उनको अनुहारको पीडा पढ्न सक्दैनन् । यही नै प्रचण्डको प्रमुख चारित्रिक विशेषता हो । कलकार बद्री पंगेनीले प्रचण्ड तिमी निराश नुहुनु, अब हजारौं युवायुवती तिम्रै प्रकाश हुन् भन्ने गीत गांउंदा माडी खरकट्टको सभानै स्तवव्ध भएको थियो । बांदरझुलामा प्रचण्डले पनि भने अब मेरो सिंगो जीवन प्रकाशरुपी देशभरिका युवायुवतीका लागि खर्चिनेछु ।
प्रचण्ड चितवनका टोल, गाउं र भेटघाटका सभाका धपेडीमा दौडिरहंदा एकजना परिपक्क र देशका लागि सांच्चिकै केही गर्ने नेताको सन्देश दिइरहेका छन् । चितवनवासीहरु उनलाई पाएको गर्ब गर्न थालेको चोकहरुमा सुन्न सकिन्छ । जनताले विकास चाहेका छन्। दुवै पार्टीका स्थानीय नेताकार्यकर्ताले तत्काल पार्टी एकता चाहेका छन् । विदेशीहरुले प्रचण्ड र केपी ओलीबाट परिपक्क र सन्तुलित व्यवहार चाहेका छन् । त्यसका लागि उनीहरुले गर्नु पर्ने काम पहाड धेरै ठूलोछ । चुनौति पनि त्यस्तै अग्लो छ । त्यही भएर प्रचण्डले भनिरहेका छन् जे जे हुनु विगतमा भयो अब म बाट गल्ती हुंदैन । सांच्चै यस्तो भइदिए धेरै जाति हुने थियो ।
प्रतिक्रिया दिनुहोस्