विश्व हरेक समाज महामारीको त्रासदीबाट गुज्रिएर आएका छन् । तर, महामारी सबै समाजमा समान रूपले विकराल हुने गरेको चाहिँ छैन । महामारीको सामाजिक पक्षबारे अध्ययन गरेका व्यक्तिहरूका अनुसार, घुमन्ते–फिरन्ते जीवनशैलीबाट मानव समाज कृषि अर्थतन्त्रतर्फ फड्किएपछि महामारी अस्तित्वमा आएको हो । डायमन्ड , ‘द वर्ल्ड अन्टिल यस्टर्डे (२०१२)’ र आफ्नो अर्को बहुचर्चित किताब ‘गन्स, जम्स, एन्ड स्टिलः द फेट्स अफ ह्युमन सोसाइटिज(सन् १९९७)’ मा उनले कृषियुगको आरम्भसँगै मानिसको जीवनशैलीमा आएका दुईवटा परिवर्तनले महामारी निम्त्याएको उल्लेख गरेका छन् ।
कृषि अर्थतन्त्रसँगै आएको पहिलो परिवर्तन थियो, स्थायी तथा घना बस्तीको विकास । महामारी फैलिन जनघनत्व बढी हुनु अनिवार्य हुन्छ । त्यसैले पनि महामारीलाई ‘क्राउड डिजिज’ अर्थात् भीडलाई लाग्ने रोग भनिएको हो । कृषि अर्थतन्त्रले ल्याएको दोस्रो परिवर्तन थियो, जनावरलाई घरपालुवा बनाउने चलनको थालनी । जनावरहरू घरपालुवा बनेपछि मानिस र जनावरबीच सम्पर्क बढ्यो । यसबाट जनावरहरूलाई लाग्ने रोग मानिसमा संक्रमण भयो ।
यसैले प्रकारान्तरमा महामारीको रूप लियो । बिफर, क्षयरोग, औंलो, प्लेग, दादुरा, हैजा, फ्लु, एचआईभी एड्सजस्ता सरुवा रोग मानिसले जनावरबाटै ग्रहण गरेका हुन् । पछिल्लो समय चीनको वुहानबाट फैलिएको कोरोना भाइरस पनि चमेराबाट मानिसमा सरेको बताइन्छ तर पुष्टि भने हुन सकेको छैन । यस्तो खालको विश्लेषणलाई नैतिक मूल्यको कसीमा जोखेर प्रकृतिवादी, पशुअधिकारवादी र शाकाहारी भोजनका पक्षधरहरूले विमति जनाउने गरेका छन् । विश्वभरी महामारीको रुप लिइ फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ आज न्यूज च्यानल र समाजिक संजालमा भरिएको छ ।
२१ औं शताब्दिमा मेडिकल साइन्स एड्भान्स त भयो तै पनि यस महामारीलाई रोक्न भने असमर्थ भइ रहेको छ । यस्तो महामारी विश्वमा पहिलो पटक भने फैलिएको होइन । विगतलाई एक पटक फर्केर हेर्दा यस्ता महामारी सात पटक आएको इतिहासको पानाहरु पढ्न सक्छौ । विज्ञानले जुन प्रगति आज गरेको छ त्यतिबेला विज्ञानले यति प्रगति गर्न सकेको थिएन । फलस्वरूप लाखौं करौडौले यस महामारीसँग जुध्न नसकी आफ्नो ज्यान गुमाएका थिए।
१। द प्लेग अफ जस्टीनियन (सन्५४१)
द प्लेग अफ जस्टिनियनलाई इतिहासको पहिलो ठुलो महामारीको रुपमा मानिन्छ । यो प्लेग अफ्रिकाबाट सुरु भएको थियो तर त्यहाँ भएका संक्रमित मुसाहरु जहाजको माध्यमबाट रोमन साम्राज्यको कन्स्ट्यान्टिनोपोलको राजधानी बाइजनटाइन सम्म फैलिए । सन् ५४१ मा फैलिएको यस महामारीले दैनिक १० हजारको ज्यान लिन्थ्यो । प्राचीन इतिहासकार प्रोकोपियसको अनुसार त्यहाँको सडक समेत लासहरुले भरिएको थियो । त्यहाँ राजा जस्टीनियन जसको नाममा यो महामारीको नाम राखियो उनी पनि यसबाट संक्रमित थिए तर उनी बाँच्न सफल भए । यो महामारीले युरोपमै मात्र २ करोड ५० लाख भन्दा बढीको ज्यान लिएको थियो ।
२। द ब्ल्याक डेथ (सन १३४७ )
१४ औं शताब्दितिर एउटा नयाँ महामारी इटलीमा प्रवेश गर्यो । यस महामारीले अघिल्लो ५ वर्ष युरोपमा आफ्नो तान्डव देखायो । यो महामारी यति खतरनाक थियो कि यस्ले सिङ्गो सहर नै निलेको थियो र जो यस महामारीबाट बाँच्न सफल भए उनीहरु लास उठाउनमै वस्त भए । त्यति बेलाका मानिसहरुले औषधि(उपचार नपाई मृत्यु ग्रहण गर्नु परेकोले भगवानको श्राप भनी स्वीकारेका थिय । ब्ल्याक डेथको तान्डव सन १३५३ मा शान्त भयो तर यस्ले यो अवधिमा ५ करोड भन्दा बढीको ज्यान लिएको थियो ।
३। द इटालीयन प्लेग ( सन १६२९)
सन १६२९ मा फैलिएको यो महामारीले इटालीलाई आफ्नो चपेटामा लियो ।
२ वर्षसम्म यो महामारी इटालीमा फैलियो । त्यहाँको सबैभन्दा ठूला सहरहरु बेरोना, मिलान, भेनिस र फ्लोरेन्सलाई संक्रमित गर्यो । यो महामारी फैलिन रोक्नको लागि त्यहाँका अधिकारीले संक्रमित सबैलाई एउटा विरानो टापुमा बन्द गरिदिए । यति गर्दा सम्म बेरोनामा २ लाख ८० हजार, भेनिसमा १ लाख ४० हजार जनाले ज्यान गुमाएका थिए ।
४। द ग्रेट प्लेग अफ लन्डन (सन १६६५ )
यो महामारीको चपेटमा आएपछि लण्डनमा हरेक दिन लगभग ८ हजार जनाले आफ्नो ज्यान गुमाउनु परेको थियो । यसको डरले धनाढ्य वर्गहरु जस्तै त्यहाँको राजा चार्ल्स द्वितीय पलायन भएका थिए । लण्डनको अधिकारीले संक्रमितलाइ बन्द कोठामा थुनेर राख्दा पनि यसले करिब १ लाखको ज्यान लियो ।
५। द गेट प्लेग अफ मार्सिले (सन १७२०)
पश्चिमि युरोपमा आएको अन्तिम ठूलो महामारी सन १७२० मा सुरु भएको थियो । यो महामारी ग्रान्ड सेन्ट एन्टोनी नाम जहाजबाट युरोपमा फैलिएको थियो । यो जहाजमा रहेका सबै संक्रमित भएको थाह पाएपछि यसलाई एक ठाउँमा बन्द गरी राखियो । यस जहाजको साहुको अनुरोधमा त्यहाँ रहेका मालसामान भने उतार्न अनुमति भने दिइयो र सामानसँगै त्यहाँ रहेका संक्रमित मुसाहरु पनि बाहिर आइ फ्रान्समा छिरे र महामारी सुरु भयो । हजारौँले दिन दिनै आफ्नो ज्यान गुमाए । सडक लासहरुले भरियो । सन १७२२ मा यो महामारी अन्त्य त भयो तर उक्त महामारीबाट ११ लाखको ज्यान गएको थियो ।
६। द थर्ड प्लेग प्यान्डेमिक (१८५५)
पहिला सबैभन्दा ठूलो महामारी प्लेग अफ जस्टीनियन र ब्ल्याक प्लेग थियो र भर्खरै फैलिएकालाई थर्ड प्यान्डमिक भनिन्छ । यो महामारी चीनको युनानबाट सन् १८५५ मा सुरु भएको थियो र बिस्तारै बिस्तारै विश्वभरी फैलियो । यो महामारी पनि मुसाद्वारा नै फैलिएको थियो । यस महामारीको कारण विश्वभरी १ करोड ५० लाख भन्दा बढीले ज्यान गुमाएका थिए । सबैभन्दा बढी नोक्सान भारत र चीनलाई भएको थियो ।
७। स्पेनिस फ्लू( सन १९१८ )
यो महामारी कहाँबाट फैलिएको थियो भन्ने कुरा विवादास्पद छ । केही अनुसन्धानले अमेरिकाबाट भएको भन्छन त कुनैले युरोपबाट तर बहुमतले भने अमेरिकाबाट फैलिएको भनेर मानेको छ । यस महामारीबाट ५० करोडमा संक्रमण देखिएको थियो भने १० प्रतिशत मृत्युदर थियो अर्थात् ५ करोडले आफ्नो ज्यान गुमाएका थियो । अहिले फैलिएको भाइरस (कोभिड–१९) ले बढी बृद्धलाई आक्रमण गर्दैछ भने यो महामारीले जवानलाई बढी आक्रमण गरेको थियो । त्यसैले यसलाई अहिलेसम्मकै सबैभन्दा ठूलो महामारीको रुपमा लिइन्छ ।
विज्ञान र प्रविधिमा राम्रो विकास नभएको कारण धेरैले आफ्नो ज्यान गुमाउनु पर्यो । तर, अहिले यस्तो अवस्था छैन, विज्ञान र प्रविधिमा धेरै विकास आइसकेको कारण पहिले जस्तो अहिले नहुने अनुमान गर्न सकिन्छ ।
महामारी फैलिदा किन नाका बन्द गरिन्छ ?
मल्लकालताका काठमाडौंमा फैलिएको बिफरबारे सन् १७४० ताका काठमाडौं उपत्यकामा रकेका क्यापुचिन इसाई मिसनरीहरूले पनि लेखेका छन् । त्यतिबेला ११ जना मिसनरी भारतबाट तिब्बत जाने क्रममा काठमाडौं आइपुगेका थिए । उनीहरू काठमाडौंमा छँदै महामारी फैलियो । महामारीलाई अनियन्त्रित हुन नदिन राज्यले काठमाडौंका नाकाहरू बन्द गर्यो । नाकाहरू बन्द भएकाले मिसनरीहरूले सन् १७४० को फेब्रुअरी ६ देखि अक्टोबर ४ सम्म काठमाडौंमै रहनुपरेको थियो ।
त्यसपछि पनि महामारी फैलिएको बेला काठमाडौंका नाकाहरू बन्द गर्ने गरिन्थ्यो । उदाहरणका लागि विसं १८६२ को चैतमा चिसापानीमा तैनाथ सुवेदार अन्त्य खवास र सुवेदार निरञ्जनका नाममा जारी राजाज्ञालाई लिन सकिन्छ । रेग्मी रिसर्च सिरिजमा प्रकाशित राजाज्ञाको अंग्रेजी अनुवादमा चिसापानीमा झारा प्रथाअन्तर्गत काम गरिरहेका श्रमिकहरूमाझ बिफर फैलिएको उल्लेख छ । बिफर काठमाडौंतिर नफैलियोस् भनेर दुवै सुवेदारलाई काठमाडौं छिर्ने चिसापानी नाका बन्द गर्न आदेश दिइएको छ ।
यसो गर्दैगर्दा महामारीबाट सुरक्षित रहन अन्य उपाय आज भोलिका जस्तै समानान्तर रूपमै अपनाउने गरिन्थ्यो । यही मेसोमा संक्रमित मानिसलाई बस्तीबाट अलग्गै राखिन्थ्यो । बाटाघाटामा भाँजो हालेर बाहिरका मानिसलाई गाउँ अथवा सहर छिर्न दिइँदैन थियो । हैजा लागेका मानिसलाई खोला कटाएमा अथवा कुष्ठरोगीलाई बस्तीबाट टाढा राखेमा महामारी फैलिन पाउँदैन भन्ने जनविश्वास बेहारेका बूढापाका समाजमा अझै भेटिन्छन् । त्यस्तो प्रचलन अहिले भनिने ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन’ कै प्रतिरूप थियो ।
महामारी समय–समयमा आउँदो रहेछ र गुज्रिँदो पनि रहेछ भनि महसुस गर्नुपर्छ । महामारीले मानवीय क्षति गराए पनि मानवजातिको समग्र अस्तित्वमाथि नै धावा बोल्नचाहिँ नसक्ने रहेछ भनी बुझ्नुपर्छ । पछिल्लो समय चिकित्साविज्ञानले सरुवा रोगविरुद्ध हासिल गरेको अभूतपूर्व उपलब्धिले महामारीलाई हिजोको तुलनामा कम जोखिमपूर्ण बनाएको छ । यी तथ्यलाई हेरेर हामीले संकटको यस घडीमा आत्मबल उँचो बनाउनुपर्छ ।
प्रतिक्रिया दिनुहोस्