एकजना बहिनीले आफ्नो सार्वजनिक बसमा यात्रा गर्दाको कुरा सुनाइन। जब गर्भवती महिला बसमा चढिन, बस्ने सिट थिएन, महिला सिटमा भर्खरका महिलाहरु बसेका थिए, तर उनलार्इ ठाउँ खाली गर्दिएनन् । यस्ता महिलाहरुले के अधिकार खोज्नु ?
युगौदेखि पिल्सिएको थिचिएको, अधिकार र स्वतन्त्रताको कुरा गरेर नथाकेर उही यथास्थानमा रहेका हामी महिलाहरुको अहिले १६ दिने हिंसामुक्त अभियान भनेर सुनिरहंदा मेरो छिमेकमै दुर्इवटी श्रीमती हुने परिवारको कुरा चल्यो । ससाना बालबच्चा देखेर पनि आउने त्यो आइमार्इ कस्ती ? अनि ल्याउने मान्छे कस्तो ? यहाँ महिलाहरु बीच चर्चा हुदाँसमेत आइमार्इ र मान्छे भन्ने थियो । मलार्इ लाग्यो हैन आज सम्म हामी मान्छे हुन पनि नसकेर आइमार्इ मात्र छौ के को स्वतन्त्रता, के को अधिकार र? आफैलार्इ लाज लाग्यो । घामले पोलेपछि सलले टाउको छोपेर यसो माथि फर्किदा होर्डिङबोडमा आँखा पर्यो कोट पाइन्टमा ग्लामर देखिने मान्छेको अगाडि बाथरुमबाट निस्किंदाको जस्तो कपडामा आफ्नो ग्लामर देखाएकी आइमाइको फोटोले स्वतन्त्रताको फड्को मार्न गरेको कोशिस समेत फिक्का लाग्यो । सोचें मुक्तिको लागि कफन बांधेर स्वतन्त्रताको रफ्तारमा लागि रहंदा हामी कमजोर हौ या हाम्रो सोच बुझ्नै गाह्रो भयो।
मलार्इ लाग्दैन हामी महिलाहरु कमजोर छौं भन्ने । तर हाम्रा सोच र हाम्रा मान्यताहरु पक्कै पनि कमजोर छन । जब हामी आफुले आफुलार्इ नै बुझ्न सक्दैनौ हामी संधै हिंसाको सिकार बन्छौ । जब हामी पहिले आफुले आफुलार्इ बुझ्न सक्छौ पक्कै पनि हामीले ९० प्रतिशत स्वतन्त्रता र अधिकार प्राप्त गरिसकेको हुनेछौ। आज पनि हामी मुक्ति ,स्वतन्त्रता र अधिकारका चर्का कुरा गर्छौ ।
के हो स्वतन्त्रता ? के हो अधिकार ? अनि के हो मुक्ति ? समाज हामी दुई जाती नारी र पुरुष मिलेर बनेको छ । न नारी बिना समाज बन्न सम्भव छ, न पुरुष बिना समस्या सोचको हो अनि समस्या बुझाइको हो। हामी हरेक कुरामा सक्षम छौ । कमजोर छौं त सोचको । बिचार गरौं त छोरी बुहारी, श्रीमती , काकी ,नानी, भान्जी, नन्द , सौता, सासू सबैको भुमिकामा छौ हामी । हाम्रो घरमा जति हाम्रो दबदबा चल्छ पुरुषको चल्दैन । यो साँचो हो तर हामीले आफ्नो भुमिकालार्इ कसरी बुझ्ने हामी आफ्नो कुरा हो, जब हामी आफुले आफैले बुझन सक्दैनौ अरुलाइ बुझाउन पक्कै पनि सक्दैनौ । घरका हरेक भुमिकामा रहेका हामी महिलाहरुले साँच्चै हामी महिला कमजोर छैनौ हामीले आफुले आफैलाइ कमजोर बनाएको हौ भनेर सोचौं त समस्याको समाधानको सुरुवात यहीँबाट हुन्छ ।
किनकी पुरुष पनि हाम्रा श्रीमान, बाबू , भार्इ, काका हुन हामीले आफुलार्इ कमजोर महसुस गरेकै कारण उनीहरुले आफुलार्इ बलियो सम्झेको हुन् । साँच्चै बिचार गरौं त अधिकार र स्वतन्त्रताको नाममा हामी कता जादैछौ ? महिला कुनै चिज हैन ,बिज्ञापनको साधन हैनौ हामी भनिरहंदा यौटा मल्टिनेश्नल कम्पनीको बिज्ञापनमा दुई वित्ते कपडा लगाएर ग्लामर पस्किदै छौ हामी महिला नै, त्यो कपडाको डिजाइनर पनि हामी महिला नै छौ। हामीसंग बिज्ञापनमा खेल्ने हाम्रा दाजुभाइ पुरै शरीर ढाकेर ग्लामर हुन सक्छन भने हामीले शरीर प्रदर्शन गर्नुपर्ने कारण किन ? के यही स्वतन्त्रता हो ? यहि अधिकारको लागि हाम्रो संघर्ष हो ?
पक्कै पनि महिलाहरुलार्इ हेर्ने समाजको दृष्टिकोण आज पनि कमजोर छ र त्यो समाजमा हाम्रो पनि झन बलियो उपस्थिति छ । हामीले सासु बनेर शासन गर्छौ, बुहारी बनेर पीडा सहन्छौ । नन्द अमाजु लगाएतका अनेक नातामा बर्चस्व कायम गर्दै आफुजस्तैको बिरुद्धमा आगो ओकल्छौं । त्यसैले हामी कमजोर छौ । हामीमाथि हुने हिंसा हामी आफै कमजोर बनेर उपस्थित हुदा पनि बढेको छ । यी हिंसा अन्त्यका अभियान भन्दा पनि आफु बलियो कसरी बन्ने हामी हाम्रो सोचलाइ कसरी बदल्ने भन्ने कुरामा थोरै मात्र सचेत रहदा समाजले काचुली फेर्न समय लाग्दैन। कपडामा ग्लामर खोज्ने , घरमा खाना कस्ले पकाउने भन्नेमा अधिकार खोज्ने , उ भन्दा म के कम भन्ने सोचको कारण पनि हामी कमजोर छौ।
परिवेश पक्कै फेरिएको छ जबसम्म हामी आर्थिक रुपमा सम्पन्न हुदैनौ हाम्रा समस्या जहांको त्यहीँ हुन्छन भनिरहंदा हामी प्रथमत शिक्षित र सक्षम बन्नु पर्यो ब्यबहारिक रुपमा नै । जब हामीले आफुजस्तै अर्की महिलाको समस्या बुझन सक्छौ, हाम्रा धेरै समस्याको समाधान हुन्छ । हरेक घरमा पुरुषहरुको कारण भन्दा पनि महिलाकै कारण हिंसा बढी छ । हामी नढांटी इमान्दार बनेर हेरौ त यौटी महिलाको बिषयमा कुरा हुंदा हाम्रो घरमा हाम्रा बाबु भन्दा हाम्री आमाको नै हात बढी छ । हाम्रा श्रीमानको भन्दा हाम्रो नै हात बढी छ । यति भनिरहंदा पनि महिलाहरु सुरक्षित पक्कै छैनौ । किनकी हामी आफ्नै कमजोरीका कारण।अधिकार स्वतन्त्रता र मुक्ति प्राप्त गर्ने अभियानमा झन धेरै घर बिग्रेको हामी देखेका छौ । यसको मतलब यो हैनकी हामी आफुले मात्र कम्प्रोमाईज गरेर हाम्रा घर बचाउँ । मुख्य कुरा त सोचको हो।हामी कसरी बाच्ने रु जीवनसैलीको हो कस्तो जीवनशैली अपनाउने अनि खुशी को हो कसरी खुशी रहने रु जीवन बुझ्ने ,शिक्षित र सक्षम बन्ने अभियनानै आजको आबश्यता हो ।
प्रतिक्रिया दिनुहोस्