काठमाडौं, १९ मंसिर । ललितपुरको हात्तिवनस्थित किराती घरमा किराँती समुदायले वि.स. १९०५ देखि पुजाआजा गर्दै आएको ईतिहास छ। जसलाई राईहरुले किराँतमाङ्खिम र लिम्बु समुदायले किराँतमाङ्हिम भन्ने गर्दछन् । घरलाई लिम्बु भाषामा ‘हिम’ र राई भाषामा ‘खिम’ भनिन्छ । तसर्थ सो किरात घरको नाम किरात भाषामा उल्था गर्दा सो रहन गएको हो ।
किराँतीहरुको महान् चाड उभौली र उद्यौलीमा हजारौं वर्ष अघि देखि नै यस किराँतधार्मिक स्थलमा पुजाहुदै आएपनि किराँती समुदाय कै एक जमात् थामीहरु भने हालै मात्र (वि.स. २०७४) जोडिएका छन् । नेपाल थामी समाज, नेपाल थामी विद्यार्थी संघ, नेपाल थामी युवा संघ र नेपाल थामी महिला समाजको संयुक्त आयोजनामा यसपालीको भुमे पुजा÷पर्व ललितपुरमा सम्पन्न भएको हो ।यस अघि थामीहरुले गाउँ–गाउँमासदियौं वर्ष देखि नै वैशाखी पूर्णिमाउभौली र मंसिरको उद्यौलीमा पुजा गर्दै आएका थिए ।
उद्यौली पर्वमा थामीहरुले भूमे देवताको पुजा गर्ने गर्छन् । यस पुजामा अन्न, जमिनलगायत समग्र प्रकृतिको पुजा हुने गर्दछ । थामी भाषामा देवतालाइ देवा भनिन्छ । तसर्थ, उनीहरु भुमे देवतालाई भुमे देवा भन्ने गर्दछन् । थामी समुदायमा थामीझाँक्रीहरुको निकै नै महत्व रहन्छ । त्यसैले जन्मदा , मर्दा, विवाहगर्दा लगायत आफ्नो महान् पुजा र पर्वहरुमा थामीझाँक्रीहरु अर्थात् थामीभाषामा थाङ्मी गुरुहरुको विशेष भूमिका रहन्छ ।
मंसिर पूर्णिमाको एक दिन अघिको रातभरी नै भुमे पुजा सुरु हुन्छ । जसलाई थामीहरु डाल थाप्ने भन्दछन् । यस डाल थाप्ने पुजा गर्दा टोटला को फूल, कोदोको जाँड, चामलअथवागहुँको पिठो, केराको पात, पैयुँ, तितेपाती, कुखुराको अण्डा लगायतका सामाग्रीहरु चाहिन्छ । डाल थाप्ने पुजालाई विधिवत् रुपमा सम्पन्नगर्नु अगाडी भाले कुखुराको बलि चढाउने चलन थामी समुदायमा छ । रातभरीको डाल थाप्ने पुजा जागरामबसी बिहान सम्म नै हुने गर्दछ ।
घरको मुख्यपुजा सम्पन्न भएपछि थामीगुरुहरु आ–आफ्नो झाँक्रीको पहिरन लगाएर पुजाको लागिमन्दिर जाने गर्दछन् । मन्दिरमा गएर नाच्ने, गाउने मारुनी, मादलेहरुको एउटा समूह हुने गर्दछ । उनीहरु सबैजना थाङ्मी पहिरन पहिरेर मन्दिर जाने गर्दछन् ।जसलाई थामीमा भुमे थान भनिन्छ ।
ललितपुरको हात्तिवतस्थित रहेको हात्तिवनमा चार ढोका छन् । ती ढोकाहरुमा राई, लिम्बु, सुनुवार र याक्खाहरुले पुजा गर्ने चलन छ । यसपाली मात्रै जोडिन पुगेका थामीहरु कुन स्थानमा पुजा गर्ने भन्ने विषय उपत्यकाबासी थामी समुदायको लागि अपरिहार्य भएको छ । त्यसो त, थानकोट, ठिमी, टुँडीखेलसँग सम्बन्धित रहेर आज पनि थामीहरुको दन्ते कथाहरु थामी पुर्खाहरुबाट सुन्न पाइन्छ । ठिमीमा ‘ठि’ भन्नाले थामी भाषामा घाँस र ‘मी’ भन्नाले मान्छे हो । थामीहरु मन्दिरलाई थान भन्दछन् । थानकोटमा ‘थान’ शब्द थामी भाषामा रहेको भन्ने केहीले बताउने गरेका छन् । त्यसै गरी टुँडीखेलमा ‘टुँडी’ भनेको बाख्रा हो ।
कुनै समय राजधानीमा किराँतीहरुले शासन गरेको ईतिहास हामीसँगै छ । हात्तिवनस्थितको किराँत घरमा किराँतीहरुले पुजा गरेको पनि एउटा जिउँदो ईतिहास हो । तर, किराँती समुदाय कै थामीहरु भ्ने यसपालीमात्रै कसरी जोडिन पुगे ? यो आजको छलफलको विषय हो । जे होस्, यस घडीमा अन्ततः आफ्नै दाजुभाईसँग थामीहरु पनि जोडिएका छन् । किराँतमाङ्हिमका अध्यक्ष विष्णु याक्सो लिम्बु लगायत सुनुवारहरुले उद्यौलीका दिन थामीहरुलाई सम्मानपूर्वक स्वागत गरेका थिए ।
कुनै समयमा शासन खोसिए पछि तितर-बितर भएका किराँतीहरु एक हुने क्रम आज सम्म पनि छ । यसले किराती सभ्यता, पहिचान र सम्बन्धलाई अझ प्रगाढ बनाउने छ । सम्पुर्ण किरातीमा उद्यौलीको शुभकामना ।
प्रतिक्रिया दिनुहोस्