नेपालमा कोरोनाभाइरस सङ्क्रमणका कारण आइतवारसम्म १०४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
मृतकहरूमध्ये एक भारतीय नागरिक र एक चिनियाँ नागरिक रहेका छन्। मृतक १०० नेपालीमध्ये पहिलो ५० जना ७४ दिनको समयावधिमा र त्यसपछिको ५० जनाको १७ दिनभित्र मृत्यु भएको हो। पहिलो ५० मृतक र पछिल्लो ५० मृतकको तथ्याङ्क विश्लेषण गर्दा के-कस्तो प्रवृत्ति देखिन्छ त? नेपालमा कोभिड-१९ ले कसको ज्यान लिइरहेको छ?
मृत्यु हुनेमा धेरै पुरुष
मृत्यु हुनेमा ७८ प्रतिशत पुरुष र २२ प्रतिशत महिला रहेका छन्।
पहिलो ५० जनामा पनि ११ जना महिला रहेकोमा पछिल्लो ५० मा पनि उत्तिकै सङ्ख्यामा महिला रहेका छन्।
जनस्वास्थ्यविद्हरू नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुरुषमा बढी देखिनु र मृत्यु हुनुलाई उनीहरूको कामका लागि घर बाहिर निस्कनुपर्ने बाध्यता र रहरसँग जोड्छन्।
कुन उमेर समूह खतरामा?
मृत्यु हुनेमा सबैभन्दा बढी ४० देखि ४९ वर्षसम्ममा व्यक्तिहरू रहेका छन्। सो समूहका २४ जनाको मृत्यु भएको छ।
त्यसपछि ७० वा सोभन्दा माथि उमेरका २० जनाको, ६० देखि ६९ वर्षका १७ जनाको र ५० देखि ५९ वर्षका १५ जनाको मृत्यु भएको छ।
यसरी हेर्दा मृत्यु हुनेमध्ये चार जनामध्ये तीनजना ४० वर्षभन्दा माथिका र ५२ प्रतिशत ५० वर्ष उमेर काटेका मानिसहरू छन्।
पहिलो ५० जना मृतकमा तीनजना १० वर्षभन्दा कमका रहेकामा पछिल्लो ५० जनामा त्यो उमेर समूहका मानिसको मृत्यु भएको छैन।
पछिलो ५० जनामा उल्लेख्य वृद्धि भएको उमेर समूह ७० वा सोभन्दा माथि हो जहाँ ५० प्रतिशतले मृत्यु बढेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले यो मृत्युले पछिल्लो समयमा सङ्क्रमणको प्रवृत्ति परिवर्तन भएको देखाएको बताए।
उनले भने, “लक्षण सहितका सङ्क्रमित देखिने पुरानो केही रोग भएकाहरू सङ्क्रमित हुँदै जानुलाई पहिलाभन्दा स्थिति बिग्रिएको रूपमा हेरिएको छ।”
जनस्वास्थ्यविद डा. सुरेश तिवारीले भने, “यसले सङ्क्रमण बिस्तारै भारतबाट काम गरेर फर्किएका युवाहरूबाट नेपालमै भएका ६० वर्षमाथिको समूहमा जान लागेको देखिएको छ। यसले समुदाय स्तरमा सङ्क्रमणको सङ्केत गरिरहेको छ।”
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी भने एकाएक मृत्य हुनेको सङ्ख्या बढ्नुलाई कोरोनाभाइरस समुदाय स्तरमा गएको पहिलो लक्षण भएको बताउँछन।
“कोही कतै नगएका, कसैसँग सम्पर्कमा नगएका, विदेशबाट आफन्त कोही नआएका, सङ्क्रमितलाई हेर्न नगएका बालबालिका र पाका मानिसहरूलाई सङ्क्रमण देखिनु र मृत्यु हुनुले यो समुदायमा फैलिसक्यो भन्ने देखाउँछ।”
पुरानो रोग भएकालाई झन् खतरा?
मृत्यु हुनेहरूमा ३७ प्रतिशतलाई कोरोनाभाइरस सङ्क्रमण हुँदा पुरानो रोग नरहेको र सङ्क्रमणकै कारणले मात्रै मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ।
बाँकी ६३ प्रतिशतमा भने पहिलेदेखि कुनै पुरानो रोग रहेको देखिन्छ।
पुरानो रोगमा सबैभन्दा बढी ३३ प्रतिशतमा श्वासप्रश्वास वा फोक्सोसम्बन्धी समस्या देखिएको थियो।
त्यस्तै २० प्रतिशतमा मधुमेह, १७ प्रतिशतमा मुटुसम्बन्धी समस्या, १४ प्रतिशतमा मिर्गौलासम्बन्धी समस्या र १२ प्रतिशतमा अन्य समस्या रहेका थिए।
धेरैजसो पुरानो रोग भएकाहरूमा दुई वा दुईभन्दा बढी समस्या रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका पूर्वप्रमुख मरासिनी श्वासप्रश्वासको रोग भएकालाई बढी असर गर्ने बताउँछन्।
उनले भने, “कोरोनाभाइरसले श्वासप्रश्वासमा नै असर गर्ने हो पुरानो श्वासप्रश्वासको रोग भएको मानिसमा रोगविरुद्ध लड्ने शरीरको प्रणाली बिग्रिएको हुने र त्यसले गर्दा चाँडै प्रभाव गर्छ र निमोनिया हुने तथा निको हुन गाह्रो हुने अवस्था आउने गर्छ।”
तर मधुमेह हुँदैमा उनीहरूको मृत्यु नहुने मरासिनीको भनाइ छ।
“नियमित रूपमा औषधि खाइरहेको, तोकिएका नियम पालना गरेको व्यक्तिलाई कोरोनाभाइरस सङ्क्रमण हुँदैमा मृत्यु हुने अवस्था देखिँदैन। तर नियमित औषधि नखाएको लगायतका नियम पालना नगर्दा त्यसले रोगप्रतिरोधी क्षमता कमजोर भएकालाई बढी असर गर्न सक्छ।”
कहाँ मृत्यु?
अहिलेसम्म ८० प्रतिशत कोरोनाभाइरस सङ्क्रमितको मात्रै अस्पतालमा उपचाररत रहँदा मृत्यु भएको पाइएको छ।
बाँकी २० प्रतिशतको अस्पताल पुर्याउने क्रममा वा अन्य कारणले बाटोमा अथवा घर वा क्वारन्टीनमा मृत्यु भएको छ।
पहिलो ५० जनामध्ये तीन जनाको क्वारन्टीनमा मृत्यु भएको भए पनि त्यसपछि क्वारन्टीनमा मृत्यु भएको छैन।
शनिवारसम्म १४ हजारभन्दा बढी क्वारन्टीनमा रहेका छन्।
घरमा मृत्यु हुनेको सङ्ख्या पनि घटेको छ। पहिलो ५० जनामा १० प्रतिशतको घरमै मृत्यु भएको थियो भने पछिल्लो ५० जनामा चार प्रतिशतको मात्रै घरमा मृत्यु भएको छ।
तर हाल सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्दै गएपछि अस्पतालमा शय्या नभएको एवम् घरमै आइसोलेशनमा राख्ने गरिएको छ।
यसरी घरमै राख्दा उपचार नपाएर मृत्यु हुने हो कि भन्ने आशङ्का गर्न थलिएको छ।
शुरूवाती दिनमा लक्षण नदेखिएका व्यक्तिलाई अस्पतालमा ल्याएर राख्ने अनि केही दिन राखेर परिक्षण गरेर पठाउने मात्रै भएको सङ्क्रमित बढदै जाँदा लक्षण नभएकालाई घरमै आइसोलेशनमा राख्न भनिएको स्वास्थ्यमन्त्रालका अधिकारीहरू बताउँछन्।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने, “लक्षण देखिएर गाह्रो भएका व्यक्तिलाई अस्पतालमा सेवा दिन सकियोस् भनेर लक्षण नभएकालाई घरमै राख्न भनिएको हो। तर उनीहरू स्वास्थ्यकर्मीको निगरानीमै बस्नुपर्छ भनिएको छ र त्यो अनुसारको प्रबन्ध गर्न स्थानीय तहलाई भनिएको छ।”
जनस्वास्थ्यविद् डा. सुरेश तिवारी लक्षणविहीनलाई घरमै राख्नु उत्तम भए पनि उनीहरूमा कतिबेला लक्षण देखिन्छ भन्ने निश्चित नहुने भएकोले त्यस्ता व्यक्तिलाई त्यतिकै घरमै राख्न नहुने बताउँछन्।
“होम आइसोलेशनको लागि स्पष्ट क्लिनिकल प्रोटोकल बनाउन जरुरी छ। त्यसमा तोकिएको स्वास्थ्य संस्थाको तोकिएका स्वास्थ्यकर्मीले उनीहरूको नियमित स्वास्थ्य निगरानी गर्नुपर्छ।”
इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका पूर्वप्रमुख मरासिनी विदेशमा पनि लक्षण नदेखिएका व्यक्तिलाई घरमै आइसोलेशनमा राख्ने गरिएको तर घरमै हुँदा पनि उसले नियमित परामर्श पाउनुपर्ने व्यवस्था मिलाइएको बताउँछन्।
“टेलिमेडिशिन सेन्टर जस्तो खडा गरेर सङ्क्रमितले नियमित रूपमा टेलिफोनबाट सम्पर्कमा रहने व्यवस्था, केही समस्या हुँदा भन्ने र त्यसको प्रबन्ध गर्ने जस्ता व्यवस्था हुनुपर्छ जुन भएको छैन।”
कहाँ कति मृत्यु?
मृत्यु भएका १०० जना नेपालीमध्ये सबैभन्दा धेरै प्रदेश नं २ मा ४४ जनाको मृत्यु भएको छ।
त्यसपछि वाग्मती प्रदेशमा १७ जना, प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा ८-८ जना, गण्डकी प्रदेशमा छजना र कर्णाली प्रदेशमा चार जनाको मृत्यु भएको छ।
जिल्लागत हिसाबले सबैभन्दा धेरै पर्सामा १८ जनाको मृत्यु भएको छ भने प्रदेश २ कै धनुषामा नौजना र बारामा सात जनाको मृत्यु भएको छ।
मोरङ्गमा आठ जनाको मृत्यु भएको छ भने काठमाण्डूमा सात जनाको र कैलालीमा चार जनाको मृत्यु भएको छ।
तीन-तीन जनाको मृत्यु भएका जिल्लामा सिन्धुपाल्चोक, कपिलवस्तु, बाँके, गुल्मी, सप्तरी र सिराहा रहेका छन्।
त्यस्तै ललितपुर, सुर्खेत, स्याङ्जा, चितवन, रौतहट र अछाममा दुई-दुई जनाको मृत्यु भएको छ।
अन्य १७ जिल्लामा एक-एक जनाको मृत्यु भएको छ। ७७ वटै जिल्लामा फैलिसकेको कोरोनाभाइरसबाट अहिलेसम्म ३५ जिल्लामा मृत्यु पुष्टि भएको छ।
थप मृत्युबारे अनुमान
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारी सङ्क्रमणको चक्र रोक्न सक्नुपर्ने बताउँछन्।
“यदि त्यो चक्र रोक्न सकिएन भने स्थिति अझै खराब हुनसक्छ। मानिसहरूको व्यवहारमा सुधार नभएमा यो अझै बढ्नसक्छ। सरुवा रोगलाई एकाएक रोक्न गाह्रो हुन्छ।
जनस्वास्थ्यविद् डा. तिवारी समुदाय स्तरमा सङ्क्रमण भएका र अन्य रोग भएका व्यक्तिको मृत्यु बढ्दै जाने बताउँछन्।
“हाल विश्वको मृत्युदर ३.४ को हाराहारीमा हुँदा नेपालमा मृत्युदर ०.४ को हाराहारीमा छ। हालको सङ्क्रमणले नेपाल पनि अब विश्वकै हाराहारीमा जाने देखिन्छ।”
इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. मरासिनी नेपालभित्रै सङ्क्रमित हुनेको सङ्ख्या बिस्तारै बढ्दै गएकाले रोगको प्रभाव र त्यसले हुने मृत्युका बारेमा अझै आकलन गर्न गाह्रो हुने बताउँछन्।
“नेपालभित्रै सङ्क्रमित हुनेको सङ्ख्या बिस्तारै बढ्दै गएको छ। कुन समूहलाई बढी लाग्छ, महिला-पुरुष कसलाई बढी सङ्क्रमित बनाउँछ, दीर्घरोगीलाई कस्तो प्रभाव पर्छ, सामान्य मानिसमा कस्तो असर गर्छ भन्ने कुराले मृत्युबारे आकलन गराउन सक्छ।”
स्रोत– बिबिसी
प्रतिक्रिया दिनुहोस्