सात दशक पूरा गरिसकेको नेपाली कम्युनिस्ट राजनीतिले जनताको प्रचण्ड अभिमतमार्फत मुलुकको समृद्धि र स्थायित्वको दायित्व पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकीकरणको उपज हो । तर, तीन वर्षअघि निर्वाचनमार्फत अत्यन्त सुविधाजनक बहुमतबाट सत्ता सम्हालिरहेको नेकपा सुशासन, विकास र शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्नुपर्ने अत्यन्त मूल्यवान् समयमा भने पार्टीभित्रको अन्तरसंघर्षमा फस्यो । नेकपामा हाल देखिएको यस अन्तरसंघर्षलाई विश्लेषण गर्न सात दशकको अन्तरालमा विकसित भएका पाँच आरोहहरूलाई केलाउनुपर्ने हुन्छ । पहिलो कुरा, नेकपाबारे कुनै पनि धारणा बनाउनुपूर्व ००६ सालमा कम्युनिस्ट आन्दोलनको स्थापनासँगै सुरु भएको मतभेद, फुट र विभाजनबाट विभिन्न धारमा विभाजित भएको सन्दर्भलाई बुझ्नुपर्दछ । दोस्रो, त्यसभित्र समयक्रममा एक–अर्कामा बदलिँदै अगाडि बढेको शान्तिपूर्ण संघर्ष र सशस्त्र संघर्ष अर्थात् जनयुद्धको अन्तरालभित्र चलेका अनेकन संघर्ष र तिनको गहिरो प्रभावलाई हेर्नुपर्दछ ।
तेस्रो, नेपाली कम्युनिस्ट आन्दोलनभित्रका दुई प्रमुख धार माओवादी केन्द्र र एमालेले सामन्तवादलाई समाप्त पार्न गरेको त्याग, बलिदानका कीर्तिमानसहित संविधानसभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको आर्थिक समृद्धि अर्थात् समाजवादउन्मुख राज्यको घोषणालाई लामो समयदेखि अपेक्षित समृद्ध नयाँ नेपालको मार्गचित्र निर्माण गरेको स्वीकार गर्नुपर्छ । चौथो, अबको बाटो शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट समाजवादको यात्रामा अघि बढ्ने प्रतिबद्धतालाई बुझ्नुपर्दछ । पाँचौँ कुरा, उपरोक्त परिस्थिति निर्माण गर्न फरक धार र त्यसक्रममा विकसित नेतृत्व र उक्त नेतृत्व समूह अनि त्यस क्रममा विकसित मौलिक सिद्धान्त, नीति तथा कार्यक्रम र त्यसको कार्यान्वयनका लागि बनेका संगठन, जनसम्बन्धको तौरतरिका, पार्टी सञ्चालनका कार्यानुभव र नेतृत्व निमार्णका आ–आफ्नै विशेषताबारे गहन अध्ययन गर्नुपर्दछ । यी विभिन्न विशेषता, राजनीतिक अनुभव, नेतृत्व र उसको काम गर्ने शैली तथा मान्यताका साथ संविधानको मार्गदर्शन, सामाजिक न्यायसहितको समृद्धिमा अगाडि बढ्ने अर्थात् समाजवादतिर अगाडि बढ्ने प्रतिबद्धता, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै शान्तिपूर्ण प्रतिस्पर्धाका माध्यमबाट राष्ट्रको नेतृत्व गरेर राष्ट्रिय स्वाधीनता, अखण्डताको रक्षा गर्नुका साथै उत्पादक शक्तिको विकासका लागि जनतालाई उत्साहित गर्दै आफ्नो उद्देश्यमा अगाडि बढ्ने साझा धारणामा आधारित भएर तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टीलाई एकताबद्ध गर्ने कुरामा दुई अध्यक्षको सहमतिमा एकता भई नेकपा बन्यो ।
यसबीचमा मुख्य नेताहरूको मनस्थिति र व्यवहारले नेकपालाई फुटको संघारको बिन्दुसम्म पुर्यायो र त्यसमा अरू जिम्मेवार नेतासमेतले फुटलाई बढावा दिन लागेको आभास भएकै हो । आ–आफ्ना पक्षबाट न्याय र अन्यायको, उचित र अनुचितको, अपमान र दुर्व्यवहारका सवालमा आ–आफ्नै खालका परिभाषा दिँदै आमकार्यकर्तालाई समेत विभाजन गर्ने र एकले अर्कालाई तह लगाउने स्तरसम्म पुगेकै हो ।
यिनै आधारमा उभिएर अहिलेको नेकपाभित्र देखिएको विवाद तथा यसबाट सिर्जित अन्तरसंघर्ष र यसको समाधानबारे धारणा बनाउन उपयुक्त हुन्छ । वास्तवमा माथिबाट थालिएको दुई पार्टीबीचको तत्कालीन संक्रमणकालीन नीतिमा आधारित एकतालाई पूर्णता दिन नपाउँदै अन्तरविरोधहरू बढ्न पुग्यो र केही महिनादेखि पार्टी अवरुद्ध भएको अवस्था छ । त्यसको कारण हो, एकताको प्रक्रियालाई पूर्ण रूपले टुंग्याउने अन्तिम बिन्दु एकता महाधिवेशनलाई मान्नु, एकताको विशिष्ट परिस्थितिमा महाधिवेशनसम्मका लागि भनेर एक पद दुई व्यक्ति अर्थात् दुईवटा अध्यक्ष प्रणाली बनाउनु, सुझबुझका साथ गरिएका सहमतिहरूलाई आफूखुसी फेरबदल गर्नु र फेरबदल गरिएका सहमतिलाई इमानदारीपूर्वक कार्यान्वयन नगर्नु । फरक पृष्ठभूमि, फरक मनोविज्ञान, फरक शैली, फरक बुझाइसमेतका आधारमा चल्नु । तत्कालका लागि निर्धारित साझा मान्यता तोड्नु र एक–अर्को नेतृत्वलाई अपमान, दुत्कार, आशंका र अविश्वासमा आधारित व्यवहार गर्न रुचाउनु । एक–अर्काको सम्मान र विश्वासमा चल्नुभन्दा एक–अर्कालाई अवमूल्यन, अपमान, अविश्वास गर्न उद्धत हुनु । पार्टी एकताविरोधी शक्ति, प्रवृत्ति र व्यक्तिका कुरा सुनेर त्यसमा विश्वास गर्ने, सरकार र पार्टीलाई एक–अर्काको अपरिहार्य तथ्यका रूपमा नबुझ्नु । विगतमा गुटबन्दीजन्य विरासत, त्यस पहिलेका आग्रह, पूर्वाग्रह वा बार्गेनिङले स्थान पाउनु । नेतृत्वले आफ्नो पदीय जिम्मेवारीको स्तरबाट सोच्नुको सट्टा आफूभित्रका पूर्वाग्रहलाई बढाउँदै जानु ।
पार्टीभित्रको अन्तरसंघर्षको यस्तो जटिल परिस्थितिमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ संक्रमणको बहुआयामिक प्रभावसँगै थपिएको बाढी–पहिरोको संकटको सामनामा केन्द्रित हुनुको सट्टा आफैँभित्रको अन्तरकलहमा रुमल्लिनुले पार्टीलाई ठूलो क्षति भएको छ ।
यसबीचमा मुख्य नेताहरूको मनस्थिति र व्यवहारले नेकपालाई फुटको संघारको बिन्दुसम्म पुर्यायो र त्यसमा अरू जिम्मेवार नेतासमेतले फुटलाई बढावा दिन लागेको आभास भएकै हो । आ–आफ्ना पक्षबाट न्याय र अन्यायको, उचित र अनुचितको, अपमान र दुव्र्यवहारका सवालमा आ–आफ्नै खालका परिभाषा दिँदै आमकार्यकर्तालाई समेत विभाजन गर्ने र एकले अर्कालाई तह लगाउने स्तरसम्म पुगेकै हो । सचिवालयले समाधान खोज्नुको सट्टा आ–आफ्नो स्वार्थमा केन्द्रित भएर केही अपवादबाहेक सबैले गुटलाई प्रश्रय दिएको अवस्था बन्यो ।
यो अन्तरविरोध र जनताले बुझ्ने भाषामा अन्तरकलहलाई नेपाली जनता र पार्टीका प्रतिबद्ध कार्यकर्ताले चाहिँ अस्वीकार गरेका थिए । आमकार्यकर्तामा पार्टी फुटबारे गम्भीर चिन्ता र खबरदारी, दोस्रो पुस्ताबाट गरिएको लगातारको एकता प्रयासका साथ पार्टीका नेताहरूको विभिन्न चरणका छलफल (कहिले ११ जना, कहिले केन्द्रीय सदस्य, कहिले माननीयहरूका आ–आफ्नै छलफल)ले आमपार्टी कार्यकर्तालाई पार्टी फुट्छ कि भन्ने चिन्ता कम गर्न मद्दत गर्नुका साथसाथै नेताहरूलाई पनि पार्टी फुट्दा के होला भन्ने प्रश्न खडा गर्यो । यसक्रममा मैले अध्यक्ष प्रचण्डसँग गरेको निरन्तर संवाद र विष्णु पौडेल र शंकर पोखरेलले अध्यक्ष तथा प्रधानमन्त्रीसँग गरेको छलफल र तीनैजनाले दुवै नेतासँग गरेको छलफलले अध्यक्षद्वयमा भएको एकताको अन्तर्निहित चाहनालाई बलियो बनाउन मद्दत गर्यो । सोही क्रममा छलफलबाट सुरु भएको दुई नेताले फुटबाट कम्युनिस्ट आन्दोलनको भविष्य समाप्त हुने कुराको आत्मसातीकरणसँगै कार्यदल बनेको हामी सबैलाई विदितै छ ।
यो कार्यदलले नेकपाको राजनीतिक यात्रा अवरुद्ध गरेको पहिरोलाई पन्छाएर फेरि गन्तव्यतर्फको यात्रा आरम्भ गराएको छ । यो यात्राकै क्रममा हामीले महाधिवेशनसम्म पुगेर सिद्धान्त, नीति, कार्यक्रम र संरचनाहरूलाई नयाँ र एकताबद्ध गर्ने परिस्थिति तयार हुनेछ । यसबाट एकता संक्रमणको अवस्था अन्त्य भई पूर्ण एकताको पार्टी जीवन प्रारम्भ हुनेछ ।
कार्यदल निर्माण गर्दा पार्टीको वर्तमान शक्ति सन्तुलनलाई सम्बोधन गर्दै सबैको मनोविज्ञान समेट्ने गरी निर्णय गरियो । कार्यदलले छोटो समयमै आफ्ना सुझाबहरू प्रस्तुत गरेको छ । सुझाबसँगै आमकार्यकर्ता, नेताहरूमा अन्तर्द्वन्द्वको गहिरो घाउ निको नभइसकेको अवस्थामा कार्यदलको सुझाबलाई विवादित हैन, समस्या समाधानको सेतु मान्नुको विकल्प छैन । कार्यदललाई पार्टी सामान्य अवस्थामा भएको आँखाबाट हेर्यो भने त्यो सही हुन सक्दैन । यो त फुट विभाजनको डिलमा पुगेको पार्टीलाई एकतामा लैजानका लागि फरक–फरक मनोविज्ञानलाई ध्यान दिएर प्रस्ताव बनाउनुपर्ने बाध्यताको उपज थियो । कार्यदलले सबै विषयमा खुला छलफल गर्यो । पार्टी एकता बचाउने जिम्मेवारीबाट हामी थिचिएका थियौँ । हामीले दुई अध्यक्षको मनोविज्ञानलाई ख्याल गरेर शब्दहरूको चयन गर्यौँ । विवादित हुने कुरा सकभर नपरोस् भन्नेमा ध्यान दियौँ र सहमत भएजति र समाधान दिन सक्ने विषय मात्र सुझाबमा समेट्यौँ ।
तसर्थ, सुझाबमा हरेकलाई चित्त नबुझ्ने विषय हुन सक्छ । लेख्नुपर्ने र सिफारिस गर्नुपर्ने धेरै कुरा छुटेका छन्, तर योभन्दा बढी गर्न खोज्नुको कुनै अर्थ हुँदैनथ्यो । किनकि, त्यो कसै न कसैलाई मान्य हुँदैनथ्यो । कति बुँदामा त अध्यक्षहरूको सरोकार भएअनुसार नै हामीले राखेका छौँ । सुझाब कसैलाई चित्त नबुझेको हुन सक्छ । कार्यदलको प्रतिवेदन अपूर्ण भन्न सकिन्छ, त्योभन्दा अझ राम्रो लेख्न सकिन्थ्यो भन्ने इच्छा र चाहना होला पनि । हामीभन्दा अझ राम्रो लेख्न सक्ने, अझ प्रस्ट पार्न सक्ने अरू साथीहरू हुन सक्छन्, त्यसमा पनि हामीले भन्नु केही छैन । तर, केही नहुँदानहुँदै, चित्त नबुझ्दानबुझ्दै कार्यदलको प्रस्तावमा एउटै कुरा छ, त्यो हो, एकता र त्यो हो कम्युनिस्ट आन्दोलनको अवरुद्ध मार्ग खोल्ने काम । त्यो हो, आम कार्यकर्ताको भावना । त्यो हो, कम्युनिस्ट आन्दोलन अगाडि बढाउन चाहनेहरूका लागि जित ।
हुन त यो आपसमा जितहारको विषय होइन । कार्यदलमा कोही जितेको, कोही हारेको होइन, जितेको छ भने एकताले जितेको छ । यसले तत्कालको हार र जितमा हैन, पार्टी एकताका लागि तत्काल पूरा गर्नुपर्ने काम तथा सरकार र पार्टीबीचको सम्बन्धलाई समझदारीपूर्ण बनाउने काम गरेको छ । पार्टी र सरकारका कामको सार जनताको सेवा गर्नु हो भन्ने बुझाइका आधारमा त्यसमा एक–अर्का क्षेत्रमा काम गर्दा मद्दत र सहकार्य गर्ने विषयहरू समेटिएका छन् । यी विषयलगायत दुई अध्यक्षबीच सहमतीय आधारमा आ–आफ्नो विशिष्ट जिम्मेवारी पूरा गर्ने गरी प्रतिवेदन तयार पारिएको छ । मुख्य रूपमा एकता महाधिवेशनलाई सहमतीय विधिबाट टुंग्याउने तथा एकता महाधिवेशनसम्म पुग्दा पार्टीको एकता प्रक्रियालाई नीति, संरचना, नेतृत्व र कार्यविभाजनको नयाँ निर्णयसहित पूर्णता दिने अर्थमा यसलाई हेरिनुपर्छ ।
यो सहमति हुनु भनेको दुवै अध्यक्ष एकताप्रति जिम्मेवार हुनु हो । अध्यक्ष प्रचण्डले अत्यन्त लचकतापूर्ण र एकताको रक्षा गर्ने जिम्मेवारी बोध गर्नुभएको हो भने प्रम तथा अध्यक्ष केपी शर्मा ओलीले एकताबाहेक अरू तरिकाले आजको राष्ट्रको कार्यभार पूरा हुन सक्दैन भन्ने बोध गर्नुभएको हो । अर्थात्, अध्यक्षद्वय आफ्नै नेतृत्वमा सम्पन्न एकताको ऐतिहासिक महत्वलाई स्थापित गर्न सहमत हुनुभएको हो । तसर्थ, यसमा नेकपालाई एकताबद्ध भएको देख्न नचाहने शक्ति, पात्र र प्रवृत्तिहरूबाहेक पार्टीको सिंगो पंक्ति खुसी र आशावादी भएको छ । यसमा केही लागेको छ भने त्यो पूरा गर्ने थलो एकता महाधिवेशन हुनेछ र त्यहाँ गएर हामी यसलाई पूर्णता दिन सफल हुनेछौँ ।
कार्यदलको प्रतिवेदनले समस्याहरूको पूर्ण समाधान दिनेबारे जहाँसम्मको प्रश्न छ, त्यो सम्भव नै थिएन । पहिलो कुरा त अवरुद्ध बैठक सञ्चालन गर्नु र दुई नेताबीच एकताप्रति प्रतिबद्धता हुने कुरासँगै पार्टीलाई विधि, प्रक्रिया र पद्धतिमा सञ्चालन गर्नुलाई प्राथमिकता दिइएको हो । यसले सरकार र पार्टीको कामलाई आपसमा जोड्नेतिर अगाडि बढाएको छ ।
यो कार्यदलले नेकपाको राजनीतिक यात्रा अवरुद्ध गरेको पहिरोलाई पन्छाएर फेरि गन्तव्यतर्फको यात्रा आरम्भ गराएको छ । यो यात्राकै क्रममा हामीले महाधिवेशनसम्म पुगेर सिद्धान्त, नीति, कार्यक्रम र संरचनाहरूलाई नयाँ र एकताबद्ध गर्ने परिस्थिति तयार हुनेछ । यसबाट एकता संक्रमणको अवस्था अन्त्य भई पूर्ण एकताको पार्टी जीवन प्रारम्भ हुनेछ । तसर्थ, यो सुझाबमा नेता कामरेडहरू र अन्य साथीहरूले खोजेको धेरै कुरा नसमेटिएको आभास भए पनि यसलाई आगामी दिनका लागि कम्युनिस्ट आन्दोलनको उद्देश्य प्राप्तिका लागि महत्वपूर्ण कडीका रूपमा भेट्नुहुनेछ । कार्यदलको एक सदस्यका नाताले मेरो यति मात्र अनुरोध हो कि यो प्रतिवेदनले एकता चाहने आमकार्यकर्ता र जनतालाई भने उत्साहित बनाएको छ । तसर्थ, यसमा एकता मात्र खोजौँ, जुन यतिवेलाको अपरिहार्यता हो । बाँकी चाहना इतिहासले सुम्पेअनुसार प्राप्त गर्दै जान सकिन्छ ।
(शर्मा दुई पार्टीबीचको एकताको शुरुदेखि लगातार लागिरहेका पूर्व माओवादी जनसेनाका कमाण्डर तथा हाल नेकपा स्थायी समिति सदस्य हुन् ।)
प्रतिक्रिया दिनुहोस्