काठमाडौं, १८ भदौ । पछिल्लो समय भारत र चीनको सीमा क्षेत्रमा विवाद बढ्दै गएर सैनिक झडपसमेत हुन थालेपछि दक्षिण एसियाकै शान्ति सुव्यवस्था र स्थिरतामा खलल पुग्ने हो कि भन्ने चिन्ता छाएको छ । भारत–चीनबीच युद्धको अवस्था आएमा त्यसको प्रत्यक्ष मार नेपालमा पर्ने भएकाले दक्षिण एसियाको शान्तिका लागि दुई राष्ट्रबीचको युद्धलाई रोक्न विवेकपूर्ण कुटनीतिको प्रयोग गरी सहयोगी बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
नेपालको उत्तर र दक्षिणतिरका दुई शक्तिशाली छिमेकी मुलुकबीच बारम्बार सीमानाकामा झड्पका घटनाहरु बढ्दै गएका छन् । केहि महिना अघि मात्रै भारत र चीनका सैनिकहरुबीच लद्दाखस्थित सीमानाकामा झड्प हुँदा कर्णेलसहित २० जना भारतीय सैनिकको मृत्यृभएको थियो । पुनः दोस्रो पटक लद्दाख क्षेत्रको नियन्त्रण रेखामा भारतीय र चिनियाँ सैनिकबीच दुइ पटक झड्प भएको खबर सार्वजनिक भएको छ । दुवै देशले विभिन्न च्यानलमार्फत् सीमा क्षेत्रमा देखिएको तनाव कम गर्न द्विपक्षीय वार्ता र सम्वाद जारी राखेकै बेला पुनः दोस्रो पटक दुई देशका सेनाबीच यसरी झड्प हुनु क्षेत्रीय चिन्ताको विषय बनेको छ ।
यो घटनालाई विश्वभर विभिन्न जोड र कोणबाट हेरिन थालिएको छ । यसअघि सन् १९६२ मा सीमानाकाकै विषयलाई लिएर दुई देशबीच युद्ध पनि भएको थियो । एकातिर भारत र चीनले सम्वादबाटै समस्याको समाधान गर्ने बताइरहेका छन् भने अर्कोतिर सन् १९६२ को भन्दा पनि नाजुक स्थिति आउनसक्ने चिनियाँ सञ्चार माध्यमहरुले बताइरहेका छन् भने भारत यी सबै कुराहरु सामना गर्न तयार रहेको बताइरहेको छ । विश्वभर कोरोना महामारी फैलिइरहेको छ । साराको ध्यान यसको नियन्त्रण कसरी गर्ने भन्नेमै केन्द्रीत भईरहेको परिस्थितिमा भारत र चीन विचको तनावले दक्षिण एसियालाई नै गम्भिर बनाएको छ । झनै यी दुई देशको बिचमा रहेको र दुवै देशसँग मित्रवत् व्यवहारमा रहेको नेपालको निम्ति यो विषय पक्कै राम्रो हुँदै होईन ।
पछिल्लो समयमा जारी भारत चीन विचको युद्धले नेपालको कुटनीतिमा चुनौती थपिदिएको छ । यस्तो अवस्थामा नेपालको कुटनीति कस्तो हुने भन्ने विषयले आगामी सम्बन्धहरु निर्धारण हुने भएकोले नेपाली कुटनीतिक संयन्त्र पनि यतिखेर मौन तर अध्ययनमै रहेको प्रतित हुन्छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी अध्यक्ष रहिसकेका विज्ञ डा. निश्चलनाथ पाण्डे यसबेला नेपालको परराष्ट्र मामिलामा सबैभन्दा बढी चुनौति थपिएको बनाउनुहुन्छ । भारत र चीन बिचको कथं युद्ध भए दक्षिण एसियामा मात्रै होईन सिंगो एसियाकै शान्ति र स्थायित्वमा खलल आउनसक्ने उहाँको तर्क छ ।
भारत र चीन बीच बढेको तनाबका कारण नेपालको कुटनीतिक क्षेत्रलाई थपेको चुनौती र प्रभाव छ यस्तो बेलामा नेपालले वार्ता र सहमतीबाटै निकास खोज्नको निम्ति दुवै देशलाई सहजै भन्न सक्नुपर्ने र आफ्नो भुमिका देखाउन सक्नुपर्ने पूर्व राजदुत डा. रामभक्त पिबी ठाकुरको भनाई छ ।
पूर्व राजदुत ठाकुर सतहमा भारत र चीनको युद्ध देखिएको भएपनि असलमा चीन र अमेरिकाबीचको युद्ध भएको तर्क गर्नुहुन्छ । चीन र अमेरिकाबीचको युद्धको सानो बाछिट्टाको रुपमा पछिल्लो घटनालाई लिनुहुन्छ । पछिल्लो समय चिनले आर्थिक रुपमा धेरै प्रगति गरिरहेको अवस्था र अमेरिकाको गिर्दो आर्थिक अवस्थाका कारण चीनसँग अमेरिकाको डर रहनु र भारत पनि चिनको फैलदो साम्राज्यसँग डराइरहनुका कारण एक अर्कामा असमझदारी बढिरहेको अथ्र्याउनु हुन्छ । परराष्ट्र विज्ञ निश्चलनाथ पाण्डे पनि अमेरिकामा नोमेम्बरमा हुने निर्वाचन केन्द्रीत गतिविधिको रुपमा पछिल्लो घटनालाई केलाउनुहुन्छ । आगामी दिनमा अमेरिकी नेतृत्व कस्तो आउँछ र चीन प्रतिको नीति कस्तो अवलम्बन गर्छ त्यसले पनि यी विवादहरुको स्वरुप बदल्ने उहाँको भनाई छ ।
दुवै देश एक अर्कासँग झुक्ने पक्षमा छैनन् । अमेरिका, अष्ट्रेलिया, जापानसँग सामरिक स्वार्थका कारण नजिक भएको भारतसँग नेपाल, पाकिस्तान र बंगलादेशसँग उत्तिकै सिमा विवादहरु छन् । नेपाल सँगको त लिपुलेक, कालापानी विवाद उत्कर्षमै छ यतिखेर । उता चिन पनि आफुलाई घेराबन्दी गर्न लागिएको ठानेर हार्ने र पछि हट्ने पक्षमा देखिएको छैन ।
यसले सम्वाद र छलफललाई त्यागेर द्धन्द्धको स्थिति सिर्जना गरिरहेको छ । क्षेत्रिय शान्ति कायम गर्न सार्कको अध्यक्षता गरिरहेको नेपालले दुई देशलाई मिल्नको निम्ति दबाब दिन साना राष्ट्रहरुको साझा धारणा बनाउनु आवश्यक रहेको कतिपय विज्ञको भनाई छ भने कतिपय विज्ञ यस विषयमा मौन रहेरै बस्नु उचित रहेको तर्क पनि गर्छन् । जे होस हामि शान्ति र अहिंसाको पक्षमा हुनुपर्छ । असंलग्न परराष्ट्र नीतिको पक्षमा हुनुपर्छ । भोली भारत र चीन विच युद्ध नै भैहाले पनि त्यसको प्रत्यक्ष प्रभाव हामिलाई जत्तिको अरु कसैलाई पर्दैन । तसर्थ यी दुई मुलुकले बार्ता गर्नुको विकल्प छैन । र वार्ताको निम्ति हामिले पनि सुझाव दिनु आवश्यक छ ।
महामारीको यो समयमा छिमेकमा अशान्ति भयो भने हामि मारमा पर्नेछौँ । त्यसैले हामिले क्षेत्रीय शान्ति कायम गर्नको निम्ति सल्लाह, सुझाव र दबाब दिन सक्छौँ । सावधानीपूर्वक अध्ययन गरेर उचित समयमा उचित भुमिका हामिले खेल्न सक्नुपर्छ । आवश्यक परे सार्क, बिमस्टेक, संयुक्त राष्ट्रसंघमा पनि हामिले प्रभावकारी भुमिका खेल्नुपर्दछ र दुई राष्ट्रविचको असमझदारी अन्त्य गर्न सहयोगीको भुमिका निर्वाह गर्न सक्नुपर्दछ ।
प्रतिक्रिया दिनुहोस्