काठमाडौं, २७ भदौ । बीपी कोइरालाले मार्गनिर्देश गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवाद वर्तमान नेपालको राजनीतिक परिदृश्यमा कति सान्दर्भिक छ ? १०७ औं बीपी जन्मजयन्तीमा यसबारे खासै सार्वजनिक बहस भएन । यद्यपि प्रजातान्त्रिक समाजवाद अझै पनि सान्दर्भिक रहेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन् । बीपीले स्थापना गरेको पार्टी नेपाली कांग्रेसभित्रै बीपीको सिद्धान्त हराउदै गएकोमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।
नेपालमा प्रजातन्त्रको जन्म पनि भएको थिएन, त्यतिबेला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले देशका प्रजालाई नागरिक, सामन्ती शासकलाई नेता र भारतले उपनिवेश बनाउन खोजिरहेको अवस्थामा नेपाललाई एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र निर्माण गर्ने लक्ष्यकासाथ संघर्ष गरे । जोत्नेको जमिन र पोत्नेको घर हुन्छ भन्ने नारा विपीकै हो ।
प्रत्येक जनताको एउटा सानो घर होस्, खेतीका लागि जमिन र एक हल गोरु होस्, स्वस्थ दुधका लागि गाई होस्, राम्रो स्वास्थ्यचौकी र विद्यालय पनि सबै गाउँ–गाउँमै होस्, विपीको न्यूनतम् समाजवादको सिद्धान्त यही नै थियो । काँग्रेस नेता सत्यनारायण शर्मा खनाल बताउनुहुन्छ, त्यो बेला विपीले राष्ट्रियता खतरामा छ, तपाईहरु गाउँ–गाउँ जानुस् भन्नुहुन्थ्यो ।
प्रजातन्त्रका लागि डाईनामाइट र हतियार बोक्न उक्सिने युवाहरुलाई पनि देशका दुर्गम गाउँमा शिक्षक बन्न जाऊ भनेर अभिप्रेरित गर्नुहुन्थ्यो । तर आज विपीको यो सिद्धान्त सबैले छोडे, नेपाली काँग्रेसले पनि । विपी सिद्धान्त बोक्नेहरु सुकुम्बासी भएका छन् र जति पनि अरबपति भएका छन्, उनीहरुले विपीका सिद्धान्त छाडिसकेका छन् ।
काँग्रेस नेता प्रदीप गिरीको ठहर छ, विपीको प्रारम्भिक समाजवादी सिद्धान्त युरोपबाट प्रभावित थियो । पछि विपी निखारिएपछि उर्वर, मौलिक र नविन समाजवादको व्याख्या विपीले गर्नुभएको गिरीको भनाई छ ।
विपीको भनाई थियो नेपालमा ठूला–ठूला शहर चाहिँदैन, एड्रोम् चाहिँदैन । युरोपियन तरिकाबाट संसद मात्रै बनाएर पुग्दैन, संसद बाहिर पनि चाहिन्छ, विपीले पकडेको सोझो श्रोत दक्षिण एसियामा समाजवाद हो । त्यसैले यहाँ समानता र सादगी र पर्यावरणको रक्षामा आधारित नदीनाला, गाईभैंसी, वनजंगल, जडीबुटी र कृषिउन्मुख उद्योगमा आधारित समाजवाद बन्छ । स्पात, फलाम र फोसिलमा आधारित बन्दैन । तर, यो नेपाली काँग्रेसकै कुनै पनि सरकारले ध्यान दिएन ।
विपीले त्यस समयमा हिमाल, पहाड, तराई लगायत सबै वर्गलाई जोड्ने उद्देश्यले पार्टीमा सबैलाई स्थान दिनुभएको थियो । महिला, दलित, आदिवासी जनजातिहरु सबैलाई समावेश गरेका थिए । राष्ट्र र राष्ट्रियता प्रमुख विषय थियो । जुन आज पनि सान्दर्भिक छ । विपी तन, मन र वचनले समयसपेक्ष अघि बढ्दथे, आज पनि सोही अनुरुप अघि बढ्न जरुरी छ ।
विपीको विचार लोकतन्त्रलाई बलियो पार्ने भन्ने हुँदाहुदै विसं.२०५१/५२ सालमा तात्कालीन माओवादीको विद्रोह भयो यसकारण पनि गाउँ–गाउँको विकास प्रभावित बन्यो । दरबार र माओवादी दुवै पक्षबाट काँग्रेसमाथी निरन्तर प्रहार भयो, विपीको विचार अनुसार अगाडी बढ्न नसक्नुको दोष काँग्रेसलाई मात्र लाउन नमिल्ने नेपाली काँग्रेसका नेताहरु बताउछन् । विपीले अघि सारेको कृषि, स्वास्थ्य, शिक्षा र अर्थनीति, परराष्ट्रनीति आज पनि सान्दर्भिक छन् ।
विपीले नेपाली राजनीतिमा जुन मार्गदर्शन दिनुभएको थियो यसको सान्दर्भिकता थप बढेको छ तर, यसको अभाव भने हामीमा खड्कदो छ । भलै यहाँ आधुनिक विज्ञान र विकासको नाममा आँखा नहेरी दगुर्दा हामी पूर्णरुपमा परनिर्भर बनिरहेका छौं, आत्मनिर्भर बन्न सकेका छैनौं । गाउँपालिकाहरुमा जनप्रतिनिधि त पुगेका छन् तर, जनताको जीवनशैली परिवर्तन भएको छैन ।
रेमिट्यान्सले धानिरहेको देशको अर्थतन्त्र, आज कोरोनाका कारण थलिएको छ । जलवायु एवम् वातावरण प्रदुषणका कारण सास फेर्ने स्वच्छ हावापानी छैन । त्यसो त, कृषि क्रान्ती, वातावरण संरक्षण र मौलिक विकासको चर्चा आज पनि हुन छोडेको छैन । यसको दोष समग्र नेपाली राजनीतिक नेताहरुलाई त छदै छ, लामो ईतिहास बोकेको नेपाली काँग्रेस थप यसको भागिदार बन्न र थप समिक्षा गरेर मात्रै अघि बढ्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्