काठमाडौं, १ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेसँगै उनको लामो प्रतिक्षाले सार्थक रुप पाउने देखिएको हो ।
सोमबार बसेको मन्त्रीपरिषद बैठकले गौतमलाई रिक्त राष्ट्रियसभा सदस्यमा मनोनयनको निर्णय गरेपछि अब राष्ट्रपतिले अनुमोदन गर्ने छिन् । योसँगै बामदेव गौतम वरिष्ठ उपप्रधानमन्त्रीसहित शक्तिशाली मन्त्रालय लिएर सरकारमा सहभागी हुने बाटो खुलेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हिजो पठाएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरेका हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। गौतमको राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुनेछ।
नेकपाको फागुन १४ गते बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रपतिले नियुक्त गर्ने एक पदमा नियुक्त गर्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गर्नुभएको हो । गौतमको नियुक्तिको औपचारिक जानकारी केहीबेरमा सार्वजनिक गरिने छ । गौतमको शपथ ग्रहण कार्यक्रम आजै ४ बजे हुने बताइएको छ ।
(२०५१ देखि २०५४ सम्म यस्तो छ बामदेवको विगत)
तत्कालीन नेकपा एमालेले २०५१ को मध्यावधि निर्वाचनमा ८८ सिट जितेर सबैभन्दा ठूलो दलको हैसियतमा अल्पमतको सरकार चलायो । तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री र महासचिव माधवकुमार नेपाल उपप्रधानमन्त्री भएर सरकारमा गएपछि बामदेव गौतमलाई उपमहासचिव बनाएर पार्टी काममा लगाइयो ।
सरकारबाट एमाले हटेपछि विधान विपरीतको उपमहासचिव पद खारेज गर्ने भन्दै नेपाल पक्षले बामदेवलाई हटायो । त्यतिञ्जेल पार्टीमा बामदेवको शक्ति निकै बढिसकेको थियो । तर, उपमहासचिवबाट हटाइएपछि माधव नेपालविरोधी खेमाले बामदेवलाई भकुण्डो बनायो ।
बामदेवको साथ लिएर झलनाथ खनाल, सीपी मैनाली, राधाकृष्ण मैनालीलगायतका नेताहरुले माधव नेपाललाई महासचिवबाट हटाउने अभियान चलाए । साहना प्रधानलगायतका असन्तुष्ट नेताहरुको समर्थनमा माधव नेपाललाई हटाएर झलनाथलाई महासचिव बनाउने अभियानमा बामदेव लागे ।
एमालेको केन्द्रीय कमिटीमा लामो छलफल भयो । र, माधव नेपालविरुद्धको अविश्वास प्रस्तावमा केन्द्रीय कमिटीको बहुमत रहृयो । तर, नेपालले सो निर्णय नै हुन नदिई माइन्युट बोकेर हिँडेपछि केही दिनमा झलनाथ पक्षको बहुमत गुमेको स्मरण नेकपा नेताहरु गर्छन् ।
त्यसयता बामदेव गौतम तत्कालीन एमालेको लडाइँमा सधंै माधव नेपालको विपक्षमा उभिँदै आए ।
त्यही बिन्दूबाट शुरु भएको एमालेको विवाद २०५३ असोजमा महाकाली सन्धी संसदबाट अनुमोदन गर्ने बेला पार्टी विभाजनको तहसम्म पुग्यो । महाकाली सन्धीको विपक्षमा उभिएका गौतमले २०५४ को महाधिवेशनपछि पार्टी फुटाएर नेकपा माले गठन गरे ।
अन्तिममा आफ्नो पक्षका १४ जनालाई केन्द्रीय सदस्य बनाउन माधव नेपाल र केपी ओली पक्षले नमानेपछि गौतमले पार्टी फुटाएका थिए ।
२०५५ देखि २०५८ सम्म
संसदको तत्कालीन ठूलो दल एमाले फुटाउन सत्तारुढ नेपाली कांग्रेसले पनि सकेसम्म साथ दिएको थियो । तत्कालीन सभामुख रामचन्द्र पौडेलले एमाले संसदीय दलले बामदेवसहित १० सांसदलाई कारवाही गरेको पत्रलाई बैधानिकता नदिई ४० प्रतिशत संख्या पुर्याएर पार्टी फुटाइदिएको आरोप एमालेले लगाएको थियो ।
एमाले विभाजन लगत्तै तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बामदेवको मालेलाई सरकारमा सहभागी गराए । तर, केही महिनामै गिरिजाप्रसादले बामदेवलाई भकुण्डो बनाइदिए । मालेलाई सरकारबाट हटाएर एमाले गिरिजाको सरकारमा सहभागी भयो । र, त्यही सरकारले २०५६ को चुनाव गरायो ।
त्यो आम चुनावअघि अहिलेका प्रधानमन्त्री तथा तत्कालीन एमालेका नेता केपी शर्मा ओलीले यही पंक्तिकारसँगै रामेछापको मन्थलीमा बसेर दिएको अन्तर्वार्तामा ‘मालेले आउने चुनावमा सानदार जिरो सिट ल्याउनेछ’ भनेका थिए ।
इन्टरनेटको पहुँच नभइसकेको त्यो जमानामा भाइरल शब्द प्रयोगमा नभए पनि त्यो अन्तर्वाताको शीर्षकले राष्ट्रिय चर्चा पाएको थियो । नभन्दै, चुनावमा बामदेवसहित मालेका सबै उम्मेदवार पराजित भए र देशभरका २०५ सिटमध्ये एक ठाउँ पनि जित्न सकेन । चुनावमा बामदेवलाई जनताले ‘भकुण्डो’ बनाए ।
चुनावमा माले पराजित भएपछि तत्कालीन विद्रोही माओवादीका अध्यक्ष प्रचण्डले पनि बामदेवलाई भकुण्डो बनाउन खोजेकै हुन् । चुनाव हारेर निराश बनेका बामदेवसँग प्रचण्डको संवाद चलिरहेकै थियो, बामदेवहरु जनयुद्धमा जान सक्ने अवस्थामा थिएनन् । तर, प्रचण्डले बामदेवकै कार्यकर्ताहरु चुँडेर धेरैलाई माओवादी बनाए ।
भरत ढुंगाना, हिमाल शर्मा, कृष्ण केसी लगायतका तत्कालीन मालेका युवाहरुको राम्रो पंक्ति माओवादी बन्यो । तीमध्ये धेरै युवा तत्कालीन राज्यपक्षबाट बेपत्ता भए । बामदेव त्यसबेला न त संसदीय राजनीतिमा अलग अस्थित्वमा टिक्ने, न त प्रचण्डसँग जाने अवस्थामा भएपछि २०५८ सालमा पुनः एमालेमै मिसिए ।
२०५८ देखि २०६५ सम्म
उनी एमालेमा फर्किए पनि सीपी मैनाली, ऋषि कट्टेलहरु फर्किएनन् । एमालेमा फर्किएपछि पनि बामदेवसहित पूर्वमालेहरुलाई तत्कालीन एमालेबाट दोस्रो दर्जाको ब्यवहार कायमै रहेपछि बामदेवले कार्यकर्ताहरुलाई भनेका थिए, अब तपाईहरु माधव नेपाल, केपी ओली, कतातिर लाग्दा राजनीति सुरक्षित हुन्छ, उतै लाग्नुस्, मैले तपाईहरुको संरक्षण गर्न सक्दिनँ ।
त्यसपछि एमालेमा बामदेव पुनः भकुण्डो बनिरहे ।
छैठौं महाधिवेशनमा माधव र केपीको पेलान सहन नसकेर पार्टी फुटाएका बामदेव सातौं महाधिवेशनमा जनकपुर पुगेर केपी ओलीको पक्षमा उभिए । त्यतिबेलै बामदेव टिम तितर(बितर भयो । महाधिवेशनमा माधव पक्षकै जित भयो । तर, ओली(बामदेव गठबन्धन महाधिवेशन नसकिँदै तितर(बितर बन्यो ।
२०५९ देखि २०६४ सालसम्मको राजनीतिमा बामदेवको भूमिका पार्टी र राष्ट्रिय राजनीतिमा निणरयक भएन । यद्यपि उनी विद्रोही माओवादीसँग वार्ता गर्न तत्कालीन एमालेका महासचिव माधव नेपालको अनुमतिमा होलेरीसम्म पुगे । तर, उनले गरेको ६ बुँदे सहमति पार्टीले जिम्मा लिएन र तत्कालिन महासचिव माधव नेपालले पुनः एकपटक उनलाई भकुण्डो बनाइदिए ।
बामदेव गौतम २०६४ सालको पहिलो संविधानसभा चुनावमा माओवादीसँग सहकार्य गर्नुपर्छ भन्ने पक्षमा थिए । उनी प्रचण्डसँग संवाद र निकट सम्बन्धमै थिए । तर, तत्कालीन एमालेका नेताहरुको दम्भले गर्दा सहकार्य भएन, पार्टीसँगै बामदेव पनि बर्दियामा माओवादीकै सरला रेग्मीसँग नराम्ररी पराजित भए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहयोग गरेका बामदेवलाई माओवादीले नै भकुण्डो बनाइदियो ।
चुनाव हारेर फर्किएपछि तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डलाई नयाँ बजारस्थित निवासमै पुगेर बामदेवले सोधेका थिए, तपाईले मलाई किन चुनाव हराउनुभयो रु तर, संयोग नै मान्नुपर्छ, चुनाव हारे पनि बामदेव गौतम प्रचण्डकै पहिलो प्रधानमन्त्रित्वकालमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री भए ।
उनी उपप्रधानमन्त्री भएकै बेला एमालेको आठौं महाधिवेशन भयो । यसपटक बामदेव झलनाथ खनालको भकुण्डो बने ।
सातौं महाधिवेशनमा ओलीलाई साथ दिएका गौतमले आठौं महाधिवेशनमा झलनाथलाई साथ दिएकै कारण खनाल एमालेको अध्यक्ष निर्वाचित भए । खनाल रुक्माङगत कटवाललाई प्रधानसेनापतिबाट हटाउन प्रचण्डसँग सहमति गरेर चीनतिर गए ।
चीनबाट फर्केर आइनपुग्दै माधव नेपाल(केपी ओली पक्षले खनाललाई अल्पमतमा पारिदियो । बामदेव गौतमले झलनाथलाई साथ त दिए । तर, झलनाथ सेनापति हटाउने सहमतिमा टिक्न सकेनन् । अन्ततः बामदेव नै स्थायी कमिटीको निर्णय बोकेर बालुवाटार गए । प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरियो । त्यसबेला बामदेवले झलनाथलाई ‘ढोडको लौरो’ को संज्ञा दिएका थिए ।
त्यसपछि बामदेव
प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिएपछि पनि बामदेवले झलनाथको साथ छाडेनन् । २०७० सालको दोस्रो संविधानसभामा बर्दिया र प्युठान दुवैतिरबाट चुनाव जितेर आएपछि बामदेव पुनः शक्तिशाली भए । तर, संसदीय दलको चुनावमा बामदेव पुनः केपी ओलीको भकुण्डो बन्न पुगे ।
त्यतिबेलासम्म झलनाथ खनाल र माधव नेपालबीच गठबन्धन बन्दैथियो । नवौं महाधिवेशनबाट माधव अध्यक्ष र खनाल संसदीय दलको नेता बन्ने सहमतिमा बामदेव भड्किए । त्यसपछि उनी ओलीतिर लागे । उनकै सहयोगमा ओली झलनाथलाई हराएर संसदीय दलको नेता बने ।
त्यसबेला ओली र बामदेवबीच ओली पार्टी अध्यक्षमा निर्वाचित भएपछि बामदेवलाई संसदीय दलको नेता बनाउने समझदारी भएको थियो । गौतम सुशील कोइराला सरकारमा उपप्रधानमन्त्री भएर गए । ओलीलाई नवौं महाधिवेशनमा बामदेवले साथ दिए, ओली माधव नेपाललाई हराएर पार्टी अध्यक्षमा निर्वाचित भए ।
पार्टी अध्यक्ष र संसदीय दलको नेता दुवै पदमा जिताउन निणरयक भूमिका खेलेका गौतमलाई ओलीले पूर्वसमझदारी अनुसार संसदीय दलको नेता बनाएनन् । त्यसपछि गौतमले पुनः आफू भकुण्डो बनेको महशुस गरे ।
त्यसयता उनी पार्टीमा बीचको भूमिकामा देखिन थाले ।
संविधान जारी गर्ने र संविधानपछि ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको समर्थन जुटाउनेसम्म पनि बामदेवले साथ दिए । स्थानीय तहको निर्वाचनमा माओवादी कमजोर भए पनि एमालेको बहुमत आउन त्यही माओवादी बाधक हुने देखिएपछि बामदेवले संघ र प्रदेशको चुनावताका एमाले–माओवादी एकताको पहल गरेकै हुन् ।
यहीवीच, बर्दियामा चुनाव हारेपछि गौतम रन्थनिए । चुनाव हार्ने विभिन्न कारणमध्ये ओली पक्षको असहयोग र अन्तरघात पनि उनले औंल्याए । यहाँ पनि उनले आफूलाई भकुण्डो बनाइएको महसुस गरे ।
उपनिर्वाचन लडेर संसदमा आउने र प्रधानमन्त्री बन्ने आकांक्षाले उनी यता र उता गरिरहे । अन्तिममा काठमाडौं ७ मा रामवीर मानन्धरलाई राजीनामा गराउने र मन्त्री बनाउने गरी प्रचण्डनिवासमा रातारात लिखत गरेपछि ओली भड्किए । बामदेवको उपचुनाव लड्ने यात्रामा ब्रेक लाग्यो थियो ।
यसबीचमा बामदेव जता लाग्यो, सचिवालयमा त्यतै बहुमत पुग्ने भएपछि बामदेवले भरपूर फाइदा पनि लिए । विधानमै संशोधन गरेर उपाध्यक्ष बनाइए, संगठन विभागको प्रमुख भए । उनी अझ शक्तिशाली र निणरयक बन्दै जाँदा पछिल्लो कालखण्डमा उनी प्रचण्ड,माधव गठबन्धनको भकुण्डो बने ।
बामदेवको भैंसेपाटीस्थित निवास पछिल्लो समय केपी ओलीविरोधी सचिवालय सदस्यहरुको जमघटस्थल बन्यो । संविधान संशोधन गरेर राष्ट्रियभा सदस्यसमेत प्रधानमन्त्री बन्नेदेखि बामदेवलाई राष्ट्रपतिबाट मनोनित गर्नेसम्मका भैंसेपाटी गठबन्धनका प्रस्ताव त्यहीँ तयार भएका थिए । जुन कुरा ओलीले कार्यान्वयन गरेनन् ।
विभिन्न तिकडका बीच बल्ल तल्ल उनि राष्टय सभामा जान सफल भए । उनि पटक पटक राष्टय सभामा नजाने चुनावै लडेर प्रधामन्त्री बन्ने सपना बोकेका उनि सफल हुन सकेनन् ।
केही साताअघि गौतमसँग भेट्दा उनले भनेका थिए, ‘तपाई पत्रकारहरु म उपचुनाव लड्ने वा संविधान संशोधन गरेर आउने कुरामा किन बिरोध गर्नुहुन्छ ? म प्रधानमन्त्री भएँ भने यो देशलाई १० वर्षमै चीनको हाराहारीमा पुर्याउँछु । पत्रकारहरुको पनि अलग्गै संसद बनाउँछु र तपाईहरु सबै सांसद ’
केही दिनअघि पूर्वमाओवादी खेमाका एक स्थायी कमिटी सदस्य गौतमलाई भेट्न भैंसेपाटी पुगेछन् । उनी पार्टीभित्रका समस्याबारे कुरा गर्न चाहान्थे । तर, करीव डेढ घण्टाको भेटमा गौतमले आफू प्रधानमन्त्री बनेपछि के गर्ने भन्ने योजना र नीति कार्यक्रम मात्र सुनाएर पठाएछन् ।
बितेका साढे दुई दशकमा बामदेव जसरी प्रयोग भए । वा, भकुण्डो बने, त्यसबीचमा उनले सत्ताको फाइदा पनि राम्रैसँग लिएका छन् । स्थिर नेता नहुनुको फाइदा र बेफाइदा पनि उनले पाएकै छन् ।
पटक–पटक पार्टीभित्र विभिन्न नेता र गुटहरुबाट प्रयोग हुँदै भकुण्डो बनेका र नेताहरुको विवादमा निणरयक बनेर सहायक पदहरु हात पार्दै आएका गौतमको अब सांसद बन्ने चाहान पुरा भएको छ ।
प्रतिक्रिया दिनुहोस्