ऐतिहासिक रूपमा कमला ह्यारिस उपराष्ट्रपति उम्मेदवारको रूपमा आएपछि अमेरिकाको चुनावी चक्रमा लैङ्गिक विषयको कुरा नगर्नु असम्भवजस्तो छ। तर के चुनावी दौडका नियम महिलाहरूका लागि फरक छ ?
उनको मनोनयनले दशकौँदेखि राजनीतिमा महिलाले सामना गरिरहेको महिलाको मुद्दालाई बाहिर ल्याएको छ। रूथ्गर्स यूनिभर्सिटीको सेन्टर फर अमेरिकन वुमन एण्ड पोलिटिक्सकी देबिई वाल्सको विश्लेषणमा यो विषय कसरी परिवर्तन हुँदै आयो भन्ने चर्चा गरिएको छ।
नरिसाउने कला
राजनीतिमा महिलाहरू शान्त रहनु र आक्रमक हुनुको दोसाँधबाट अघि बढ्नुपरेको देखिन्छ। अध्ययनहरूका अनुसार विद्यमान लैङ्गिक पूर्वाग्रहका कारण पुरुष प्रतिस्पर्धीहरूमा आत्मविश्वास बढ्ता भएको देखिन्छ।
केही महिलाहरूका लागि यी लैङ्गिक पूर्वाग्रहमा रङ्गभेद समेत जोडिने गरेको छ। र अमेरिकामा त ‘एङ्ग्री ब्ल्याक वुमन’ भन्ने १९औँ शताब्दी यताको एउटा पुरानो मानसिकता गढेको छ।
जसमा अश्वेत महिलालाई आम महिलाको जस्तो स्वभाव नभएको, अविवेकी र जिद्दी स्वभाव हुने व्यक्तिका रूपमा हेरिन्छ। वाल्स त्यसको व्याख्या गर्दै भन्छिन्: “महिलाहरूलाई राष्ट्रपति वा उपराष्ट्रपति हुन आवश्यक पर्ने गरी शक्तिशाली र रुखो नभएको आरोप लगाइन्छ। तर त्यो गुण नरिसाइकनै कसरी अभिव्यक्त गर्न सकिन्छ?” उनी ह्यारिसले उपराष्ट्रपति बीचको बहसमा राम्रै गरिन् भन्ने ठान्छिन्।
के उनी नेतृत्व गर्न उपयुक्त छिन् ?
केही विश्लेषकहरूका भनाइमा चुनावी दौडका बेला महिलाहरूले नसोचिएका कुरामा आफूलाई प्रमाणित गर्नुपर्छ। मतदाताका लागि लैङ्गिक मुद्दा खास चासोको विषय नभए पनि पुरुषहरू त्यस्ता मुद्दा झेल्नु पर्दैन।
मानिसहरूले पुरुषलाई क्षमता भएरै आएको भन्ने सोच्छन् भने महिले त्यो देखाउन सक्नुपर्छ। अगस्टमा गरिएको इकोनोमिस्ट/यूगोभको एउटा मत सर्वेक्षणका अनुसार बहालवाला उपराष्ट्रपतिलाई झीनो अन्तरले कमला ह्यारिसलाईभन्दा बढी मानिसले रुचाएको देखिन्छ।
सर्वेक्षणमा सहभागीमध्ये एक चौथाइ अमेरिकीले ह्यारिसबारे आफ्नो धारणा स्पष्ट रहेको बताएका छन् भने माइक पेन्सबारे त्यसो भन्ने १४ प्रतिशत छन्। बहसपछि धेरैले ह्यारिसले जितेको ठाने। तर जब राष्ट्रपति हुन को उपयुक्त छ भनेर सोधियो सर्वेक्षण केही फरक देखियो।
यूगोभ सर्वेक्षणले यदि ट्रम्पले काम गर्न नसकेमा ५६ प्रतिशत अमेरिकीले पेन्सले त्यो भूमिका सबैभन्दा राम्ररी लिन सक्ने बताए। जबकि ह्यारिसको हकमा त्यस्तो ठान्ने ५० प्रतिशत मात्र थिए।
स्वतन्त्र पहिचान भएका मतदातामध्ये ५३ प्रतिशतले पेन्सको क्षमतामा विश्वास रहेको बताए भने ह्यारिसबाट त्यस्तो ठान्ने ४४ प्रतिशत थिए। हुन त सर्वेक्षणमा सहभागी भएका केहीले राष्ट्रपतिको जिम्मेवारी लिनका लागि पहिलोपटक सिनेटर बनेको व्यक्तिभन्दा बहालवाला उपराष्ट्रपति काबिल हुनसक्ने ठान्न सक्छन्।
तर राजनीतिमा महिलाको सहभागिताको वकालत गर्नेहरूले लामो समयदेखि ठानेको कुरा चाहिँ महिलाले आफ्नो कौशल पुरुष समकक्षीभन्दा बढ्ता नै पुष्टि गर्नुपर्छ भन्ने हो।
मोमला’ हुनुको अर्थ
ह्यारिसले डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतीय दौडमा सहयात्रा गर्ने कुरा स्वीकार्दा भनेकी थिइन्, “उपराष्ट्रपतिको पदवी गज्जबको हुनेछ ‘तर मोमला (आमा कमला) हुनुको अर्थ अधिक छ।” उनले अमेरिकासामु आफूलाई चिनाउँदा उनले आफ्नो पारिवारिक जीवन र मूल्यलाई प्राय: जोड दिइरहिन्।
उनी अर्कै आमातर्फका दुई सन्तानकी आमा हुन्। फरक संस्कृति मिसिएको परिवारमा उनी जसरी एकल आमाको स्याहारमा हुर्किइन् त्यो उनले आफूलाई चिनाउने बेलाको मुख्य विषय हुन्थ्यो।
राजनीतिमा हुने पुरूषका लागि आफ्नो परिवारको कुरा गर्नु ‘सधैँ थप राम्रो आधारका रूपमा हेरिन्छ’। तर महिलाका हकमा त्यसलाई योग्यताका रूपमा हेर्न थालिएको हालसालै मात्र भएको वाल्स ठान्छिन्। उनी भन्छिन्: “महिलाका लागि त्यो पहेली बनिदिन्छ।”
किनभने सन्तान नहुँदा मानिसहरूले ‘किन नभएको’ भन्ने प्रश्न उठाउँछन्। यदि भएका सन्तान सानै उमेरका भए तिनको रेखदेख कसले गर्न भन्ने अर्को प्रश्न उठ्छ। जबकि पुरुषले परिवार जोडेर कुरा गर्दा त्यसले उसलाई ‘पारिवारिक व्यक्ति’ को पहिचान दिन्छ जहाँ कसैले उसका रुचि र प्राथमिकता अथवा उसका सन्तानको रेखदेखबारे सोध्दैनन्।
सन् २००८ मा सारा पलिन रिपब्लिकन तर्फबाट उपराष्ट्रपति हुने दौडमा छँदा उनका पाँच सन्तानमध्ये एकले सुस्त मनस्थितिको अवस्था झेलिरहेका थिए।डेमोक्र्याट र सञ्चारमाध्यमहरूले त्यसबेला अलस्का राज्यकी गभर्नर पलिनलाई पद पाउनका लागि कतै उनले परिवारलाई कम महत्त्व दिएकी त होइनन् भन्ने प्रश्न उठाए।
ह्यारिसबारे पुरुषहरू के भन्छन्?
जो बाइडनसँग प्रतिस्पर्धामा आएसँगै ट्रम्पले उनलाई व्याख्या गर्दा नीच, उग्र, कृतघ्न र दुष्ट जस्ता शब्दावली प्रयोग गरेका छन्। उनका प्रतिस्पर्धी पेन्सले होच्याउने गरी त बोलेका छैनन् तर बहसका बेला केही झल्को भने पाइन्थ्यो।
बहसमा हस्तक्षेप गर्ने बेलामा पेन्सले आफूहरू बीचको फरक देखाउने केही तरिकाहरू अपनाएका थिए। वाल्स भन्छिन्: “भद्र तरिकाले मतलबै नगरेको जस्तो उनको प्रस्तुति थियो। यदि त्यसैगरी महिलाले बोलेको भए उनी किन चुप लाग्दिनन् जसरी हेरिन्थ्यो।”
परिवर्तन
सन् २०१८ यता राजनीतिक नेतृत्वका पदमा महिला जान खोज्ने लहर बढेको र उनीहरू बढ्ता सहजता महसुस गरेको वाल्स ठान्छिन्। सन् २०१७ मा पूर्व अमेरिकी विदेशमन्त्री कोन्डोनिजा राइसले महिलाहरूलाई सम्बोधन गर्दै भनेकी थिइन्: “कसैको रङ्गभेद वा लैङ्गिक विभेद तपाईँको लागि समस्या बन्न नदिनूस्।”
विगतमा उक्त पदमा पुग्न भएका प्रयासका बीच यतिखेर अश्वेत भारतीय मूलको समिश्रण भएकी महिला उपराष्ट्रपति हुने दौडमा छानिनुलाई ‘विश्वकै लागि ठूलो परिवर्तन’ भएको वाल्स ठान्छिन्। “जब कुनै महिलाले कमला ह्यारिसजस्ती अर्की महिला उपराष्ट्रपति बन्न सक्ने बाटोमा अथवा बनेको देख्छन्, त्यसले जीवनमा के गर्न सकिन्छ भन्ने कुराको नयाँ मापदण्ड खडा गर्छ।”
बीबीसी बाट
प्रतिक्रिया दिनुहोस्