चीन र नेपाल पहाड र नदीले जोडिएका मैत्रीपूर्ण छिमेकी मुलुक हुन्। प्राचीनकालदेखि छिमेकीको रूपमा रहँदै आएका दुई देशका जनताबीच सीमावर्ती क्षेत्रमा दोहोरो आवतजावत हुँदै आएको छ। उनीहरूबीच आपसी हित तथा एकअर्काबाट अध्ययन गर्ने भावना रहँदै आएको छ। अग्लो स्वच्छ सगरमाथा दुई देशबीचको पुरानो आदान—प्रदानको इतिहासको साक्षी रहँदै आएको छ। लामो हिमालय पर्वत शृंखला चीन–नेपाल मैत्रीको गाँठो बनेको छ। सन् १९५५ मा चीन र नेपालबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भयो र द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको प्रारम्भ भयो। साथै दुई देशको सीमा सहकार्यका लागि नयाँ ऊर्जा थपियो।
चीन–नेपाल सीमा शान्तिपूर्ण मैत्री सम्बन्धको साक्षी हो। दुई देशका पुरानो पुस्ताका राजनेताहरूका प्रयासमा चीन र नेपालले शान्तिपूर्ण सहअस्तित्वका पञ्चशीलको सिद्धान्तअनुसार न्यायपूर्ण, समानता तथा आपसी समझदारीका आधारमा मैत्रीपूर्ण छलफलद्वारा सीमा समस्या समाधान गरे। दुवै पक्षले सन् १९६१ अक्टोबरमा ‘सीमा सन्धि’ मा हस्ताक्षर गरे। सन् १९६३ मा चीन–नेपाल सीमा संयुक्त कमिटीले एक हजार किलोमिटरभन्दा लामो सीमारेखाको सर्वेक्षण र निर्धारण गरी सीमास्तम्भ स्थापना गर्यो। चीन–नेपाल सीमारेखा निर्धारण गरिएपछिको करिब ६० वर्षमा शान्ति र स्थिरता कायम रहेको छ। दुई देशको सीमा समस्याको समाधान चीन र नेपालको मैत्री सम्बन्ध विकासको कोसेढुंगा मात्र होइन, छिमेकी देशले मैत्रीपूर्ण छलफलद्वारा सीमा समस्या समाधान गरेको उदाहरण पनि हो। यसले एसिया र विश्वको शान्तिका लागि महत्वपूर्ण योगदान पनि पुर्याएको छ। दुवै पक्षले विशेष संयन्त्र स्थापना गरी सीमा मामिलाबारे निकटको संवाद र संयोजनको व्यवस्था मिलाएका छन्।
दुवै देशका प्राविधिक निकायले सीमा सन्धि र सम्झौता पत्रमा लेखिएअनुसार सीमारेखाको स्थलगत निर्धारण गरी चीन–नेपाल सीमालाई वैज्ञानिक ढंगले निर्धारण र व्यवस्थापन गरेका छन्, जसबाट अर्काको भूमि अतिक्रमण गर्ने भन्ने प्रश्न कहिल्यै पनि उठ्ने छैन। सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्नुभएका बेलामा दुवै पक्षले ‘सीमा व्यवस्थापन नियमावली’ मा हस्ताक्षर गरे, यसबाट दुई देशको सीमा व्यवस्थापन र सहकार्यमा प्रभावकारी स्तरोन्नति भयो।
सन् २०२० चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औं वर्ष हो र उच्चस्तरीय आपसी भ्रमणका उपलब्धि कार्यान्वयन प्रारम्भ गर्ने पहिलो वर्ष हो।
चीन–नेपाल सीमा सहकार्य सर्वपक्षीय जितको गाँठो हो। दुई देशले क्रमशः केरुङ–रसुवा, तातोपानी–कोदारी आदि ६ जोडी सीमा नाका खोलिसकेका छन्। सीमा वारपारको सहकार्य दुई देशको सम्बन्धको महत्वपूर्ण अंश बनेको छ। दुवै पक्षबीच सीमा व्यापार प्रवद्र्धन गर्न तथा सीमावर्ती क्षेत्रका निवासीको जीवनमा सुविधा पुर्याउन व्यापारिक भुक्तानी सीमावर्ती क्षेत्रका निवासीले सीमापार गरी पशु चलाउन पाइने, सीमा वारपारको व्यापार आदि सम्झौता भएका छन्। सन् २०१९ मा चीनको तिब्बत स्वशासित क्षेत्र र नेपालबीचको आयातनिर्यात रकम ३ अर्ब १६ करोड ५० लाख य्वियान् पुगेको थियो, जुन एक वर्षअघि भन्दा २६।७५ ले बढी थियो। नेपाल लगातार ६ वर्षसम्म तिब्बतको सबैभन्दा ठूलो व्यापारिक साझेदारीको वैदेशिक मुलुक बनेको छ। यहाँ एउटा उल्लेखनीय कुरा के छ भने, नेपालको उत्तरी भूभागको जनजीवनमा आवश्यक पर्ने सामग्री ढुवानी गर्न सन् २००६ मे महिनादेखि चीनले आफ्नो सीमाभित्र रहेका राजमार्ग नेपाललाई प्रयोग गर्न दिएको छ । अहिलेसम्म नेपालले यो सुविधा उपभोग गरी ६७ पटकमा १५ हजार ८७६।९ टन खाद्यान्न, डिजेल, यान्त्रिक सामान, निर्माण सामग्रीको ढुवानी गरिसकेको छ। यो कार्य सीमावर्ती क्षेत्रका निवासीका लागि इमानदारी, आपसी सहयोग, सहकार्य र सर्वपक्षीय जितको विश्वमा उदाहरण बनेको छ।
सन् २०१९ मा सम्माननीय नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण गर्नुहुँदा चीन र नेपालले ‘ट्रान्जिट यातायातसम्बन्धी सम्झौता’ को प्रोटोकलमा हस्ताक्षर गरेका थिए, जसअनुसार चीनले नेपालको ‘भूपरिवेष्ठित देश’ बाट ‘भुजडित देश’ मा परिणत हुने कल्पना साकार बनाउन सहयोग पुर्याउँदै आफ्ना चारवटा सामुद्रिक बन्दरगाह र तीनवटा स्थल बन्दरगाह तेस्रो मुलुकसँग व्यापार प्रयोजनका लागि प्रयोग गर्न दिने भएको छ। यसबाट चीन–नेपाल सीमा वारपार सहकार्यमा नयाँ अवसर आउने छन्।
चीन–नेपाल सीमा एकआपसको सुरक्षा र सहयोगको सेतु हो। सन् २०१५ अप्रिलमा नेपालमा आएको विनाशकारी भूकम्पले सम्बन्धित सीमा नाका र राजमार्गमा गम्भीर क्षति पुर्याएको थियो। महाभूकम्पपछिको पराकम्पनबाट राजमार्ग वरपर हुनसक्ने क्षतिको जोखिमलाई समेत वास्ता नगरी चीनले अत्यन्त आवश्यक परिरहेको पेट्रोलियम र ग्याँस ढुवानी गरी यथाशीघ्र नेपालमा ल्याइपुर्यायो। साथै सीमानाका र राजमार्ग मर्मत गरी सुचारु बनाउने कार्य प्रारम्भ गर्यो। सन् २०१९ मेमा तातोपानी नाका पुनः सुचारु भयो। त्यस अवसरमा मैले कार्यटोलीको नेतृत्व गर्दै अरनिको राजमार्गमा पुनः यात्रा गर्ने सौभाग्य पाएकी थिएँ। त्यसबेला महाभूकम्पपछि नाका पुनर्निर्माणको सर्वेक्षण गर्दा त्यस्ता जटिल भौगोलिक परिस्थितिमा राजमार्गलाई मर्मत गरी सुचारु बनाउन र नाका निर्माण गर्न सहज छैन भन्ने मलाई अनुभव भएको थियो। त्यसका साथसाथै चीन र नेपालबीचको सुख र दुःखको एक अभेद मैत्रीबारे पनि अनुभव भएको थियो।
यस वर्षदेखि चीनले कोभिड महामारी र भौगर्भिक विपत्तिको असरमाथि विजय प्राप्त गर्दै नेपालसँग संयुक्त रूपमा रोकथाम र नियन्त्रणको संयन्त्र स्थापना गरेको छ। महामारी चलिरहेको अवस्थामा मालसामान भन्सार पार गर्ने प्रक्रियालाई सहजीकरण गर्ने उपायबारे छलफल गरी नाका भन्सारको मालसामान ढुवानीको प्रक्रियालाई अधिकतम रूपमा सक्रिय बनाइएको छ। चीनले नेपाललाई सहयोगस्वरूप प्रदान गरेको स्वास्थ्य सामग्री र नेपालले खरिद गरेको दैनिक उपभोग्य वस्तुलाई प्राथमिकता दिई ढुवानी गर्ने व्यवस्था गरिएको छ। महामारीले दुवै पक्षको मालसामान ढुवानी सहकार्यमा नकारात्मक असर पारेको भए पनि चीनले नेपाललाई प्रदान गरेको महामारी रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री र दैनिक उपभोग्य वस्तुहरूको ढुवानी कार्य कुनै पनि अवस्थामा पूर्णरूपले रोकिएको थिएन। मैत्रीको यो सेतु कहिल्यै पनि टुटेको छैन।
नयाँ युगमा चीन–नेपाल सीमा सहकार्यमा गर्न सकिने कुरा धेरै छन्। सन् २०१९ चीन–नेपाल सम्बन्ध विकासको इतिहासमा कोसेढुंगा सावित भएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी भ्रमण गर्नुभयो र चीन र नेपालको सम्बन्धलाई ‘विकास तथा समृद्धितर्फ उन्मुख हु्ने पुस्तौंपुस्ताको मैत्रीपूर्ण रणनीतिक साझेदारी सम्बन्ध’ मा स्तरोन्नति गर्नुभयो। सन् २०२० चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्ष हो र उच्चस्तरीय आपसी भ्रमणका उपलब्धि कार्यान्वयन प्रारम्भ गर्ने पहिलो वर्ष हो। दुवै पक्ष दुई देशका राजनेताले कोर्नुभएको खाकाअनुसार हिमालयवारिपारिको त्रिआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्ने, चीन–नेपाल राजमार्ग सुचारु बनाइराख्ने, केरुङदेखि काठमाडौंसम्म सीमावारपारको रेलमार्ग निर्माण परियोजनाको सम्भाव्यता अध्ययन अघि बढाउने, संयुक्त रूपमा सगरमाथाको उचाइ मापन गरी घोषणा गर्ने र अन्य वैज्ञानिक अनुसन्धान प्रारम्भ गर्ने आदि कार्यमा तत्पर छन्।
सगरमाथा वारिपारिको चीन–नेपाल मैत्री र सहकार्य नयाँ युगमा पनि गौरवशाली होओस् भन्ने कामना गरौं। चीन नेपालको साझा भाग्यको समष्टि निर्माणका लागि चीन नेपाल सीमालाई सहकार्यको गाँठो बनाउन संयुक्त रूपमा मेहनत गरौं।
—होउ यान् छी नेपालका लागि चिनियाँ राजदूत हुन्।
प्रतिक्रिया दिनुहोस्