साखः ग्रुप अफ कम्पनी पारिवारिक समूहले चलाएको नेपालकै चर्चित कम्पनी हो । साखः समूहले एक समय नेपालको गार्मेन्ट व्यवसायमा समेत नाम र दाम कमाएको थियो ।
यस्तै साखः समूहले नेपालको स्टिल उद्योग,पेन्टस् र होटल क्षेत्रमा लगानी बढाउँदै गइरहेको छ । पछिल्लो समय उत्पादनमूलक उद्योगधन्दाभन्दा पर्यटन र अर्गानिक कृषितर्फ साखः ग्रुपअगाडिबढेको छ । यसै सन्र्दभमा साखः ग्रुपका उपाध्यक्ष किरण साखः सँग नेपाल पेजका लागि छवि सापकोटाले लिएकोअन्तरवार्ताः
साख : ग्रुप अफ कम्पनी कसरी स्थापना हुन पुग्यो ? केही बताईदिनुस् न ?
ग्रुप नितान्त परिवारिक व्यवसायिक कम्पनी हो । बुवा गणेशभक्त साखः चार छोराहरुसहित पारिवारमा सदस्य मिलेर सुरु गरेको कम्पनी हो ।
यति ठूलो कम्पनी परिवारिक सदस्यबाटनै चलाउन कत्तिको सहज हुने रहेछ?
यो फेमिली बिजनेस चलाउन सहजपनि छ । केही गाह्रो पनि छ । सहज यो कारणले पनि छ कि एउटै परिवारमा मन मिल्ने भएपछि एकलाई अर्काको सहायता मिल्ने गर्दछ। परिवारिक व्यवसायमा आफूले मन परेको काम तत्काल निर्णय गर्नसमेत सकिने रहेछ । यसको नकारात्मक पक्ष भनेको तत्काल कतिपय निर्णय लिँदा पछि समस्यासमेत उत्पन्न हुन्छ ।
साखः ग्रुप अफ कम्पनीलेनेपालमा कुन–कुन क्षेत्रमा लगानी गरिरहेको छ ?
साखः ग्रुप अप कम्पनीको परिवारमात्र सहभागी भएको व्यवसायमा नेपाल पेन्टस् इण्डष्ट्री, गार्मेन्ट तथा निर्यातजन्य बस्तु लगायत होटलमा समेत लगानी रहेको छ । यस्तै पछिल्लो समयमा कपिलबस्तुको गोरुसिङ्गेमा अत्याधुनिक पार्क जसमा जिपलाइनदेखि अर्गानिक फार्म हाउस रिसोर्ट बनाउने तयारीमा जुटेका छौं । यस्तै झापाको सुरुङ्गामा फनपार्क लगायतका क्षेत्रमा समेत लगानी बढाइरहेका छौं ।
साखःग्रुपले पछिल्लो समय कृषि र पर्यटनमा लगानी गर्नुको कारण के हो ? उत्प्रेरणाका स्रोतहरु के–के हुन् ?
व्यापार भनेको एउटा नशाजस्तै हो । एक पटक सुरु गरेपछि गर्नैपर्ने हुन्छ । अरुले व्यपारको बिस्तार गरेपछि हामीले पनि गर्नुपर्छ भन्ने सोच आउने रहेछ । कुनै नयाँ क्षेत्र देख्यो भने यसमा पनि लगानी लगाउँ कि भन्ने सोच आउने रहेछ । पहिला हामी नेपालको गार्मेन्ट निर्यातमा नाम चलेकै व्यवसायमा आउँथ्यौं । साखः स्टिलसमेत हाम्रो ब्राण्डको कम्पनी हो । नयाँ केही व्यवसाय देख्यो भने गरौंजस्तो लाग्ने रहेछ । त्यसैले हामीले पछिल्लो समय अत्याधुनिक अर्गानिक कृषि रिसोर्ट र फन पार्कमा लगानी बढाएका छौं । नेपालमा उत्पादनजन्य कम्पनीहरुमा अस्वस्थ प्रतिस्पर्धा धेरै हुन थालेपछि हामी होटल तथा अर्गानिक रिसोर्टमातर्फ आकर्षित भएका हौं । होटल तथा रिसोर्ट क्षेत्रमा आफूले सेवा दिन सक्यो भने राम्रो लाभसमेत लिनसक्ने क्षेत्र हो । कपिलबस्तुमा२१ बिगाहा क्षेत्रफलमा पार्क निर्माण भइरहेको छ । जहाँ जिपलाइन, वेभपुल, एसि टेन्टसहितकोसुविधा र जंगलको बीचमा रिसोर्ट टाइपको पार्क चलाउने तयारीमा छौं । हामीले यो व्यवसायबाट राम्रो होला भन्ने अपेक्षा गरेका छौं । यहाँ नेपाली जनताको खल्ती सुहाउँदोमूल्य राखेका छौं । सामान्य प्रवेश शुल्क लिन्छौं । त्यसभित्र कम पैसामा धेरै सेवा सुविधा दिने हामीले लक्ष्य लिएका छौं ।
साखः ग्रुपको लगानी कृषि र पर्टयनतर्फ किनआकर्षित भएको हो ?
हाम्रो ग्रुपनेपालको कृषि र पर्टयन क्षेत्रमा लगानी गरेर केही गर्न सकिन्छ भन्ने सोचका साथ अगाडि बढेको छ । नेपालमा आन्तरिक र बाह्य पर्यटनको अथाह सम्भावना रहेको छ । विदेशी पर्यटकलाई ल्याउन सक्ने स्थान हो–नेपाल । नेपालको उत्तरमा चीन र दक्षिणमा भारत ठूलो जनसंख्या भएको देश भएकाले पनि त्यहाँबाट केही प्रतिशतमात्र पर्यटक आउने हो भने मात्र नेपालको पर्यटन क्षेत्रको भविष्य सुन्दर छ । यस्तै साखः गु्रपले तयार गरेको फन पार्क, कृषि फार्म तथा रिसोर्टमा अहिले आन्तरिक पर्यटकलाई मध्यनजर गरेका छौं । सरकारले पनि कोभिड–१९ ले समस्या पारेको पर्यटनलाई माथि उठाउन आन्तरिक पर्यटनलाई जोड दिदैं आएको छ । नेपालको समृद्धि र विकासको आधारसमेत पर्यटन भएकोले पर्यटनबाट देशको लागि केही गर्न सकिन्छ कि भनेर कृषि र पर्यटन क्षेत्रमा लगानी गर्ने जमर्काे गरिरहेका छौं । तर यहाँ पनिसमस्या छ,सरकारले कृषि र पर्यटन क्षेत्रमा लगानी गर्नका लागि २ प्रतिशत व्याजमा ऋण पाइने भनेपनि सस्तो व्याज पाउन कठिन छ । अहिले धेरै व्यवसायीले ९ प्रतिशत ब्याज तिरिरहेका छन्, यस्तो समयमा पनि । बैंकहरुको ताकेतासमेत सुरु हुन थालेको छ ।
भनेपछि, स्वदेशमा लगानी गर्न उत्साहित भएका व्यवसायीहरुलाई कोभिडले समस्या पारिरहेको अवस्थामासमेत बैंकको साथ र सहयोग छैन ?
विल्कूल छैन ! यस्तो समयमा व्यवसाय सबैतिर ठप्प भइरहेको अवस्थामा पनि बैंकहरुले ऋण तिर्न भन्दै ताकेता गरिहेका छन् । केही बैंकहरुको नियत त व्यवसायीलाई धरपकड गर्ने नै देखिएको छ । सरकारले यतिबेला ब्यवसायीलाई दुःख नदिनु भनिरहेको छ, तर बैंकहरुजसरी भएपनि असुलीमा लागिरहेकाछन् ।
सरकारले कोभिड–१९पीडित उद्योग व्यवसायीलाई राहत दिने भनिरहेको छ, तपाईहरुले यसबाट लाभ लिन सक्नुभएको छ कि छैन?
यस्तो समस्या छ कि व्यवसायीहरुले बैंककोव्याज तिरेकातिर्यै छन् । कम्पनीहरुमा उत्पादन छैन । भएको सामानको बिक्रीसमेत छैन् । यसलाई रिकभर कसरी गर्ने भन्ने चिन्तामा देशभरका व्यवसायी छन् । कोरोनाको सक्रमण अझै सकिएको छैन् । भोलिका दिनहरु नर्मल भएपछि पनि बैंकको समस्या अझंै आउने देखिन्छ । आजको दिनमा मानिसहरुले कुनै पनि वस्तु किन्न चाहिरहेको अवस्था छैन । नभै नहुने चिजमात्र किनेर आफ्नो जीवन निर्वाह गरिरहेका छन् । कसैको कमाई छैन् । जागिर छैन्, व्यापार छैन् । यसले नेपालको अर्थतन्त्रमा लामो समय असर गर्ने देखिन्छ । त्यसैले नेपालको अर्थतन्त्रलाई अगाडि बढाउने हो भने निकासी, पर्यटन र कृषिलाई जोड दिन आवश्यक देखिन्छ ।
राणाकालदेखि गणतान्त्रिक व्यवस्थासम्म अग्रणी रुपमा साखः ग्रुपले व्यापार–व्यवसाय गरिरहेको छ । विगत र अहिलेमा सरकारले उद्योगीहरुलाई हेर्न दृष्टिकोण कस्तो पाउनुहुन्छ ?
हामी बाजेको पुस्तादेखि व्यवसायमा लागेका हौं । हाम्रो पुस्ता पनिव्यवसायमै छ । व्यापारीलाई सरकारले हेर्ने दृष्टिकोणको कुरा गर्ने हो भने हामीलाई त अहिलेसम्म पनि राम्रो दिन आएजस्तो लाग्दैन । यसोभन्दा धेरैले उद्योगी–व्यवसायीहरु सकारात्मक कुरा गर्दैनन् भन्छन्। तर यहाँ बाङ्गो–टिङ्गो काम गर्नेलाईनिर्मूल गर्न आवश्यक छ । नराम्रो गर्नेलाई कारवाही भएको देखिन्न। दुई नम्बरी गर्नेले काम गरेकै छन् । यस्तो गर्दा राम्रोसँग व्यवसाय गर्नेहरु मारमा पर्ने अवस्था छ । अब सरकारले नराम्रो गर्नेलाई काम नै गर्न नदिने वातावरण बनाएमात्र सबैको हित हुन्छ । पटक–पटक बिभिन्न पार्टीका नयाँ सरकार बनेपनि व्यवसायीहरुको हितमा काम गर्ने कोही भएनन् । पुरानै नीति नियम अहिलेसम्म लागू छ । भ्याट, करसम्बधी नीतिसमेत परिवर्तन हुन आवश्यक छ । सरकारले भ्याट, कर नछल्ने किसिमको वातावरण बनाउन आवश्यक छ । दशंैतिहार आउने बेला भयो कि छापा मार्ने काम हुन्छ । कारवाही गरेजस्तो गरिन्छ, त्यसपछि आफैं सेलाउँछ । हरेक वर्ष यस्तै–यस्तै गतिविधिमै सिमित हुने गरेको छ। त्यसैले यहाँ सिस्टमले काम भएको देखिदैन् । व्यापारको लागि सहजीकरण गर्ने हो भने हामीकहाँ अहिलेसम्म त्यस्तो भएकै छैन भन्छु–म । हामीले उद्योग व्यावसाय गर्न भनेर कम्पनी दर्ता गरेपछि पनि विभिन्न निकायमा दौडिंदा पनि काम गर्नका लागि वातावरण बन्ने गरेको छैन् । १० ठाउँमा दैडिनु पर्ने बाध्यता अहिले पनि कायम नै छ । एकद्वार नीतिबाट१० ठाउँमा चाहार्दासमेत काम नभएको धेरै उदाहरण छन् । विभिन्न निकायको सिफारिस र कागजपत्र जुटाउँदाजुटाउँदै लगानीकर्तासमेत हतोत्साहित हुने अवस्था छ ।
पर्यटन क्षेत्रतिरकै कुरा गरौं । किनकि तपाईहरु पछिल्लो समयमा पर्यटनतर्फ आकर्षित हुनुहुन्छ । कोभिड–१९ का कारण भ्रमण वर्ष समेत अन्तिम चरणमा स्थगित हुनपुग्यो । भविष्यमा फेरि नयाँ कार्यक्रम आउँला भन्ने आशा गरांै । नेपालमा पर्यटनको सम्भावनालाई कसरी हेर्नुहुन्छ ?
पर्यटन क्षेत्र मेरो चाहनाको क्षेत्र पनि हो । तर कोरोना संक्रमणको कारण नेपालले सुरु गर्न लागेको भ्रमणवर्ष स्थगित हुन पुग्यो । मैले समेत भिजिट नेपाल प्रचारप्रसारको लागि विभिन्न देशमा पुग्ने अवसर पाएको थिएँ । मलाई के लाग्छ भने पर्यटन क्षेत्र नेपालको लागि रोचक व्यापार नै हो । विदेशी मुद्रा आर्जनको महत्वपूर्ण माध्यमसमेत हो–पर्यटन क्षेत्र । यस व्यवसायमा अन्य उत्पादनको जस्तो यति नै पैसा लिनुपर्ने भन्ने छैन। केही सामानहरुको मूल्य १० छ भने १५ लियो भने कालाबजारी हुन्छ, ठगी हुन्छ । तर पर्यटन क्षेत्रमा एउटा रुमको सेवा सुविधाअनुसार आफ्नो दर आफैं कायम गर्न सक्नुहुनेछ । जति रकम लिएपनि ग्राहकलाई सन्तुष्टि पारेर लिन सक्ने व्यवसाय हो–पर्यटन । नेपालमा १० डलरदेखि ५ सय, हजार डलरसम्म तिर्ने विदेशी पर्यटक पनि आउने गरेकाछन् । किनभने विदेशबाट घुम्न आउनेलाई जति महँगो भएपनि खासै फरक पर्ने अवस्था छैन । सस्तो मूल्यमा नेपाल घुमेर फर्कने सक्ने अवस्था छ । यति सस्तोमा खाने बस्ने, घुम्ने सुविधाअन्य कमै देशमा छ । त्यसैलेनेपाल पर्यटनका लागि स्कोप भएको क्षेत्र हो । यहाँ हेर्ने स्थानसमेत धेरै छन् । यस्तै नेपालीको आतिथ्यता धेरैले मनपराउने गरेका पनि छन् । नेपाल सरकारले पर्यटकीय स्थानको सडक राम्रो बनाउने,घुम्न आउनेहरुलाई विमानस्थलको इमिग्रेसनदेखि बस्ने होटल र यातायातको सहजता हुने हो भने नेपालमा पर्यटन क्षेत्रबाट राम्रो विदेशी मुद्रा कमाउने योगदान पुग्नसक्छ जस्तो लाग्छ । पर्यटनको नेपालमा अनलिमिटेड स्कोप भएको नाताले पनि मलाई यो क्षेत्रमा लगानी मन लागेको हो । पर्यटन क्षेत्र यस्तो क्षेत्र हो भाग्यले साथ दिएको खण्डमा अनलिमिटेड सफलता हासिल गर्र्न सकिन्छ । त्यसैले पर्यटन क्षेत्र नेपालको लागि उर्जावान क्षेत्र होजस्तो लाग्छ–मलाई ।
कपिलवस्तुको गोरुसिङ्गेमा आधुनिक पार्कसहितअर्गानिक कृषि फार्म तथा रिसोर्ट खोल्ने अन्तिम तयारीमा हुनुहुन्छ । यो स्थान रोज्नुको कारण के हो?त्यहाँ कस्ता सेवा सुविधा पाउन सकिन्छ ?
हामीकहाँ नेपालमा व्यापार गर्नेहरु धेरै फेल खाएका उदाहरण छन्। विदेशमा व्यापार गर्दा अध्ययन अनुसन्धान धेरै हुन्छ । हामी त अर्काले गरेको देखेर हेरर व्यापारमा लगानी गर्दै आईरहेका छौं । यसले गरेको छ, उसले कमाएको छ भन्ने आधारलाई अध्ययन मान्ने गरेका छांै । यस्तो बानी धेरैको छ । यो राम्रो बानी होइन । गोरुसिङ्गेमा पनि घुम्दै जाँदा आएको प्रोजेक्ट हो । यसको पनि अध्ययन अनुसन्धान केही गरिएन । जंगलको बीचमा रहेको स्थान पर्यटन क्षेत्रको लागि उत्तम स्थान हुन्छ भन्ने सोचेर यो ठाउँमा हाम फालेका हौं । हाम फालेको व्यापारमा सफलता हुने केही ग्यारेन्टी भने छैन। त्यो रिक्स चाहीँ मैले उठाएको हो। हेरौं कहाँ पुगिन्छ ?यहाँ हात हालेको २ वर्ष नाघिसक्यो । बिस्तारै मलाई यसमाकम रिक्स छ कि भन्ने अनुभव हुन थालेको छ । अहिले मलाई के लाग्छ भने थाहै नपाएको क्षेत्रभित्र गएर खोज्दै, बुझ्दै, सिक्दै गर्दा रिक्स नहोला भन्ने लाग्छ ।
अर्गानिककृषि फार्म तथा रिसोर्टमा लगानी गर्दा सफलता मिल्छ भन्ने आधारहरु के देख्नु भएको छ ?
प्रारम्भिक चरणमा मैले देखेको कृषि भनेको नेपालको महत्वपूर्ण र देशलाई केही दिन सक्ने क्षेत्र हो । कृषिमै भनेर लगानी गर्नेहरुको संख्या धेरै नै कम छ । तरनेपालमा कृषिमा धेरै सम्भावना छ । कृषि र पर्यटन सँगसँगै लौजान सकियोभने देशको समृद्धि र आर्थिक विकासको आधार क्षेत्र यी दुवै हुन् भन्ने लाग्छ ।
कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्दै हुनुहुन्छ । सरकारले यसको विकास गर्नका लागि कस्ता कुरामा प्राथमिकता दिन जरुरी छ ?
प्राथमिकताको क्षेत्र भनेर सरकारले हाम्रो खल्तीमा पैसा हाल्दियोस् भनेर कहिल्यै सोच्दैनौं । तर सरकारले यस क्षेत्रलाई साँच्चै नै अगाडि बढाउने हो भने कृषि र पर्यटनलाई माथि उठाउने नीति बनाउनमा विशेष जोड दिन आवश्यक छ। राम्रो गर्नेका लागि सहज वातावरण बनोस्, तर नराम्रो गर्नेलाई कारवाही पनि होस् । त्यस्तो किसिमको सिस्टम बनाएर अगाडि बढ्दैजानु पर्छ ।यहाँ कृषि र पर्यटन क्षेत्रसँग सम्बधित समानहरु आयात गर्न पर्यो भने सहज बनाइदिनु पर्यो । कुनै कच्चा पदार्थ, मेसिन औजार ल्याउन पर्यो भने सरकारले सहज बनाइदिनुपर्छ । यहाँ त केही काम सुरु गरेपछि यो भएन त्यो भएन भनेर १० ठाउँमा धाउनुपर्ने बाध्यता छ । यसलाई सहज बनाइदिएको खण्डमा लगानी गर्नेहरुका लागि पनि हौसला पुग्छ । सरकारले धेरै ठूलो आर्थिक अनुदान दिनु पर्र्दैन । कम दिएपनि हुन्छ । तर दिनु नै पर्ने स्थानमा दिए पनि भयो । तर पैसाले भन्दा पनि पोलिसी, सिस्टम र मार्केट बनाउनका लागि सहयोग गर्नुपर्यो । जस्तो हामी कहाँ माछा, मासु नेपालकै उत्पादनले पुग्छ भने बाहिरबाट आउन दिनुभएन । सरकारले कति चिज आउने नदिने भनिरहेको हुन्छ । तर दुई नम्बरीबाट आउने काम भईरहेको छ । त्यस्तो कार्यलाई कडाईंका साथ रोक्नु पर्ने हुन्छ। यस्ता कुरामा प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
कृषि र पर्यटन क्षेत्रमाभविष्य कत्तिको उज्वल देख्नुभएको छ ?
नेपालमा उत्पादन हुने औद्योगिक उत्पादनको मार्केट सानो छ । धेरै वस्तुहरु नेपालले उत्पादन गरेर निर्यात गर्ने अवस्था छैन । किनभने हाम्रो उत्पादन क्षमताको मूल्य नै धेरै हुन आउँछ । यसमाथि छिमेकी राष्ट्र भारत र चीनले ठूलो परिमाणमा आफैं उत्पादन गर्ने गर्दछन् । त्यहाँको भन्दा सस्तोमा हामीले कुनै हालतमा दिन सक्ने अवस्था छैन् । उनीहरुको जस्तो बजार पनि हामीकहाँ छैन् । त्यसैले हामीले अन्य उद्योगमा भन्दा कृषि र पर्यटनलाई जोड दिन आवश्यक छ । पर्यटन त विश्वका लागि स्वर्ग नै हो–नेपाल । नेपालको टे«किङ, हिमाल, नदिनाला, जंगललाई मात्र प्रयोग गर्ने हो भने अन्य व्यवसाय नै आवश्यक छैन । दुई छिमेकी मुलुकबाट २ प्रतिशत मात्र पर्यटक नेपाल ल्याउन सक्ने हो भने पर्यटनको भविष्य धेरै नै उज्वल छ । तर पर्यटक आउने वातावरण, आउनेलाई दिने सेवा सुविधा, यातायात,भौतिक संरचनामा ध्यान सरकारले दिनु आवश्यक छ । पर्यटक आएपछि नेपालीको आतिथ्यताले नै खुशी हुने भएकाले पनि नेपाल पर्यटन क्षेत्रका लागि सुन्दर गन्तव्य हो ।
तपाईंहरु लामोसमयदेखि उत्पादनमूलक उद्योग–व्यवसाय क्षेत्रमा व्यस्त हुनुहुन्छ । तर अब नेपालमा आम्दानीको क्षेत्र कृषि र पर्यटन हो भनेर यसतर्फ लगानी गर्नुभएको हो ?
हो !होटल, आन्तरिक पर्यटनको लागि पार्क, अर्गानिक कृषि फार्मबाट साखः गु्रप एकदमै आशावादी बनेको छ । भविष्यमा यी तीनवटा व्यवसाय अरुभन्दा अगाडि बढाउँदा राम्रो हुनसक्ने समेतआशा लिएका छौं ।
प्रतिक्रिया दिनुहोस्