काठमाडौं, १७ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार केही बेर बसेर स्थगित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित नभएपछि कार्यकारी अध्यक्ष प्रचण्डको अध्यक्षतामा केही बेर छलफल गरेर बैठक सकिएको छ ।
अब अर्को बैठक २० गते शनिबार दिउँसो १ बजे बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष प्रचण्डले एकअर्कालाई आरोप लगाउँदै प्रस्ताव पेस गरेपछि विवाद हुँदै आएको छ । मङ्गलबारको बैठकमा पनि दुई अध्यक्षबीच चर्काचर्की परेको थियो ।
मङ्गलबारको बैठकमा दुई अध्यक्षको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ । मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो । कार्यकारी अध्यक्षको प्रस्तावलाई लिएर ओली असन्तुष्ट बन्नुभएको छ । प्रस्ताव फिर्ता नलिएसम्म बैठक बस्नुको औचित्य नभएको ओलीले बताउदै आउनुभएको छ भने प्रस्तावबारे निर्णय गर्ने अधिकार पार्टी बैठकको रहेकोले फिर्ता नगर्ने अडान प्रचण्डको छ ।
प्रवक्ता श्रेष्ठले दुवै प्रस्तावमाथि औपचारिक रुपमा छलफल पनि गर्ने र नेताहरुबीच अनौपचारिक संवादलाई पनि निरन्तरता दिने निष्कर्ष बैठकले निकालेको बताउनुभयो ।
दुवै मिलाएर एकीकृत प्रस्ताव बनाउने वा टुंगाउनका लागि बहुमत–अल्पमतको सहारा लिने भन्ने नयाँ अध्याय सुरु भएको छ । एक–अर्काप्रति निकै संगीन आरोपसहित दुई अध्यक्षले प्रस्ताव अगाडि सारेपछि दुवै प्रस्ताव कसरी टुंगाउने भन्नेमा दुवै समूहमा आ–आफ्ना बुझाई छन् । औपचारिकरुपमै आएकाले दुवै प्रस्तावमाथि अब मंसिर १६ को सचिवालय छलफल सुरु भएको छ ।
‘दुवै अध्यक्षका प्रस्ताव राजनीतिक र व्यक्तिगत आरोपहरुले भरिएका छन् । दुवैलाई मिलाएर लेख्न सम्भव छैन । तर, पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी हुँदै संसदीय दलमासमेत बहुमतमा रहेका प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह यसपालि ओलीमाथि बहुमतको दबाब बनाउने योजनामा छ । शनिबारको सचिवालय बैठकमा पनि वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल र उपाध्यक्ष वामदेव गौतमले पार्टी निर्णय सबैले मान्नु पर्ने धारणा राखेका ब्यक्त गर्नुभएको थियो । ओली आफैंले पनि सचिवालय बैठकमा बहुमत–अल्पमतमा जाने भए पार्टी एकता भन्दा अगाडि फर्कनुपर्ने धारणा राख्नु भएको छ ।
‘विधि पद्धतिको नाममा अहिले बहुमत–अल्पमत महाधिवेशन नभएसम्म म मान्दिनँ । विधिबाट पार्टीलाई चलाउने हो भने महाधिवेशनमा पुर्याउँ । बहुमत र अल्पमत गर्ने हो भने २०७५ जेठ २ गतेमा फर्किउँ,’ शनिवारको बैठकमा अध्यक्षओली आफ्नो भनाई राख्नु भएको थियो । प्रधानमन्त्री ओलीले त अध्यक्ष प्रचण्डको प्रस्तावलाई आरोपपत्र भन्दै सचिवालयबाटै खारेजको माग गर्नुभएको छ ।
मूलत स् भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली गम्भीर नभएको आरोपसँगै नेकपामा पछिल्लो विवाद जन्मेको हो । विवाद बढ्दै जाँदा बैठक बोलाउने विषयमा समेत मतभेद भएपछि कार्तिक २२ मा अध्यक्ष प्रचण्डसहित सचिवालयका बहुमत सदस्यहरु वरिष्ठ नेताद्धय खनाल, नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको माग गर्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई लिखित पत्र बुझाएका थिए ।
पाँच सदस्यको पत्रको प्रधानमन्त्री ओलीले मंसिर २५ मा जवाफ लेख्नुभएको थियो। आफुलाई सम्बोधन र अन्य सदस्यलाई बोधार्थ दिएर प्रधानमन्त्री ओलीले लेखेको पत्रको अध्यक्ष प्रचण्डले २८ कात्तिकको सचिवालय बैठकमा जवाफी पत्र बुझाएका बुझाउनु भएको थियो । त्यसै दिन नै अध्यक्ष प्रचण्डलेले १९ पेजको राजनीतिक प्रस्ताव पेस गरेपछि अर्को सचिवालय बैठक मंसिर ३ का लागि तय भएको थियो ।
मंसिर ३ को बैठकमा प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डको पत्रको जवाफ लेख्न दस दिनको समय मागेपछि मंसिर १३ सम्मका लागि बैठक स्थगित भएको थियो । त्यसैअनुसार शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले ३८ पेजको जवाफी प्रस्ताव पेस गर्नुभएको थियो । यसरी पत्रचारबाट सुरु भएको विवाद राजनीतिक प्रस्तावसम्म पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्