काठमाडौं, १८ मंसिर । केहि दिन अघि बाल यौन दुराचारका आरोपमा एक फ्रान्सेली पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौन दुराचार गरेको आरोपमा फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमबार पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता बेलबहादुर पाण्डेले पोखरा महानगरपालिका–१७ बिरौटा पावर हाउसस्थित फुर्सेखोला बगर किनारामा यौन दुराचार गरिरहेका अवस्थामा नौगारेटलाई प्रहरीले पक्राउ गरेको जानकारी दिनुभयो । प्रहरीले यौन दुराचारमा परेका तीन नाबालकलाई समेत उद्धार गरेको छ । उद्धार गरिएका नाबालकलाई अभिभावकको जिम्मा लगाइसकिएको छ ।
पछिल्लो समय नेपालमा सबैजसो यौन दुराचारीले समाज सेवाको बहानामा गरिब बालबालिकालाई प्रलोभनमा पारेर यौन दुराचार गर्दै आएका छन् । अधिकांश दुराचारीले पर्यटक भिसामा नेपाल आएर गरिब, कम शिक्षित र सडक बालबालिकामाथि यौन दुराचार गर्ने गरेको प्रहरीको बुझाइ छ । सिआइवीका प्रमुख डिआइजी सहकुल थापाका अनुसार, ‘विदेशी भन्ने बित्तिकै सजिलै विश्वास गर्ने हुनाले पनि यौन दुराचारीले नेपाली बालबालिकमाथि निशाना बनाएको अनुसन्धानबाट देखिन्छ ।’
बालयौन दुराचारका घटनाहरू कम गर्न र त्यस्ता घटनाबारे थाहा पाउन सरकारले सिविन नेपालजस्ता संस्थासँग सहकार्य गरेर बाल हेल्पलाइन ९१०९८० स्थापना गरेको छ । त्यस बाहेक समुदाय प्रहरी साझेदारीमार्फत पनि यस्ता घटनाबारे जनचेतना बढाउने काम गरेको बताईएको छ । अनुसन्धानबाट काठमाडौँका सडक बालबालिका, उपत्यका आसपासका जिल्लाहरू धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेलगायतका बालबालिकामाथि बढी यौन दुराचार हुने गरेको छ । प्रहरीका अनुसार, नेपालमा २०६० सालतिरबाटै अमेरिका, जर्मनी, फ्रान्स र अमेरिकाका लगायतका देशका नागरिकले बालबालिकामाथि यौन दुराचार गरेका घटना रेकर्डमा छन् ।
विश्वका जुनसुकै देशका यौन दुराचारीको निशानामा नेपालका बालबालिका रहेको ‘ग्लोबल स्टडी अन सेक्सुअल एक्सप्लोइटेसन अफ चिल्ड्रेन इन ट्राभल एण्ड टुरिजम’ नामक एक अध्ययन प्रतिवेदनले औँल्याएको छ ।
उक्त प्रतिवेदनले अन्य एशियाली देशका बालबालिका समेत असुरक्षित रहेको उल्लेख गरेको छ । नेपाल, कम्बोडिया, हाइटी, होण्डुरस, केन्यासहितका मुलुकमा बालबालिका यौन दुराचारीको निशानामा रहेको भन्दै यो अध्ययनले धार्मिक पर्यटकसमेत यस्तो घृणित अपराधमा संलग्न भएको जनाएको छ ।
हुन त नेपालमात्र नभएर विश्वका थुप्रै अन्य विकासोन्मुख देशमा बालयौन दुराचारको समस्या रहेको जानकारहरू बताउँछन् ।
यस्ता मुलुकमा जीवनयापन सस्तो पर्ने र प्राविधिकरूपमा पनि यस्ता मुलुक पछि रहेका कारण प्रहरी प्रशासनले आफ्ना गतिविधि सहजै पत्ता लगाउन नसक्ने हुँदा दुराचारीको रोजाइमा पर्ने गरेको पाइने जानकारहरूको बुझाइ छ ।
बाल यौन दुराचारको अभियोगमा विदेशी नागरिकहरू पक्राउ पर्न थालेपछि नेपाली बालबालिकामाथि जोखिम बढेको भन्दै प्रहरीले सतर्क गराएको छ।
संगठित रूपमा नभएपनि कतिपय विदेशी नागरिकले नेपाललाई बाल यौन दुराचारको गन्तव्यका रूपमा लिन थालेको प्रहरी अधिकारीहरूको भनाइ छ।
पर्यटक भिसामा नेपाल आएका ती फ्रान्सेली नागरिकहरूले १० देखि १४ वर्षसम्मका बालकका अभिभावकलाई समेत प्रलोभनमा पारेर यौन दुराचार गरेको पाइएको प्रहरीको दाबी छ।
बच्चाहरूलाई के–के किनिदिने, घुमाउन लिएर जाने, रेष्टुरेन्ट लिएर जाने, परिवारहरूलाई कोही बिरामी हुँदा उपचार गराइदिनेजस्तो सहयोग गरेर बालकहरूलाई यौन दुराचार गरेको नेपाल प्रहरीले आफ्नो को अनुसन्धामा देखाएको छ ।
विश्वास
नेपाली बालबालिका र तिनका अभिभावकले विशेषगरी विकसित मुलुकबाट आएका व्यक्तिहरूलाई सजिलै विश्वास गर्ने प्रवृत्ति रहेको बालअधिकारकर्मीहरू बताउँछन्।
कतिपयले त्यही विश्वासका आडमा समेत बालबालिकालाई फसाएको प्रहरी अधिकारीहरू बताउछन्।
प्रहरीका अनुसार केही विदेशी नागरिकले समाजसेवा गर्ने भनेर संस्था चलाएरै पनि बाल यौन दुराचार गरेको समेत भेटिएको छ।
जनचेतना र सरकारी निकायबीच बालबालिका संरक्षणका विषयमा समन्वय नहुँदा यस्ता गतिविधि रोक्न समस्या परेको बाल अधिकारकर्मीहरुको गुनासो रहेउको छ ।
शिक्षा
नेपालमा बालबालिकाका निम्ति कसले के गर्दछ भन्ने नियमन प्रणाली अझै पनि दह्रो नभइसकेको अवस्थामा बाल यौन दुराचारीहरूले नेपाललाई केन्द्र बनाएर आउने गरिराखेको देखिन्छ।
पश्चिमा देशहरुमा विद्यालयको पाठ्यक्रममै यौन शिक्षा समावेश गरिएको छ । त्यहाँका विद्यार्थीलाई कहाँ–कहाँ छुनु हुन्छ, कहाँ हुँदैन भन्ने सानैदेखि सिकाइएको हुन्छ ।
नचिनेको मान्छेसँग बोल्नु हुन्छ कि हुँदैन भन्ने पनि उनीहरुलाई बच्चाबाटै सिकाइएको हुन्छ । तर, नेपाली समाजमा अतिथिलाई देउता मान्ने संस्कार छ ।
नेपाली समाजमा एकअर्काबीच भेटघाट हुनेबित्तिकै दाजु–भाइ, काका–काकीलगायत साइनो गाँसिइहाल्छ । त्यो नौलो मान्छे कस्तो मनसायले नजिकिँदैछ भन्ने सोचिँदैन ।
विदेशी नागरिकले त नेपालीलाई एक वचनमै फकाउने गरेका छन् । विदेशीको फुस्रा आश्वासनमा नेपाली चाँडै लोभिन्छन् ।
नेपालमा पनि त्यस्तै शिक्षा दिनु जरुरी भइसकेको मनोविज्ञहरू बताउँछन्। बालबालिकालाई सजिलै प्रभावमा पार्न सकिने भएकाले विकसित मुलुकबाट कतिपय व्यक्तिहरू गलत नियतले नेपाल आएको हुनसक्ने अनुमान गर्न कठिन छैन ।
कारबाही
अहिलसम्म पनि हाम्रो समाजमा बच्चाहरूलाई यौन सम्बन्धी कुराहरू भन्नु हुँदैन भनेर लुकाएर राख्ने प्रचलन छ, त्यसले गर्दा उनीहरूलाई आत्मविश्वास पनि हुँदैन र उनीहरूलाई सही र गलत छुट्टयाउने जानकारी पनि हुँदैन।
विदेशीबाट हुने बाल यौन दुराचार रोक्न कानुनी कारबाहीलाई प्रभावकारी बनाउनु पर्ने बाल अधिकारकर्मीहरुको भनाइ छ।
मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २२५ अनुसार, कसैले करणीको आसयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौन सम्बन्धी अङ्ग छोएमा वा छुन लगाएमा बाल यौन दुराचार गरेको मानिन्छ । बाल यौन दुराचारको घटनामा दोषी ठहर भए तीन वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
त्यस्तै बालबालिकालाई अप्राकृतिक मैथुन गरेमा पीडित बालबालिकाको उमेरका हिसाबले १० वर्ष देखि २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।
तर यस्तो अभियोगमा पक्राउ परेकाहरू समेत सजिलै छुट्ने र सरकारले बाल यौन दूराचारलाई गम्भीर प्रकृतिको अपराधका रूपमा नलिने प्रवृत्तिले थप समस्या निम्त्याएको अधिकारकर्मीहरु बताउँछन्।
पछिल्लो ४ वर्षमा १३ जना विदेशी पक्राउ
सिआइबीको तथ्याङ्कअनुसार, पछिल्लो ४ वर्षमा बालयौन दुराचारको आरोपमा १३ जना विदेशी नागरिक पक्राउ परेका छन् । ती घटनामा कम्तिमा २० जना बालकको उद्धार गरिएको छ ।
नेपालमा बालयौन दुराचार सम्बन्धी घटनाहरू बाहिरिने क्रम बढ्दो छ । अहिले पनि अमेरिका, जर्मनी, अस्ट्रिया, नेदरल्याण्ड्स, क्यानडा र फ्रान्सजस्ता मुलुकका नागरिक नेपालका कारागारमा छन् ।
यस्तो छ नेपालमा बालयौन दूराचारमा पक्राउ परेका विदेशीहरुको तथ्याँक
– २०७७ मंसिर १६ गते पोखराबाट फ्रान्सेली नागरिक ६१ वर्षीय क्रिस्टियन सर्ज हेनरी ओग्रेट पक्राउ
– २०७६ फागुन २२ गते अस्ट्रेलियन नागरिक ५८ वर्षीय गोन्दुक रिम्पोछे पक्राउ ।
– २०७६ मंसिर २३ गते अमेरिकन नागरिक ४० वर्षीय ज्यासन ल्योयन मुडी पक्राउ ।
– २०७५ माघ ५ गते काठमाडौँको कालिमाटीबाट बेलायती नागरिक इयान रोबर्ट कोल पक्राउ
– २०७५ माघ ५ गते, काठमाडौँको कालिमाटीबाट भारतीय नागरिक अजय पोद्दार पक्राउ
– २०७५ साउन ६ गते काठमाडौँको गौशालाबाट फ्रान्सेली नागरिक ४२ वर्षीय क्रिस्टोफी गुलिएक्स र ३८ वर्षीय डेनिस माथेउ पक्राउ
– २०७५ जेठ ३१ गते, काठमाडौँको ठमेलबाट नेदरल्याण्ड्स्का ६६ वर्षीय पिट हेन भान पक्राउ
– २०७४ चैत २४ गते नगरकोट र काभ्रेको सीमानाबाट क्यानडाली नागरिक पीटर जोहान पक्राउ
– २०७४ पुस १९ गते ६३ वर्षीय जर्मन नागरिक योगेन भन्ने हान्स जर्जिन काठमाडौँको भोटेबहालबाट पक्राउ
– २०७४ कात्तिक २३ गते, काठमाडौँको कोटेश्वरबाट नेदरल्यान्डस्का नागरिक ७५ वर्षीय हेनरिकस एड्रियानस जोसेफस क्रुइजसेन पक्राउ
– २०७४ भदौ २१ गते काठमाडौँको ठमेलबाट अष्ट्रियाका नागरिक मार्कस केन्डलर अर्धनग्न अवस्थामा पक्राउ, एक बालकको उद्धार
– २०७४ असार १५ गते काठमाडौँको ठमेलबाट ६३ वर्षीय जर्मन नागरिक अल्बर्ट फ्रेड किन्लेक पक्राउ
– २०७३ गत भदौ २४ गते काठमाडौँको ठमेलबाट ४८ वर्षीय अमेरिकी नागरिक केनेथ जोसेफ कम्बोस पक्राउ
कतिपय दुराचार आरोपित त विदेश फर्किनसमेत सफल भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । फ्रान्सेली नागरिक गेराड फिलिप्पे नेपाल आएर १५ जनाभन्दा बढी बालबालिकामाथि यौन दुराचार गरेर २०१४ को मे महिनामा नेपालबाट बाहिरिसकेको अध्यागमनको तथ्याङ्कले देखाएको छ ।
नेपालमा पक्राउ परेकाहरू धेरैजसो ५० वर्ष उमेरभन्दा माथिका छन् ।
प्रतिक्रिया दिनुहोस्