शहरमा जताततै आगो बल्ने तयारी हुँदै थियो । गुट फुट र जुटमा नै त छ राजनीति । समय लामो कुर्न पनि परेन । तीन बर्षमा आफ्नै नेतृत्वको छाला काढेर कुर्सी तयार गर्न कतिपय पार्टीकै नजिकका बनेर लाग्नु भयो साथीहरु । लामो समय पार्टीगत राजनीति छोडेका भए पनि हाम्रो लागि यो एकता निकै महत्वपूर्ण थियो । जसरी हुन्छ सहयोग गरियो या गरिएन रिजल्ट नै राम्रो नआएपछि दुःख लाग्नु स्वाभाविक थियो । जनताको लागि काम गर्न भनेर झोला बोकेर हिंडेका टाठाबाठाहरुले जे होस् राम्रैसँग दुनो सोझ्याएको देखेकैछन् जनताले । फेरि राजनीति सोझो रेखामा पनि नहिंड्ने रहेछ ।
एक्कासी ब्यबस्थानै लकडाउनमा पर्दा मन अमिलो बन्यो । कसैसँग बोल्न मन पनि थिएन । रिस तिनै मानिसहरुसँग उठ्यो जस्ले जनताको लागि काम गर्छौ भनेर जनतालाई नै धरापमा पार्ने काम गरे । समाचार हेर्ने र सुन्ने रुचि घटिसकेको थियो । सडक तताउनेहरु कति आफ्ना थिए कति त पराई पनि थिए । बिदेश जाँदा नेपाली भनेपछि असाध्यै आफ्नो लाग्ने जहाँसुकैको होस । ठ्याक्कै अबस्था त्यस्तै लाग्ने थियो । अनेक कुराहरु गुन्दै जादाँ कतैबाट मनलाई मनाउनै सकिएको थिएन । अनेक अप्सन थिए । तर सल्लाह हुन सकेन । सहि सुझाब दिनेलाई वास्ता गरिएन । चाप्लुसी र जयजयकार गर्न नजान्नुको दुख पनि हो । नाटक गर्नभन्दा पनि यथार्थ भन्न रुचाउनेहरुलाई राजनीतिले राम्रो मान्दैन भनेर जानेर नै बीस बर्ष पार्टी सदस्यता रिन्यु गर्ने हिम्मत आएन । कलमले दुनियाँ बदल्न सकिन्छ मात्र भन्नेलाई कस्ले पत्याउनु । सुझाब लिने हो चाहिने बेलामा । अरु बेलामा के काम त्यस्ता मान्छेहरुको राजनीतिमा । त्यस्तै थोरै मान्छेमा परिएछ राजनीतिले पत्याउँदैन हामीलाई थाहा पनि छ, चिन्ता पनि त छ । हामी बसेको ठाउँ, हामी बसेको देश अनि यहाँको ब्यवस्थाले हामीलाई असर गरेको प्रत्येक पल त हामीले भोगेर आएका छौं ।
हिजो हामीले निकालेका पत्रिका प्रेसबाट नै जफत भए । हाम्रा अफिसमा समाचार सेन्सर गर्ने ठेकेदारहरु खटाइयो । कलम मात्र चलाएर बसेकाहरु पनि स्वतन्त्र हुन सकेनौं । फेरि अँध्यारोको अनुभुत हँुदै गर्दा जिन्दावाद र मुर्दावादका नाराहरु घन्किरहेका थिए । जनताको भावना बुझ्छांै भन्नेहरुनै कित्ताकाट गरेर छुट्टिएका थिए । हेर्नै र सुन्नै नसकिने आरोप प्रत्यारोपका हुन्डरीहरु चलिरहँदा नमीठो बनेको मनले सायद शब्द समायोजन गर्ने हिम्मत पनि गरेको थिएन । कति फरक हुन्छ अनि कति छिटै बदलिन्छ परिवेश जहाँ गलत सूचनाहरु लिइन्छ । निश्चित भजनमण्डलीहरुको कुरा सुनेर सही र सत्यको गला रेटिंदै जाँदा बाबु छोरामा नै दुश्मनी बढ्दै गएपछि घरनै भत्किने परिवेश सिर्जना हुन्छ ।
लजिक जे भन्न पनि सकिएला सुन्दर घर निर्माणको लागि भत्किएको घरको जगमा उभिएर हेर्दा दुःखले निर्माण गरेको बलियो संरचना झनै बलियो र सुन्दर बनाउन पनि त सकिन्थ्यो । तर त्यही घरभित्रका चार दिवारभित्र अभिभावकको स्मसान बनाउँदैछन भनेर लाइदिने र पत्याउने भूल पक्कै भएको हो । छत खसेर अभिभावक मात्र कहाँ पुरिन्थ्यो र ! यतिमात्र पनि विस्वासको आधार निर्माण गर्न नसक्नेहरुले हावाको मापन नै नगरी यान चलाउन खोज्दा दुर्घटना त पक्कै हुन्छ ।
बिरामी डक्टरकोमा जाँदा डक्टरका कुराले नै उस्को आधा बिमार ठिक गर्न सक्यो भनेमात्र ऊ सफल डक्टर हो । तर राजनीति ? राजनीति फोहोरी खेल नै हो त ? के यो फोहोरलाई जनताका मान्छेहरुले सफा गर्ने सामथ्र्य राख्दैनन् ? र राख्नु पर्दैन ?जनताको काम गर्छौं अनि सभ्य समाज निर्माण गर्छांै भन्नेहरुको औकात नाप्न सक्ने हामी को नै हौं र मन अलि दोधार भयो ।
सडक लालझण्डाले रंगिएको थियो हिजो मात्र संसद भंग गरे भनेर केपी ओली मुर्दावाद भन्नेहरुले केपी ओलीको जयजयकार गरिरहेका थिए । अचम्म छ राजनीति पनि । एकैदिनमा युटर्न भएर कहाँबाट कहाँ पुग्छ मान्छे । जनताको काम गर्ने ठूलो यानका दुइ पाइलटहरु एक ठाउँमा मख्ख थिए । अरु राजनीतिज्ञहरु पनि असाध्यै खुसी देखेर कुरो बुझ्नै सकिनँ । लाग्यो यो हामीले नबुझ्ने कुरा हो । भीड छिचोल्दै अलि पर पुगेपछि चियापसलेले मसला टी फिटिरहेका थिए र सबैलाइ सित्तैंमा खान बोलाइरहेका थिए । केको खुशीले सित्तैंमा चिया बाँडेका होलान् सोध्न मन लागेको थियो । मुखबाट शब्द फुत्किन नपाउँदै मानिसहरुले गरेका कुरा कानमा गुन्जिइरहे । कोरोनाले दुनिया थिलथिलो परेको बेलामा किन चुनावको भार बोकाउँथे नेताले आखिर संसद पुनस्र्थापन गरेरै छोडे नि । जनताको काम गर्ने भनेर नै जनताले पाँच बर्षको लागि दुइ तिहाइ मत दिएर जिताएका हुन् । प्रधानमन्त्री त्यसै केपी ओलीलाई बनाएको हैन नेकपाले । अचम्म लाग्यो । कुरा पत्याउन पनि गाह्रो भयो । के साँच्चै बुढाले स्वविवेक प्रयोग गरेर देखाइदिए त ? कस्लाई सोध्नु सडक भरिभराउ भए पनि चिनेका मान्छेहरु पनि थिएनन् ।
लाग्यो सर्वोच्चले फैसला गरेछ क्यारे । राम्रै भएछ । तर मैले सोचेको फरक रहेछ । प्रधानमन्त्रीले आफै संसद पुनस्र्थापन गर्नुभएछ । यो सुनेपछि मलाई सडक छिचोलेर टेलिभिजनको अफिस पुग्न मन लाग्यो । कतिखेर यी कुरा बुढालाई सुनाएर खुशी साटौं भन्ने हतारले म मान्छेहरुसँग ठोक्किंदै हतार हतार अफिसको गेटमा पुगेर गेटपाले दाइलाइ सोधे सर माथि हो ? उनले पूरा गेट पनि खोलिसकेका थिएनन् पछाडिबाट आवाज आयो, धन्नै ठूलो दुर्घटना भएन । हाम्रा नेताहरु सुझबुझले नै जनताको पक्षमा निर्णय लिन्छन् भाउजु देख्नुभयो नि । गणेश बस्नेतको स्वर थियो । पछाडि फर्किनै लाग्दा गेटको घण्टी बज्यो बिहानको साढे छ बजिसकेको रहेछ इश्वर दाइले पत्रिका ल्याइसक्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्