काठमाडौं, १६ पुस । अंग्रेजी क्यालेण्डरको वर्ष सन् २०२० बिश्वव्यापी महामारी कोभिड–१९ का कारण इतिहासका पानामा अंकित रह्यो । बिश्वभर ८ करोडभन्दा बढी मानिसमा कोभिड–१९ सक्रमण, १८ लाख जनाभन्दा बढीको मृत्य, र वर्षको लगभग अन्तताका कोरोना खोप निर्माण र सफल परीक्षण अन्तराष्ट्रिय मिडियाको मुख्य समाचारको विषयबस्तु बनी नै रहे । तर यसका बाबजूद पनि विश्व इतिहासमा केही यादगार राजनीतिक घटनाहरु भए, जसको तात्कालिक र दीर्घकालिक प्रभावले बर्ष २०२१ मात्र होइन दशकौंसम्म छाप छोड्नेछन् ।
अमेरिकी निर्वाचन
वर्ष २०२० को सबैभन्दा ठूलो राजनीतिक घटनाको रूपमा ४६ औं अमेरिकन राष्ट्रपतीय निर्वाचन भयो । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा डेमोक्रर्याटक पार्टीका जो बाइडेन निर्वाचित हुनु मात्रले हैन, रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको सनकपूर्ण शासनको अन्तका लागि पनि यो निर्वाचन इतिहासमा दर्ज भयो । बाराक ओवामाको राष्ट्रपतिय कालका उपराष्ट्रपति बाइडेन ७२ बर्षीय परिपक्व र सुझबुझपूर्ण राजनीतिज्ञ भएकाले २०२१ पछिको विश्वको शान्ति, स्थिरता र प्रगतिमा आशा गर्न सकिने अन्तराष्ट्रिय राजनीति र कूटनीतिका विश्लेषकहरुको धारणा छ । निर्वाचन अघि दुबै पक्ष बिच कडा प्रतिपर्धा थियो भने मतगणनाको अन्तिमसम्म पनि बाइडेन र डोनाल्ड ट्रम्प कसले बाजि मार्छ भन्ने समाचारले बिश्वभरी प्रमुखता पाएको थियो । दुई दशकको अमेरिकी इतिहासमा लगातार दोस्रोपटक राष्ट्रपति बन्ने इतिहास ट्रम्पले बनाउन सकेनन् । राष्ट्रपति निर्वाचनमा दुवै उम्मेदवारले धेरै कीर्तिमान बनाए । बाइडेन अहिलेसम्म सर्वाधिक मत पाउने व्यक्ति बनेका छन् । पपुलर र इलेक्टोरल भोटिङमा नराम्रोसँग पराजित हुने ट्रम्प हुन् ।
अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता
अफगानिस्तानमा १८ वर्षदेखि जारी तालिबान बिद्रोही र अमेरिकी सैनीकबीच चलेको द्वन्द्वसन् २०२० बाट अन्त भएको छ । अमेरिकाले यसै वर्ष तालिबानसंग सम्झौता गर्दै आफना सैनिक फिर्ता लग्ने जनाएको हो । त्यसो त सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अफगानिस्तानमा अमेरिकी सेना नराख्ने घोषणा गरिएको थियो । अफगानिस्तानमा अमेरिकी सैनिक राख्दा आर्थिक भार बढेको ट्रम्पको भनाइ थियो । यही कारण पनि उनले सैनिक फिर्ता बोलाएका हुन् । करिब १८ वर्षको द्वन्द्वमा अफगानिस्तानमा एक लाख ५७ हजार मानिसले ज्यान गुमाएका छन् । गृहयुद्धका कारण २५ लाख अफगानी नागरिकले शरणार्थी जीवन बिताउनुपरेको मानव अधिकारकर्मीहरूको भनाइ छ । अफगान युद्धमा अमेरिकाका २ हजार ४ सय सैनिकले ज्यान गुमाएका थिए भने नेटोका ११ सय सैनिक युद्धमा मारिएका थिए । अमेरिकी तथ्यांकअनुसार तालिबानसँगको युद्धमा अमेरिकाले दुई अर्ब डलरभन्दा बढी खर्च गरेको छ । अमेरिका र तालिबानबीचको सम्झौतामा पनि सेना फिर्ता हुनुपर्ने उल्लेख छ । तालिबानसँगको शान्ति सम्झौता र अमेरिकी सेनाको फिर्तीले दक्षिण एशियाली भूगोलमा दीर्घकालिक शान्ति र स्थिरताको संचार गर्नसक्नेछ ।
युरोपमा कोरोना विरुद्ध कोष
सन् २०२० को सुरुमा कोरोना भाइरसलाई सामान्य रूपमा लिएको कारण युरोपमा कोरोनाले विकराल रूप लिएको थियो । कोरोनाको कारण युरोपका धेरै देशहरुमा ठुलो संकट समेत देखापरेको थियो । त्यसैले कोरोनाविरुद्धको लडाइँमा सबै युरोपेली मुलुकले एक हुने प्रतिबद्धता जनाए । जुलाई २०२० मा चार दिनसम्म चलेको युरोपेली संघको बैठकमा कोरोनाविरुद्ध लड्न कोष खडा भयो । यस कोषमा आठ लाख ६० हजार डलर जम्मा पारिने भनिएको थियो । यस कोषमा अनिवार्य रूपमा सबै सदस्यहरूले रकम जम्मा गर्नुपर्ने सहमति भएको थियो । बैठकले चार लाख ४५ हजार डलर सहयोगको रूपमा बाँडिने तथा ४१ हजार डलर ऋणस्वरूप प्रदान गर्ने निर्णय भएको थियो ।
युरोपेली संघबाट बेलायतको बहिर्गमन
३१ जनवरी २०२० मा बेलायतीहरूले आफू युरोपेली संघ (इयू) बाट बाहिरिएको दिनका रूपमा सम्झने छन् । हुन त सन् २०१६ मै इयूबाट बेलायत बाहिरिने कि रहिरहने भन्ने सन्दर्भमा जनमतसंग्रह भएको थियो । त्यसै जनमतसंग्रहलाई मान्यता दिन बेलायत सरकारले ब्रे्रक्जिटलाई मान्यता दियो । सरकारले फैसला गर्न ११ महिना लगाएको थियो ।
इजरायलसँगको सम्बन्ध
पेट्रोल र ग्यासको धनी अरेबियन राष्ट्रहरूबीच त्यति राम्रो सम्बन्ध छैन । यस वर्षको अगस्ट र सेप्टेम्बरमा तीन राष्ट्रहरूले एक–आपसमा ऐतिहासिक सम्झौता गरे । संयुक्त अरब इमरेट्स (युएई) र बहराइनले इजरायलसँग सम्बन्ध सुधार गरेका छन् । २५ वर्षपछि इमरेट्स र बहराइनले इजरायलसँग सम्बन्ध गाँसेका हुन् । इजरायल र मध्यपूर्व एसियाबीचको सम्बन्ध सुधारमा अमेरिका र युरोपियन राष्ट्रले समर्थन गरेका छन् । अन्तर्राष्ट्रिय विश्लेषक रियान बोहलले युएईले इजरायल र बहराइनको साथ लिएर इरानविरुद्ध मोर्चा बनाएको बताएका छन् ।
अमेरिका–चीन व्यापार युद्ध
सन् २०२० मा चीन र अमेरिका बिच भएको ब्यापार युद्धले अन्तराष्ट्रिय व्यापार सन्तुलनमा नै असर पु¥यायो । डोनाल्ड ट्रम्प राष्ट्रपति भएस“गै अमेरिकाले चीनलाई लक्षित गरी चिनिया“ वस्तु निर्यातमा रोक लगाउदा चीन र अमेरिकाबीच जारी व्यापार युद्ध शुरु भएको थियो । सन् २०२० मा चाहिं दुइ मुलुकबीचको व्यापारयुद्ध उत्कर्षमा पुगेको छ । अमेरिकाले चीनका एक हजार तीन सय ३३ वस्तुलाई २५ प्रतिशत ‘पनिस्मेन्ट ट्याक्स’ लगाएपछि चीनले कार तथा केही कृषि उत्पादनसहित अमेरिकी वस्तुहरुमा ट्याक्स लगाएपछि दुई देश बिचको व्यपार युद्धले सन् २०२० मा पनि विश्वव्यापी हलचल नै निम्त्याएको छ ।
प्रतिक्रिया दिनुहोस्