काठमाडौं, २० फागुन । नेत्रविक्रम चन्दको जन्म २०२४ साल फागुन ११ गते रोल्पा जिल्लाको केवरी भन्ने ठाउँमा भएको थियो। उनको बुबाको नाम चित्रबहादुर चन्द हो भने आमाको नाम खुसीमाया घर्ती हो भने उनी परिवारका कान्छो सन्तान हुन्। उनको मध्यम वर्गीय परिवारमा जन्मिएका थिए। बाल्यकाल रोल्पा मैँ बिताएका उनले सदरमुकाम लिवाङ स्थित बालकल्याण माध्यमिक विद्यालयबाट १९ वर्षको उमेरमा प्रवेशिका परिक्षा उतिर्ण गरेका थिए। उच्च शिक्षा हासिल गर्ने उद्देशका साथ उनी काठमाडौँ गएका थिए जहाँ उनले नेपाल कानुन क्याम्पसमा कानुन विषयमा भर्ना भएका थिए। उनले २०३९ सालमा अखिल छैठौँ नामक विद्यार्थी सङ्गठनबाट राजनीति यात्रा सुरु गरेका थिए भने उनले ४ वर्ष मै विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै रोल्पा जिल्लाको अध्यक्ष बनेका थिए। तात्कालिक समयमा एकता मसालको सदस्य बनेका चन्द सक्रिय राजनीतिमा अगाडि बढेका थिए।
२०४५ सालमा उनको परिवार रोल्पाबाट कपिलवस्तु बसाइँ सरेको थियो। माओवादीले जनयुद्ध सुरु गर्दा विप्लव विद्यार्थी सङ्गठनका उपाध्यक्ष थिए। जनयुद्धलाई प्रत्यक्ष रूपमा समर्थन गरेका उनले यसका लागि हातहतियार समेत सङ्कलन गर्न सुरु गरेका थिए। तत्कालीन माओवादीले २०५२ फागुन १ गतेबाट सशस्त्र द्वन्द्वको थालनी गर्दा उनले विद्यार्थी राजनीतिसँगै पार्टीको ललितपुर सचिवको जिम्मेवारी बहन गरेका थिए। २०५४ सालमा, कर्णाली उपक्षेत्रीय ब्युरो इन्चार्ज बनेका उनले त्यस उता आफूलाई सक्रिय राजनीतिमा अगाडि बढाउँदै लगेका थिए । माओवादीले २०५५ सालको भदौमा गरेको चौथो विस्तारित बैठकका उनी केन्द्रीय सदस्य बनेका थिए भने २०५९ सालमा माओवादीका निति निर्माता समितिको सदस्य बनेका उनी २०६१ सालमा रोल्पा, रूकुम आधार क्षेत्रको ब्युरो इन्चार्ज भएका थिए। कर्णाली क्षेत्रको जिम्मेवारी बहन गरेको समयमा उनले विभिन्न तरिकाहरूबाट प्रहरीहरूको हातहतियार खोस्न सफल भएका थिए। हातहतियार खोस्ने कामबाट सफलता प्राप्त गरेको उनलाई कामलाई पार्टी भित्र प्रशंसा गरिएको थियो भने उनी प्रचण्डका विश्वासका पात्र बनेका थिए। कालीकोट जिल्लाकोको पदमघाट प्रहरी चौकीका आक्रमण गर्दै १३ प्रहरीको राइफल खोसेको घटना सार्वजनिक भएसँगै उनी पार्टीभित्र चर्चित हुँदै गएका थिए।
२०४६ सालको जनआन्दोलन पछि तत्कालीन चार कम्युनिस्ट पार्टीहरू मशाल चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही मसाल मिलेर बनेको एकता केन्द्रको बनेको थियो जसको महामन्त्री प्रचण्ड बनेका थिए। े त्यसपछि २०५१ सालमा पुन स् एकताकेन्द्र छुट्टीएर दुईवटा दलमा विभाजन भएपछि प्रचण्ड समूह चाहिँ नेकपा माओवादीका रूपमा देखा परेको थियो जसले एक वर्षपछि सशस्त्र विद्रोहको सुरुवात गरेको थियो। जनयुद्धको ५ मङ्सिर २०६३ मा सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौता पश्चात् पुष्पकमल दाहाल प्रचण्ड , बाबुराम भट्टराईसँग उनको सम्बन्ध बिग्रिएको थियो। विस्तृत शान्ति सम्झौता गर्नु अघि आफूहरूसँग कुनैपनि छलफल नगरेको भन्दै विप्लव प्रचण्डसँग रूष्ट भएका थिए। दाहाल र बाबुराम भट्टराईसँग त्यतिबेलादेखि उनको अन्तरविरोध रहेको थियो। २२ साउन २०६४ मा, काठमाडौँको बालाजुमा भएको विस्तारित बैठकमा उनको अगुवाइ रहेको बहुमतको प्रतिनिधिले विद्रोहको कार्यनीतिबाट नेतृत्व पछि हटेको भन्दै विरोध गरेको थियो जसलाई तात्कालिक समयमा, मोहन वैद्य लगायका नेताहरूले समर्थन गरेका थिए।
विसं २०६९ असारमा तात्कालिक समयमा पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेका एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवादी नामक पार्टीबाट छुट्टिएका नेताहरूले मोहन वैद्यको नेतृत्वमा एक छुट्टै दल गठन गरेका थिए भने वैद्यले नेतृत्व गरेको नेकपा(माओवादी पनि क्रान्तिकारी हुन नसकेको भन्दै विसं २०७१ मङ्सिरमा उनले दल टुक्राउने घोषणा गरेका थिए भने यस दलको आधिकारिक नाम नेपाल कम्युनिस्ट पार्टी राखिएको थियो जसलाई सामान्यतया विप्लव माओवादी भनेर पनि चिन्ने गरिन्छ। सरकारले नेकपा विप्लव समूहलाई आपराधिक सङ्गठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको थियो। मन्त्रिपरिषद्को बैठकले नेपाल कम्युनिस्ट पार्टीलाई २९ फागुन २०७५ मा, समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारहरूमाथि बम विस्फोट गरेको र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने लगायतका कार्यहरू गरेको भन्दै सरकारले यस दललाई प्रतिबन्ध लगाएको थियो। तर जुन सरकारले प्रतिवन्ध लगाएको थियो उहि सरकार संग वार्ताको टेवलमा बसेर शान्तिपूर्ण राजनीतिमा वा खुल्ला राजनीतिमा आएका छन् । फागुन पहिलो साता बसेको केन्द्रीय समिति बैठकबाट विप्लव नेतृत्वको नेकपाले एउटा निर्णय पारित गर्यो सरकारी प्रतिबन्ध चिर्न शान्तिपूर्ण राजनीतिको कार्यदिशा अपनाउने । तर संसदीय व्यवस्था स्वीकार नगर्ने ।’
आज बिहान नेकपाको ओली समूहले नेतृत्व गरेको सरकार, अनि विप्लव समूहले नेतृत्व गरेको नेकपाबीच तीन बुँदे सहमतिमा यो शब्द परेको छैन । तर अन्र्तरबोलीमा यो रहेको, अनि नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ स्वयंले भोलि शुक्रबार राजधानीमा हुने कार्यक्रममा यसबारे व्याख्या गर्ने विप्लव पक्षका शीर्षस्थ एक नेताले बताएका छन् । विप्लव र प्रधानमन्त्री केपी ओली दुवैले एकैसाथ भोलि दिउँसो राजधानीमा आयोजना हुने कार्यक्रममा एउटै मंचमा देखापर्ने छन्। विप्लवका एक नेताले भने आफ्नो पार्टी बैठकको यो निर्णयलाई व्याख्या गरे, ‘संसदीय राजनीति स्वीकार्दा अहिले ओली र प्रचण्ड–देउवाको शैली स्वीकार्नुपर्छ । हामी शान्तिमा मात्रै आएका हौं । यसभन्दा बढी अरु केही होइन भनेर बुझ्नुस् ।’ उनले ओली सरकारमा ‘कुनै पनि बाटो’ बाट सहभागी हुने सम्भावना नरहेको प्रष्ट गरे । चुनाव नलड्ने, अनि सरकारमा नजाने भए शान्तिपूर्ण राजनीतिको व्यावहारिक परीक्षण हुने थलो कहाँ होला त ? ती नेताले अब सडक आन्दोलन गर्ने, त्यसैबाट शक्ति स्थापित गर्दै लैजाने दाबी गरे । उनले २०७२ सालको महाधिवेशनबाट पारित गरेको ‘एकीकृत जनक्रान्ति’ को लक्ष्यबाट दायाँबायाँ नभएको पनि जोड दिए । विप्लवले भन्दै आएको एकीकृत जनक्रान्तिमा सहर र गाउँ जोडेर गरिने विद्रोह, अनि शान्तिपूर्ण संघर्षमा बल प्रयोग भए त्यसै अनुरुपको प्रतिवादको रणनीति समेटिएको थियो । तर सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले बताए अनुसार अब हिंसात्मक क्रियाकलापमा विप्लव समूह भेटिने छैन । ‘यसबारे गृहकार्यसहित हामी वार्तामा बसेका थियौं, अब उहाँहरूको राजनीति शान्तिपूर्ण प्रतिष्पर्धामार्फत् नै हुनेछ भन्ने हाम्रो निष्कर्ष हो ।’
वार्तामा खड्ग विश्वकर्मा प्रकान्ड, अनिल शर्मा विरही जुटेका थिए । गुणराज लोहनीलगायत नेताहरूले बाहिरी तयारी गरेका थिए ।यस्तो छ विप्लव अवतरणको पृष्ठभूमि, संसद् नमान्ने चार घटक अब सँगै सडकमा
प्रचलित कानुनमा हिंसामाथि प्रतिबन्ध व्यवस्था हुँदाहुँदै ओली सरकारले विप्लव समूहलाई थप प्रतिबन्ध लगाउँदा प्रश्नहरू पनि उठेका थिए । याद रहोेस्, पृथकतावादी माग राखेर विगतमा राजनीतिक अभियान चलाउँदै आएका सीके राउतलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराएको भन्दै वाहवाही पाएको ओली सरकारले त्यसको लगत्तै विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो । अहिले असंवैधानिक संसद विघटन निर्णय अदालतले बदर गरेसँगै ओलीलाई आफ्नो राजनीतिक स्पेस निर्माण गर्ने चुनौती बढ्दो थियो । यहीबीच उनले विप्लवसँग सहमति गर्दै यो प्रतिबन्ध फुकुवा गराउँदै छन् । मन्त्रिपरिषद् बैठकले यसको औपचारिक निर्णय गर्ने छ । यस कदमले ओलीलाई आफ्नो औचित्य देखाउने एउटा मौका मिल्न सक्ने छ ।
विगत सशस्त्र युद्धकाल, अनि शान्ति प्रक्रियाको सुरुवाती कालमा विप्लवका ‘सुप्रिमो’ रहेका प्रचण्ड यसबीचमा ओलीसँग मिल्न पुगे । विप्लव स्वयं चाहिँ त्यसअगावै प्रचण्डसँग टाढिएर अर्को ‘जनयुद्ध’को तयारी गर्ने ध्याउन्नमा थिए । ओलीसँग मिलेर प्रचण्डको मनसुबा पूरा भएन । अनि अर्को प्रचण्ड बन्ने विप्लव स्वयं पनि ठक्करै ठक्कर पाएर हैरान थिए । उनलाई आम समर्थन मिल्ने सम्भावना झनै थिएन । आज प्रचण्ड ओलीसँग रुष्ट बन्दै माधव नेपाल पक्षसँग मिल्नु, अनि आफूसँग विगतमा टाढिएका विप्लव चाहिँ ओलीसँग नजिक आउनुले कम्युनिस्ट खेमाभित्रका अलग धारहरूको अन्तर्घुलनलाई प्रतिविम्बित गर्छ । यो सहमतिको अन्तर्यमा विप्लव र ओली दुवैको राजनीतिक बाध्यता छ । अनि दुवैमा प्रचण्ड-माधव पक्षलाई ‘देखाइदिने’ ईख–ईबी पनि प्रष्ट छ । तर, जे कारणले यो राजनीतिक सहमति बनेको भए पनि ‘इमानदार कार्यान्वयन’ भए देशको हितैमा हुनेछ । यो नेपाल हो, जहाँ प्रत्येक राजनीतिक नेतृत्वको इमानदारीप्रति भने काफी आशंकाहरू उठ्ने गर्छन् । त्यस्तो नहोस् ।
प्रतिक्रिया दिनुहोस्