काठमाडौँ, १७ चैत्र । वायु प्रदूषण विश्लेषण गर्ने संस्था ‘आईक्यूएअर’ को नक्सामा सोमबार पृथ्वीको धेरै भाग रातो देखिएको छ । रातो भागभित्र काठमाडौंसमेत छ । नक्सामा रातो रङले अस्वस्थकर वायुको संकेत गर्छ । ‘आईक्यूएअर अर्थ’ को सोमबार दिउँसोको तस्बिर । तस्बिरमा रातोले अस्वस्थकर वायुको क्षेत्र संकेत गर्छ ।
‘केही दिनयता नेपालसहित एसियाली देशहरूमा प्रदूषण विकराल देखिन्छ,’ वातावरण विभागका सूचना अधिकारी तथा वातावरणविद् शंकरप्रसाद पौडेलले भन्नुभयो , ‘पहिलोपटक नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बतसम्मै पुगेको छ ।’आईक्यूएअरको तथ्यांकले ५ दिनयता नेपालसहित एसियाली मुलुकमा तुवाँलोको अवस्था विकराल बन्दै गएको देखाएको छ । नेपालमा भने पूर्वी भागमा तराई, पहाड र हिमालसम्मै तुवाँलोले सीमा नाघेको छ । ‘म्यान्मारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्रमा प्रदूषण बढी देखिन्छ,’ वातावरणविद् पौडेलले भन्नुभयो , ‘यो अवस्था अझै केही दिन बदलिने देखिँदैन ।’ जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठका अनुसार नेपालमा एकाएक प्रदूषण बढ्नुमा दुई कारण रहेको का छन्।
‘तल्लो तहको वायु माथि जान पाएको छैन अर्थात् नेपालमा उच्च चापीय क्षेत्रको असर परेको छ । तलको वायु माथि जान पाएको भए केही हदसम्म प्रदूषण हट्थ्यो । अहिले कत्ति पनि हावा चलेको छैन,’ उहाँले भन्नुभयो , ‘अर्को, डढेलोजन्य गतिविधि हो । नेपालमा मात्र होइन, भारतका विभिन्न स्थानमा ठूलो मात्रामा कृषिकार्यका लागि आगो बाल्दा निस्किएको धूवाँ काठमाडौंसम्मै आइपुगेको छ ।’ उहाँका अनुसार नेपालका वनमा मात्र लागेको डढेलोले यति धेरै असर गरेको होइन । तत्काल पानी पार्ने प्रणाली भित्रिने कुनै संकेत नभएको मौसमविद्को विश्लेषण छ । ‘मंगलबारदेखि हल्का वायु चल्ने मोडलहरूले देखाएका छन्,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले भन्नुभयो , ‘प्रदूषण पूरै नहटे पनि भिजिबिलिटीमा सुधार आउन सक्छ ।’
तुवाँलोले आँखा पोल्ने र श्वासप्रश्वासमा समस्या आउने भएकाले आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन अनुरोध छ । आईक्यू एअरका अनुसार सोमबार दिउँसो काठमाडौं विश्वका ९४ सहरमध्ये दोस्रो बढी प्रदूषितमा छ । पहिलो स्थानमा दक्षिण कोरियाको बुसान सहर थियो । प्रदूषित सहरको सूचीमा बंगलादेशको ढाका तेस्रो, पाकिस्तानको लाहोर चौंथो, भारतको कोलकाता पाँचौं स्थानमा थिए । यस्तै म्यान्मारको यांगुन र भारतकै दिल्ली क्रमशः छैटौं र सातौं स्थानमा थिए । नेपालमा सोमबार काठमाडौंसहित विभिन्न स्थानमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको भन्दा बढी रेकर्ड भएको छ ।
प्रतिक्रिया दिनुहोस्