काठमाडौं, ५ बैशाख । धान सुपर जोन क्षेत्र दक्षिणी झापाको कचनकवल गाउपालिकामा सञ्चालित इँटा उद्योगहरूले खेतीयोग्य तथा खोला किनार क्षेत्र मासिने ढंगले गरीरहेको माटो खन्ने काम जारी छ । उत्खनन कार्यविधि गाउपालिकाले बनाउनु भन्दा घरेलु तथा साना उद्योग कार्यालयले हेर्ने उनको भनाई छ ।
तर गाउँपालिकाले हालसम्म नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि नवनाउ“दा एउटा राम्रो खेतीयोग्य जमीन भने नष्ट भैसक्न लागेको छ । सरकारले करोडौं रुपैया लगानी गरी कचनकवल गाउँपालिकालाई धान सुपर जोन क्षेत्र घोषणा गरेको छ । तर धान सुपर जोन क्षेत्रभित्रकै वडा नम्बर ५, ६ र ७ मा ६ वटा चिम्नीसहितका पाँच वटा इँटा उद्योग सञ्चालित छन् । धान सुपर जोन क्षेत्रमा नुर आलमको ज्योति इँटा उद्योग, अजिम आलम र सैफुदिन हकको एसविआइ इँटा उद्योग, नुर आलमकै प्रेम इँटा उद्योग, विष्णु घिमिरेको चण्डी इँटा उद्योग र रहिम आलमको स्टार इटा उद्योग सञ्चालनमा छन् । गाउँपालिका भित्र र पालिका बाहिर सञ्चालित ईटा उद्योगीहरूले दैनिकजसो लापरबाहीपूर्ण तरिकाले जेसिभी प्रयोग गरी जमिन खनेर टिपरमा हालेर माटो लैजादा समेत स्थानीय जनप्रतिनिधि रमिते बनेको स्थानीय किसानले आरोप लगाएका छन् । खोलासंगै रहेको सरकारको ऐलानी जमिन समेत इटा उद्योगीले बाकी नछाडेको किसानहरू बताउछन् ।
वडा नम्बर ६ र ७ को सीमामा पर्ने वडझोडा पैनी अहिले खोलामा परिणत भएको छ । पैनी नजिकै सञ्चालित चण्डी इँटा उद्योगले स्थानीय किसान भक्तबहादुर कटवालको निजी जमिन र पैनीको माटो निकालेर निजी जमिन पुर्नुका साथै उद्योगमा समेत प्रयोग गरिरहेको किसानहरुको भनाइ छ ।
इँटा बनाउने चाहिने मुख्य कच्चा पदार्थ भनेकै माटो हो, ती उद्योगहरूले त्यही आसपासका खेतीयोग्य जमिन, खोला तथा खोला आसपासका क्षेत्र खनेर माटो प्रयोग गर्दै आइरहेका छन् । उद्योगी घिमिरेले खोला नियम विपरीत खनेपछि त्यहाँका किसानले गाउपालिकामा मौखिक जानकारी गराउनुका साथै उजुरी पनि दिएका छन् । किसानले जानकारी गराएपछि गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीसहितको टोली घटनास्थल पुगेर खोलाको अवलोकन पनि गरेको थियो ।
अवलोकनको क्रममा खोला मासेको पाइएपछि त्यसलाई ढाकछोप गर्न उद्योगी घिमिरेले अहिले जेसिभी प्रयोग गरेर धमाधम खोला मिलाउने काममा गरिरहेको रिपोर्टिङको क्रममा भेटियो । वडा नम्बर ७ स्थित गाउँपालिकाको भवन निर्माण स्थल नजिकैबाट बग्ने वडझोडा खोला समेत इँटा उद्योगीहरूले मासेका छन् । बर्खाका बेलामा डुबान हुने त्यस खोला आसपासका क्षेत्रको माटो ज्योति इँटा उद्योगले अवैध रुपमा उत्खनन् गरेको स्थानीयको आरोप छ । उद्योगले खोला नजिकै जथाभाबी जेसिभी प्रयोग गरेर उत्खनन गर्दा खोलाको स्वरूप नै परिवर्तन भएको छ । अहिले खोलाको गहिराई र जमिनको गहिराई एउटै भएको छ । इँटा उद्योगको दादागिरीका कारण केही गर्न नसकिएको वडा नम्बर ७ का वडाध्यक्ष भरतकुमार राजवंशी बताउँछन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले गत आर्थिक वर्ष २०७६–७७ देखि कचनकवल गाउ“पालिकामा प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तर्गत मत्स्य उत्पादन बल्क कार्यक्रम सुरु गरेको छ । बल्क कार्यक्रममा यहा“का १३ जना किसानले केन्द्रबाट अनुदान पाएका छन् । मत्स्य उत्पादन ब्लकमा सहभागी हुने किसानले पोखरी खन्दा १ मिटरदेखि साढे दुई मिटर (३ फिटदेखि ८ फिट सम्म) खन्नुपर्छ । तर, गाउ“पालिकामा माछा पोखरीको नाममा खनिएका जमिन ८ फिटभन्दा बढी गहिराईसम्म खनिएको पाइएको छ । त्यहा“बाट निस्किएको सबै माटो इ“टा उद्योगीलाई बेच्न गरेको पाइएको छ । त्यत्तिकै पनि पोखरी खनिएको स्थान बर्खायामको डुबान क्षेत्र हो । त्यसमा पनि यसरी जथाभावी दोहन गरिएपछि के होला भन्ने कसैले अनुमानसम्म गर्न सक्दैन । कृषि उत्पादन क्षेत्र भएकोले त्यसको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रमुख दायित्व स्थानीय सरकारको हो । तर, स्थानीय सरकारले चासो नदेखाएको वडाध्यक्ष भरतकुमार राजवंशीको भनाई छ ।
खेतीयोग्य जमिन र खोला किनार जथाभावी दहन गरेर माटो उत्खनन गर्दै आए पनि त्यसलाई रोक्न गाउँपालिकाले कुनै कार्यविधि बनाएको छैन । माटोको सहज आपूर्ति गर्ने, सतह नमिलेको खेतीयोग्य जमिनको सतह मिलाउने, माछा पोखरी निर्माण गर्दा बढी भएको माटो बिक्री वितरण गर्ने लगायतका कार्यहरुलाई व्यवस्थित र नियमित गर्नका लागि कार्यविधि तयार पारी कार्यान्वयन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४, तथा १ नम्बर प्रदेश सरकार नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार उत्खनन एवं ओसारपसार कार्यविधि बनाउनु पर्ने हो । तर, त्यस्तो कुनै कार्यविधि गाउ“पालिकामा नहुँदा इँटा उद्योगीले मनपरी माटो उत्खनन गरी प्रयोग गर्न सकेका हुन् । माटो कारोबारीले पनि गाउँपालिकालाई कुनै राजश्व नतिरेर त्यहाँको माटो अन्य पालिकाहरूमा बेचिरहेका छन् । गाउँपालिका उपाध्यक्ष निमसरि राजवंशीले पालिकाले हालसम्म माटो उत्खनन कार्यविधि नबनाएको स्वीकार्छिन् । उत्खनन कार्यविधि गाउँपालिकाले बनाउनु भन्दा घरेलु तथा साना उद्योग कार्यालयले हेर्ने उनको भनाई छ । तर कार्यविधि कसले बनाउने भन्ने हनाथापमै एउटा राम्रो खेतीयोग्य जमीन भने नष्ट भैसक्न लागेको छ ।
प्रतिक्रिया दिनुहोस्