कबिता
घरमा भएकी ती बुढी आमालाई,
एक गिलास पानी सम्म दिन नभ्याउने तिमी ,
म मरेको बाबुलाई सम्झेर किन धुरुधुरु रुन्छौ ?
थाहा छ मलाई,
तिमी रुनुमा पनि स्वार्थ छ भनेर।
थोरै भए पनि आश्वासन पाउछु भनेर होइन ?
तिम्री आमा खाली गोडा हिडिरहेकि छिन
तर
तिम्रो फुर्सद छैन
तिम्री आमालाई एक जोर चप्पल किनेर ल्याइदिने
किनकी
तिमी त बृद्ध आश्रम जानू छ ,
दुई चार शब्द बोल्नु छ ,
अनि
त्यहाँ बाट पनि सहानुभूतिका गुच्छा बटुलेर फर्कनु छ ।
हेर्दैछु
म ,
तिम्री आमा हाम्रो बिछ्याउनामा छटपटाई रहेकी ,
तातो पानी राखिएको थर्मसबाट ,
एक गिलास पानी सार्न सम्म नसकेकी ,
ताते ताते गर्दै शौचालय सम्म जान नसकेकी ।
तर
म
सुन्दै छु ,
एउटा ठूलो सभामा
तिमीले गर्वका साथ चिच्याएर बोलेको ,
“वृद्ध बा आमा भनेमा हाम्रो देशका खम्बा हुन ,
उहाँहरुको संरक्षण गर्नु हाम्रो कर्तव्य हो ।“
सभा बाट तिमीलाई थुप्रै ताली आउछ्न ,
अनि बधाई पनि ।
तर
तिमीले आफ्नो कर्तव्य चटक्कै बिर्सिएर
फगत एक शब्द बधाईको लागि मिहिनेत गरिरहेका छौ ।
संगै हुँदा
तिम्री आमाले छोरा संग एउटा तस्बिर खिचौन भन्दा
मलाई हतार छ भनेर बहाना बनाउने तिमी
आज
मेरा फोटाहरुले तिम्रो घरका भित्ताभरि स्थान पाएका छ्न
तिम्रो साथी आउँदा
मदिराको नशामा रमाउदा
पल्लो कोठामा छटपटाइरहेकी
तिम्री आमालाई बिर्सिदै
मेरो सम्झनामा तिम्रो आँखा रसाउछन ।
था छ मलाई
तिमी पनि मै हुर्केको समाजमा छौ ।
लेखक– नेपाली भाषामा र साहित्यमा स्नातकोत्तर सम्पन्न गरि अहिले अध्यापन गरिरहेका छन्।
(सम्पुर्ण आमाहरु प्रति माया र सम्मान )
लेटाङ्ग नगरपालिका ६ मोरङ्ग
प्रतिक्रिया दिनुहोस्