काठमाडौं, १९ जेठ । जेठ १९, २०५८ । नेपालको इतिहासको कहालीलाग्दो रात । दरबारभित्र भाइभारदारहरुबीच षड्यन्त्रपूर्वक मारकाट भएको त्रासदीपूर्ण दिन । नारायणहिटी दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ । तत्कालिन युवराज दीपेन्द्रले हत्याकाण्ड मच्चाएको भनिए पनि आम मानिस अझैसम्म पनि पत्याउन तयार छैनन् । डेढ दशक वितिसक्दा पनि सधैं चर्चा मात्र भइरहने यो हत्याकाण्ड कसरी भयो ? निस्पक्ष खोजी गरिएको छैन बरु, रहस्यकै गर्भमा गुपचुप राखिएको छ ।
स्वर्गीय राजा विरेन्द्रको वंशनाश हुनेगरि २०५८ जेठ १९ गते शुक्रवार राति राजपरिवारका १० जनाको हत्या भएको थियो । तर न अहिलेसम्म हत्याको यथार्थ सार्वजनिक भयो, न त जनताले चित्त बुझाउने किसिमको छानबिन नै भएको छ । इतिहासको गर्भमा रहस्यको रुपमा रहेको एउटा राजपरिवारको बंश नै समाप्त हुने गरि भएको उक्त घटना नेपालको इतिहासको एक कहालीलाग्दो रात थियो । बलियो सुरक्षा घेराभित्र अत्यन्त शक्तिशालि राजपरिवारको वंशनाश भएको घटनाका बारेमा अझै स्वतन्त्र छानबिन नहुंदा अनेकौं शंका उपशंका आज पनि बलशाली बनेका छन् ।
तत्कालिन प्रध्यानन्यायाधीशको संयोजकत्वमा सभामुखसमेत रहेको उच्चस्तरिय छानबीन समितिको प्रतिवेदनले घटनाको विवरणमात्र प्रस्तुत गरेको थियो । तत्कालिन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गर्दा देखाएको असंवेदनशील ब्यवहार र फितलो प्रस्तुतिका, कतिपय डक्टोरेट प्रमाणका कारण सो प्रतिवेदन आफैं हाँस्यास्पद बन्न पुगेको थियो ।
घटनालगत्तै छानविन समितिले हत्याको अनुसन्धान सहितको प्रतिवेदन तयार पा्यो । प्रतिवेदनले हत्याकाण्डको प्रमुख दोषी तत्कालीन युवराजधिराज दीपेन्द्रलाई देखायो । जुन तथ्यलाई धेरैले अझैसम्म पनि पत्याउन सकेका छैनन् । तत्कालिन राजा ज्ञानेन्द्रको निर्देशनमा गठित उच्चस्तरीय छानबीन् समितिले घटनाका बारेमा प्रतिबेदन तयार गरेपनि प्रतिवेदनका बारेमा चौतर्फी आशंका गरिएको थियो । प्रतिवेदन पत्यारिलो नभएर जनस्तरबाट पनि यसको विरोध भयो ।
हत्याकाण्डको वैज्ञानिक छानबिन नहँदै त्यसका प्रमाणहरु नष्ट पार्ने काम भयो । हत्याकाण्ड भएको मूलभवन त्रिभुवन सदन केही समयमै भत्काइयो भने अन्य प्रमाणहरु सबै नष्ट गरिएको छ ।
दरबार हत्याकाण्ड पछि राजा बनेका ज्ञानेन्द्र शाहले निरंशुक शासन थोपरेपछि त्यसविरुद्धको जनआन्दोलनले उनका वंशजहरुले सुरु गरेको २ सय ४० वर्षदेखिको राजसंस्थाको जग नराम्ररी भत्कियो । जनताको नजरमा वीरेन्द्रले उदारवादी राजाको छवि बनाएका थिए । उनकै व्यक्तित्वका कारण राजसंस्थाप्रतिको आस्था बढेको थियो । तर, ज्ञानेन्द्रको निरंकुशताविरुद्ध जनयुद्ध र जनआन्दोलन सोझिंदा राजतन्त्र नै समाप्त भयो ।
देशमा गणतन्त्र आयो । तर, व्यवहारमा नयां राजाहरुको स्थापना भयो । हत्याकाण्डको पुनः छानविनतिर कसैको इच्छा जागेन । नयां शासन पद्दती आएपनि छोटे र बडे राजाहरुको हालीमुहाली बढ्न थाल्यो । जनआन्दोलनको सफलतापछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतले हत्याकाण्डको छानविन गर्ने प्रतिवद्धता जनाएका थिए । तर, जनताले अपेक्षा गरेको दरबार हत्याकाण्डको अहिलेसम्म कसैले छानविन गर्न चाहेका छैनन् । जसकाकारण, यो हत्याकाण्डको रहस्य गर्भमै रहेको छ अहिलेसम्म ।
प्रतिक्रिया दिनुहोस्