काठमाडौं, २१ जेठ
आजकल सिमसार हेरेर टोलाउदै सिंगो
जिन्दगी नियाल्दैछन मेरा बा।
पत्रिकामा आमा र मातृत्वको गाथाले भरिएका
शब्द शब्द देखेर मुसुक्क हांस्दै,
जीवनलाइ नजिक बाट नियाल्दैछन मेरा बा ।
हातले नाक सुमसुमाउदै उनले आफ्ना पैताला हेरे।
परिवार पाल्न गरेको संघर्षले खिइएका
पैतलामा मासु पलाउन नसकेर करेठी परेका छन।
सायद जिम्मेवारीको बोझले थिचिएर,
धेरै पटक आंसुका सागर तरेका छन् ।
उनले जीवन बुझ्न जिन्दगी लगाए
साच्चै बाले ढाटेको छैनन।
दुखमा किनेका खाकीका स्टकोट
सायद अझै फाटेका छैनन।
आजकल बाले विगत नियाल्छन
,आमाले गरेको दुख सम्झेर
आफ्नो हरकुरा भुल्छन,
उनी हाम्रो खुसी देखेर।
हाम्रो खुसीको लागि फुरूङ्ग हुँदै
मध्य पहाड उक्लिदा,
बाले थाकेको भ्याउनै पाएनन् ।
हजारबार फिसलीए उनी
र पनि किनहो हरेस खाएनन।
उनको पर्खाइमा चुलो कुरेर बसेकी आमाले
पछ्यौरीले आंसु पुछ्दै खल्ती टक्टक्याउदा
,आकाशका तारा गनेर
जीवन तर्न सिकेका छन मेरा बा
जिन्दगीका पुलिन्दाहरुको पोट्ली बान्दै
मनमनै दुख र ब्याथाका
धेरै तस्बिर खिचेका छन मेरा बा ।
यहाँ पैतला खियाएर जीवन दिनेहरुको काहानी
अलि फरक तरिकाले कोरिने गर्छ ।
बाउहरुको संघर्ष लेखिन
सायद जमनानै फेरीनु पर्छ।
जीवन बाच्नकै लागि बाले
घनघस्याको उकालो चढ्दा
उनीसंग उर्गेनको घोडा थिएन।
बालबच्चा र श्रीमती पाल्न
उनले आफुलाइनै समाहित गर्दा
सायद उनीसंग कुनै साहारा थिएन।
र पनि हरेक पल आफु सकिएर
हाम्रो खुसीको लागि समाहित बने मेरा बा।
हरेक कठिन परिवेमा
बा ले हामीलाई जिउन सिकाए।
विषनै किन नहोस
सत्य र न्यायको लागि
अमृत भनी पिउन सिकाए।
र पनि यहाँ बाउले गरेको संघर्षलाइ
लैङ्गिकरुपमा हेरिने गर्छ।
साच्चै बाउको गाथा लेख्न
यो जमनानै फेरिनु पर्छ।
मातृत्वका अनेक शब्द कहानीमा,
आफ्नो दुखलाइ भुलेर आजपनि
चस्मा मिलाउदै मुसुक्क हास्छन मेरा बा ।
आमाको कहानीले भरिएका हजारौ शब्द सागरमा
खै किनहो आफैलाइ देख्छन मेरा बा।
मेरा बा ।
लेकसाइड पोखरा।
प्रतिक्रिया दिनुहोस्