काठमान्डौ १३ भदौ
गाउँको बीचामा जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमानै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन । उमेरले ७७ कटेका उमानाथ बिक साँझ पर्ने बेलामा थचक्क आरनमा बसे । आरन छेवैमा राखिएको गोल काठको कोईला आरनमा राखेर आगो फुक्न थाले ।
तयारी सुर्तीको प्लाष्टिकमा आगो बालेर गोलको माझमा राखेपछि आगो दन्किन थाल्यो । फलामे आरनको मेसिन उमानाथले निरन्तर चलाए । घ्यारघ्यार गर्दै जति छिटो मेसिन चल्यो हावाको बेगमा आगो हुर्कियो, गोल रातो भयो । एकैछिनमा गोल रातो हुँदै दन्किन थाल्यो । अनि सुरु भयो उमानाथको बुढ्यौलीमा पनि फलाम ठटाउनुपर्ने बाध्यताको पेशा ।
बागलुङ नगरपालिका–१२ अमलाचौरका उमानाथ ७७ बर्षमा पनि आरनमा बसेर फलामका भाँडा बनाउँछन् । हसिया, कोदाली, बन्चरो, फाली, करुवा लगायतका फलामका हतियार बनाउने काम उमानाथले बाल्यकालमा नै सिककेका हुन् । परिवारका सदस्य सबै आ–आफ्नै काममा छन् । हिजो बालीघरे प्रथा रहँदा कयौं घरका हतियारमा धार लगाउने उमानाथ अहिले पनि गतिलो धार लगाउन सिपालु छन् ।
छोराछोरी, बुहारीले देश बिदेशमा बिभिन्न पेशामा लागेर कमाई गर्छन् । चारभाई तीन बहिनीका माउ उनलाई परिवारले आरनमा नबस्न पटक पटक सम्झाए । तर उमानाथ भने परम्परागत पेशामै छन् । ‘जानेको यहीं हो, काम गरे धेरै थोरै खाने बाटो हुन्छ’ मधुरो स्वरमा उमानाथले भने ‘सकेको गर्छु, बैंसमा जस्तो त कहाँ काम गर्न सकिन्छ र इष्टमित्रका लागि पनि काम गर्नुपर्यो ।’
ठुला हतियार बनाउने बेला गाउँमा भएका जवानहरुले सहयोग गर्ने उनले सुनाए । आरनमा बसेर फलामका भाँडामा धार लगाउन नयाँ पुस्ताले जाँगर गदैनन् । सिपको हस्तान्त्रण पनि नभएकाले बुढ्यौलीमा पनि कस्सिनु परेको उनको गुनासो थियो । स–साना हतियार भने सिपको सहारामा उमानाथ एक्लैले बनाउँछन् । पहिले पहिले उमानाथको गाउँमा आरन व्यवसाय नै गरेर गर्जो टार्नेहरु धेरै थिए । पछिल्लो पुस्ता भने अन्य व्यवसायमा समेत लागेकाले गाउँमा आरन कम छन् । ‘सुन पनि बनाउँथे, कान छेड्थेँ अहिले आँखा बसे देख्दिन, आरको काम भने गर्छु’ उमानाथले उत्साहित हुँदै भने ।
‘हाम्रा पाला पढाई लेखाई थिएन, बाउ बाजेले जे जाने त्यहि गरियो’ उनले भने ‘अहिले पनि खाली बस्न मन लाग्दैन् ।’ अहिले हतियारमा धार लगाउँदा धेरैले पैसा दिन्छन् । केही पुराना चिनेजानेकाबाट खाद्यान्न लिने गरेको उमानाथले सु्नाए । परिवारका सदस्यहरुले उनलाई आरन धाउन छोड्नु भन्ने गरेका छन् । हँसिया बनाउँदा प्रतिगोटा ३०, कोदाली प्रतिगोटा ५० र बञ्चरो प्रतिगोटा १ सय रुपैयाँ पारीश्रमिक लिएर उमानाथले हतियारमा धार लगाउँछन् ।
प्रतिक्रिया दिनुहोस्