काठमाडौं १३ भदौ
गिरीराज कुखुरा अण्डा र मासु दुबै उत्पादनका लागि पालिने र खास गरी छाडा छोडेर र अर्ध छाडा छोडी पालिने विशेष किसिमको कुखुरा हो । यो कुखुरा अरु भन्दा रोगहरुसँग लड्न सक्ने र गाउघरमा पाईने घाँस, सागपात र अन्य खेर गएको दाना खाएर पनि राम्रो उत्पादन दिन सक्ने कुखुरा हो । यसका दुई महिनाको तौल करीव १ किलो र ५ महिनामा लगभग ३ किलो ३ सय ग्राम सम्म हुन्छ । यसले एक वर्षमा १८० वटा सम्म अण्डा पार्दछ, एक वर्षमा सरदर ४ किलो सम्म हुन्छ ।
मानव उपभोगका लागि अनुपयुक्त तथा भान्छामा खेर गएका विभिन्न खाद्य पदार्थहरुको प्रयोग गरी गिरीराज कुखुराबाट राम्रो उत्पादन लिन सकिन्छ । उपभोक्ताहरुले यो कुखुराको मासु र अण्डा अन्य यस्तै जात भन्दा बढी वा स्थानिय जस्तै मन पराउने भएकाले पनि यसले राम्रो बजार पाउने निश्चित छ । यसका अलावा यो जातको कुखुरालाई उन्नत जातको घाँसहरु जस्तै बर्सिम र कम्फे तथा स्थानिय स्तरमा उपलब्ध हुने अन्य भूई तथा डाले घाँसहरु खुवाएर पनि पाल्न सकिन्छ । विद्युत आपूर्ति नभएको ठाँउमा स्थानिय उपलब्ध हुने सामग्री प्रयोग गरेर न्यानो पार्ने ब्रूडिङग बाकस समेत तयार पार्न सकिन्छ ।
फार्म स्थापना र पालन प्रबिधि
यो कुखुरालाई अर्ध छाडा छोडी पाल्ने किसिमले हुने घर टहरा बनाउनु पर्दछ । बस्ती र शहरबाट तुलनात्मक रुपमा टाढा भएपनि यातायातको सुविधा र बजारको व्यवस्था भएको ठाउँको छनौट गरीनु पर्दछ । गिरीराजा कुखुरा स्थानिय स्तरमा पाईने दाना, घाँस, जाँडको कट र घरमा फ्याकिएको अन्न आदि खुबाई सस्तो किसिमबाट उत्पादन लिन सकिने जात भएकोले यसलाई त्यसै अनुकूलको प्रविधिबाट व्यवस्थापन गर्नु पर्दछ ।
खोरको सन्दर्भमा सफा गर्न सजिलो हावाको सञ्चार राम्ररी हुने र स्थानिय स्तरमा उपलब्ध हुन सक्ने सामग्रीको अधिकतम प्रयोग गर्न सकिने खालको बनाउन जरुरी हुन्छ । किसानहरुको यस्तै खालको मागलाई सम्बोधन गर्न बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रमद्धारा ७ वटा कुखुरा पाल्न सकिने स्थानिय स्तरमा पाईने सामग्रीहरु प्रयोग गरेर ५ह्३ह्४।५ घन फिटको खोर निर्माणको प्रविधि विकास गरेको छ ।
त्यस्तै स्थानिय स्तरमा पाइने घाँस, जांडको कट र अन्य अन्नपात प्रयोग गरेर पाल्न सकिने प्रविधिको पनि विकास गरिएको छ । त्यसैले गिरीराजा संबन्धी सम्पूर्ण उत्पादन प्याकेज तथा व्यवस्थापन, आहारा, प्रजनन र स्वास्थ्य आदिको प्रयोग वैज्ञानिक ढङ्गबाट गर्ने ज्ञान प्राप्त गरी गिरीराजा कुखुरा पालन गरेमा मनग्गे आम्दानी गर्न सकिन्छ ।
बंगुर तथा कुखुरा अनुसन्धान कार्यक्रम, खुमलटार
नेपाल कृषि अनुसन्धान परिषद्
प्रतिक्रिया दिनुहोस्