काठमाडौ,२१ पुस । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा रातो र तल्लो सदन प्रतिनिधिसभा हल नीलो रङको बन्ने भएका छन् । संघीयताको अभ्यास गरिरहेका विभिन्न देशको संसद्मा माथिल्लो सदनमा रातो र तल्लो सदनमा हरियो रङ प्रयोग भएको पाइन्छ । नेपालको संघीय झल्को र शान्तिको प्रतीकस्वरूप नीलो र राष्ट्रिय झन्डामा प्रयोग हुने रातो रङ भएकाले यस्तो अभ्यास गरिएको संसद् सचिवालय प्रवक्ता डा. भरतराज गौतमले बताएका छन् ।
५९ सदस्यीय राष्ट्रिय सभा हल २२० सिट क्षमताको हुनेछ । सांसदका लागि ८० वटा रातो रङको कुर्सी राखिनेछ । २७५ सदस्यीय प्रतिनिधिसभा हलमा भने नीलो रङका ३४४ वटा सिट रहनेछन् ।
निर्वाचनपछिको पहिलो अधिवेशनलगायतमा राष्ट्रिय सभा र प्रतिनिधिसभाको संयुक्त बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थाका कारण ३४४ सिट क्षमताको हल बनाउन लागिएको संसद् सचिवालयका गौतमले जानकारी दिएक छन् । दर्शक तथा पत्रकारलाई भने छुट्टै सिटको व्यवस्था गरिएको छ ।
कसरी भएको छ त सिट व्यवस्थापन ?
संघीय संसद्को उपल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभा नयाँ बानेश्वरस्थित यसअघि व्यवस्थापिका–संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको नुप्से हलमा बस्नेछ । जहाँ अहिले ड्यास तथा मञ्च निर्माण भइरहेको छ । संविधानसभा बसेको हलमा प्रतिनिधिसभा बस्नेछ ।
६०१ सदस्य अट्ने क्षमताको हलको सिट संख्या घटाउने तथा प्रतिनिधिसभा हल तयार पार्ने काम अघि बढेको छ । सचिवालयका अनुसार पुस मसान्तसम्म प्रतिनिधिसभा हल तयार हुनेछ । राष्ट्रिय सभा हलको कुर्सी, माइक, अध्यक्षको ड्यास पूरै नयाँ व्यवस्थापन गर्नुपर्ने भएकाले माघको दोस्रो सातामा हल तयार हुने सचिवालयले जनाएको छ ।
कति खर्च लाग्दै छ सभा हल तयार गर्न ?
प्रतिनिधिसभा हल पुनर्संरचना गर्न र राष्ट्रिय सभा हल तयार गर्न झन्डै तीन करोड ५० लाख रुपैयाँ लाग्ने संसद् सचिवालयको अनुमान छ । सचिवालयले संसद् हल तयार गर्न अर्थ मन्त्रालयसँग रकम माग गरेको थियो । तर, अर्थले बजेट नभएको जनाउँदै आफ्नै खर्चबाट पुनर्संरचना गर्न सचिवालयलाई भनेको हो ।
चालू आर्थिक वर्षको बाँकी खर्चले नपुगे सचिवालयका लागि थप रकम निकासा गर्ने अर्थ मन्त्रालयको भनाइ छ । सचिवालयले आफ्नै खर्चमा संघीय संसद् भवनको काम अघि बढाइरहेको छ ।
भाडामा समेत प्रयोग गरिने छ हल
सरकारले संसद्को आफ्नै भवन निर्माण गर्न ठोस योजना नबनाएपछि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संविधानसभा भवनलाई संघीय संसद् बनाउन लागेको हो । वार्षिक १० करोड ५७ लाख १० हजार रुपैयाँ भाडा तिर्ने गरी संसद् सचिवालयले थप ६ वर्षका लागि भवन भाडामा लिएको छ ।
सम्मेलन केन्द्र र सचिवालयबीच भएको सम्झौताअनुसार दुई वर्षमा १० प्रतिशतका दरले भाडा बढ्नेछ । पहिलो संविधानसभा निर्वाचनपछि वार्षिक पाँच करोड ६३ लाख ३२ हजार भाडा तिर्नुपर्ने सम्झौता भए पनि प्रत्येक दुई वर्षमा १० प्रतिशतका दरले भाडा वृद्धि हुँदै आएको हो ।
३१ ओट कार्यालय अब बाट पाँचमात्र हुने
प्रतिनिधिसभा निर्वाचनबाट पाँचवटा राजनीतिक दलले मात्रै राष्ट्रिय दलको मान्यता प्राप्त गरेपछि सिंहदरबारमा संसदीय दलको कार्यालय व्यवस्थापनको काम अघि बढेको छ । यसअघि ३० वटा राजनीतिक दल र स्वतन्त्र सांसद गरी ३१ वटा कार्यालय रहेकोमा त्यसलाई घटाएर पाँचमा झार्ने काम भइरहेको छ ।
साना राजनीतिक दलको कार्यालय रहेको टहरामा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीको संसदीय दलको कार्यालय राख्ने गरी प्रक्रिया अघि बढेको छ । यसअघि यी दुई दलको कार्यालय संसद् सचिवालयको भवन नम्बर २ मा थियो । सचिवालयले यसअघि रहेका साना दलहरूको बोर्ड हटाइसकेको छ ।
दलका कर्मचारी सचिवालयमा कसरी ब्यवस्थापन हुदै छ त ?
यसअघि ३१ वटा दलको संसदीय दलको कार्यालयमा रहेको कर्मचारी हाल सचिवालयमै कार्यरत छन् । सचिवालयले ठूला राजनीतिक दलको कार्यालयमा यसअघि एकजना अधिकृतस्तरको कर्मचारीसहित कम्प्युटर अपरेटर, कार्यालय सहयोगीसहित पाँचजनासम्म खटाएको थियो ।
साना दलहरूमा भने एकजना अधिकृतस्तरको कर्मचारी र एकजना कार्यालय सहयोगी दिँदै आएको थियो । संघीय संसद्को अधिवेशन आह्वान भएलगत्तै राष्ट्रिय सभा र प्रतिनिधिसभाका लागि हाल सचिवालयमा भएकै कर्मचारीलाई बाँडफाँड गरिने सहसचिव दुराले बताए ।
किन परिर्वतन हुदै छ सचिवालयको नाम ?
संविधान जारीसँगै संविधानसभा व्यवस्थापिका–संसद्मा रूपान्तरित भयो । बानेश्वरस्थित ‘संविधानसभा भवन’लाई ‘व्यवस्थापिका–संसद्’ नाम दिइयो । हाल सचिवालयले सो बोर्ड हटाएर ‘संघीय संसद्’को बोर्ड राख्ने तयारी गरेको छ । सिंहदरबारस्थित व्यवस्थापिका–संसद् सचिवालयको नाम परिवर्तन गरेर संघीय संसद् सचिवालय बनाइसकिएको छ ।
प्रतिक्रिया दिनुहोस्