काठमाडाै, २२ फागुन । कवि तथा लेखक रुपक अलंकारको महाकाव्य नविनतम् ’विश्रान्त’ सार्वजनिक भएको छ । फुटकर कविता र निबन्ध लेख्ने अंलकारले पहिलो कृतिका रूपमा महाकाव्य ल्याएका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत प्रसाद उपाध्याय, समालोचक प्रा. डा रामप्रसाद ज्ञवाली, समालोचक तथा लेखक महेश पौड्याल र लेखक शैलेन्द्र अधिकारीले कृतिको सार्वजनिक गरेका हुन् । सदस्य सचिव उपाध्यायले नेपालका राजनीतिक नेतृत्वमा देखिएको व्यक्तिवादको चरित्रलाई कृतिले प्रश्न मात्र गरेको छैन, काव्यिक तरिकाले झापड हानेको बताए । कला कृतिको कोटिमा यो महाकाव्य अब्बल रहेको उनले बताए । त्यसैगरी समालोचक प्रा.डा. रामप्रसाद ज्ञवालीले महाकाव्यले नेपालको पछिल्लो २५ वर्षमा भएको राजनीतिक परिवर्तनमा एक व्यक्तिले गरेको संघर्षलाई वृहत् रुपमा प्रस्तुत गरेको बताए । उनले महाकाव्यमाथि समीक्षात्मक टिप्पणी गर्दै भने, ‘विश्रान्त’ महाकाव्यको काव्यिक र ध्वान्यात्मक हिसाबले पनि उत्कृष्ट रहेको छ । डा. ज्ञवालीले महाकाव्यको विषयवस्तुबारे मुख्य पात्रले भोगेको जीवनचरित्र अहिलेको राजनीतिक नेतृत्वको प्रतिविम्ब रहेको प्रकाश पारे । उनले अगाडि भने, ‘समाजले साहित्यलाई अनुत्पादक ठाने पनि यस कृतिले नेपाली समाजले भोगेको राजनीतिक संघर्षमा एक व्यक्तिको राजनितिक आरोह–अवरोहमार्फत समाजको चित्रण गरेको छ । उनले अहिले लेखकहरू साहित्य र समाजका लागि नभई आफूलाई स्थापित गर्न लागि परिरहेको गम्भीर आरोप लगाए । यसैबिच अलंकारले ल्याएको उक्त कृतिले समाजले नै फरक सिराबाट सोच्न बाध्य बनाउने ठोकुवा गरे ।
यस्तै, समालोचक महेश पौड्यालले सुदूर गाउँबाट अवसरका लागि काठमाडौँ आएको एक पात्रले गर्ने क्रान्ति र त्यो क्रान्तिको मिलन बिन्दुमा पुग्दा के प्राप्त गर्छ भन्ने प्रश्न कृतिले उठाएको बताए । नयाँ समाजको परिकल्पनामा क्रान्तिमा होमिएको एक व्यक्ति क्रान्ति असफल हुँदा अक्सर उसमा नैराश्य पैदा भई कि साधु बन्ने कि आत्महत्या गर्ने भन्दै यस कृतिमा मुख्य पात्र साधु रहेको प्रष्ट्याए । समग्रममा भन्दा यस कृति साधुले सुनाएको वृतान्त नै महाकाव्यको मुख्यविन्दु हो, पौड्यालले भने । पछिल्लो समयमा आएका महाकाव्यभन्दा यस महाकाव्यमा फरकपन रहेको उनले बताए । यस महाकाव्यमा परम्परागत शैलीलाई पनि छोडेको छैन भने नयाँ प्रयोग पनि गरेको छु । पौड्यालले भने, ‘यस्तो भन्दै गर्दा कृति त्रृटिरहित भने छैन । कृतिले प्रश्न मात्र गरेको छ । जवाफको खोजी भने गरेको छैन । अर्का लेखक तथा समालोचक शैलेन्द्र अधिकारीले विश्रान्त महाकाव्यले वर्तमान नेपाली राजनीतिको विसङ्गत पक्षलाई उजागर गरेको कुरा व्यक्त गरे । राजनीतिक परिवर्तनल भए पनि जनताको आकांक्षा भने पूरा हुन नसकेको विषय महाव्यको विषय बनेर आएको कुरा पनि उनले बताए । उनले महाकाव्यको महत्व साहित्यमा व्यापक रहे पनि यसलाई पढ्ने पाठकको कमी किन भइरहेको भन्ने खोजी गर्नेपर्ने धारणा व्यक्त गरे । नेपालका विश्वविद्यालयमा एकाध महाकाव्यको मात्र पढाई हुन्छ । जसले गर्दा हामीले महाकाव्यको महत्वलाई बढोत्तरी गर्न सकेका छैनौं, अधिकारीले भने, ‘महाकाव्य पढ्ने पाठकको वृद्धि गर्न यस कृति सफल हुनेमा म विश्वस्त छु ।’
प्रतिक्रिया दिनुहोस्