रात परेपछि
समयको आकाशबाट एउटा सूर्य अस्ताउँछ
र, हजारौँ असूर्यहरु उदाउँछन् ।
फूलका तरेलीहरुमा उदास गीतको
अन्तिम हरफ सुनिन्छ
बूढो पीपलको पुरानो हाँगोमा थाकेका चराहरु
झगडा गरी बस्छन्
बगी जाने पानी
उडी जाने बतास
वा, बिर्सी जाने सपनाहरु
रङ उडेको जीवनजस्तो फुस्रो देखिन्छन्
रात परेपछि अप्राप्तिको प्राप्ति पर्खेर बाँचेका
लाखौँ सलहहरु ताराझैँ झिलमिलाउँछन् ।
पसिनाको गन्ध अनायास अमिलो हुन्छ
परिश्रमको थुँगा धमिलो धमिलो हुन्छ
रात परेपछि बटुवाहरु निदाउँछन् र, बाटोले एकालाप गर्छ
विवेकहरु निदाउँछन् र, अहमले साइरन फुक्छ
दया, करुणा, सद्भाव र हार्दिकता
निस्लोट हुन्छन् र, क्रन्दनको बाँसुरीले पहाड भत्काउँछ
ओठ हाँस्छ तर मुस्कान देखिन्न
पाइलाले विश्राम लिन्छ तर शान्तिको धुन गुन्जिँदैन
सयौँ सिरानीहरुमा जून चुहिन्छ र, गालाहरुमा टाटा बस्छन्
सयौँ भाँडाहरुमा अभाव बज्दछ र, आन्द्राहरु नृत्यमग्न हुन्छन्
सयौँ परदेशीहरुको आँखामा आइपुग्छन्– आमा र गाउँ
अनि, परेलीको डिल हुँदै आत्महत्या गर्छन्
भीरमा फुलेको सुनाखरी अँध्यारो देखिन्छ र, अँध्यारोमा ढुङ्गा हान्छन्
लामा हातहरुले .
रात परेपछि कुनै पसलहरुमा पनि खसीबोकाहरुको किनबेच हुँदैन ।
माटोमा कोरेको भविष्यको योजनाचित्रलाई
पैयूँको पातबाट तप्पतप्प खसेको शीतका थोपाहरुले
भिजाएर बिगारिदिन्छ
औषधि किन्न सहर पसेका निरमायाहरु
मधुशालामा नीलो यौवन धरौटी राख्न बाध्य हुन्छन्
औषधि पसलहरु बिरामी भइसक्छन्
कमिजको देब्रे गोजीमा भाग्य बोकेर हिँडेकाहरु
आफ्नै आँखाको खहरेमा चिप्लन्छन्
रात परेपछि दिउँसोका सुकिला दरबारिया
आश्वासनहरु पारिजातको फूलझैँ निमेषमै झर्छन् र, बिलाई जान्छन् मधुरो गर्तमा ।
तिमी वर्षौँदेखि रातको चर्तिकला हेर्दै आइरहेछौ
म वर्षौँदेखि मौन छु अचेल, मेरो देशमा रात परेको छ ।
प्रतिक्रिया दिनुहोस्