सायद पुष्पलाल र हामीबीच गलतफहमी थियो । हाम्रो मतभेद वा फुटले नेपालको कम्युनिस्ट आन्दोलनलाई व्यापक नोक्सानी भयो ।
कामरेड पुष्पलाल श्रेष्ठको मूल्याङ्कनको प्रश्न नेपालकै कम्युनिस्ट आन्दोलनको एक जटिल र गम्भीर प्रकारको विवादास्पद प्रश्न हो । पुष्पलालसित हाम्रा कैयौं सैद्धान्तिक प्रश्नमा मतभेद भएका थिए । त्यसक्रममा हाम्रो पार्टीमा विभाजन पनि भयो । त्यस प्रकारको स्थितिको अन्त्यः परिस्थितिजन्य थियो वा केही हदसम्म हामीबीचका गलतफहमी र हाम्रो कार्यप्रणालीमा भएका कतिपय कमजोरीका कारण पनि त्यस्तो भएको थियो रु
पुष्पलाल र हाम्राबीच भएको त्यस प्रकारको मतभेद वा फुटले नेपालको कम्युनिस्ट आन्दोलनलाई धेरै नै नोक्सान पुग्यो । यदि पुष्पलालसित पनि पार्टी एकता गर्ने केन्द्रीय न्युक्लसको प्रयत्न सफल हुन सकेको भए नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासले बेग्लै दिशा र रूप लिने थियो । जे होस्, अब ती सबै इतिहासको मूल्याङ्कनका विषय भइसकेका छन् र त्यसबारे नयाँ–नयाँ कोणबाट आगामी दिनमा मूल्याङ्कन हुँदै जानेछ ।
पुष्पलालसित मेरो सर्वप्रथम भेट २०११ सालमा जनकपुरमा अखिल नेपाल राष्ट्रिय किसान सम्मेलनका बेला भएको थियो । म प्यूठानबाट किसान संघको प्रतिनिधि थिएँ र त्यस सम्मेलनबाट केन्द्रीय समिति सदस्य चुनिएँ । पुलिसले छापा मारेकाले सम्मेलन विधिवत सम्पन्न हुन सकेन ।
त्यसपछि उहाँसँग अर्को भेट त्यही साल काठमाडौंमा सम्पन्न केन्द्रीय पार्टी प्रशिक्षणमा भएको थियो । त्यही प्रशिक्षणमा का। निर्मल लामासित पनि मेरो पहिलो भेट भएको थियो । पुष्पलालले हामीलाई प्रशिक्षण दिनुभएको थियो । त्यसपछि पनि उहाँसित मेरो पटकपटक भेट हुने गरेको थियो । खासगरी उहाँसित मेरो बढी सम्बन्ध ०१४ साल जेठमा काठमाडौंमा सम्पन्न द्वितीय महाधिवेशनपछि नै भयो ।
द्वितीय महाधिवेशन कसरी सम्पन्न भयो रु त्यसमा के–के विवाद देखा परे रु त्यो एउटा बेग्लै विस्तृत चर्चाको विषय हो । मेरो किताब ‘द्वितीय महादिवेशनदेखि दरभंगा प्लेनमसम्म’ मा मैले त्यसबारे विस्तृत चर्चा गरेको छु । त्यो महाधिवेशनमा म पनि केन्द्रीय समितिमा निर्वाचित भएको थिएँ । महाधिवेशनपछि केन्द्रीय समितिमा डा। केशरजंग रायमाझीको राजावादी लाइनविरुद्ध अल्पमतले कडा संघर्ष गर्नुपरेको थियो । हाम्रो संघर्ष खासगरि २ वटा विषयसँग सम्बन्धित थियो । प्रथम, महाधिवेशद्वारा पारित पुष्पलालको गणतन्त्रसम्बन्धी लाइन । दोस्रो, संविधानसभाको नारा । रायमाझीले महाधिवेशनबाट पारित ती दुवै नारा छाडेकाले अल्पमतले उनीविरुद्ध लगातार संघर्ष गर्नुपरेको थियो । संघर्षक्रममै पुष्पलालसित मेरो पार्टीको इतिहासमा सबैभन्दा बढी घनिष्ठ सम्बन्ध कायम भयो ।
०१७ साल पुसको शाहीकाण्डपछि दरभंगामा हाम्रो पार्टीको प्लेनम भएको थियो । देशको तत्कालीन राजनीतिक स्थितिमा कुन प्रकारको नारा दिने, त्यसबारे उहाँसित हाम्रो गम्भीर मतभेद भयो । हामीले त्यस बेलासम्म अपनाउँदै आएको संविधानसभाको नारा छाडेर विघटित संसद् पुनःस्थापनाको नारा दिनुपर्ने प्रस्ताव पुष्पलालले ल्याउनुभयो । तर, हामीले संविधानसभाको नारालाई लगातार अघि बढाउनेमा जोड दियौं । त्यो बेला संविधानसभाको नाराका पक्षमा केन्द्रीय समितिमा म एक जना मात्रै थिएँ । तैपनि प्लेनमले अत्यधिक बहुमतले संविधानसभाको नारालाई स्वीकार गर्यो ।
महाधिवेशनमा त्यो मतभेद भए पनि पछि रायमाझीले दरबारसित साँठगाँठ गर्न थालेको थाहा भएपछि पुष्पलाल, तुल्सीलालसहित हामीले पार्टीमा विद्रोह गरेर तेस्रो महाधिवेशनको तयारीमा लाग्यौं । तर, तेस्रो महाधिवेशनको सिलसिलामा प्यूठानबाट फर्केर भारततिर प्रवेश गर्ने बेला हामीहरू ३ जना (का. शक्ति लम्साल, का. खिमानसिङ गुरुङ र म) कपिलवस्तुमा गिरफ्तार भयौं । त्यसैले म तेस्रो महाधिवेशनमा उपस्थित हुन सकिनँ ।
द्वितीय महाधिवेशनपछि पार्टीमा मतभेद हुनुका २ कारण थिए स् प्रथम, महाधिवेशनले पुष्पलालको गणतन्त्रको लाइन पारित गरेको भए पनि महामन्त्रीमा वैधानिक राजतन्त्रका पक्षका डा। केशरजंग रायमाझी निर्वाचित भए । द्वितीय, रायमाझीले जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार महाधिवेशनले पारित गरेका निर्णयलाई कार्यान्वयन गर्ने प्रयत्न गरेनन् र त्यसरी सुरुदेखि नै अनुशासनको उल्लंघन गर्ने काम गरे । त्यही कारण केन्द्रीय कमिटी र पूरै पार्टीमा अन्तरसंघर्ष तीव्र भएर गयो र तेस्रो महाधिवेशनले रायमाझी पक्षलाई पार्टीबाट निष्कासित गर्ने निर्णय गर्नुपरेको थियो । त्यसरी पार्टीको इतिहासमा पहिलोपल्ट फुट भयो ।
जस्तो कि माथि उल्लेख गरियो, द्वितीय महाधिवेशनद्वारा चुनिएको केन्द्रीय समितिमा गणतन्त्रका साथै संविधानसभा सम्बन्धी विवाद अत्यन्त तीव्र रूपमा देखापरेका थिए । तर, त्यो विवाद द्वितीय महाधिवेशनसम्म मात्र सिमित रहेन । देशको राजनीतिमा ती विवादहरू लगातार अघि बढ्दै गए । राजाले सुरुदेखि नै संविधानसभाविरुद्ध षड्यन्त्र गर्न थाले र अन्य राजनीतिक पार्टीहरू पनि संविधानसभाविरुद्ध देखापर्दै गए । टंकप्रसाद आचार्य, डा। केआई सिंह र पछि बीपी कोइरालाले पनि संविधानसभाको नारा छाडे । संविधानसभाविरुद्ध राजाको षड्यन्त्रबाट हाम्रो पार्टी पनि अछुतो रहेन । रायमाझीले पार्टीमा संविधानसभाको नारा छाड्ने प्रस्ताव ल्याए । तर, हाम्रो पार्टीले लगातर संविधानसभाका पक्षमा अडान लिइराख्यो । २०४६ पछि पनि अन्य सबै पार्टीले संविधानसभाको नारालाई त्यागे । तर, हाम्रो पार्टीले त्यससम्बन्धी अडान कायम राख्यो र अन्त्यमा संविधानसभाद्वारा २०७२ मा संविधान निर्माण भयो । संविधानसभाको प्रथम बैठकद्वारा गणतन्त्र स्थापना भयो, तर राजावादीहरू अहिले पनि गणतन्त्रविरुद्ध अभियान चलाइरहेका छन् । त्यस अवस्थामा गणतन्त्रसहित आन्दोलनका ऐतिहासिक उपलब्धिको रक्षाका लागि संघर्ष गर्नु र त्यसका लागि व्यापक ऐक्यबद्धता कायम गर्नु अहिलेको राष्ट्रिय आवश्यकता बन्न गएको छ । त्यसरी नेपालको राजनीतिमा संविधानसभा र गणतन्त्र दुवै नै लामो अन्तरसंघर्षका विषय रहेका छन् ।
२०१७ मा देशमा कट्टर हिन्दुवादी संगठनहरूले बीपी नेतृत्वको सरकार र संसदीय प्रणालीलाई समाप्त पार्ने अभियान चलाउन थालेका थिए । त्यसमा कुन प्रकारको नीति अपनाउने ?त्यसबारे पनि केन्द्रीय समितिमा तीव्र मतभेद भयो ।
अल्पमतको सोचाइ संसदीय प्रणालीविरुद्ध देखापरेको त्यस प्रकारको आन्दोलनविरुद्धको संघर्षमा जोड दिनु रहेको थियो । त्यसका लागि केन्द्रीय कमिटीमा म प्रस्तावक र पुष्पलाल समर्थक भएको एउटा प्रस्ताव राखिएको थियो । तर, त्यो प्रस्तावलाई बहुमतले ‘रिजेक्ट’ गरेको थियो । त्यो प्रस्तावविरुद्ध रायमाझीले प्रयोग गरेको शब्द त्यही थियो । त्यो बेला कमलराज रेग्मीले सोध्नुभएको थियो, ‘के त्यसको अर्थ बीपीको सरकार बर्खास्त हुनुपर्छ भन्ने हो रु’ डा। रायमाझीले बिनाहिचकिचाहट जवाफ दिएका थिए, ‘हो ।’
त्यस सिलसिलामा उनले यो पनि भनेका थिए, ‘यो सरकार गएमा हामीलाई के नोक्सान छ रु हामीले जनक्रान्ति गर्नुपर्छ ।’ २०१७ साल पुस १ गते राजाले सत्ता आफ्नो हातमा लिए । रायमाझीको ‘जनक्रान्ति’ आत्मसमर्पणका रूपमा टुंगियो ।
(मैले आफ्नो पुस्तक ‘द्वितीय महाधिवेशनदेखि दरभंगा प्लेनमसम्म’ मा माथिको प्रसंगलाई सिलसिलेवार चर्चा गरेको छु ।)
दरभंगा प्लेनम चलिरहेकै बेला हामीले के थाहा पायौं भने रायमाझीले त्यसबेला पनि गोप्य रूपले दरबारियासित साँठगाँठ गरिरहेका थिए । दरभंगामै गोप्य रूपले उनको दामोदरशमसेरसित भेट हुने गर्थ्यो । त्यो थाहा पाएपछि का। निर्मल लामासहितका साथीसित सल्लाह गरेर मैले प्लेनममै रायमाझीलाई कारबाही गर्नुपर्छ भन्ने प्रस्ताव राखेँ । त्यो प्रस्तावपछि पार्टी फुट्न थाल्यो भनेर तुल्सीलाल, जसले प्लेनमको अध्यक्षता गरिरहनुभएको थियो, मञ्चमै डाँको छोडेर रुनुभयो । त्यसपछि रायमाझीविरुद्ध मैले राखेको प्रस्तावमाथि कुनै विचार गरिएन । तैपनि केन्द्रीय कमिटीले रायमाझीलाई महामन्त्रीबाट हटाएर उनी, कमर शाह र डीबी अधिकारीसहितको सचिवालय बनाउने निर्णय गरेको थियो । दरभंगा प्लेनमपछि उनी काठमाडौंमा गिरफ्तार भए र , महिनामै छुटे । त्यो बेला उनी दरबारसित मिलेको कुरा पनि थाहा भयो । त्यसपछि पुष्पलाल, तुल्सीलाल, शम्भुराम, भरतमोहन र मसमेतले रायमाझी नेतृत्वविरुद्ध विद्रोह गर्ने सल्लाह गर्यौँ र त्यसका लागि तेस्रो महाधिवशेनको तयारीमा लाग्यौं । दरभंगा प्लेनममा संविधानको प्रश्नमा पुष्पलाल र मबीच मतभेद देखापरेको भए पनि राजावादी भड्कावविरुद्ध संघर्षमा हामीले मिलेर जाने समझदारी बनाएका थियौं । यो आम रूपमा थाहा भएकै विषय हो । तेस्रो महाधिवेशनले रायमाझी पक्षलाई पार्टीबाट निष्कासित गर्ने ऐतिहासिक कार्य सम्पन्न गर्यो, तर तेस्रो महाधिवेशन पछि पार्टी कैयौं टुक्राहरूमा विभाजित भयो ।
जेलबाट छुटेपछि हामीले मार्क्सवाद, लेनिनवाद–माओत्सेतुङ विचारधाराका आधारमा एकीकृत पार्टी निर्माणको पहलकदमी सुरु गर्यौं । २०२८ साल मंसिर २० गते नरदेवीको एउटा घरमा त्यसको केन्द्रीय न्युक्लसको गठन भयो । तुल्सीलालले सोभियत संशोधनवादी लाइन, अर्थात् राष्ट्रिय प्रजातन्त्रको लाइन लिएको हुनाले हामीले उहाँसित एकता कायम गर्ने प्रयत्न गरेनौं, तर पुष्पलालसित एकता कायम गर्नुपर्छ भन्ने न्युक्लसका सबै साथीहरूको सहमति थियो । त्यसका लागि उहाँसित कुरा गर्न केन्द्रीय न्युक्लसका तर्फबाट पहिले फर्मेसगन्जमा का। शम्भुराम र पछि बनारसमा का। मनमोहन अधिकारी जानुभयो । पुष्पलालले २०२५ सालमा गोरखपुरमा एउटा सम्मेलन गरेर केन्द्रीय संगठन समितिको गठन गर्नुभएको थियो । उहाँले तेस्रो महाधिवेशनपछि फुटेर छरिएका तुल्सीलालबाहेक सबै साथी उहाँ नेतृत्वको केन्द्रीय संगठन समितिअन्तर्गत नै संगठित हुनुपर्छ भन्नेमा जोड दिनुभयो । तर, न्युक्लसका साथीहरू त्यो संगठन समितिअन्तर्गत संगठित हुन तयार हुनुभएन । त्यसरी उहाँसितको हाम्रो पार्टी एकता सम्भव भएन । र, नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासले एउटा बेग्लै मोड लियो ।
पुष्पलालसित सम्बन्धित बढी चर्चामा आएको एउटा अर्को विवादबारे पनि केही भन्नैपर्छ । त्यो प्रश्न हो, उहाँमाथिको मेरो किताब ‘गद्दार पुष्पलाल’ सम्बन्धी विवाद । पछि हाम्रो पार्टीको एउटा सम्मेलनले पुष्पलाललाई ‘गद्दार’ घोषित गर्ने निर्णयलाई गलत बताएर फिर्ता लिएको थियो । त्यस पुस्तकको द्वितीय संस्करण ‘क्रान्ति वा भ्रान्ति’ शीर्षकमा प्रकाशित भएको थियो । तैपनि यो प्रस्ट हुनुपर्ने आवश्यक छ : पुष्पलालसम्बन्धी त्यस प्रकारको आक्षेप किन लगाइएको थियो र पछि के आधारमा त्यसलाई सच्याइएको थियो ?
२०२६ सालमा हाम्रो पार्टीका करिब १५ जना राजबन्दी काठमाडौंको भद्रगोल जेलमा सँगै थियौं । त्यो बेला हाम्रो पार्टी कैयौं टुक्रामा बाँडिएको थियो । पार्टीको त्यस स्थितिबारे छलफल गर्न जेलभित्रै करिब १ महिनासम्म हाम्रो बैठक बसेको थियो । बैठकमा उपस्थित साथीहरूमा का। निर्मल लामा, का। भक्तबहादुर, का। कमल कोइराला, का। सिन्धुनाथ प्याकुरेल, का। गोविन्द ढुंगाना, म र भक्तपुरका केही साथीहरू थियौं । त्यो बैठकले पार्टीलाई एकीकृत गर्नेबारे ३ वटा प्रस्ताव तयार पारेको थियो, जो यसप्रकार थिए स् १। माओत्सेतुङ विचारधाराबारे २। जनक्रान्ति र संयुक्त मोर्चाबारे र ३। कोअर्डिनेसनबारे । तेस्रो दस्तावेजको उद्देश्य त्यो बेला टुटफुट भएको पार्टीलाई एकीकृत गर्नु थियो ।
त्यो बैठकले नेपाली कांग्रेसबारे नयाँ प्रकारले विश्लेषण गरेको थियो । त्यस बेलासम्म हाम्रो पार्टीले नेकालाई राष्ट्रिय पुँजीपति वर्गको पार्टी, जनतान्त्रिक र मित्रशक्ति भनेर विश्लेषण गरेको थियो । त्यसको अर्थ त्यसलाई नयाँ जनवादी क्रान्तिको पनि मित्रशक्ति मान्नु हुन्थ्यो । भद्रगोल जेलमा बसेको बैठकले नेकालाई नयाँ प्रकारले विश्लेषण गरेको थियो र त्यसको वर्गचरित्र राजाको जस्तै भएको निष्कर्ष निकालेको थियो । त्यसको अर्थ हुन्थ्यो नेकालाई पनि सामन्त, दलाल र नोकरशाही पुँजीपति वर्गको पार्टी घोषित गर्नु । तर, त्यससम्बन्धी पुष्पलालको दृष्टिकोण पुरानै थियो । त्यसपछि हाम्रो सोचाइ के भयो भने दुश्मन शक्तिलाई मित्रशक्ति बताएकाले पुष्पलाललाई पनि गद्दार भन्नुपर्छ । पछि हाम्रो पार्टीको एउटा सम्मेलनले पुष्पलालको नेकासम्बन्धी सोचाइसित हाम्रो मतभेद भए पनि कम्युनिस्ट आन्दोलनको स्थापनादेखि कम्युनिस्ट पार्टीमै जीवनभरको सक्रियता तथा निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाविरुद्ध जीवनको अन्त्यसम्म उहाँको सम्झौताहीन संघर्षमाथि विचार गरेर उहाँमाथिको ‘गद्दार’ आरोपलाई गलत ठहर्यायो । र, त्यसलाई फिर्ता लिने निर्णय गर्यो । उहाँलाई गद्दार भन्नु हाम्रो गल्ती थियो ।
यस सन्दर्भमा तात्कालीन मालेले पुष्पलालमाथि लगाएको ‘गद्दार’ आरोपबारे पनि केही चर्चा गर्नु सायद अप्रासंगिक हुनेछैन । तात्कालिक मालेका तर्फबाट प्रकाशित ‘वर्गसंघर्ष’ पत्रिकामा पुष्पलाल, मनमोहन अधिकारी र मलाई दर्जनौंपल्ट गद्दार भनी आरोप लगाइएको छ । मालेले हामी तीनै जना वा पुष्पलालमाथि लगाएका त्यस प्रकारका आरोपबारे कहिल्यै आत्मालोचना गर्ने वा खण्डन गर्ने काम गरेको छैन । तर, मालेले लगाउने गरेका त्यस प्रकारका आरोपबारे कुनै प्रश्न उठाउने वा टीकाटिप्पणी गर्ने गरिँदैन । त्यसरी मैले एउटा पुस्तकको शीर्षकमा ‘गद्दार’ लेखेको विषयलाई हाम्रो पार्टीले औपचारिक रूपमै सच्याइसकेपछि पनि बारम्बार त्यसबारे हल्ला गर्ने गरिन्थ्यो । तर, मालेका तर्फबाट दर्जनौंपल्ट लगाइएको त्यस प्रकारका आरोपबारे कहिल्यै कुनै चर्चा गरिँदैन ।
पुष्पलालसित हाम्रो कैयौं मतभेद भएपनि वा संगठनात्मक रूपले उहाँसित हाम्रो फुट भएपनि यो विषय स्वीकार गर्नैपर्छ, नेपालको कम्युनिस्ट आन्दोलनमा उहाँको महत्त्वपूर्ण र एतिहासिक योग्दान छ । उहाँले कम्युनिस्ट पार्टीको स्थापना गर्नुभयो र कम्युनिस्ट घोषणापत्रको अनुवाद गरी प्रकाशित गर्नुभयो । त्यो घोषणापत्रको भूमिकामा उहाँले त्यसबेलाको नेपालको राजनीतिक स्थितिको महत्त्वपूर्ण विश्लेषण गर्नुभएको छ । आफ्नो जीवनकालमा उहाँले कैयौं जनआन्दोलन र किसान आन्दोलनको नेतृत्व गर्नुभएको थियो । निरंकुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाविरुद्ध उहाँले लगातार जीवनको अन्त्यसम्मै संघर्ष गरिरहनुभयो । त्यसैले नेपालको कम्युनिस्ट र प्रजातान्त्रिक आन्दोलनमा उहाँको महत्त्वपूर्ण योग्दान भएको हामीले स्विकार्नुर्पर्छ ।
प्रतिक्रिया दिनुहोस्