साउन १५ । चीन भ्रमणका क्रममा सन् १९७२ मा मैले एउटा होर्डिङ बोर्ड देखेको थिएँ, जसमा संगीन बोकेका एक सैनिकको तस्बिर थियो। सँगै बोर्डमा यी शब्द लेखिएका थिए– ‘हामीले ताइवान पुनर्प्राप्ति गर्नै पर्छ१’ अमेरिकामा जब ताइवानसम्बन्धी विषय उठान हुन्छ, म त्यही बोर्ड सम्झिने गर्छु। खासगरी कुनै उग्र नीति निर्माता वा विश्लेषकले अमेरिका चीनलाई तर्साएर ताइवान एकीकरणको उदेश्यबाट विचलित तुल्याउन सक्षम छ भन्ने सुझाउँदा।
यस्तो सोच अहिले पनि पर्याप्त मात्रामा पाउन सकिन्छ। किनकि चीनले ताइवानलाई जबर्जस्ती कब्जा गर्ने प्रयास गर्छ कि भन्ने त्रास युक्रेन संकटले ब्युँताइदिएको छ। त्यसका साथै अमेरिकामा चीनप्रति हालसम्मकै बढी नकारात्मक धारणा छ। यी दुई कारणले अमेरिकी संसदका सदस्यहरुलाई अझ मुखर रुपमा ताइवानको समर्थनमा उत्रिन प्रेरित गरिरहेको छ। भलै, यसले बेइजिङलाई जस्तोसुकै प्रतिक्रियाका लागि किन नउक्साओस्।
साँच्चै नै आजकल बेइजिङको आलोचना कमाउन सक्नु भनेको केही हदसम्म धक्कु लगाउने अधिकार प्राप्त गर्नुसरह भएको छ। अर्कोतिर, ताइवानलाई समर्थन दिनु भनेको राजनीतिकर्मीहरुका लागि आफूलाई चीनप्रति आक्रामक व्यक्तिका रुपमा चिनाउने सबैभन्दा सजिलो तरिका बनेको छ। गत अप्रिलमा डेमोक्र्याट पार्टीका बब मेनेन्डेज र रिपब्लिकन पार्टीका लिन्ड्सी ग्राहमले सिनेटरहरुको दुई दलीय समूहको नेतृत्व गर्दै ताइवान भ्रमण गरे। चिनियाँ सरकारी सञ्चारमाध्यमले ग्राहमलाई ‘विदुषक’को संज्ञा दियो। जसलाई ग्राहमले ‘उच्च प्रशंसा’ भनेर व्याख्या गरे।
यसले हामीलाई अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको अर्को महिना हुने भनिएको भ्रमणमा ल्याइपुर्याउँछ। चीनले पछिल्ला वर्षहरुमा अन्य अमेरिकी सांसदहरुको ताइवान भ्रमणको तुलनामा पेलोसीको भ्रमणको कडा प्रतिक्रिया दिने संकेत गरेको छ।
किनभने उनी १९९७ यता ताइवान भ्रमण गर्ने पहिलो अमेरिकी प्रतिनिधि सभाको सभामुख बन्नेछिन्। सभामुख सदनको शीर्षस्थ सदस्य हो। त्यस्तै, सभामुख राष्ट्रपतिका उत्तराधिकारीहरुको सूचीमा दोस्रो स्थानमा रहन्छ। त्यसमाथि पेलोसी बेइजिङको आँखामा काँडा बनेकी छन्।
मैले लाइब्रेरी अफ कंग्रेसका लागि करिब पाँच दशक काम गरेँ। जहाँ मैले नीति निर्माताहरुलाई चीनसम्बन्धी विषयमा सुसूचित गर्न सघाएँ। मलाई सम्झना छ, त्यतिबेला पेलोसीको अफिसमा तियानमेन चोकमा भएको प्रदर्शनको बेला ट्यांकहरुको अगाडि निडरतापूर्वक उभिएको व्यक्तिको तस्बिर झुण्डिएको हुन्थ्यो।
पेलोसीले त्यही संकटमा आफ्नो करिअर निर्माण गरिन्। त्यसअघि तुलनात्मक रुपमा अपरिचित क्यालिफोर्नियाकी सांसद रहेकी पेलोसी तियानमेन दमनपछि अमेरिकामा अध्ययनरत चिनियाँ युवाहरुको हिमायती भएर उदाइन् र ह्वाइट हाउसलाई ती विद्यार्थीहरुको भिसाको म्याद थप्न आह्वान गरिन्।
पेलोसीको प्रस्तावित ताइवान भ्रमणले एकपछि अर्को प्रतिक्रिया जन्माएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले गत हप्ता पेलोसी ताइवान जानु हुँदैन भन्न मात्र सकेनन्। उनले पत्रकारहरुलाई भने, ‘सेनाले यो गतिलो सोच होइन भन्ने ठानेको छ।’ पेलोसीले बाइडेनको चासोप्रति अनविज्ञता प्रकट गरिन् र पत्रकारहरुलाई भनिन्, ‘सायद सेना हाम्रो विमानलाई चिनियाँहरुले खसालिदिन्छन् भनेर डराएको होला।’
चीनले त्यस्तो अतिवादी कदम चाल्ने सम्भावना छैन। तर, चिनियाँ विदेश मन्त्रालयले यसको कडा जवाफ दिने चेतावनी दिएको छ। र, पेलोसीले यसको जोखिमबारे आफूलाई जानकारी नभएको बहाना बनाउन पनि सक्ने छैनन्। किनभने उनलाई जोइन्ट चिफ अफ स्टाफ जर्नेल मार्क मिलीसहित सैन्य र गुप्तचर अधिकारीहरुले उनको ताइवान भ्रमणसँग सम्बन्धित आआफ्नो चासोबारे ब्रिफिङ गरिसकेका छन्।
तैपनि, यो विषयमा अमेरिकामा लगभग हरेक विश्लेषकको टिप्पणी उस्तै रहँदै आएको छ– पेलोसी ताइवान जानैपर्छ। उनले बाइडेनलाई देखाउनै पर्छ कि संसदले ह्वाइट हाउसबाट बिल्कुल अलग आफ्नै विदेश नीतिको शक्ति देखाउनुपर्छ। र, बेइजिङका हुल्याहाहरुसामु पछि हटेको कसैगरी देखाउनु हुँदैन।
हो, पेलोसीले ताइवान र सो क्षेत्रका अमेरिकी सहयोगीहरुसँग गरिएको प्रतिबद्धताप्रतिको समर्थनलाई निरन्तरता दिनैपर्छ। तर, उल्लिखित यी कुनै पनि तर्क ताइवान जलसन्धिमा तनाव चर्किने जोखिम मोल्न पुग्नेगरी सशक्त छैनन्। सत्य के हो भने पेलोसीको प्रस्तावित ताइवान भ्रमण अनावश्यक रुपले उत्तेजक छ।
अमेरिकी संसदको आफ्नो स्वतन्त्र विदेश नीति छ। सोहीकारण १९७९ मा ताइवान रिलेसन्स एक्ट अस्तित्वमा आयो। राष्ट्रपति जिम्मी कार्टरले ताइपेइसँग सम्बन्ध तोडेर बेइजिङसँग सम्बन्ध सामान्य बनाउने निर्णय गरेपछि संसदमा भएको उनको आलोचनालगत्तै सो कानुन आएको थियो।
अमेरिकी सरकारका तीन हाँगाहरुबीच नियन्त्रण र सन्तुलन कायम गर्न संसदले यो शक्तिको उपयोग गर्न जरुरी छ। तर, अहिलेको परिस्थिति त्यसका लागि उपयुक्त बिल्कुल होइन।
ह्वाइट हाउस र संसद् दुवैले ताइवानप्रतिको आआफ्नो प्रतिबद्धता व्यक्त गरिसकेका छन्। युक्रेन द्वन्द्वका कारण ताइवानको हैसियतबारे डर पैदा भएपछि बाइडेनले मार्चमा सरकारी अधिकारीहरुको एउटा प्रतिनिधिमण्डल ताइवान पठाए।
बाइडेनले तीन पटक दोहोर्याइसकेका छन्, मुख्यभूमि चीनले आक्रमण गरेको खण्डमा अमेरिका ताइवानको बचाउमा उत्रिनेछ। बाइडेन प्रशासनले चार पटक ताइवानलाई हतियार बिक्रीको अनुमति पनि दिइसकेको छ। र, ताइवानसँग व्यापारसम्बन्धी वार्ता सुरु गर्ने घोषणा पनि गरिसकेको छ।
हो, सो क्षेत्रका अमेरिकाका सहयोगी र साझेदारहरु ताइवानलाई समर्थन गर्छन् र आफ्नो सुरक्षाका लागि अमेरिकासँग भर पनि पर्छन्। तर, सो क्षेत्रमा तनाव बढाउँदा उनीहरुलाई कुनै फाइदा हुँदैन। यो त्यस्तै खतरनाक तर्क हो, जसले अमेरिकालाई भियतनाम र अफगानिस्तानको दलदलमा फसाएको थियो। हामी हाम्रा सहयोगीहरुका लागि लड्न तयार छौँ भनेर देखाउनकै लागि हामीले चीनलाई उक्साउन जरुरी छैन।
अन्तिममा, म त्यो संगीनसहितको होर्डिङ बोर्डमा फर्किन चाहन्छु। अमेरिकी संसदका सदस्यहरुलाई सुन्न जतिसुकै कठिन भए पनि सत्य के हो भने अमेरिकाले जेसुकै गरे पनि बेइजिङको पुनर्एकीकरणको आकांक्षालाई रोक्न सक्दैन। चिनियाँहरुका लागि यो अत्यन्त भावनात्मक कुरा हो। र, यो कम्युनिस्ट पार्टीको कथ्यमा जरा गाडेको कुरा हो।
मुख्यभूमि चीनको राष्ट्रवादी शिक्षाले चिनियाँहरुको अनेकौँ यस्तो पुस्तालाई हुर्काएको छ, जो पुनर्एकीकरणभन्दा मुनिको कुरा स्वीकार्न तयार छैनन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ र पार्टीले आफ्नो वैधतालाई ताइवानको एकीकरणसँग दाउमा लगाएका छन्। र, चाहेर पनि उनीहरु यसबाट पछि फर्किन सक्दैनन्।
त्यसैले ताइवानको भविष्य पेलोसीको भ्रमणमा निर्भर छ भनेर चित्रित गर्नु खतरनाक छ। पेलोसी ताइवान गइनन् भने यथास्थितिमा त्यसले कुनै प्रभाव पार्ने छैन। र, यदि उनी गइन् भने यसले अमेरिका–चीन प्रतिरोधलाई अझ बढाउनेछ। र, बाइडेन र सी तथा तिनका अधिकारीहरुबीचको कूटनीतिमा थप रोकावट पैदा गर्नेछ। त्यस्तो कूटनीति जतिसुकै अपर्याप्त किन नहोस्, त्यो विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धमा स्थिरता सुनिश्चित गर्न अत्यन्त महत्वपूर्ण छ।
(साउथ चाइना मर्निङ पोस्टबाट। लाइब्रेरी अफ कंग्रेसको चिनियाँ सेक्सनका पूर्वप्रमुख ची वाङ यूएस–चाइना पोलिसी फाउन्डेसनका अध्यक्ष हुन्)
प्रतिक्रिया दिनुहोस्