मौनता
म शून्यतामा खसेको तारा
भुईं कुहिरोले निलेको चाँदनी
जब तिमी खोजिरहेको हुन्छौ प्रभातमा शिशू
घाम
म तिम्रो मन पढेर मौनतामै मुस्काईदिन्छु मुसुक्क ।
तिम्रा एक जोडी आँखाले जब पढ्छन् मलाई
बुझ्छन या बुझ्दैनन भाषा ?
सुटुक्क हेर्छ्न मलाई
तिमीलाई अभाव हुन्छ मेरो
तिमीलाई अनिकाल लाग्छ मेरा यादहरूको
तिमीलाई खडेरी लाग्छ मेरो शितल प्रेमको
अनि
तिमी
घरिघरि यताउति गर्दै खोजिरहन्छौ हराएको
पूर्णिमाको चाँदनी
पर्खालहरू उभिन्छन् विचविचमा भयानक
तिमी डराउँछौ, अत्तालिन्छौ पर्खालसित ।
पर्खाल नफोडी कहाँ भेट्छौ तिमी चाँदनी ?
म मिठो काउकुती जगाउँदै बाँचेकी छु
चञ्चल-चञ्चल छ मेरो मन
हावाको वेगले चङ्गा बनाएको छ
बेस्सरी उडदैछ माथी माथी
आँधीबेहोरी लिएर बाँचिरहेछु जीवन
घरी ठूलो भूँमरी चल्छ र फस्छु म भूमरीभित्र
बगिरहेको छ प्रदुषित हावा
कहिलेकाँही दुख्छु-
कतै यो हावाले भेण्टिलेटरमा पुर्याउने त
हैन ?
अपनाउँदा अपनाउँदै सावधानी
मृत घोषित हुन नपरोस् कोही !
मलाई आफ्नै काँढाले घोच्छ, दुख्छ
चसक्क
यो दुखाई कति प्रीय !
आफ्नै व्यथामा जल्छु, यो जलन कति
शितल !
म परबाट शून्यतामै चियाउँछु
तिमीलाई आँखा तरेझैं गर्छु
तिम्रो मौन प्रेमलाई मौन स्वीकृति दिन्छु
बन्द ओठको भाषा झनै बुझ्न सजिलो
हुँदोरहेछ
म मौनतामै पढिदिन्छु प्रेमको भाषा
मेरो लागि तिमी प्रेमको परिभाषा
मौन बन्छ हाम्रो प्रेम
मौनतामै चलिरहन्छ यो प्रेम
जब मौनता खुल्छ र पोखिन्छ
त्यतिबेलै हुन्छ शायद प्रेमको मृत्यु !
म लेख्न खोजिरहेछु यौटा मौन प्रेम
मौनतामै सिद्धियोस् यौटा जिवन्त प्रेम !
प्रतिक्रिया दिनुहोस्