काठमाडौं, १० भदौ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले बिहीबार पार्टी पुनर्गठन दिवस मनाएको छ । हालका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले २०७८ साल भदौ ९ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो । तात्कालीन नेकपाको ओली सरकारले दुइ–दुर्ई पटक प्रतिनिधिसभा संसद विघटनपछि उत्पन्न जटिल परिस्थितीमा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँत्यायो ।
तत्पश्चात्, एमालेबाट छुटेका माधव नेपाल र झलनाथ खनाल लगायतका वरिष्ठ नेताहरुको नेतृत्वमा नयाँ दल एकीकृत समाजवादी गठन भएको थियो । तात्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पहिलो पटक २०७७ पुष ५ र २०७८ जेठ ७ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधिसभा संसद विघटन गरे । दोस्रो पटकको संसद विघटनपछि भने तात्कालीन प्रमुख विपक्षी दल नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पनि उभिए ।
एमाले विभाजनको प्रष्ट तर अनौपचारिक श्रृङ्खलाको पृष्ठभूमि यस्तै थियो । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युझाएपछि एमाले विभाजन रोक्न दोस्रो तथा तेस्रो तहका नेताहरुको पहल निकै रह्यो । ओली र नेपालबीच पटक–पटक वान टु वान भेटवार्ता भयो । तर, व्यक्तिगत कटुतताले भरिपूर्ण ओली र नेपाल एउटै पार्टीमा सँगै बस्न सक्ने अवस्था रहेन र अन्ततः यसले पार्टी फुटको रुप लियो । एकीकृत समाजवादीले भदौ ९ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पायो । समाजवादीले ओलीको प्रतिगमनलाई परास्त गर्दै संविधान र लोकतन्त्रलाई ट्रयाक्मा ल्याउन पार्टीको भूमिका महत्वपूर्ण रहेको भन्दै बिहीबार पुनगर्ठन दिवस मनायो ।
समाजवाद ल्याउने मुख्य उद्देश्यसहित पार्टी गठनको एक वर्षमा उल्लेख्यरुपमा संगठन निर्माण एवम् विस्तार भएको सो पार्टीका नेताहरुको दाबी छ । समाजवादीले गएको स्थानीय निर्वाचनमा पहिलो पटक सहभागी बन्यो । पाँच दलको गठबन्धनबाट निर्वाचनमा सहभागी भएको समाजवादीले चित्त बुझ्दो स्थान भने हासिल गरेन । यद्दपि, मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सम्मुखमा बृहत्तर वाम एकताको पहल गर्ने निर्णय समाजवादीले गरेको छ । निर्वाचनपछि सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रसँग पार्टी एकता संयोजन समिति गठन गरेर अघि बढ्ने योजनामा एकीकृत समाजवादी छ । नयाँ दलको हैसियतमा गठबन्धनभित्रै छुट्टै संघर्ष गर्नुपरेको समाजवादीले एमालेलाई पराजय गर्न सफल भएपनि सत्तामा अलग शक्ति निर्माण गर्न असफल भएको टिकाटिप्पणी हुने गरेको छ । सरकार गठनका क्रममा मन्त्री हेरफेर बारेमा भएको अपरिपक्व निर्णयले समाजवादीको आन्तरिक जीवनमा समेत धेरथोर असर पा¥यो । यद्दपि, एमाले दक्षिणपन्थी भासमा फसेको र यो भन्दा फरक कम्युनिष्ट विचार धारलाई बोकेर अगाडि बढ्ने समाजवादीका नेताहरुले बताउने गरेका छन् ।
एकीकृत समाजवादीले माओवादी केन्द्रसँगै, डा. बाबुराम भट्टराई र वामदेव गौतमसँग बृहत्तर वाम एकताको पहल गने बताएको हो । पूर्व माओवादी नेता भट्टराई, नयाँ शक्ति र जनता समाजवादी हुँदै अहिले फेरी नयाँ दल नेपाल समाजवादी पार्टीको अध्यक्ष बनेका छन् । पूर्व एमाले नेता वामदेव गौतमले नेकपा एकता राष्ट्रिय अभियान नामको नयाँ पार्टी चुनावका लागि निर्वाचन आयोगमा दर्ता गराएका छन् । गौतमले माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडाबाट निर्वाचन लड्ने कसरतमा छन् ।
माओवादी केन्द्रभित्रै यस विषयमा औपचारिक छलफल भएको छ । एकीकृत समाजवादीले पार्टी पुनर्गठनको दिवस मनाइरहँदा देशमा एमालेबाहेकका वाम शक्तिहरुबीच एकताको चहलपहल बढेको हो । तत् समय ओलीपछि सरकारको नेतृत्व नेपाली कांग्रेसको हातमा गयो । त्यस परिघटनालाई नियालेर वाम शक्तिहरु विभाजनको फलस्वरुप सत्ता कांग्रेसको हातमा गएको टिप्पणी आज पनि हुने गरेको छ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सो सरकारले एमाले विभाजनका लागि दल र संसदमा २० प्रतिशत भए पुग्ने राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याए । जसले एकीकृत समाजवादी पार्टी गठन गर्न ऐतिहासिक बल पुग्यो । तात्कालीन समयमा ओलीविरुद्ध रहेका दलहरुसँगै एकीकृत समाजवादी आगामी निर्वाचनसम्म सँगै जादैछ । यद्दपि, सत्ता गठबन्धनभित्र सो दल निर्णायक एवम् मुख्य भूमिका देखिँदैन । यद्दपि, एमाले गत स्थानीय निर्वाचनमा देशको सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्न सफल भयो । पार्टी गठन भएको वर्ष दिनको सेरोफेरोमा एकीकृत समाजवादी पार्टीको शत्तिः निर्माण गर्दै बृहत्तर वाम एकताको निष्कर्षमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्