काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले समाजवादी ध्रुवीकरणको बहानामभा आफैंले रातो स्टिकर टांसेको माओवादी पार्टी दौरासुरुवाल वाला बालुवाटारबाससी बनेको उही पुरानो घरमा सर्ने तयारी गरेका छन् ।
आइतबार र समोबार बसेको भट्टराईको दलको राजनीतिक समितिको बैठकमा राजनीतिक प्रतिवदन पेश गर्दै भट्टराईले समाजवादी ध्रुवीकरणका लागि विभिन्न पार्टी तथा समूहसँग सहकार्य र एकताको पहल गर्नपर्ने बताएका छन् । उनले एकता तथा ध्रुवीकरणबारे निर्णय गर्ने अधिकार पार्टीको केन्दीय कार्यसमितिलाई दिने प्रस्ताव समेत गरेका छन् ।
भट्टराईले २०७२ असोज ९ गते माओवादी पार्टी ‘रातो स्टिकर’ (बस्न आयोग्य) भएको घर भन्दै सो पार्टी नै परित्याग गरेका थिए । तर अहिले त्यही ‘रातो स्टिकर’ भएको घर यतिबेला दौरासुरुवालवाला बालुटारेमा परिवर्तन भएको छ । जुन कुरामा भट्टाईको समेत विशेष रुची छ। उनी त्यहीं फर्किन हतारिएका छन् ।
२०७२ असोजमा माओवादी छाडेका बाबुराम भट्टराईले २०७३ जेठ ३० गते नयाँ शक्ति पार्टी घोषणा गरेका थिए । तर उनले सो पार्टी एक वर्ष पनि चलाउन सकेनन् र २०७४ वैशाखमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरण गरेका थिए ।
उपेन्द्र यादवसँग एकीकरण गर्दा ‘एउटा पसल थापिहालौँ, थोत्रो माल बेचिहालौँ’ भनेर पार्टी एकीकरण गरिएको होइन भनेका बाबुरामले २०७९ असारमा सोही पार्टीलाई ‘क्षेत्रीयतावादी’ आरोप लगाउँदै पार्टीबाट अलग भए । पाँच वर्षपछि उपेन्द्र यादवको साथ छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका उनले त्यो पार्टी गठन गरेसँगै माओवादीसँग एकता गर्ने पहल सुरु गरिसकेका थिए ।
आक्रामक प्रचार प्रसार गरी नयाँ शक्ति घोषणा गर्दा त्यतिबेला एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका थिए, ‘नयाँ शक्तिले एमालेबाहेक अरु सबै दललाई धक्का दिनसक्छ ।’ तर ओलीको टिप्पणी गलत साबित भयो । नयाँ शक्ति जुन तामझामका साथ गठन भएको थियो, त्यसरी नै विस्तारै सेलाउँदै गएको थियो ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टीबाट बाबुराम आफूमात्र विजयी भए । सो पार्टीबाट स्थानीय तहमा ११०, प्रदेशसभामा ३ जना उम्मेदवार विजयी भएका थिए । त्यसपछि फोरमसँग मिलेर समाजवादी पार्टी बनाएका बाबुरामले तत्कालीन राजपासँग एकीकरण गरेर जनता समाजवादी पार्टी बनाएका थिए ।
महन्थ ठाकुरहरु निस्केको केही समयपछि बाबुराम भट्टराई पनि अलग भएर आफ्नो अध्यक्षतामा नेपाल समाजवादी पार्टी बनाए ।
माओवादीमै हुँदादेखि नै बाबुरामलाई साथ दिँदै आएका प्रभु साह, महेन्द्र पासवान, वामदेव क्षेत्रीलगायतका थुप्रै नेताले बाबुरामको साथ छाडिसकेका छन् । नयाँ शक्ति बनाउन उनलाई साथ दिएका मुमाराम खनाल एक वर्ष नबित्दै सो पार्टी छाडेर हिँडेका थिए । वाम बुद्धिजीवीको रूपमा चिनिएका मुमाराम खनालले पनि बाबुराम भट्टराईलाई आफ्नो आदर्श मान्ने गर्थे । उनले नयाँ शक्ति छाड्ने बेला भनेका थिए, ‘हामीले १७९ वटा दलको बीचमा एउटा थपेर १८० औँ बनाउन खोजेका होइनौँ । तर, नयाँ शक्ति पार्टीको विकास क्रमले एउटा नयाँ थपिएर १८० औँ बन्नु बाहेक अर्को सम्भावना देखिएन ।’
नयाँ शक्ति बनेको एक वर्षपछि सो पार्टीका सहसंयोजक महेश कर्मोचाले पनि पार्टी छाडे । उनी सो पार्टी छाडेर तत्कालै विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए । उनले पनि त्यतिबेला नयाँ शक्ति एउटा पार्टी होइन, एनजीओ जस्तो भएको आरोप लगाएका थिए ।
यसरी नयाँ शक्ति छाड्नेको बाढी आएपछि बाबुराम भट्टराईले आफ्नो साख जोगाउनका लागि उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका थिए । त्यो एकीकरणमा पनि निकै झमेला भएको थियो ।
२०७४ वैशाख ८ मा पार्टी एकताका लागि बाबुराम, उपेन्द्र यादव, अशोक राईसहित तीन सदस्यीय एकता संयोजन समिति बनाइएको थियो । त्यो समितिले दुई वर्षसम्म प्रयास ग¥यो तर एकता सफल भइरहेको थिएन । २०७६ वैशाख २३ गते बल्ल दुई पार्टीबीच एकीकरणको घोषणा भएको थियो ।
अहिले गठन भएको नेपाल समाजवादी पार्टीबाट थुप्रै नेता बाहिरिन थालेपछि माओवादीको साथ बाबुरामले खोजेका हुन् ।
नेपाल समाजवादी पार्टीमा मधेसबाट महिन्द्रराय यादवले साथ दिएका छन् । बाबुराम आफू चुनाव नलडेर आफ्नो क्षेत्रबाट माओवादीका अध्यक्ष प्रचण्डलाई सघाएका थिए । त्यसको बदलामा उनले आफ्नी छोरी मानुषी यमी भट्टराईलाई काठमाडौँको क्षेत्र नम्बर ७ बाट चुनाव लडाएका थिए तर उनी पराजित भइन् ।
बाबुराम भट्टराईका लागि त्यो पनि एउटा प्रयोग नै थियो । बाबुराम भट्टराईले राजनीतिमा विभिन्न प्रयोग गरे पनि आजसम्म सफल भएका छैनन् ।
२०३९ मा कम्युनिस्ट पार्टी सदस्यता लिएर मोहनविक्रम सिंह नेतृत्वको चौममा सक्रिय भएका बाबुराम २०४८ मा मसालबाट विद्रोह गरेर नेकपा ९एकता केन्द्र०सँग एकता गरेका थिए । २०५१ देखि नेकपा माओवादीमा आएका बाबुराम २०५२ देखि जनयुद्धमा लागेका थिए । २०६५ मा माओवादीको उपाध्यक्ष भएका बाबुराम भट्टराई २०६८ मा प्रधानमन्त्री बनेका थिए । २०७२ असोजमा माओवादी र सांसद् पद त्यागेर २०७३ जेठ ३० मा नयाँ शक्ति पार्टी गठन गरेका उनले पछि फोरमसँग एकता गरे । पाँच वर्षपछि उनले सो पार्टी छाडेर आफ्नै नेतृत्वमा पार्टी गठन गरेका छन् । र अहिले सो पार्टीलाई माओवादी केन्द्रमा मिसाउन थालेका छन् । यी सबै घटनाक्रमलाई बाबुरामले एउटा प्रयोगको रुपमा लिएका छन् ।
नेपाली विशेषताको नयाँ समुन्नत समाजवादको मोडल विकास गर्नुपर्ने बताउंदै आएका छन् । भट्टराईको प्रतिवेदन यस्तो छ ।
प्रतिक्रिया दिनुहोस्