एबीसी टिप्पणी । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदमा रहेका सबै पार्टीले विश्वासको मत दिएका छन् । प्रचण्ड नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।
सबै राष्ट्रिय पार्टीले समर्थन गरेपछि प्रधानमन्त्री प्रचण्ड नेपालको संसदीय इतिहासमा सवैभन्दा लोकप्रिय नेताका रुपमा समेत दर्ज भएका छन् । कांग्रेसले समेत विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्ड ससदमा बलियो भएका छन् । तर उनको पार्टीको आकार भने विरश्वसासको मतमा अभूतपूर्व सफलताले त्यो आकार बढिहाल्दैन । तर नेपालको इतिहासमा सशस्त्र क्रान्तिको नेतृत्व गर्ने, यथास्थितिवादी करार गरेको शक्तिसँग शान्ति सम्झौता गर्ने, संविधान सभाको निर्वाचन सम्पन्न गराउने र देशलाई गणतान्त्रिक संघीय व्यवस्थामा बदल्ने श्रेयको मुख्य भागिदार प्रचण्ड नै हुन् । नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिंदैमा संसद प्रतिपक्षविहीन भएको मान्न मिल्दैन । नेकाले विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने बताइसकेको छ । प्रधानमन्त्रीलाई एउटा सुविधा के भएको छ भने सरकारलाई समर्थन गरेको कुनै दलले समर्थन फिर्ता लिएं भन्ने वित्तिकै सरकार नधरमराउने भएको छ । कथंकदाचित माओवादी र एमालेबीच खटपट भएर एमाले सरकारबाट बाहिर गएमा स्वतः कांग्रेसको समर्थन सरकारलाई रहनेछ । अन्य साना दलको समर्थन र विरोधको अव त्यति धेरै फरक नपर्ने भएको छ । जसले गर्दा प्रधानमन्त्रीले पूर्व घोषणा अनुससार काम गर्न प्रचण्डलाई केही सहज भएको छ । शायद त्यही भएर पनि होला प्रधानमन्त्री प्रचण्डले आफू हरेक पटक संसदमा रिपोर्ट कार्ड सहित उपस्थित हुने घोषणा गरेका छन् । त्यो घोषणाको सम्मान हुनै पर्दछ । किन्तु परन्तुबाट केही समय पछि पन्छिने पुरानै शासन शैलीबाट मुक्त हुनु पर्दछ ।
‘कांग्रेसले विश्वासको मत दिने निर्णय गरेपछि सरकारका नीति तथा कार्यक्रमलाई पनि समर्थन गरेको अर्थ लगाउन सकिन्छ ।संसदीय अभ्यासमा बलियो प्रतिपक्ष हुनुपर्छ भन्ने मान्यता भए पनि कांग्रेसले समर्थन गरेपछि सरकारलाई लगाम लगाउने दल नै नहुने भयो भन्ने तर्कको केही अर्थ छैन । ‘अब सरकारले जस्तोसुकै नीति तथा कार्यक्रम ल्याए पनि हुने भयो भन्ने जस्तो भाष्य भनेको प्रचण्डप्रतिको अभूतपूर्व समर्थनले जलन भएको काठमाडौंको सम्भ्रान्त वर्ग र त्यही वर्गबाट पालित पोषित तप्काको तितो पोखाई मात्र हो ।
‘कांग्रेसले समर्थन गर्दा पनि नगर्दा पनि प्रधानमन्त्रीसँग बहुमत छ र रहन्छ भन्ने कुरा कांग्रेसलाई थाहा नभएर समर्थन गरेको पक्कै पनि होइन । कांग्रेसले चुनाव लगत्तै प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन नगरेर गरेको बेइमानीलाई सच्याएको छ । तर उतिबेला कांग्रेसको समर्थनबाट प्रचण्ड प्रधानमन्त्री भएको भए अहिले एमालेले सत्तारुढ भएर पाएको राजनीतिक लाभ पाउने थियो । अहिले बाध्यात्मक जस्तो बनेको समर्थन बाट कांग्रेसले तत्काल केही लाभ लिन नसके पनि त्रिशंकु संसदमा चल्ने अनेक दाउपेचमा प्रचण्डसंगको सहकार्यको ढोका अवश्य नै खुला हुन पुगेको छ ।
राष्ट्रिय सहमतिको सरकार बनाएर प्रचण्डलाई मुलुकको विकास र समृद्धिको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । नेपाली राजनीतिमा शान्ति प्रक्रियाको शुरुदेखि राष्ट्रिय सहमतिको सरकार भनिए पनि कहिल्यै कार्यान्वयन भएन । तर यसपटक नकारात्मक रुपले नै भएपनि प्रचण्ड नेतृत्वको सरकार सर्वसम्मतिको सरकार बनेको छ । यो काठमाडौंको सम्भ्रान्त वर्गलाई असैह्य कुरा हो । कांग्रेसले दाउपेचको राजनीति खेल्न विश्वासको मत दिएको भन्दै विश्लेष हुन नपाउँदै सत्तँ साझेदार दल एमाले अध्यक्ष केपी शर्मा ओलीले गम्भीर आशंका गरेका छन् । संयुक्त सरकारमा हावी रहने ओलीको सोचाईलाई कांग्रेसले समेत समर्थन गरेपछि केही कमि अवश्य नै हुन पुगेको मान्न सकिन्छ । संसदको बैठकको पहिलो दिनमा नै सत्ता साझेदार दलको साझा नीति कार्यक्रममा हावी जस्ता देखिएका ओलीलाई उतिबेलै प्रधानमन्त्री प्रचण्डले आफू कसैको दबावका सामु निरिह वा नतमस्तक नहुने र प्रधानमन्त्रीको अधिकारलाई संविधानले नै स्पष्ट गरेको बताएका थिए । प्रचण्डको यो स्टेस्टमेन्टलाई कांग्रेसको मतले थप बल दिएको मान्न सकिन्छ ।
ओलीको गम्भीर आशंका
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रचण्ड सरकारलाई समर्थन गरेर बेइमानीको अखेटो थापेको आरोप लगाएका छन् ।ओली ले भने नेका र राप्रपा अहिले समान हैसियतमा सरकारका सहयोगी बनेका छन् । कांग्रेसको समर्थन सदाशयताबाहेक अरू उद्देश्यले भएको हो भने त्यो सफल हुँदैन भन्दै ओलीले आशंका व्यक्त गरे ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत माग्दै ओलीले अब संसदमा प्रतिपक्ष नै नरहेको बताए । उनले राप्रपाले पनि सरकारलाई समर्थन गरेको तर सरकारमा सहभागी नभएको उदाहरण दिँदै कांग्रेस पनि सोही हैसियतमा आएको बताए ।
ओलीले कांग्रेसले जाल थाप्न खोजेको हो भने जालमा माछा नपर्ने चेतावनी समेत दिए ।ओलीले भने ‘यो समर्थन जाल र ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने जाल हो भने भन्न चाहन्छु माछा नभएको खोलामा फालेजस्तै हुन्छ । यसभित्र भोलिका निम्ति अरू खालका कुरा सोचिएको छ भने भने ढोक्सा रित्तै हुन्छ । त्यस खोल्सीबाट ढोक्सा थापेतिर कुनै माछा बग्ने छैन ।’
ओलीले अब संसदमा विपक्षी नरहेको भन्दै सरकारका गलत कामको विरोध त सरकारमै सहभागी दलका सांसदहरूले पनि गर्ने बताएर ओलीले आफैप्रति अरु बढी सशंकित वातावरण बनाउन पुगेका छन् ।
प्रचण्ड र ओलीको मनोदशा, उनीहरु दुई बीचको जुँगाको लडाईंका कारण वाम आन्दोलनमा भएको अपुरणीय क्षतिको अवस्थामा भएको वाम गठबन्धन ओलीको शव्दमा ‘परमानेन्ट एरेन्जमेन्ट’ मा बदलिने प्रशस्त सम्भावना छ । यही उद्धेश्य पूरा हुन नदिने अस्त्रका रुपमा समेत कांग्रेसले विश्वासको मत दिएको हो भन्ने प्रचण्ड र ओलीले थोरै पनि कम आंक्न मिल्दैन । ओलीले भनेजस्तै प्रचण्डको सरकारले विश्वासको मत पाउंदा नपाउँदै नेपालका ‘राजनीतिक पार्टीका पर्खाल भत्काएर कम्पाउण्डभित्र छिरेर सरकार फेरफार गर्न खेजेको’ भन्ने अभिव्यत्ति सही हो भने सवैभन्दा बढी होशियार ओली नै बन्नु पर्दछ ।
अहिले नेपालको सबैभन्दा ठूलो वाम दलको अध्यक्ष र सत्ता गठबन्धनको मुख्य दलका हिसाबले ओलीको कांधमा नेपालको वाम आन्दोलनलाई एकीकृत गर्नु पर्ने दायित्व छ ।
चित्रबहादुर केसीले व्यंग्य गर्दै भने – संसदीय व्यवस्थामा प्रतिपक्ष हुन्छ, मैले जानेको संसदीय व्यवस्था त त्यस्तो हो, नेपालमा त आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने, यहाँभन्दा हाइसञ्चो सत्तापक्षमा बस्नलाई के हुन्छ ?
भाग्यमानी प्रचण्ड !
अध्यक्ष केसीले संसदमा शक्तिशाली प्रतिपक्ष भएन भने सरकार निरंकुश हुने पनि बताए । कांग्रेसले दिएको समर्थनभित्र कुनै अदृश्य खेल हुन सक्ने पनि ओलीले जस्तै केसीले पनि आशंका गरेका छन् ।अनेक अन्तरविरोध र विवादका बीच पनि प्रचण्ड यस्ता भाग्यमानी नेता बन्न पुगेका छन् कि अनेक शक्ति र शक्ति केन्द्रले उनलाई अवमूल्यन गर्न खोज्छन्, उनी झन बढी शक्तिशाली भएर उदाउँछन् । समकालीन नेताहरु मध्ये जनतालाई अपिल गर्न सक्ने, जनताको भावनालाई छोएर बोल्न र प्रस्तुत हुन सक्ने सवैभन्दा गतिशील नेता प्रचण्ड नै हुन् । शान्ति प्रक्रियादेखि अहिलेसम्म प्रचण्ड सहज र सरल भएकोमा आलोचना भएको छ । तर उनले कसैलाई व्यंग्य गरेको वा हेपेको भनेर कुनै प्रकारको विवादमा परेका छ्रैनन् । यी अभियोगबाट देउवा, ओली वा माधव नेपालहरु सधैंभर विवादमा पर्दै आएका छन् । यसको अर्थ प्रचण्डले जहिलेसुकै सिधा सिधा राजनीतिक भाषा बोलेका छन् । त्यो उनको विशिष्ट पहिचान पनि हो ।
नेपालको तरल राजनीतिमा प्रचण्डका वरिपरि विभिन्न स्वार्थ र कारणले गर्दा सिंगो संसद गोलवन्द हुन आइपुगेको छ । के यस्तो अवस्था देउवा वा ओली वा अरु कोही नेताको वरिपरि गोलवन्द हुन सम्भव थियो त भन्ने गम्भीर प्रश्न उठिहाल्छ । यो विश्वास र बललाई प्रचण्डले शासकीय कुशलता र विकासको बाटोलाई गति दिनमा बदल्नु पर्दछ ।
सुशासन र विकासलाई गति दिन सिंहदरबार र बालुवाटार लाई विचौलियाहरुको चंगुलबाट मुक्त राख्नुलाई प्रचण्डले पहिलो र निरन्तरको कार्यभार बनाउनु पर्दछ । तवमात्र प्रचण्डको पूर्व घोषणा अनुसार सुशासन र समृद्धिको सपनामा गति उत्पन्न हुनसक्नेछ ।
हरेक पटक संसदमा म उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु : प्रचण्ड (सम्वोधनको पूर्णपाठ)
प्रतिक्रिया दिनुहोस्