काठमाडौं । सभामुख चयनका लागि प्रतिनिधि सभा बैठकमा सांसदहरुबीचको राजनीतिक दोहोरी जारी छ । ससत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच घोचपेच र आफ्ना उमेद्वारलाई मत माग्ने औपचारिकता पूरा गर्ने काम भइरहेको छ ।
सभामुख पदमा मनोनयन दर्ताका लागि बुधबार दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म दिइएको समयमा दुई जना उम्मेदवारले उम्मेदवारी दर्ता गरेका थिए।
सत्ता साझेदार दलहरूको समर्थनमा नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेस तथा नेकपा एकीकृत समाजवादी लगायत दलहरूको समर्थनमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका छन्, उनीहरूबीच सभामुखका लागि आजै प्रतिनिधि सभामा प्रतिस्पर्धा हुनेछ।
प्रतिनिधि सभा सदस्यहरूले आफूमध्येबाट सभामुख चयन गर्ने व्यवस्था छ। अहिले सभामुख नभएका बेला ज्येष्ठ सदस्य राप्रपाका सांसद पशुपतिशम्शेर जबराले सभामुखको भूमिका निर्वाह गरिरहेका छन्।
एमालेका सांसद घिमिरेलाई एमालेसहित माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलहरूको साथ छ। प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२, रास्वपाका २० र राप्रपाका १४ जना सांसद छन्। सत्ता साझेदार अन्य दलहरूले पनि घिमिरेलाई साथ दिने सम्भावना छ।
यस्तै गत पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका तर सरकारमा सामेल नभएका कांग्रेस, नेकपा एकीकृत समाजवादीलगायत दलको समर्थनमा न्यौपाने सभामुख उम्मेदवार छिन्। उनलाई लोसपाले पनि साथ दिने सम्भावना छ।
प्रतिनिधि सभामा कांग्रेसका ८९ सांसद भए पनि ८८ जनाले मात्र मतदान गर्न पाउँछन्। नेकपा एकीकृत समाजवादीका १० जना सांसद छन्। जसपा पनि समर्थनमा आएमा उसको १२ जना सांसद छन् भने लोसपाको ४ जना सांसद छन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ जना सांसदको समर्थन चाहिन्छ। नयां सभामुखमा गठबन्धनका देवराज घिमिरे निर्वाचित हुने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्