काठमाडौं २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपालका मिडिया नै देशका दुश्मन भएको आरोप लगाएका छन्। आइतबार पार्टीै केन्दीय समिति र संसदीय दलको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अघिकांश समय लामिछानेले नेपाली मिडिया र पत्रकारहरुका विरुद्ध आक्रोशित रुपमा प्रसतुत भएका थिए । नेपाली मिडियाले यति धेरै दुख दिएको छ, यिनीहरु पापी हुन् भन्दै लामिछानेले नेपाली सिमडियालाई आफैले कारबाही गर्ने चेतावनी दिएका छन् ।डेढ घन्टा लामो पत्रकार सम्मेलनमा ‘मिडियाबाट ममाथि गरिएको चौतर्फी प्रहार भनेको अदालतलाई प्रभावित पार्नका लागि थियो’, लामिछानेले भने, ‘१२ भाइ पत्रकार जम्मा भएर घरी एउटाले एकातिरबाट र घरी अर्कोले अर्कोतिरबाट लखेटे । एउटा मान्छेमाथि यति धेरै प्रहार ?’
लामिछानेले पत्रकार सम्मेलनमा व्यक्त गरेको मिडिया र मिडियाम्यानसम्वन्धी धारणा यस्तो थियो ।
‘के नेपालको मिडियालाई रिझाएरमात्रै पावर गेन गर्ने ? नेपालको मिडियाले चाहेअनुसार देश चलाउने ? सम्पादकज्यूहरु, यदि देश चलाउने हो भने तपाईंहरु चुनाव लड्न आउनुस् । चितवनमा उपनिर्वाचन हुँदैछ । कैलाश सिरोहिया आउने हो कि, अमित ढकाल आउने हो कि रामेश्वर थापा आउने हो ? तर, तपाईंहरुले देश चलाउने होइन । इथिक्स तपाईंहरुलाई पनि लाग्छ । अदालतलाई प्रभाव पार्न एउटै कुरा ४-५ पटक निरन्तर तपाईंले लेख्नुभएको छ । कान्तिपुरमा जे लेख्यो, त्यसपछि अर्को भाइतिर सर्छ । त्यसपछि अर्का फाच्चफुच्चे भाइहरु पनि निस्केका छन् ।’
‘नेपाली मिडियाको स्वार्थको द्वन्द्वको व्याख्या गर्ने हिम्मत कसैको छैन । किनभने कान्तिपुरलाई चलायो भने त मार्छ, सिध्याइदिन्छ भन्ने छ । अमित ढकालले त यत्रो आर्टिकल लेखेर बर्बाद पारिदिन्छ भन्ने छ । ढकालले यसलाई यसरी बुझ्नुस् भन्छन्, हामीलाई आफ्नो ढंगले बुझ्न दिँदैनन् । त्यही चिज हेरेर विद्वान साथीहरुले ट्विटरमा टिप्पणी गर्नुहुन्छ- यी हेर पदलोलुप । माननीय सांसदहरु त्यही हेरेर संसदमा भाषण गर्नुहुन्छ । तर, के ती मिडियामा आएको सत्य हुन्छ ? त्यो समाचार कुन इन्ट्रेस्टमा लेखिएको हुन्छ उहाँहरुलाई थाहै हुँदैन ।’
‘२०७२ साल मंसिर २६ गते शनिबार बिहान माइतीघर मण्डलामा बा. २ च ६१०० सेतो रंगको कार भक्सवागन कम्पनीको निजी कार दुर्घटना हुँदा चार जना घाइते भएका थिए । कार सडकमा उत्तानो परेपछि मर्निङ वाकमा निस्केका सर्वसाधारणले कारमा रहेका युवायुवतीलाई उद्दार गरेर नर्भिक अस्पताल लिएर गए । त्यो गाडी कसको थियो थाहा छ तपाईंलाई ? थाहा थियो धेरैलाई । तर, लुकाइयो । सबै डराए । कार कान्तिपुर मिडिया ग्रुपको नाममा थियो । कार कैलाश सिरोहियाका जेठा छोरा सम्भव सिरोहियाले चलाएका थिए । उनले मदिरा सेवन गरेका थिए । (गाडीका तस्वीरहरु देखाउँदै) यो कसले लुकायो ? किन लुकायो ? यसको खोजी गर्न कसैले सक्छ ? अहँ हुन्न । कैलाश सिरोहियाले सिध्याइदिन्छ । कान्तिपुरले सिध्याइदिन्छ । यसलाई चलाउनुहुन्न । तर, रवि लामिछाने यस्तासँग डराउँदैन । नोट इट डाउन !’
‘त्यो घटनाको सीसीटीभी काण्डको फुटेज हटाइयो । अस्पतालमा अर्कै व्यक्तिको नाम राखियो । पहुँच र शक्तिको आधारमा सार्वजनिक स्थानमा भएको दुर्घटनालाई प्रहरीले गोप्य राख्यो । यसरी प्रहरीलाई समेत प्रभावमा राख्दै आएका व्यक्तिलाई गृह मन्त्रालयमा म गएको उहाँलाई मन परेन ।’
‘कोरोनाकालको कुरा हो । कैलाश सिरोहियाले अगष्ट २७, २०२० मा एउटा ट्विट गर्नुभएको थियो । सोल्टी होटलसँग जोडेर उनका बारेमा सामाजिक सञ्जालमा गाईंगुईं थियो, त्यो गम्भीर प्रकृतिको थियो । सायद उहाँ कुनै महिलाबाट दुर्व्यवहारमा पर्नुभयो होला (! ) । तर, प्रहरीले कुनै अनुसन्धान गरेन । ट्विटमा भनिए जस्तो सिरोहियाले उजुरी कहिले र कहाँ दिए ?’
‘अजय सुमार्गीको काण्डमा कान्तिपुरले हुँदै नभएको सीआईबीको प्रतिवेदनलाई आधार बनाएर समाचार लेख्यो, जुन अदालती कागजातबाट पुष्टि हुन्छ । सुमार्गीले नै ‘गोल्डेन शेयर’ को टर्म बाहिर ल्याउनुभएको थियो, जुन धेरैलाई थाहा थिएन । उहाँले भन्नुभएको छ कि नेपालमा कुनै पनि ठूलो व्यवसाय सुरु गर्दा कान्तिपुरलाई केही प्रतिशत नजराना दिनुपर्छ, जसलाई गोल्डेन शेयर भन्ने गरिन्छ । सिरोहियाले मसँग शेयरको सट्टा पुरानै मोलमा जग्गा मागे र नदिएपछि समाचार लेखे भन्नुभएको छ । राजालाई दाम चढाए जस्तो उहाँलाई चढाउनुपर्ने ?’
‘चन्द्रागिरी हिल्सका विषयमा कान्तिपुरले पटकपटक फलोअप गर्यो । तर, अकस्मात बन्द भयो । त्यहाँ कैलाश सिरोहियालाई पैसा खुवाइएको सबैलाई थाहा छ । तर पनि उहाँले कारबाही भोग्नु नपर्ने ? उहाँ महाराज ?’
‘७-१२ पत्रकार जम्मा हुने, जाँड खायो, ल यसलाई ठोकौं भन्यो । मलाई चरित्रहीन देखाएर पनि हेडलाइन बनाएका छन् । उहाँहरुको चरित्रको बारेमा कसले बोल्ने ? कहिलेकाहीँ सम्पादकनी भाउजुहरुले यसो फोन चेक गरे हुने नि ! फुर्सद भएमा मलाई भेट्न आउनुहोला, तपाईंका आदर्शवान सम्पादकहरुको मुखुण्डो म उघारिदिन्छु ।’
‘बिहानदेखि बेलुकासम्म जनता जान्न चाहन्छन् भन्दै हिँड्ने ऋषि धमलाजीको के कुरा गर्नु ? कहिलेकाहीं जोकर नभए सर्कस चल्दैन भनेर उसलाई छाडिदिए हुन्छ । ग्यालेक्सी टीभी खोल्ने वेलामा जीबी राईजीसँग पाँच करोड रुपैयाँ लिनुभएको अहिले पनि उहाँको फोनमा रेकर्ड होला । उसको कुरा गरेर बस्नु म अहिले ?
‘देशी-विदेशी शक्तिले हामीलाई प्रभावित पारे भन्छन् । तर, यो देशका दुश्मन विदेशी शक्ति होइनन्, यहाँ सिन्डिकेट कायम गर्ने मिडिया हुन् । जसले भर्खर उभर्दै गरेको, जनताको आशा र भरोसा लिएर आएको दललाई निरन्तर खेदिरहन्छ ।
‘आफ्ना पुराना भिडियो हालेर भगवानजीले यसो भन्नुहुन्थ्यो भन्दै लेख्छन् । दुईवटा मान्छे ट्विटरमा बसेर सबैको सातो लिएका छन् । रामेश कोइरालाले ट्विट लेख्छ भनेर मान्छे बौलाएर हिँडेको छ । तर, उहाँले आफ्नो बौद्धिकताको लम्बाइ कहाँसम्म राख्नुभएको छ भने गगन थापाको कट्टुभन्दा पर छैन ।’
‘हामीले गरेका कामहरुमा उहाँहरुलाई हेडलाइन हाल्नु नै छैन । क्रसरमा मैले खाएँ कि क्या हो भने जसरी लेखियो । लाइसेन्स नलिएका क्रसर बन्द गर्ने निर्णय गरिएको थियो । मापदण्ड पुगेकालाई सच्याएर गर्ने भन्ने अर्को निर्णय भयो । एउटा भनेर अर्को काम गर्नेहरुलाई पनि चल्न नदिने निर्णय । तर, १२ भाइ पत्रकारलाई त यो पच्दैन । उनीहरुलाई त टक्क जाँड खाएर यसलाई ठोकौं भन्ने हुन्छ । लेखाउनुस् । यिनले ठोकेर नेपाली राजनीति सधैं डराउने ? कान्तिपुरले ठोक्छ भनेर कहिलेसम्म डराउने ? मसित चल्दैन । अर्गनाइज्ड तरिकाले पेल्दै पेल्दै गइएको छ । तर म अभिमन्यू होइन । मलाई पस्नमात्र होइन, निस्कन पनि आउँछ ।’
‘अब आधारविहीन समाचार लेख्यो भने म कान्तिपुरलाई घेर्न आउँछु । आधारसहित आउनुस् नो प्रोब्लम । तपाईंहरुका पाठक होलान्, म मेरा शुभेच्छुक लिएर आउँछु । गलत समाचार र हेडलाइन नलेख्नुस् खबरदार ! मलाईमात्र होइन कसैलाई पनि पेल्न पाइँदैन । सही ढंगले लेख्नुस्, ठीक छ ।’
‘जुन दिन सेतोपाटीले श्रीमतीको किरियामा बसेको मान्छेलाई फरार भनेर लेखिदियो, त्यस दिनदेखि अमित ढकालप्रति मेरो विश्वास गुम्यो । उहाँले एक महिना धाएर, रिक्वेस्ट गरेर एक साथीलाई मकहाँ पठाउनुभो । ती साथी आउनुभो, कुरा गर्नुभयो, अनि इतिहासकै सबैभन्दा लामो लेख लेखेर जानुभो । यो मान्छे हावा हो, चरित्रहीन हो, महत्वाकांक्षी, ट्वाक्कटुक्क चलाउने लेवलको मान्छे हो । उहाँको यति लामो उहाँको आर्टिकलले हाम्रो पार्टीमा आउन तयार भएका कतिपय राम्रा मान्छेहरु पनि आएनन् ।’
‘केही मिडियाले विदेशीको एजेन्ट हुँ भनेर दुई देशकै सम्बन्ध बिगारेका छन् । कान्तिपुरले लेखेपछि अहो इन्डियाको लाइन हो भन्ने हुन्छ । इन्डियाको नाम लिएर हामीलाई तर्साइरहेको छ । मोदीजी तपाईंहरुको नाममा यहाँ मानिसहरुले लुटिरहेका छन् । उनीहरु नेपाल र भारतको सम्बन्ध अगाडि बढाउने सोचिरहेका छैनन् । यसरी एजेन्ट बनेर काम गर्नेहरुमाथि विश्वास गर्न बन्द गर्नुस् । यो धन्धा बन्द गराउनुस् । नेपाल र भारत राम्रो साथी हो भन्ने लाग्छ भने बीचमा यस्ता एजेन्टहरुसँग होइन सीधा सरकारसँग कुरा गर्नुस् ।’
,‘म एकदमै धेरै बौद्धिक मान्छे होइन । तर, तपाईंलाई झुक्याउन सक्ने बौद्धिकता छ । तर, म आज हृदयबाट बोलिरहेको छु । एउटा चिज सुनाउन चाहन्छु । हामीभित्र डरैडर छ । जो डराउँछ, त्यसले लुक्ने ठाउँ पाउँदैन । म डराएर राजनीति गर्न आएको होइन । नडराइकन लडेर आएको हुँ । अलिअलि भएको डर पनि आज उत्रियो ।’
‘प्रधानमन्त्रीलाई पनि टेन्सन हुन्छ । अगाडि टेबलमा यत्रायत्रा हेडलाइन भएका पत्रिका छन् । रवि लामिछानेको स्वार्थको द्वन्द्व भनेर लेखेको लेख्यै छन् । अहो, यसलाई गृहमन्त्री बनायो भने त मलाई पनि सिध्याउँछन् भन्ने भयो उहाँलाई । सातो लिएका छन् यिनीहरुले ।’
‘अब मलाई तपाईंहरुले गर्ने के ? पार्टीबाट निकाल्ने ? देशबाट निकाल्ने ? त्यसका लागि पनि म तयार छु । हिजोको बेथिति राणा शासनमा थियो होला । अर्को बेथिति शाही शासनमा थियो होला । आजको बेथिति मिडियामा छ । म मिडियाका साथीहरुलाई भन्न चाहन्छु, एकदिन हाम्रो पार्टीमा खाना खान आउनुस् । इमानले कमाएर खाएको खानाको स्वाद अर्कै हुन्छ ।’
‘अब मलाई पासपोर्टमा हान्न सकिन्छ भनेर १२ भाइ मिलिसके होला । मिटिङ भइसक्यो होला । म रेडी छु । फसाउनुहोला, मजाले फसाउनुहोला । हिजो गृहमन्त्री हुँदा त केही गर्न सकिनँ भने पहिल्यै बाहिर आएको डकुमेन्टमा के गर्न सकुँला र ? तर, तपाईंहरुलाई एउटा कुरा बताउँछु । आज नेपाली जनतालाई दुःख पर्यो भने युवराज कँडेल, वीरेन्द्र जैरु, रमेश प्रसाईंलाई खोज्दै हिँड्छन् । तर, तपाईंलाई खोज्दै हिँड्दैनन् । तपाईं यी नै ठाउँलाई प्रभावित गर्नमात्रै पत्रकारिता गरिरहनुभएको छ ।’
म आगामी चुनावमा सरकार बनाउने गरी, प्रधानमन्त्री बन्ने गरी यो पार्टीलाई अघि बढाउँछु । त्यो पनि कसैको जुठा नखाइकन । यस्तो कुरा भनेपछि १२ भाइलाई त पासपोर्ट…. भन्ने दिमागमा आइहाल्छ । त्यहाँ त ढ्याम्मै फसाइन्छ भन्ने छ । पासपोर्टमा फसेपछि आजीवन चुनाव लड्न पाइन्न । तर, सुन्नुस् । म जेल परे पनि, म मरे पनि, बहुलाए पनि रास्वपा अगाडि बढ्छ ।
मन्त्री क्वाटर खाली गरेन भनेर लेख्नुभो अमित ढकालले । सामान चोर्यो भन्नुहोला भनेर चियाउनसमेत आउनुभो । तर, म क्वार्टरमा फर्केर गएको छैन । मेरो श्रीमतीले लगाउने लुगा पनि भएन, गन्हाइसक्यो भन्दा पनि गएको छैन । म पनि यही पाइन्ट लगाएर बसिरहेको छु । यति पापी छन् नि यिनीहरु ! यति दुःख दिएका छन् । सामान चोरेर लगे भनेर लेख्न पनि हिच्किचाउँदैनन् । पापको पनि एउटा सीमा हुन्छ । म जस्तो आएको त्यस्तै जाने हो । अझै कुरा चलिरहेको छ । यसलाई कन्फर्म गरेपछि निस्केर जाउँला । हाम्रो मन्त्री कोही आउनुभयो भने त्यहीं बस्नुहुन्छ । तर, म एउटा पनि सामान लिएर जान्न ।
म नागरिकता लिन लाइन लागिनँ भनेर लेखे । लाइन लागेको भए स्टन्ट भनेर लेख्थे । लाइन लाग्नुपर्ने ठाउँमा लाग्छु । मेरो विशेष केस भएकाले लाइन लाग्नु परेन । एयरपोर्टको बसमा उभिँदा स्टन्ट भयो । पपुलर हुन खोज्ने भनियो । मैले गर्ने चाहिं के ? ट्विटेले त मलाई नगरकोटमा गाई चराएर खान सक्छ पनि भन्दैनन् । त्यति अपमानित गर्छन् मलाई ।
दुनियाको सबैभन्दा बेथितिको मान्छे यही रहेछ भन्ने भाष्य क्रियट गरियो । त्यसैले म अलिकति आत्तिए । अब यसपछि पनि आज के हेडलाइन हाल्ने हो रेडी हुन्छ । १२ बजे बसेर जाँड खाने वेला हुन लाग्यो होला । कति बज्यो ? अर्काले दिएको रक्सी खान्छन्, किनेको होइन । ट्याक्स रेकर्ड हेरौं न । मलाई खायो भन्छन् । मैले काम गरेर ट्याक्स तिरेर खाएको छु ।’
‘मैले आज लेभलमा नरहेर कुरा गरेको जस्तो लाग्यो होला । चौबाटोमा रक्सी खाएर कुरा गरेजस्तो भयो । म तल झरेकै हो । तर, मेरोभन्दा नेपाली मिडियाको लेभल भएन । लेभल सम्झाउन भन्नैपर्ने हो । हिजो पत्रकार हुँदा तपाईंहरुले पत्रकार नै नमान्नुभएको, उपप्रधानमन्त्री र गृहमन्त्री भएपछि तपाईंहरुको मुटु फुटिहाल्यो नि ! मुटुका एकजना डाक्टर थिए, उनको पनि आधा मुटु फुट्यो ।’
-राष्ट्रिय स्वतन्त्र पार्टीका ससभापति रबि लामिछानेले २०७९ माघ २२ गते गरेको पत्रकार सम्मेलनमा व्यक्त मिडिया सम्वन्धी धारणा
प्रतिक्रिया दिनुहोस्