तिम्रो रगतको कण-कण
निधारबाट बगेका पसिनाका
थोप थोपाको मूल्यको
कथा लेख्न चाहन्छु बा, म ।
तिम्रा हर दु:ख, पीडा-वेदनाका
महासागर अनगिन्ती छालहरूको
गहिराई भेट्न चाहन्छु म ।
बुढ्यौलीले पाकेका सेताम्मे
केशहरूको सहनशीलताको
परिभाषा लेख्न चाहन्छु म ।
वर्षाैंदेखि देखिरहेछौ
लाखौं सपना कहिले ननिदाउने
कदापि नथाक्ने
ती चम्किला आँखाका
नानीहरूको ‘बिपना’ लेख्न चाहन्छु बा, म ।
तिम्रो त्यो निर्दोष मुहार
बुढ्यौलीमा खुम्चिएको नशा
छालामाथिका रेशा-रेशाको
आयूको भाषा लेख्न चाहन्छु बा, म ।
ती कलेटी परेका ओठहरुमा
अद्भूत मीठो मुस्कान अनि
उल्लास-उमगंको
सुनौलो विहानी देख्न चाहन्छु म ।
तिम्रो सत्तरी नाघेको उमेरमा
उर्वर जोशिलो यौवनको
रहर र जुझारूपनाको उदाहरणको
नवीन उपन्यास लेख्न चाहन्छु बा, म !
एक वाक्यमा लेख्न चाहन्छु- ‘
आमा जति महान् छिन्,
त्यती नै महान् छौं तिमी बा ।’ !
प्रतिक्रिया दिनुहोस्