काठमाडौं, १० चैत ।
देशको समग्र राजनीतिक वृत्तमा अहिलेको निराशाजनक अवस्थालाई कसरी आशा र परिणाममुखी बनाउने भन्ने बहस दिनहुँजसो हुने गरेको छ । यसमा पनि वामपन्थी विचारधारका राजनीतिक दल, नागरिक अगुवाहरु वैज्ञानिक समाजवादको बारेमा बहस, तर्क, सभासम्मेलन गरेर कहिल्यै थाक्दैनन् । वास्तविक अर्थमा समाजवाद के हो ? अहिलेको संसदीय व्यवस्थाप्रति निराश बनेकादेखि यसको विरुद्धमा नै आवाज उठाउँदै आएका वामपन्थी दलबीच समाजवादका विषयमा आलोचनात्मक बहस हुने गरेको छ । वामपन्थी अगुवा श्याम श्रेष्ठले अहिलेको समग्र व्यवस्था र ससाना गतिविधिमा ध्यान दिनुपर्ने बताए । कुनै एक कार्यक्रम आयोजनाको उदाहरण दिदै उनले एकै कार्यक्रममा कसैलाई आसन ग्रहण गराउने, कसैलाई नगराउने यस्तो दुई वटा वर्ग छुट्याउने कुरा वैज्ञानिक समाजवादमा नहुने भनाइ राखे । कुनै अन्तरक्रियात्मक कार्यक्रम गर्दा सबैलाई समान हुने खालको वैचारिक छलफल हुनपर्ने र संरचना पनि सो अनुरुप निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
वामपन्थी अगुवा श्रेष्ठले राजनीतिक वृत्तमा साम्यवाद हाम्रो पुस्तामा सम्भव छैन भनेर सधैं भविष्यको कुरा बनाइराखेको विचार राखे । अहिले हामी अर्धसामन्ती वा पुँजीवादी व्यवस्थामा नै छौं, के यो सही छ ? यो सोच नै बदल्नुपर्ने हो कि ? यही र अहिले पनि समाजवादमा लान सक्छौं, उनले भने । विश्व राजनीति वा परिवेशले नेपालमा पनि असर पर्नु स्वभाविक रहेको तर, आफ्नो परिवार, समुदायमा परिवर्तन गर्न कसले छेक्छ भन्ने प्रश्न उनले गरे । पुँजीवाद र समाजवादको बारेमा बुझ्न अत्यन्तै सरल रहेको भन्दै उनले आफ्नो फाइदा र आफ्नो सम्पत्तिलाई सर्वोच्च प्रथम हो भन्ने ठान्छ, यसलाई पुँजीवादी रहेको उनले औंल्याए । यसैगरी, आफ्नो फाइदा नभइ समुदायको नाफा वा सम्पत्तिलाई महत्व ठान्नु समाजवादी संस्कृति रहेको उनको भनाइ छ । समाजमा, विज्ञानमा विकास भइरहेको छ तर, यो यसको सरलाई सिद्धान्त र व्यवहारमा जोड्ने काम हुन नसक्दा मानिसमा आकर्षण पैदा नभएको उनले बताए । केही समयअघि समाजवादले पुँजीवादलाई लखेटेको जस्तो भएपनि अहिले पुँजीवादबाट समाजवाद डराउनुपर्ने अवस्था पैदा हुँदै गएको उनले बताए ।
नेताहरुका बीच वैज्ञानिक समाजवादको मुख्यगरी पाँच वटा आयाममा बहस गरेको पाइन्छ । अहिलेको दर्शन, सिद्धान्त र दृष्टिकोण त्यसपछि समाजको व्यवहार, जीवनशैली र संस्कृति यस विषयमा वैचारिक बहस भएको हामी पाउँछौं । त्यसपछि राजनीति र अर्थनीति जनतासँग केन्द्र बनाएर हुनुपर्ने भन्ने कुरा सिद्धान्तमै सिमित हुँदै आएको छ । मुख्यगरी, राजनीतिक अस्थीरताको कारण सबै खाले विकासमा प्रत्यक्ष असर पर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्