चितवन, १२ चैत । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्छन् । साँझ सबै चिकित्सक कर्मचारी बिदा भएर घर–घर जाँदै गर्दा उनी अस्पताल वरपर नै भेटिन्छन् । उनको एउटै चिन्ता छ– अस्पताललाई कसरी समयसापेक्ष सुधार गर्दै बिरामीलाई सहज सेवा दिन सकिन्छ भन्ने । विगत ३९ वर्षदेखिको यो दैनिकी अहिले पनि निरन्तर चलिरहेको छ ।
आफ्नो ७७ वर्षको बुढ्यौलीमा समेत युवा जोशजाँगरका साथ आँखा अस्पतालको सेवा सुविधा विस्तारमा तल्लिन ‘मोफसका आँखा बा’ उनको परिचय हो । भरतपुर महानगरपालिका–१० निवासी चिजकुमार मास्के । उनलाई ‘आँखा बा’का रूपमा यहाँ चिन्ने गरिन्छ । नेपालमा आँखा उपचारको शुभारम्भ गर्ने रामप्रसाद पोखरेललाई देशले ‘आँखा बा’ भन्दै गर्दा मोफसलमा मास्केले ‘आँखा बा’को उपमा पाएका छन् ।
विसं २०४२ मा भरतपुरमा आँखा अस्पताल खोल्न उत्प्रेरित गर्नेमध्येका एक मास्के हुन् । तत्कालीन समयमा २० समाजसेवी मिलेर नेपाल नेत्रज्योति संघमार्फत विसं २०४४ मा महेन्द्र स्मारक आँखा अस्पताल सञ्चालनमा आएको हो । सुरुवातका दिनमा तिनै समाजसेवीले मासिक एक हजार र पछि एकमुष्ट पाँच हजार संकलन गरेर सञ्चालनमा ल्याइएको यो अस्पतालले क्रमशः विकासको गति लिन सफल भयो । लामो समयसम्म थोरै बिरामीले सेवा पाएको यस अस्पतालमा विसं २०६० पछि भने फड्को मार्न सफल भयो । त्यसका नेतृत्वकर्ता मास्के नै हुन् ।
सुरुवातीदेखि नै समूहमा उहाँ रहे पनि जुन समयदेखि उनले नेतृत्व सम्हाले, अस्पतालले ठूलो सफलता हात पार्यो । विसं २०६० मा सेवा फाउन्डेसनले व्यवस्थापनमा सहकार्य गरेसँगै अस्पताल क्रमशः सुधारको बाटोमा अघि बढेको हो । समाजसेवी मास्के भन्छन्, “विसं २०६७ बाट अस्पताल आफैँ खर्च धान्ने अवस्थामा पुग्यो ।” यतिबेला वार्षिक ४० हजार हाराहारी बिरामी हुने गर्दथे । एक दशकभन्दा बढीको यो समयसम्म आइपुग्दा यो सङ्ख्या वार्षिक तीन लाख नाघेको छ ।
विसं २००३ मा गोरखाको पाटेचौरमा जन्मिएका मास्केले विसं २०४२ देखि आफ्नो अधिकांश समय आँखा उपचारको क्षेत्रमा बिताए । नेपाल नेत्रज्योति संघको संस्थापक सदस्य मास्के संघको कोषाध्यक्ष, उपसभापति, दुईपटक जिल्ला सभापति भएर आँखा उपचारमा सेवा पुर्याए । सो संघको केन्द्रीय कोषाध्यक्ष भएर सेवा गरिसक्नुभएका मास्के हाल पनि संघको केन्द्रीय सदस्य छन् । ऋण खोजेर अस्पतालका चिकित्सक कर्मचारीलाई तलब खुवाउनुपर्ने बाध्यता रहेको अस्पतालको नेतृत्व सम्हालेसँगै अस्पतालले फड्को मार्यो । उनी सभापति भएपछिका दिनमा कहिल्यै आर्थिक अभावमा पछाडि फर्किनुपरेको छैन ।
उनले भने, “मैले नेतृत्व छाड्दाका दिनमा अस्पतालको खातामा ११ करोड हाराहारी रकम संकन भएको थियो ।” सभापति हुनुअघिसम्म दैनिक दुई सय हुने बिरामी आफूले छाड्दै गर्दा छ सय पुगेको उनी बताउँछन् । आफू सभापति हुनुअघि वर्षमा दुई सय आँखाको शल्यक्रिया हुने गरेकामा छाड्दै गर्दा यो सङ्ख्या आठ हजार पुर्याउन सकेकामा उनलाई गर्व छ । उनको निरन्तरको साथका कारण अहिले बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
अस्पतालको दुई उपचार केन्द्र हुँदै गर्दा सभापति भएका मास्केले दुई कार्यकाल पूरा गरेर बिदा भए । अहिले उपचार केन्द्रको यो सङ्ख्या १४ पुगेको छ । तीनवटा थप गर्ने तयारीमा छ । उनले स्मरण गरे, “म सभापति हुँदै गर्दा दुई विशेषज्ञ चिकित्सकसहित २५ कर्मचारी थिए, अहिले यो सङ्ख्या विशेषज्ञ र अन्य चिकित्सक २३ सहित एक सय ५० स्वास्थयकर्मी, कर्मचारी पुगेको छ ।” अस्पतालमा एमडी अध्ययन गर्नेमात्रै नौ चिकित्सक छन् भने तीन जनाले ‘फेलोसिप’ गरिरहेका छन् । नेत्र सहायक र स्नातकसमेत अध्ययन–अध्यापन हुँदै आएको छ । अस्पतालमा बिरामी बढेपछि फेलोसिप र स्नातक गर्न विद्यार्थी आउने गरेका हुन् ।
जिल्लाको सामाजिक व्यक्तित्व भएकाले धेरैले उनलाई सम्मान गर्थे । दाता जुटाएर अस्पताल बलियो बनाउने काममा उनको महत्वपूर्ण योगदान छ । उहाँकै पालामा भरतपुर उकालोमा चिजकुमार–विष्णुकुमारी श्रेष्ठ बहिरंग विभाग सञ्चालनमा आएको हो । आफूले पहिलोपटक सभापति भइसकेपछि अरु साथीहरूलाई पालो दिन्छु भन्दा दाताले थप सहयोग गर्छु भनेर एक कार्यकाल थप गरेको उनी बताउँछन् ।
आँखा उपचारका लागि व्यवस्थापकीय क्षमता बढाउन मास्केले भारतको कोलकाता, मधुराई, सिङ्गापुर, मलेसिया, हङकङ, बैंककलगायतका सहरमा पुगेका छन् । उनलाई एसिया प्यासिफिक एकेडेमी अप्थल्मोलोजी कंग्रेसले सम्मानसमेत गरिसकेको छ । नेपाल नेत्रज्योति संघ केन्द्रीय समितिले स्थापना दिवसका अवसरमा उहाँलाई “लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान गर्दै छ । स्वयंसेवीहरूलाई पहिलोपटक यो अवार्ड दिन लागिएको हो ।
संघका केन्द्रीय महासचिव भरतबहादुर चन्द मास्केलाई मोफसलको ‘आँखा बा’को उपमा दिन सकिने बताउँछन् । उनले भने, “उहाँको इमान्दारिता र खटाइका कारण भरतपुर आँखा अस्पताल यो अवस्थामा पुगेको हो ।”
एक व्यक्तिको निरन्तर लगावले आँखा उपचारको क्षेत्रमा अतुलनीय योगदान पुगेको छ । भरतपुर आँखा अस्पतालमा नेपालसहित छिमेकी भारतबाट समेत उपचारका लागि आउने गर्दछन् । मास्केले आफू बाँचुन्जेल अस्पतालको सेवा गरिरहने इच्छा व्यक्त गरेका छन् । उनले भने, “जुनदिनसम्म आँखा देखेर हिँड्न सक्छु, त्यस दिनसम्म आँखा उपचारको स्वयंसेवी भएर सेवा गर्छु ।”
प्रतिक्रिया दिनुहोस्